विश्वमा जतिपनि जान्न योग्य कुराहरू छन्, ती सबै दुईवटा प्रश्नहरूको अन्तर्गत आउँछन्। ‘म के चाहन्छु र त्यो कसरी प्राप्त हुन सक्छ?’ हामी यो प्रवचन श्रृंखलाको क्रममा यही दुईवटा प्रश्नहरूको समाधान गर्नेछौं।

हामी सबै आनन्द चाहन्छौं।

पहिले ‘म के चाहन्छु?’ का बारेमा चर्चा गरौं। यसलाई एउटा उदाहरणद्वारा पनि बुझ्न सकिन्छ।

दृष्टान्त–
दुईजना व्यक्तिलाई लिनुहोस्। एउटा जँड्याहा र अर्को पुजारी। एउटा दिउँसै भट्टीमा गएर जाँड खान्छ। अर्को दिनभरी मन्दिरमा गएर भगवान्को सेवा गर्छ। यी दुईजनाको कार्य एकआपसमा कत्ति पनि मेल खाँदैन। स्वाभाव फरक, स्थान फरक, रूचि फरक, दिनचर्या फरक… यसप्रकारले सबैकुरा फरक छ, यही लाग्छ। यी दुवैको धर्म पनि फरक छ। एउटाको धर्मले अधोगति तर्फ लैजान्छ भन्ने हामी सहजै अनुमान गर्न सक्छौं। अर्कोको धर्मले उन्नति गर्छ भन्ने अनुमान गर्न सकिन्छ।
त्यो जँड्याहा र ती पुजारीको कर्म, स्वभाव आदि सबैकुरामा भिन्न देखिएता पनि, यी दुवैबीच एउटा कुरा समान छ। त्यो हो, अन्तिम उद्देश्य। त्यो जँड्याहालाई सोध्नुहोस् त, ‘तिमी के चाहन्छौं?’ भनेर। उसले यही भन्छ कि, ‘म पिउन चाहन्छु।’ ‘किन पिउन चाहन्छौं?’, फेरि प्रश्न गर्नुहोस्। उसले यही बताउँछ कि सुखको लागि। ‘मैले पिएँ भने मलाई सुख मिल्छ। त्यसैले म पिउन चाहन्छु।’ त्यसैगरी पुजारीलाई पनि सोध्नुहोस्। ‘तिमी किन भगवान्को सेवा गर्छौ?’ उनले यही भन्न सक्छन् कि, ‘भगवान्को सेवा गर्दा मलाई सुख मिल्छ।’ अर्थात्, सुखकै निम्ति जँड्याहाले जाँड पिउँछ अनि सुखकै निम्ति पुजारीले भगवान्को सेवा गर्छन्। यो आश्चर्यलाग्दो कुरा होइन र? दुबैजनाले अलगअलग प्रकारको कार्य गरेता पनि दुबैजनाको अन्तिम उद्देश्य एउटै छ!

यस उदाहरणद्वारा के प्रष्ट हुन्छ भने हरेक व्यक्ति केवल सुख चाहन्छ। आनन्द चाहन्छ। हाम्रो लक्ष्य सुखप्राप्ति नै हो। यहाँहरूले पनि ‘म के चाहन्छु?’ भनेर आफैँले आफैलाई प्रश्न गर्नुभयो भने यही निष्कर्षमा पुग्नुहुनेछ कि, ‘हो। वास्तवमा म आनन्द नै चाहन्छु’। तर यहाँसम्म पुग्नको लागि अलिकति चिन्तनमनन भने गर्नुपर्छ।

