प्रश्न– भगवान् श्रीकृष्णले गीतामा ‘म परम भगवान् हुँ।’ भन्नुभएको छ। यसको अर्थ उहाँ शिवजी, ब्रह्माजीभन्दा पनि श्रेष्ठ हुनुहुन्छ? सुरज अधिकारी, भरतपुर, चितवन।

उत्तर– हाम्रो सनातन धर्मका ग्रन्थहरूमा भगवान्‌का अनेक अवतारहरूको बारेमा उल्लेख छ। हामीमध्ये अधिकांशले त हाम्रो धर्मका शास्त्रहरू पढ्न पनि पाउँदैनौँ।  संस्कृतिको रूपमा जे-जे मान्यताहरू हाम्रो घर, परिवार, समाजमा चल्दै आइरहेका छन्, त्यसैबाट हामी हाम्रो धर्मको बारेमा एउटा सामान्य दृष्टिकोण बनाउँछौँ। त्यही अनुसार कोही भगवान् विष्णु सर्वश्रेष्ठ मान्दछन् भने कसैले भगवान् शङ्करजीलाई। अनि कसैले गणेशजीलाई ठुलो मान्दछन् भने कसैले दुर्गा मातालाई। यस प्रकार सही सही ज्ञान नभएका कारणले गर्दा विभिन्न मान्यताहरू विद्यमान छन्।

अब जसले शास्त्रहरू पढ्ने प्रयत्न गर्छन्, उनीहरू पनि शास्त्रमा भएका विभिन्न परस्पर विपरीत कुराहरू पढेर भ्रमित हुन पुग्छन्। वेदव्यासजी भन्नुहुन्छ–

तर्कोऽप्रतिष्ठः श्रुतयो विभिन्ना नैको ऋषिर्यस्य मतं प्रमाणम्। महाभारत ३–३१३–११७

त्यसै गरी तुलसीदासजी महाराज भन्नुहुन्छ–

बहु मत मुनि बहु पंथ पुराननि जहाँ-तहाँ झगरो सो। विनय पत्रिका १७३–५

अर्थात्, एक त हाम्रो धर्ममा विभिन्न शास्त्रहरू छन्, त्यसमाथि ती शास्त्रहरूमा परस्पर विरोधी कुराहरू छन्। त्यसैले शास्त्र पढेर पनि व्यक्तिहरू सही सही निश्चय गर्न सक्दैनन्। शिवपुराण पढ्दा भगवान् शङ्करजी नै सर्वेसर्वा लाग्छ। देवी भागवत पढ्दा देवी दुर्गा नै सर्वेसर्वा लाग्छ। विष्णुपुराण पढ्दा भगवान् विष्णु नै सर्वेसर्वा लाग्छ। अनि भागवत पढ्दा भगवान् श्रीकृष्ण नै सर्वेसर्वा लाग्छ।

वास्तवमा, जसरी संसारी विषयको पुस्तक पढ्दा पनि हामी कुनै शिक्षकको मार्गदर्शनमा पढ्छौँ, ठिक त्यसै गरी शास्त्रहरूको रहस्य बुझ्नको लागि पनि कुनै वास्तविक गुरुको आवश्यकता पर्छ। त्यसैले वेद भन्दछ–

आचार्यवान्पुरुषो वेद। छान्दोग्योपनिषद् ६–१४–२

अर्थात् गुरुको शरणमा गएर वेदशास्त्रको बारेमा बुझ्न सकिन्छ।

आउनुहोस्। अब प्रश्नतिर लागौँ। गीतामा अर्जुनले भगवान् श्रीकृष्णलाई परम ब्रह्म भनेका छन्। यथा–

परं ब्रह्म परं धाम पवित्रं परमं भवान्।

पुरुषं शाश्वतं दिव्यमादिदेवमजं विभुम्॥ गीता १०–१२

भोक्तारं यज्ञतपसां सर्वलोकमहेश्वरम्। गीता ५–२९

भगवान् स्वयंले पनि उहाँ सबै लोकको महान् ईश्वर हुनुहुन्छ भन्नुभएको छ।

मत्त: परतरं नान्यत्किञ्चिदस्ति धनञ्जय। गीता ७–७

अर्थात्, भगवान् श्रीकृष्णभन्दा पर अरू कोही पनि छैन। यो स्वयं भगवान्‌ले नै बताउनुभएको हो। यस प्रकारले बारम्बार भगवान् श्रीकृष्ण नै परम देव हुनुहुन्छ भनेर गीतामा बताइएको छ।

