संस्थासँग सम्बन्धित प्रश्नहरू–

यो कस्तो संस्था हो?

यो एउटा मुनाफारहित, जनहितकारी सामाजिक संस्था हो।

के यो कुनै धर्मसँग सम्बन्धित छ?

यो संस्था सनातन धर्मसँग सम्बन्धित छ।

के यो संस्था कुनै निश्चित समाज या वर्गसँग सम्बन्धित संस्था हो?

यो संस्था कुनै पनि वर्ण, समाज, धर्म, सम्प्रदाय, जाति आदिमा बाँधिएको छैन। यो सबैको निम्ति हो र यहाँ समभाव छ। 

यो संस्थाको उद्देश्य के हो?

यस संस्थाका तीन वटा प्रमुख उद्देश्यहरू छन्।

  • सनातन वैदिक दर्शनमा आधारित अनन्त-सुख-प्राप्तिको मार्गको सिद्धान्तको प्रचार–प्रसार गर्ने।
  • सनातन वैदिक दर्शनमा आधारित अनन्त-सुख-प्राप्तिको मार्गको क्रियात्मक साधना गराउने।
  • जन-कल्याणकारी कार्यक्रमहरू गर्ने तथा यस्ता कार्यक्रमहरू गर्न सहयोग गर्ने।

यो संस्थाले के–कस्ता कार्यहरू गर्छ या गर्न सक्छ?

यस संस्थाले विभिन्न स्थानहरूमा प्रवचन, प्रशिक्षण, ध्यान, योग, आदि रचनात्मक कार्यहरूको आयोजना गर्ने, विश्वभरमा रहेका सनातन धर्मका तीर्थहरूको यात्राको आयोजना गर्ने, सनातन धर्मको सिद्धान्तको प्रचारको निम्ति विभिन्न सञ्चार माध्यमहरूको आवश्यकता अनुसार प्रयोग गर्ने, विभिन्न साहित्य एवं भक्तिको सहायक सामग्रीको प्रकाशन एवं बिक्री–वितरण गर्ने, मठ–मन्दिरको निर्माण एवं संरक्षण गर्ने, स्वास्थ्य शिविर, रक्तदान, आदि जनहितकारी कार्यक्रमहरूको आयोजना गर्ने, इत्यादि विविध सामाजिक एवं धार्मिक कार्यहरू गर्छ या गर्न सक्छ।

के म यस संस्थासँग आबद्ध हुन सक्छु?

१८ वर्ष पुगेका नेपाली नागरिकहरू जो कोही पनि यस संस्थासँग आबद्ध हुन सक्छन्। 

यस संस्थासँग आबद्ध हुनको लागि साधारण, सक्रिय या आजीवन सदस्यता लिन सक्नुहुनेछ। सदस्यता लिने प्रक्रियाको बारेमा जान्नको लागि कृपया यहाँ सम्पर्क गर्नुहोस्।

गुरुसँग सम्बन्धित प्रश्नहरू–

यस संस्थामा जोडिएका व्यक्तिहरूले कस्तो दीक्षा पाउँछन्?

यस संस्थामा जोडिएका व्यक्तिहरूलाई कुनै पनि प्रकारको नाम दीक्षा या मन्त्र दीक्षा आदि दिइँदैन।

यस संस्थामा जोडिएपछि सबैभन्दा पहिले यहाँले सनातन धर्मको सिद्धान्त जान्ने अवसर प्राप्त गर्नुहुन्छ। ग्रन्थ/पुस्तक पढेर वा श्री गुरुदेवको प्रवचन सुनेर सनातन धर्मको सिद्धान्त जान्न, बुझ्न सक्नुहुन्छ।

त्यसपछि आध्यात्मिक साधना कसरी गर्ने भन्ने बारेमा निर्देशन प्राप्त गर्नुहुनेछ। आध्यात्मिक साधना दुई प्रकारले गर्न सकिन्छ। पहिलो एकान्तमा र दोस्रो सामूहिक रूपमा। यी दुवै साधना कसरी गर्ने भन्ने बारेमा स्वामी श्री रामदासजीले बताउनुहुनेछ।

एकान्त साधना घरमा अनि सामूहिक साधना, यस संस्थाद्वारा आयोजित हुने साप्ताहिक साधनामा सहभागी भएर गर्न सक्नुहुन्छ।

यस संस्थामा आबद्ध भएकाहरूको निम्ति गुरु को हुनुहुन्छ?

