भगवान्लाई जान्नको निम्ति अथवा वेद-शास्त्रको ज्ञान प्राप्त गर्नको निम्ति गुरु अनिवार्य हो। गुरु कस्तो हुनुपर्छ त? वेद भन्दछ–
तद्विज्ञानार्थं स गुरुमेवाभिगच्छेत् समित्पाणिः श्रोत्रियं ब्रह्मनिष्ठम्। मुण्डकोपनिषद् १–२–१२
अर्थात्, भगवान्लाई जान्नको निम्ति श्रोत्रिय ब्रह्मनिष्ठ महापुरुषको शरणमा जानुपर्छ। श्रोत्रिय भन्नाले वेदशास्त्रको ज्ञान भएको अनि ब्रह्मनिष्ठ भन्नाले स्वयम् भगवान्को साक्षात्कार गरेको, भगवान्को अनन्त आनन्द प्राप्त गरेको। यस्तो महापुरुषलाई नै गुरु मान्नुपर्छ। यस्तो गुरुले हामीलाई वेद-शास्त्रको ज्ञान प्रदान गर्नुहुन्छ। वास्तविक गुरुको बाहिरी परिचयको कुनै पनि महत्त्व हुँदैन। उहाँभित्र ईश्वरीय अनन्त आनन्द छ कि छैन? यही प्रमुख योग्यता हो। वास्तविक गुरु कुनै प्राचीन गुरु–शिष्य परम्परामा नै हुनुपर्छ भन्ने पनि छैन। दुई वटा योग्यता अनिवार्य हो– १. समस्त वेदशास्त्रको ज्ञान (श्रोत्रिय) २. भगवान्को प्रेम प्राप्त (ब्रह्मनिष्ठ)। यसबाहेक अन्य कुनै पनि योग्यता चाहिँदैन। भगवान्ले गीता र भागवतमा पनि यही बताउनुभएको छ।
वास्तविक गुरु हामीलाई कसरी मिल्नुहुन्छ त?
गुरु अनिवार्य हो भन्ने जानिसकेपछि व्यक्तिहरू गुरुलाई खोज्ने प्रयत्न गर्छन्। वास्तवमा गुरुलाई खोजेर भेट्न सकिँदैन। आदि जगद्गुरु श्री शङ्कराचार्यजी भन्नुहुन्छ–
दुर्लभं त्रयमेवैतद्देवानुग्रहहेतुकम्। मनुष्यत्वं मुमुक्षुत्वं महापुरुषसंश्रयः॥ विवेकचूडामणि ३
अर्थात्, वास्तविक गुरु भगवान्को कृपाद्वारा नै मिल्नुहुन्छ। तुलसीदासजी महाराज पनि भन्नुहुन्छ–
संत बिसुद्ध मिलहिं परि तेही। चितवहिं राम कृपा करि जेही॥ रामचरितमानस
अर्थात्, भगवान् रामले जब कृपा गर्नुहुन्छ अनि मात्र वास्तविक गुरुसँग भेट हुन्छ। त्यसैले वास्तविक गुरुलाई पाउनको लागि रोएर उहाँसँग प्रार्थना गर्नुपर्छ।
जगद्गुरु श्री कृपालु जी महाराज–
इतिहासमा भगवान् श्रीकृष्णलाई नै जगद्गुरु शब्दद्वारा सम्बोधित गरिएको छ। यथा–
तर वर्तमान कलियुगमा कुनै श्रोत्रिय ब्रह्मनिष्ठ महापुरुष जसले संसारलाई एउटा नयाँ वैदिक सिद्धान्त दिनुहुन्छ, साथै जो आफ्नो अवतार कालमा सर्वश्रेष्ठ हुनुहुन्छ, उहाँलाई जगद्गुरु शब्दद्वारा सम्बोधित गरिएको छ। यस क्रममा आदि जगद्गुरु श्री शङ्कराचार्यजी प्रथम जगद्गुरु हुनुभयो। त्यसपछि जगद्गुरु श्री निम्बार्काचार्यजी, जगद्गुरु श्री रामानुजाचार्यजी र जगद्गुरु श्री माध्वाचार्यजी क्रमशः मूल जगद्गुरु हुनुभएको छ। यस क्रममा जगद्गुरु श्री कृपालु जी महाराज पञ्चम मूल जगद्गुरु एवं इतिहासकै सर्वश्रेष्ठ जगद्गुरु हुनुहुन्छ।
उहाँले सन् १९२२ को शरत्पूर्णिमाको शुभ रात्रिमा अवतार लिनुभएको हो। सन् १९५७ को मकर सङ्क्रान्तिको दिन उहाँलाई काशी विद्वत् परिषद्ले जगद्गुरूत्तमको उपाधिले विभूषित गरेको थियो।
श्री घनश्यामदासजी महाराज–
श्री घनश्यामदासजी महाराज जगद्गुरु श्री कृपालु जी महाराजका सुपुत्र हुनुहुन्छ। उहाँलाई श्री गुरुदेवको कृपाद्वारा बाल्यकालमा नै गीता एवं रामायण कण्ठस्थ थियो। उहाँको प्रवचन सुनेर उहाँमा शास्त्रीय सर्वज्ञता छ भन्ने जो कोहीले पनि अनुमान लगाउन सक्छ। साथै, उहाँद्वारा प्रकटित रसमय सङ्कीर्तन जब उहाँ स्वयम्ले गाउनुहुन्छ, तब उहाँभित्रको राधाकृष्णको प्रेम सहजै अनुमान लगाउन सकिन्छ।
आउनुहोस्, वर्तमान आध्यात्मिक जगत्का सर्वोच्च महापुरुष श्री घनश्यामदासजी महाराजको सान्निध्यमा गएर लाभान्वित बनौँ।