अब मनमा अनेक शङ्काहरू आउन सक्छन्। पहिलो– भगवान् यति धेरै किन? दोस्रो– विभिन्न भगवान्हरूमध्ये को ठुलो को सानो? तेस्रो– शास्त्रमा कहीँ एउटा भगवान् ठुलो भनिएको छ भने कहीँ अर्को भगवान्। यो के हो? आउनुहोस्। हामी क्रमशः यसको समाधान गरौँ।

१. भगवान् यति धेरै किन?

भगवान् धेरै हुनुहुन्न। भगवान् एउटा नै हुनुहुन्छ। तर्कद्वारा पनि यही अनुमान गर्न सकिन्छ कि सर्वोच्च तत्त्व एउटा नै हुन सक्छ। यदि दुई वटा भगवान् हुनुभयो भने त उहाँहरूमध्ये एउटाको सृष्टि गर्ने इच्छा होला भने अर्कोको नगर्ने इच्छा होला। भगवान् त सत्य-सङ्कल्प हुनुहुन्छ। उहाँले सोच्नासाथ सबै कुरा हुन्छ। त्यसैले दुई वटा भगवान् हुनुभयो भने न त सृष्टि हुन सक्छ, न त प्रलय। अतः तर्कद्वारा पनि एउटै भगवान् हुन सक्नुहुन्छ।

वेद भन्दछ–

एको देवः सर्वभूतेषु गुढः सर्वव्यापी सर्वभूतान्तरात्मा। श्वेताश्वतरोपनिषद् ६–११

एको हि रूद्रो न द्वितीयाय तस्थुर्य इमाँल्लोकानीशत ईशनीभिः। श्वेताश्वतरोपनिषद् ३–२

अर्थात् भगवान् एउटा हुनुहुन्छ। फेरि हामी राम, कृष्ण, शिव, गणेश, दुर्गा, ब्रह्मा, विष्णु आदि अनेक नामहरू सुन्छौँ। यो के हो त?

एउटा उदाहरणबाट बुझ्नुहोस्। मानिलिनुहोस्, एउटा व्यक्ति छ– रमेश। ऊ एउटा न्यायाधीश हो। त्यसैले अदालतमा न्यायाधीशको काम गर्दा उसको अलगै गुण, पहिरन, योग्यता र कार्य देखिन्छ। त्यही रमेश जब एउटा साथीको विवाहमा सहभागी हुन जान्छ, त्यति बेला उसको अलगै गुण, पहिरन, योग्यता र कार्य देखिन्छ। त्यही रमेश घरमा आफ्नो छोरासँग खेल्दा घोडा बनेर छोरालाई आफूमाथि चढाएर चार खुट्टाले हिँड्न सक्छ। त्यति बेला उसको अलगै गुण, पहिरन, योग्यता र कार्य देखिन्छ। यस प्रकार अलगअलग स्थानमा रमेशको अलगअलग गुण, पहिरन, योग्यता र कार्य देखिएता पनि रमेश अलगअलग त होइन। एउटै हो। त्यसै गरी भगवान्‌को अलगअलग रूप एवं शृङ्गार, शक्ति एवं लीलाको प्राकट्य भएको देखिएता पनि उहाँ परस्पर एक हुनुहुन्छ।

रमेश एकटकमा एउटा स्थानमा नै हुन सक्छ। एउटा स्वरूपमा नै हुन सक्छ। तर भगवान् एकै पटक अनन्त स्वरूप धारण गर्न सक्नुहुन्छ। त्यसैले हामी जति पनि भगवान्‌को नाम, अवतार आदि सुन्छौँ, ती सबै एउटै भगवान्‌का अलगअलग अभिन्न स्वरूपहरू हुन्।

वेदमा नै भनिएको छ–

एकोऽपि सन्बहुधा यो विभाति। गोपालपूर्वतापिन्युपनिषद् १९

अर्थात्, एउटै भगवान्‌का यी अनेक स्वरूपहरू हुन्। भगवान् अनेक स्वरूपहरूमा नित्य रहनुहुन्छ। यस प्रकारले विभिन्न स्वरूपहरू भएता पनि वेदव्यासजी भन्नुहुन्छ–

