
प्रश्न– मन भगवान्लाई दिएपछि काम गर्ने बेलामा मनलाई के गर्ने? मन लगाएर काम गरेन भने काम बिग्रिन्छ। काम गर्ने बेलामा पनि भगवान्मा मन कसरी लगाइराख्ने? डा. सुरेन्द्र श्रेष्ठ, काठमाडौँ।
उत्तर– यहाँको प्रश्न शरणागतिसँग सम्बन्धित छ। शरणागतिको अभिप्राय हो नित्य निरन्तर मन भगवान्मा लगाउनु। तर हामीले त संसारमा काम गर्नुपर्छ। काम गर्नको लागि मन-बुद्धिको आवश्यकता पर्छ। त्यसैले काम गर्दा कसरी मन भगवान्मा लगाइराख्ने? यही प्रश्न हो।
भगवान्ले गीतामा बताउनुभएको छ–
अनन्याश्चिन्तयन्तो मां ये जना: पर्युपासते।
तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहम्॥ गीता ९–२२
मय्यावेश्य मनो ये मां नित्ययुक्ता उपासते। गीता १२–२
मन्मना भव मद्भक्तो मद्याजी मां नमस्कुरु। गीता ९–३४
तस्मात्सर्वेषु कालेषु मामनुस्मर युध्य च। गीता ८–७
अतः निष्कर्ष के हो भने मनलाई निरन्तर भगवान्मा लगाइरहनुपर्छ। तर हामीले चर्चा गरिसक्यौँ कि मनले निरन्तर भगवान्को ध्यान गरिरहने हो भने संसारको काम चल्न सक्दैन? किनकि संसारी काम मन-बुद्धिको संयोगबिना हुन सक्दैन। चाहे भोजन बनाउँदा होस्, चाहे कार्यालयको काम गर्दा होस्, चाहे व्यापारसम्बन्धी काम होस्, कुनै पनि काममा मन पनि लगाउनु पर्छ। साथै बुद्धि पनि लगाउनुपर्छ। कति नुन राख्ने, कति तेल राख्ने, कति बेर पकाउने…। मन-बुद्धि नलगाईकन भोजन तयार हुन सक्दैन। कुनै पनि संसारी काम हुन सक्दैन।
तर शरणागतिको निम्ति भगवान् भन्नुहुन्छ–
मय्येव मन आधत्स्व मयि बुद्धिं निवेशय। गीता १२–८
अर्थात् मन-बुद्धि दुवै भगवान्मा लगाउनुपर्छ। साथै–
अनन्यचेता: सततं यो मां स्मरति नित्यश:।
तस्याहं सुलभ: पार्थ नित्ययुक्तस्य योगिन:॥ गीता ८–१४
निरन्तर लगाउनुपर्छ।
यहाँनेर एउटा विरोधाभास देखिन्छ। एकातिर शरणागतिको निम्ति निरन्तर मन-बुद्धि भगवान्मा लगाउनु पर्छ। अर्कोतिर निरन्तर मन-बुद्धि भगवान्मा लगाएर संसारी काम बन्न सक्दैन।
अब यसको समाधान बुझ्नुहोस्।
दुई प्रकारका कर्म हुन्छन्। एउटा ‘इन्द्रिय-मन-बुद्धि’ युक्त कर्म हुन्छ। अर्को ‘इन्द्रिय-मन-बुद्धि-आशक्ति’ युक्त कर्म हुन्छ।
‘इन्द्रिय-मन-बुद्धि’ युक्त कर्म–
यहाँहरूले एउटा नर्सले बिरामीको हेरचाह गरेको देख्नुभएकै छ। त्यसै गरी बैङ्कमा एउटा क्यासियरले कारोबार गरेको देख्नुभएकै छ। यी दुवैका कर्म, ‘इन्द्रिय-मन-बुद्धि’ युक्त कर्म हुन्। अर्थात् उनीहरूको आफ्नो काममा आशक्ति हुँदैन।
