प्रश्न– अञ्जनी-पुत्र हनुमान्‌जीको बारेमा सविस्तार जान्न पाऊँ। प्रश्नकर्ता– मौसमी दाहाल।

उत्तर– एक पटक सीता माताले हनुमान्‌जीलाई एउटा मोतीको माला दिनुभयो। हनुमान्‌जीले त्यो मालालाई तोडेर एक एक गरेर मोतीहरूलाई टोक्दै फुटाउन थाल्नुभयो। उहाँको कार्य देखेर सबै जना अचम्मित भए। सीता माताले दिनुभएको प्रसादलाई स-सम्मान, स-प्रेम सम्हालेर राख्नुको सट्टा तोड्दै हुनुहुन्थ्यो। कसैले यो के गर्दै हुनुहुन्छ भनेर सोध्यो। हनुमान्‌जीले भन्नुभयो कि यी मोतीहरूमा मेरो प्रभु राम र माता सीता हुनुहुन्छ कि हुनुहुन्न भनेर म हेर्दै छु। यदि कुनै वस्तुमा भगवान् राम र सीता माता हुनुहुन्न भने तोडिदिनुहुन्छ त? उहाँले कुनै वस्तुमा मेरो प्रभु हुनुहुन्न भने, मलाई त्यसको केही काम छैन भन्नुभयो। उसले फेरि सोध्यो कि के तपाईँभित्र पनि राम हुनुहुन्छ त? आफूलाई पनि तोडेर हेर्नुहोस्। हनुमान्‌जीले आफ्नो छाती फारेर सीतारामको स्वरूप आफ्नो छातीमा देखाइदिनुभयो।

यस्ता परमभक्त श्री हनुमान्‌जी हुनुहुन्छ। हनुमान्‌जीको निम्ति स्वयम् भगवान् राम भन्नुहुन्छ–

प्रति उपकार करौं का तोरा। सनमुख होइ न सकत मन मोरा॥
सुनु सुत उरिन मैं नाहीं। देखेउँ करि बिचार मन माहीं॥ रामचरितमानस

अर्थात्, हे हनुमान्‌! म तिम्रो उपकारबाट उऋण हुन सक्दिन। यहाँसम्म कि–

एकैकस्योपकारस्य प्राणान् दास्यामि ते कपे।
शेषस्येहोपकाराणां भवाम ऋणिनो वयम् ॥ वाल्मीकि रामायण ७–४०–२३

हे हनुमान्‌! तिम्रो एक उपकारको लागि मैले प्राण दिएँ भने बल्ल म त्यो उपकारबाट उऋण हुन सक्छु। त्यसपछि पनि तिमीले गरेका बाँकी उपकारको त ऋणी नै रहिरहन्छु।

हामी हनुमान्‌जी कसको पुत्र हुनुहुन्थ्यो, कसरी हुर्किनुभयो, कसरी सबै सिद्धिहरू, शक्तिहरू प्राप्त भयो, केके लीलाहरू गर्नुभयो यी सबको बारेमा यहाँ चर्चा गर्नेछैनौँ किनकि यी सबै ऐतिहासिक (पौराणिक) प्रसङ्गहरू हुन्। साथै अनन्त छन्। त्यसैले हामी यहाँ समेट्न सक्दैनौँ। हामी हाम्रो भक्तिको लागि जे-जे काम लाग्ने कुरा हुन् ती मध्ये केहीको चर्चा गर्नेछौँ।

हनुमान्‌जी स्वयं शङ्कर भगवान् कै स्वरूप हुनुहुन्छ। यथा–

महादेवांशजः कपिः॥ शिवपुराण ३–२०–२४

अंश भन्नाले टुक्रा होइन। किनकि भगवान्‌को टुक्रा हुँदैन। जब आत्माको नै टुक्रा हुँदैन भने जो आत्माभन्दा पनि पर हुनुहुन्छ, भगवान्, उहाँको टुक्रा हुन सक्दैन। अतः अंशको अर्थ शक्ति हो। त्यसैले हनुमान्‌जी र शिवजीमा कुनै पनि भेद छैन। तुलसीदासजी महाराजले उहाँलाई शङ्करजीको अवतार भन्नुभएको छ–

शंकर सुवन केसरी नंदन तेज प्रताप महा जगवंदन॥ हनुमानचालीसा

हनुमान्‌जी भगवान् शङ्करजीकै स्वरूप भए तापनि लीला क्षेत्रमा उहाँको स्वरूप भक्तको स्वरूप हो। उहाँ भगवान् रामको परमभक्त हुनुहुन्छ।

प्रश्नकर्ताले हनुमान्‌जीको बारेमा जानकारीको अपेक्षा गर्नुभएको छ। वास्तवमा हनुमान्‌जीको बारेमा वर्णन गर्न कसैले पनि सक्दैन। उहाँलाई  भक्त मानेको अवस्थामा पनि उहाँको वर्णन गर्न असम्भव छ। त्यसै गरी भगवान् मानेको अवस्थामा पनि उहाँको वर्णन गर्न असम्भव छ। यथा–