बहुमूर्त्येकमूर्तिकम्। भागवत १०–४०–७

अर्थात्, यद्यपि भगवान्‌का अनेक स्वरूपहरू छन्, तर ती सबै एउटै भगवान्‌का अनेक स्वरूपहरू हुन्।

अस्तु यो सिद्ध भयो कि भगवान् एउटै हुनुहुन्छ।

२. विभिन्न भगवान्‌हरूमध्ये को ठुलो को सानो? ​

पहिलो कुरा त भगवान् एक हुनुहुन्छ, विभिन्न हुनुहुन्न। त्यसैले प्रश्नमा थोरै सुधार आवश्यक छ। भगवान्‌का विभिन्न स्वरूपहरूमध्ये को ठुलो को सानो? अब यो प्रश्न सिद्धान्त अनुसार सही छ। अब यसको समाधान गरौँ।

शास्त्र अनुसार भगवान्‌का अनन्त स्वरूपहरू छन्। वेदव्यासजी भन्नुहुन्छ–

अवतारा ह्यसङ्ख्येया हरे: सत्त्वनिधेर्द्विजा:। भागवत १–३–२६

दुई वटा हुनासाथ हाम्रो मनमा जिज्ञासा भइहाल्छ कि को ठुलो त? त्यसैले, अब यी अवतारहरूमा को ठुलो को सानो भन्नेबारे बुझौँ।

वास्तवमा अवतारहरूमा कुनै पनि भेद हुँदैन। भगवान्‌को परिभाषा नै हो–

पूर्णमदः पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते।

पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। बृहदारण्यकोपनिषद् ५–१–१

अर्थात्, भगवान् पूर्ण हुनुहुन्छ। भगवान्‌का सबै स्वरूपहरू पूर्ण हुनुहुन्छ। दुई वटा अपूर्ण स्वरूपहरूमा सानो ठुलो भन्ने कुरा आउन सक्छ। तर जो पूर्ण हुनुहुन्छ, उहाँहरूमा सानो ठुलो भन्ने नै रहँदैन।

सबै अवतारहरू परस्पर एक भएकाले अवतारहरूमा कुनै पनि भेदभाव हुँदैन। यदि कसैले अवतारहरूमा भेदभावको दृष्टि राख्छ भने, उसको भक्ति शून्य हुन जान्छ। किनकि अवतारहरूमा भेदभाव राख्नु नामापराध हो। यहाँहरूले दश वटा नामापराध सुन्नुभएकै होला। नामापराध भन्नाले? अक्षम्य अपराध। अवतारहरूमा भेदभावको बुद्धि राख्नु सानो ठुलोको भावना राख्नु दश वटा नामापराधमध्ये एउटा नामापराध हो।

अब तुरुन्तै एउटा प्रश्न उत्पन्न हुन सक्छ–

३. शास्त्रमा कहीँ एउटा भगवान् ठुलो भनिएको छ कहीँ अर्को भगवान्। यो के हो?​

पहिले यो प्रश्नमा केही  सुधार गरौँ। शास्त्रमा कहीँ भगवान्‌को एउटा स्वरूप ठुलो भनिएको छ भने कहीँ भगवान्‌को अर्को स्वरूप ठुलो भनिएको छ। बल्ल यो भनाइ सिद्धान्त अनुसार ठिक भयो।

शास्त्रमा भगवान्‌का विभिन्न स्वरूपहरूको महिमा जुन स्वरूपको महिमा बताउन लागिएको हो, त्यही स्वरूपलाई सर्वश्रेष्ठ बताइएको पाइन्छ। तर यसमा कुनै आश्चर्य मान्नु पर्दैन। यस प्रकारको महिमाको वर्णनबाट यो स्वरूप ठुलो रहेछ अर्को सानो रहेछ भन्ने ठान्नु पनि पर्दैन।