एउटा बिरामीको मृत्यु भयो भने त्यो नर्स रुँदिनन्। त्यो क्यासियरले पैसा पाउँदा पनि खुसी हुँदैन। पैसा दिँदा पनि कुनै शोक हुँदैन। किनकि उनीहरू आशक्ति रहित कर्म गर्छन्। केवल आफ्नो जिम्मेवारी पूरा गर्छन्।
‘इन्द्रिय-मन-बुद्धि-आशक्ति’ युक्त कर्म–
त्यही नर्सले जब आफ्नो बिरामी श्रीमान्को हेरचाह गर्छिन्, तब त्यहाँ ‘इन्द्रिय-मन-बुद्धि-आशक्ति’ युक्त कर्म हुन जान्छ। किनकि श्रीमान्मा उनको आशक्ति छ। त्यही क्यासियरको जब आफ्नो १००० रूपियाँ हराउँछ, तब ऊ खिन्न हुन्छ। किनकि त्यहाँ उसको आशक्ति छ। यसलाई एउटा दृष्टान्तद्वारा बुझ्नुहोस्।
एउटा नोकरलाई लिनुहोस्। ऊ कसैको घरमा खाना बनाउने काम गर्थ्यो। त्यो घरको मालिक विदेश थियो। एक दिन त्यो घरको मालिक घर फर्कियो। उसको निम्ति मालिक्नीले उसलाई मन पर्ने विभिन्न परिकारहरू बनाउन लगाइन्। त्यो नोकरले ती सबै परिकारहरू बनायो। भोजन गराउने क्रममा मालिक्नीले खाना कस्तो लाग्यो भनेर मालिकलाई सोधिन्। मालिकले मीठो छ भन्यो। त्यो नोकर भोजन गराएर राती अबेर आफ्नो डेरामा फर्कियो। त्यहाँ आफ्नो श्रीमतीलाई सबैभन्दा रद्दी काम कसैको घरमा गएर खाना बनाउनु हो भन्दै गनगन गर्यो।
भोलिपल्ट बिहान मालिक्नीलाई आफ्नै हातले भोजन बनाएर मालिकलाई खुवाउने इच्छा भयो। त्यसैले उनले पनि ती सबै परिकारहरू आफैले बनाएर खुवाइन्। भोजन गराउने क्रममा मालिक्नीले आज पनि खाना कस्तो लाग्यो भनेर मालिकलाई सोधिन्। मालिकले हिजोजस्तै गरेर मीठो छ भन्यो।
अब हेर्नुहोस्। नोकरले र मालिक्नी दुवैले भोजन बनाए। मीठो भोजन बनाए। दुवैले परिश्रम गरे। दुवैले मन-बुद्धि लगाएर भोजन बनाए। तर दुवैको कर्ममा अन्तर छ। नोकरको कर्म ‘इन्द्रिय-मन-बुद्धि’ युक्त कर्म हो भने त्यो मालिक्नीको कर्म ‘इन्द्रिय-मन-बुद्धि-आशक्ति’ युक्त कर्म हो। किनकि मालिक्नीको आफ्नो श्रीमान्मा आशक्ति छ। नोकरको मालिकप्रति आशक्ति छैन। उसको आशक्ति आफ्नै परिवारमा छ। उसले जिम्मेवारीको हिसाबले काम गरेको छ।
जसरी नोकरले आफ्नो परिवारमा आशक्त भएर मालिककोमा काम गर्छ, त्यसै गरी यदि हामीले भगवान्मा आशक्त भएर संसारमा काम गर्यौँ भने त्यो कर्मको बन्धन हुँदैन। किनकि हामीलाई मनको आशक्तिको फल मिल्ने हो। यस प्रकारले यदि निरन्तर भगवान्मा मनको आशक्ति राखेर संसारी कर्म गर्न सक्यौँ भने हामी भगवान्को शरणागत हुन सक्छौँ।
यसको निम्ति दुई वटा उपायहरू छन्।
साधनाद्वारा आशक्तिरहित कर्म गर्ने उपाय–