सनकादिक ब्रह्मादि मुनीसा,  नारद, सारद सहित अहीसा॥ हनुमानचालिसा

जम कुबेर दिगपाल जहां ते, कबि कोबिद कहि सके कहां ते॥ हनुमानचालीसा

अर्थात्, सनक, सनातन, सनन्दन र सनत्‌कुमार परमहंस, ब्रह्माजी, नारदजी, सरस्वतीजी, यमराज, कुबेर, दिक्पाल, विद्वान्, पण्डित आदि पनि हनुमान्‌जीको वर्णन गर्न सक्नुहुन्न। सबै जना हनुमान्‌जीको गुणगान गर्नुहुन्छ। यस्ता परम तत्त्व श्री हनुमान्‌जीको भक्ति परम कल्याणकारी साधन हो। किनकि हनुमान्‌जीको कृपाद्वारा नै भगवान् रामको भक्ति प्राप्त हुन्छ। यथा–

राम दुआरे तुम रखवारे, होत न आज्ञा बिनु पैसा रे॥ हनुमानचालिसा

सब सुख लहै तुम्हारी सरना, तुम रक्षक काहू को डरना ॥ हनुमानचालिसा

अर्थात्, हनुमान्‌जीको शरणमा गएर सबै सुख अर्थात् अनन्त आनन्द प्राप्त हुन्छ, उहाँको शरणमा गएका जीवको स्वयं उहाँले नै रक्षा एवं योगक्षेम वहन गर्नुहुन्छ। उसले मायाबाट डराउनु पर्दैन। हनुमान्‌जी कल्पवृक्षभन्दा पनि कृपालु हुनुहुन्छ। कल्पवृक्षको कृपाले त केवल संसारी पदार्थ नै प्राप्त हुन सक्छ। तर हनुमान्‌जीको कृपाद्वारा संसारी विषय चाहनेलाई संसार, ऋद्धि सिद्धि चाहनेलाई ऋद्धि सिद्धि, मोक्ष चाहनेलाई मोक्ष र भक्ति चाहनेलाई भक्ति प्राप्त हुन्छ। अर्थात्, सम्पूर्ण मनोरथ पूर्ण हुन्छ। स्वयं भगवान् रामलाई नै प्राप्त गर्न सकिन्छ। यथा–

और मनोरथ जो कोइ लावै, सोई अमित जीवन फल पावै॥ हनुमानचालिसा

तुम्हरे भजन राम को पावै, जनम जनम के दुख बिसरावै॥हनुमानचालिसा

यसरी हनुमान्‌जीको भक्ति गर्नाले सबै थोक प्राप्त हुन्छ। भगवान् राम मिल्नुहुन्छ। उहाँ मिलेपछि सबै थोक मिल्छ। अतः हनुमान्‌जीको भक्ति गर्नुपर्छ। अब भक्ति भनेको के हो त?

भज इत्येष वै धातुः सेवायां परिकीर्त्तितः।
तस्मात् सेवा बुधैः प्रोक्ता भक्तिसाधनभूयसी॥ गरुडपुराण १–२२७–३

अर्थात्, भक्तिको अभिप्राय हो सेवा। यसमा एउटै लक्ष्य रहन्छ– स्वामीलाई खुसी बनाउनु। सेवकको या भक्तको धर्म हो सेव्यको सुखमा सुख राख्नु। जे गर्दा उहाँलाई सुख मिल्छ, त्यही गर्नु। त्यसैले हनुमान्‌जीको भक्ति गर्नको निम्ति, उहाँलाई जे गर्दा सुख मिल्छ, त्यही गर्नुपर्‍यो। हनुमान्‌जीलाई के गर्दा सुख मिल्छ त? तुलसीदासजी महाराज भन्नुहुन्छ–

प्रभु चरित्र सुनिबे को रसिया, राम लखन सीता मन बसिया॥ हनुमानचालीसा

अर्थात्, हनुमान्‌जी निरन्तर श्रीरामको लीला, गुण आदि सुन्न चाहनुहुन्छ। अतः भगवान् रामको चरित्रको, गुणको गान गर्‍यौँ भने, सङ्कीर्तन गर्‍यौँ भने नै हनुमान्‌जी प्रसन्न हुनुहुन्छ। त्यसैले, हामी हनुमान्‌जीलाई भगवान् सीतारामको लीला, गुण आदिको सङ्कीर्तनद्वारा नै खुसी बनाउन सक्छौँ। 

भगवान् श्रीरामको नाम-सङ्कीर्तन गर्नाले उहाँप्रतिको हाम्रो प्रेम बढ्दै जान्छ। जति मात्रामा प्रेम बढ्छ, त्यति नै मात्रामा उहाँको दर्शनको पनि लालसा, इच्छा बढ्दै जान्छ। जब भगवान् रामको दर्शनबिना अब एक क्षण पनि प्राण रहन सक्दैन, यो स्थितिमा हामी पुग्छौँ, तब हाम्रो मन पूर्ण शुद्ध हुन्छ। अनि हनुमान्‌जीको कृपाद्वारा भगवान् रामको दर्शन र प्रेम प्राप्त हुन्छ। भक्तिको बारेमा अझै धेरै कुरा जान्नु छ। पछि फेरि चर्चा गरिनेछ। 

 जय श्री राम!