अघिको उदाहरणमा यदि रमेशले एकै पटक तीनै वटा स्वरूप धारण गर्न सक्ने भएको भए कुनै बेला अदालतको रमेशले घरमा गएर त्यहाँ भएको रमेशको तारिफ गर्न सक्थ्यो होला। तर यसको मतलब अदालतको रमेशभन्दा घरको रमेश ठुलो त होइन नि। कुनै बेला घरको रमेश अदालतमा गएर त्यहाँ भएको रमेशको तारिफ गर्न सक्थ्यो होला। कुनै बेला बाहिर पार्टीमा घुम्न गएको रमेशले घरको रमेशको तारिफ गर्न सक्थ्यो होला। तर रमेशको कुनै एउटा स्वरूपले अर्को स्वरूपको तारिफ गर्‍यो भन्दैमा या कुनै स्वरूपले ‘म ठुलो हुँ।’ भन्दैमा उनीहरूको बिचमा ठुलो सानो भन्ने हुँदैन। किनकि ती तीनै वटा रमेश, एउटै हुन्।

त्यसै गरी शास्त्रमा विभिन्न प्रसङ्गमा भगवान्‌का विभिन्न स्वरूपहरूको महिमा वर्णन गरिएको छ। त्यस क्रममा त्यही स्वरूप नै सर्वश्रेष्ठ स्वरूप हो भन्ने हामीलाई लाग्न सक्छ। तर वास्तविकता के हो भने सबै स्वरूपहरू एक हुन्। ठुलो-सानोको भेद छैन।

यसलाई थप प्रस्ट पार्नको निम्ति भगवान् श्रीकृष्ण र भगवान् शङ्करजीको बारेमा वेद-शास्त्रमा के भनाइ छ त? भन्ने यहाँ उल्लेख गर्न सान्दर्भिक हुन जान्छ।

४. भगवान् शिव र भगवान् श्रीकृष्णमा को ठूलो हुनुहुन्छ?

अब यस सन्दर्भमा शास्त्रका केही प्रमाणहरू हेर्नुहोस्। गीतामा अर्जुनले श्रीकृष्णलाई परम ब्रह्म भनेका छन् र भगवान् श्रीकृष्णले पनि उहाँ सर्वश्रेष्ठ हुनुहुन्छ भन्नुभएको छ। यसको मतलब श्रीकृष्ण सर्वश्रेष्ठ हुनुहुन्छ। तर उहाँ श्रीकृष्ण स्वयं भन्नुहुन्छ–

प्रयतः प्रातरुत्थाय यदधीये विशाम्पते।
प्राञ्जलिः शतरुद्रीयं तन्मे निगदतः श्रृणु॥ महाभारत १३–१६०–४

अर्थात्, म प्रतिदिन बिहान उठेर मन र इन्द्रियलाई संयमित राख्दै हात जोडेर शतरुद्रियको जप गर्छु। भगवान् श्रीकृष्ण भगवान् शङ्करजीको भक्ति गर्नुहुन्छ। स्वयं भगवान् श्रीकृष्ण भन्नुहुन्छ–

नास्ति किंचित्परं भूतं महादेवाद् विशाम्पते।
इह त्रिष्वपि लोकेषु भूतानां प्रभवो हि सः॥ महाभारत १३–१६०–६

अर्थात्, तीनै लोकमा महादेवजीभन्दा श्रेष्ठ कोही पनि छैन।

भगवान् शङ्करजी श्रीकृष्णको इष्टदेव हुनुहुन्छ। यति मात्र होइन। भगवान् शङ्करजी श्रीकृष्णको गुरु पनि हुनुहुन्छ। यथा–

स चापि ब्राह्मणो भूत्वा दुर्वासा नाम वीर्यवान्। महाभारत १३–६–३७

अर्थात्, भगवान् शङ्करजी नै दुर्वासा बन्नुभएको हो। दुर्वासा श्रीकृष्णको गुरु हुनुहुन्छ। त्यसैले भगवान् शङ्करजी नै श्रीकृष्णको गुरु पनि हुनुहुन्छ। स्वयं भगवान् श्रीकृष्ण भन्नुहुन्छ–

न हि शक्या गुणा वस्तुमपि वर्षशतैरपि। महाभारत १३–१६०–४४

अर्थात् भगवान् श्रीकृष्ण सयौँ वर्षमा पनि भगवान् महादेवका गुणहरूको वर्णन गरेर सक्नुहुन्न।

अतः यसबाट प्रस्ट हुन्छ कि भगवान्‌को एउटा स्वरूपले अर्को स्वरूपको महिमा वर्णन गर्नुहुन्छ।