पहिलो उपाय हो साधनाद्वारा। संक्षिप्तमा बुझ्नुहोस्। संसारमा सुख छैन, भगवान्बाट नै सुख मिल्छ; त्यसैले संसारमा कोही पनि मेरो छैन, भगवान् नै मेरो सर्वस्व हुनुहुन्छ। यसको बारम्बार चिन्तन गर्नुहोस्। एक दिन एक छिन होइन। लाखौँ, करोडौँ पटक निरन्तर चिन्तन गरिरह्यौँ भने बल्ल दिमागमा बस्छ।
जति जति हामी यसको चिन्तन गर्दै जान्छौँ, त्यति त्यति मनले मान्दै जान्छ कि भगवान्बाट नै सुख मिल्छ। जहाँबाट सुख मिल्छ भनेर मनले मान्दछ, त्यसैमा मनको आशक्ति हुने भएकाले क्रमशः हाम्रो आशक्ति भगवान्मा बढ्दै जान्छ। जति मात्रामा हाम्रो भगवान्मा अनुराग हुन्छ, त्यति नै मात्रामा संसारबाट पनि वैराग्य हुन्छ।
जग विराग हो तितनोइ, जितनोइ हरि अनुराग। भक्ति शतक १२
यस प्रकारले जति मात्रामा हाम्रो आशक्ति भगवान्मा बढ्दै जान्छ, त्यति नै मात्रामा संसारको कर्म हामी आशक्तिरहित अर्थात् ‘इन्द्रिय-मन-बुद्धि’ युक्त गर्न सक्छौँ।
गुरु-सेवाद्वारा आशक्तिरहित कर्म गर्ने उपाय–
दोस्रो उपाय हो सेवाद्वारा। निरन्तर साधना गर्न कठिन हुन्छ। त्यसैले साधनाको साथसाथमा सेवा अनिवार्य बताइएको छ। भगवान् र गुरुको सेवा। प्रारम्भमा भगवान् प्रत्यक्ष मिल्नुहुन्न। त्यसैले शास्त्रमा गुरुको सेवा अनिवार्य बताइएको छ। भगवान् रामले शबरीलाई भक्तिको उपदेश दिने क्रममा बताउनुभयो–
गुर पद पंकज सेवा तीसरि भगति अमान। रामचरितमानस ३–३५
अर्थात् गुरुको सेवा गर्नु। सेवा तन, मन, धनले हुन्छ। सर्वोच्च सेवा हो– गुरुको आज्ञाको पालन गर्नु।
अग्या सम न सुसाहिब सेवा। रामचरितमानस २–३०१–२
यदि हामीलाई गुरुले कुनै पनि आज्ञा दिनुभयो भने, त्यसको पालन गर्ने क्रममा हामीले जे-जे कामहरू गर्छौँ, ती सबै सेवा हुन जान्छन्। जस्तै गुरुले मन्दिर बनाउने आज्ञा दिनुभयो। अब मन्दिर बनाउनको लागि हामीले सयौँ प्रकारका कामहरू गर्छौँ। व्यक्तिहरूसँग कुरा गर्छौँ। पैसा कसरी जुट्न सक्छ भनेर धनको पनि चिन्तन गर्छौँ। मन-बुद्धि संसारमा नै लागेको देखिन्छ। तर ती सबै चिन्तन सेवा नै हुन्।
गुरुको सेवा गर्दा–गर्दा जति जति हामी सेवामा तल्लीन हुँदै जान्छौँ, त्यति त्यति हाम्रो आफ्नो काम पनि गुरुको सेवाको निम्ति हुँदै जान्छ। जस्तै, खाना पकाएर खानु। यो त संसारी काम थियो। तर मलाई खाना खानु छ ताकि शक्ति मिलोस् र गुरुको सेवा गरूँ। यो भावले गर्नासाथ खाना पकाएर खानु पनि सेवा हुन गयो। थकाइ लाग्यो भने सुत्छौँ। यो पनि संसारी काम हो। तर सुत्नु छ ताकि भोलि फेरि गुरुको सेवा गर्न सकियोस्। यो भाव बनाउने बित्तिकै अब सेवा हुन गयो। विभिन्न