आध्यात्मिक साधनाको निम्ति गुरु अनिवार्य हो। यस संस्थामा जोडिएका व्यक्तिहरूले यदि साधना गर्ने इच्छा राख्नुभयो भने उहाँहरूको निम्ति पनि सर्वप्रथम गुरु तत्त्व अनिवार्य हो। गुरु तत्त्व अत्यन्त गूढ तत्त्व हो। यसलाई यहाँ सम्झाउन सम्भव छैन।

गुरु तत्त्वको बारेमा सामान्य जानकारीका लागि यहाँ गएर पढ्न सक्नुहुन्छ।

कसलाई गुरु बनाउने भन्ने सन्दर्भमा यहाँले स्वामी श्री रामदासजीलाई भेटेर उहाँबाट नै जानकारी लिन सक्नुहुन्छ।

स्वामी श्री रामदासजीसँग सम्बन्धित प्रश्नहरू–

स्वामी श्री रामदासजी को हुनुहुन्छ?

स्वामी श्री रामदासजी सनातन धर्म, भक्ति मार्गका प्रचारक हुनुहुन्छ। उहाँलाई जगद्गुरु श्री कृपालु जी महाराजका सुपुत्र श्री घनश्यामदासजी महाराजले प्रचारको आज्ञा दिनुभएको हो। अतः उहाँ श्री घनश्यामदासजी महाराजका प्रचारक हुनुहुन्छ।

के उहाँ नेपाली हुनुहुन्छ?

जन्म एवं कर्मको हिसाबले उहाँ नेपाली हुनुहुन्छ।

उहाँको संसारी परिचय?

त्यसो त एउटा साधकको सम्पूर्ण परिचय केवल भगवान् र गुरुसँग नै सम्बन्धित हुन्छ। तैपनि, संसारमा व्यक्तिहरूको एउटा संसारी परिचय पनि हुन्छ।

स्वामी श्री रामदासजीको सानै देखि भगवान्को भक्तिमा विशेष रुचि थियो। उहाँ श्री गुरुदेवको आश्रममा रहेर श्री गुरुदेवको सेवामा समर्पित रहँदै पनि भौतिक-शास्त्रमा स्नातक (B.Sc. Physics) र व्यवस्थापनमा स्नातकोत्तर (MBS, International Marketing) गर्नुभयो। पढाइ पूर्ण भएपछि उहाँ भक्ति–साधनाको साथसाथै आफ्नो संसारी व्यवसाय पनि संलग्न हुनुहुन्थ्यो। तर श्री गुरुदेवको आज्ञा अनुसार संसारी कार्यलाई छोडेर सनातन धर्मको प्रचारको निम्ति समर्पित हुनुभयो।

उहाँले कहाँ कहाँ प्रचार गर्नुभएको छ?

उहाँले नेपालमा काठमाडौँ, काँकडभिट्टा(झापा), दमक(झापा), उर्लाबारी(मोरङ) लुम्बिनी(लुम्बिनी), महेन्द्रनगर(कञ्चनपुर)मा आफ्नो विलक्षण प्रवचन दिइसक्नुभएको छ। त्यसै गरी भारतमा जम्शेदपुर(झारखण्ड), जयपुर(राजस्थान), गाजियावाद(उत्तर प्रदेश) र वृन्दावन धाममा समेत प्रवचन दिइसक्नुभएको छ।

के हामी हाम्रो सहरमा उहाँको प्रवचन कार्यक्रम राख्न सक्छौँ?

अवश्य। उहाँको समय तालिका मिलाएर, उहाँ प्रवचन कार्यक्रम हजुरको सहरमा राख्न सक्नुहुन्छ। उहाँको प्रवचन राख्न अरू केके व्यवस्था गर्नुपर्छ भन्ने बारेमा यहाँ सम्पर्क गर्नुहोला।