केही भोला भाला व्यक्तिहरू ब्रह्माजी विष्णुबाट प्रकट हुनुभएको हो। अनि शङ्करजी ब्रह्माजीबाट प्रकट हुनुभएको हो। त्यसैले उहाँहरूमा भेद बुद्धि राख्दै विष्णु ठुलो हुनुहुन्छ भन्दछन्। तर वेदव्यासजी भगवान् शङ्करजीको निम्ति भन्नुहुन्छ–

ब्रह्मा भवश्च विष्णुश्च स्कन्देन्द्रौ सविता यमः।
वरुणेन्दू मनुर्धाता विधाता त्वं धनेश्वरः॥ महाभारत १३–४७–२२

अर्थात्, भगवान् महादेव नै ब्रह्मा, विष्णु, शिव, हुनुहुन्छ।

अन्य कोही कोही श्रीकृष्ण परम ब्रह्म हुनुहुन्छ, अन्य सबै उहाँकै स्वरूप हुन् भन्दछन्। तर वेदव्यासजी भन्नुहुन्छ–

यच्चैतत्परमं ब्रह्म यच्च तत्परमं पदम्।
या गतिः साङ्ख्ययोगानां स भवान्नात्र संशयः॥ महाभारत १३–४७–२५

अर्थात्, भगवान् महादेव नै परम ब्रह्म हुनुहुन्छ। वास्तवमा भगवान् श्रीकृष्ण र भगवान् महादेव एक हुनुहुन्छ। वेद भन्दछ–

यथा शिवमयो विष्णुरेवं विष्णुमयः शिवः।
यथान्तरं न पश्यामि तथा मे स्वस्तिरायुषि।
यथान्तरं न भेदाः स्युः शिवकेशवयोस्तथा॥ स्कन्दोपनिषद् १०

अर्थात् भगवान् शङ्करजी र श्रीकृष्णमा कुनै पनि भेद छैन।

एक पटक भगवान् श्रीकृष्णले भगवान् शङ्करजीको दर्शनको निम्ति बाह्र वर्षसम्म तपस्या गर्नुभयो। जब भगवान् शङ्करजीले दर्शन दिनुभयो, तब श्रीकृष्णले उहाँको स्तुति गर्ने क्रममा भन्नुभयो–

क्षमस्व भगवन् देव भक्तोऽहं त्राहि मां हर।
सर्वात्मन् सर्वभूतेश त्राहि मां सततं हर॥ हरिवंशपुराण ३–८७–३७

अर्थात्, हे महादेव, म (श्रीकृष्ण) हजुरको भक्त हुँ। मेरो रक्षा गर्नुहोस्। यसबाट यही बुझिन्छ कि भगवान् परस्पर स्वरूपको भक्ति गर्नुहुन्छ। श्रीकृष्ण शङ्करजीको भक्ति गर्नुहुन्छ भने शङ्करजी श्रीकृष्णको भक्ति गर्नुहुन्छ। श्रीकृष्ण भन्नुहुन्छ–

नमोऽस्तु हरिकेशाय पिंगलाय नमो नमः।
नमस्तेऽभीषुहस्ताय भीरुभीरुहराय च ॥ हरिवंशपुराण ३–८७–२५

अर्थात् हे महादेव। हजुर नै म श्रीकृष्णको रूपमा अर्जुनको सारथि बनेर हातमा चाबुक लिनुहुन्छ। यसबाट प्रस्ट हुन्छ कि श्रीकृष्ण र भगवान् शङ्करजी एक हुनुहुन्छ।

यसै गरी भगवान्‌का सबै स्वरूपहरूमा कुनै पनि भेद छैन। जगद्गुरु श्री माध्वाचार्यजी जो लक्ष्मीनारायणका उपासक हुनुहुन्थ्यो। तर उहाँ ब्रह्माजीलाई नै सर्वोच्च तत्त्व मान्नुहुन्थ्यो। उहाँले कृष्णावतारमा ब्रह्माजीलाई मोह भएको कुरालाई स्वीकार गर्नुभएन। त्यसैले हामीले बुझ्नुपर्ने कुरा के हो भने उहाँहरू सबै परस्पर एक हुनुहुन्छ। भगवान्‌का सबै स्वरूपमा भेदभावको भावना राख्नुहुँदैन। त्यसैले को सानो को ठुलो सोच्नुपर्दैन। जुन स्वरूपमा जसलाई मन लगाउन सजिलो लाग्छ, उसले त्यही स्वरूपको ध्यान एवं भक्ति गर्दा हुन्छ।

जय श्री राधे!