ठाउँमा लगानी भएको धनको रक्षा गर्नु पनि संसारी काम हो। तर त्यसबाट भएको आम्दानीले गुरुको सेवा गर्ने सङ्कल्प सहित गर्यौँ भने अब त्यो पनि सेवा हो। जागिर खानु संसारी काम हो। तर त्यसबाट मेरो घरपरिवार चल्छ। अलिकति बचेकोले यथासम्भव गुरुको पनि सेवा गर्न सक्छु। बचेको समयमा साधना गर्नमा जोड दियौँ भने अब जागिर खानु पनि सेवा नै हो।
भक्तको काम र संसारीको काम बाहिरबाट उस्तै उस्तै देखिन्छ। अन्तर के हो भने संसारी व्यक्तिले छोराछोरीको निम्ति, परिवारको निम्ति काम गर्छ। छोराछोरीको निम्ति घर बनाइदिन्छ। सम्पत्ति कमाइदिन्छ। किनकि त्यहीँ उसको आशक्ति हुन्छ। भक्तले भगवान्को निम्ति, गुरुको निम्ति सबै कार्य गर्छ किनकि उसको त्यहाँ आशक्ति हुन्छ।
अर्जुनले पनि युद्ध गरेका हुन्। तर श्रीकृष्णको निम्ति। युद्धमा शत्रुको चिन्तन हुन्छ। शत्रुको रणनीतिको चिन्तन हुन्छ। अस्त्रको चिन्तन हुन्छ। निशानाको चिन्तन हुन्छ। मन-बुद्धिको प्रयोग हुन्छ। त्यसैले अर्जुनको मन यी विभिन्न कार्यहरूमा थियो। तर ती सबै कार्य भगवान्को निम्ति भएकाले त्यसको बन्धन भएन। अतः हामीले पनि यथासम्भव गुरुको आज्ञा अनुसार गुरुको निम्ति कार्य गर्नुपर्छ। यसैबाट नै हाम्रो कल्याण सम्भव छ।
यस प्रकारले मन संसारी कार्यमा लागेता पनि त्यो कार्यप्रतिको आशक्ति गुरुको निम्ति भएकाले त्यसको बन्धन हुँदैन।
तर यदि गुरुको निम्ति भनेर व्यवसाय चाहिँ गर्यौँ तर नाफा छोराछोरीको निम्ति नै दियौँ भने त्यो ‘शरणवरण तुष्टि’ हुन जान्छ। त्यसबाट लाभ हुँदैन। गुरुको सेवाको निम्ति शरीरको रक्षा गर्नु छ भनेर आफ्नो शरीरको लागि विभिन्न कामहरू त गर्यौँ, तर त्यो शरीरले गुरुको सेवा नगरी भोगविलास गर्यौँ भने त्यसबाट लाभ मिल्दैन। त्यसैले गुरुको निम्ति मान्नुको मतलब हो पक्का मान्नु।
हामी आफै हिसाब गर्न सक्छौँ। हाम्रो कमाइबाट कति प्रतिशत परिवार, छोराछोरीमा खर्च गर्यौँ अनि कति प्रतिशत गुरुको निम्ति, भगवान्को निम्ति खर्च गर्यौँ? यदि मनन गर्यौँ भने यसैबाट थाहा हुन्छ कि हाम्रो स्थिति के छ।
व्यवहारिक रूपमा केही उपायहरू यस प्रकार हुन सक्छन्। संसारी कामहरू जति कम गर्दा चल्छ त्यति नै गर्ने। सकेसम्म थोरै व्यक्तिहरूसँग नै व्यवहार गर्ने। कम बोल्ने। जति सकिन्छ गुरुको सेवा गर्ने र साधना गर्ने। यी उपायहरू अपनायौँ भने क्रमशः लाभ मिल्दै जान्छ।
साधना सम्बन्धी गहिराइमा जान्नु छ भने गुरुसँग भेटेर उहाँबाट बुझ्न सक्नुहुनेछ।
जय श्री राधे!