दृष्टान्त–
जस्तो एउटा विद्यार्थीलाई सोध्नुहोस्। ‘तिमी के चाहन्छौ?’ उसले यही भन्न सक्छ कि, ‘मैले परीक्षा दिएको छु। म चाहन्छु कि म राम्रो अङ्क ल्याएर परीक्षा उत्तीर्ण गरूँ।’ ‘किन?’, फेरि प्रश्न गर्नुहोस्। ‘म डाक्टर पढ्न चाहन्छु, त्यसैले।’ उसको उत्तर यसप्रकार हुन सक्छ। ‘डाक्टर किन बन्न चाहन्छौ?’, ‘किनकि डाक्टर भएँ भने इज्जत पनि हुन्छ, पैसा पनि हुन्छ।’, ‘पैसा किन चाहन्छौ?’, ‘पैसा भयो भने गाडी किन्न सक्छु। घर बनाउन सक्छु। अनेक प्रकारका सामान किन्न सक्छु।’, ‘यो गाडी, घर, अनेक प्रकारका सामान किन चाहन्छौ?’, ‘यसकारण कि यी सबै सामान उपभोग गरेर मलाई सुख मिल्छ।’, ‘सुख किन चाहन्छौ?’, ‘सुख?…..।’ अब केही उत्तर आउँदैन।

शास्त्र भन्दछ–

प्रयोजनमनुद्दिश्य न मन्दोऽपि प्रवर्तते। सर्ववेदान्तसिद्धान्तसारसङ्ग्रह ११

हरेक व्यक्तिको केही न केही प्रयोजन हुन्छ। यो अनुभवसिद्ध विषय पनि हो। किनकि मूर्खभन्दा मूर्ख व्यक्तिले पनि बिनाप्रयोजन केही कार्य गर्दैन। त्यसैले हाम्रो प्रत्येक कामनाको पछाडि पनि अवश्य कुनै प्रयोजन हुन्छ। त्यो हो आनन्द, सुख, शान्ति, मजा। अनेक पर्यायवाची शब्दहरू छन्। सबै व्यक्तिहरू अनेकौं कामना गर्दछन्। कतिपयलाई लाग्न सक्छ कि सबैको अलग अलग प्रयोजन होला। तर जड्याहा र पुजारीको उदाहरणबाट हामीले बुझिसक्यौं कि सबैको एउटै प्रयोजन छ। चाहे त्यो गरीब होस् चाहे धनि, चाहे विद्वान् होस् चाहे मूर्ख, चाहे आस्तिक होस् चाहे नास्तिक, जुन सुकै देशको किन नहोस् सबैजना केबल एउटा चिज चाहन्छन्। सबैको एउटै लक्ष्य छ। त्यो हो सुखप्राप्ति। आनन्दप्राप्ति। हामी सबै विपरित प्रकारका काम गर्छौं नि। कहिले हामी हाँस्छौं, कहिले रुन्छौं, कहिले पैसा कमाउँछौं, कहिले फेरि खर्च गर्छौं। हेर्नुस् एउटाले अपराध गर्छ एउटाले दण्ड दिन्छ। एउटाले हत्या, चोरी गर्ने कार्य गर्छ, अर्कोले बचाउने काम गर्छ। तर सबैजनाको उद्देश्य एउटै छ। आनन्दप्राप्ति।
संसारमा सर्वत्र विषमता छ। एउटा रूखको दुईवटा पात समान हुँदैनन्। एउटा फूलको दुईवटा पत्ता समान हुँदैनन्। दुईजना मनुष्यको अनुहार मिल्दैन। औँलाको छाप मिल्दैन। एउटा कोषभित्रको न्युक्लियस भित्रको डिएनए (DNA), जसलाई आँखाले देख्न सकिँदैन, त्यो पनि सबैको अलग अलग हुन्छ। निष्कर्ष के हो भने, संसारमा सर्वत्र विषमता छ। तर सबैजना केवल सुख नै चाहन्छन्। एकजना पनि व्यक्ति भेटिँदैन, जसले दुःख चाहोस्।


सनातन धर्मालाई मान्ने मात्रै आनन्द चाहन्छन् भन्ने होइन। एकजना इसाइलाई हेर्नुहोस्। ऊपनि हेभन जान चाहन्छ, हेल चान चाहँदैन। किन? आनन्द कै लागि। एउटा इस्लाम धर्मको अनुयायीलाई हेर्नुहोस्। ऊ पनि जन्नत जान चाहन्छ, जह्नुम जान चाहँदैन। किन? आनन्द कै लागि। विश्वको प्रत्येक जीव केवल आनन्द चाहन्छ। यो अनुभव र तर्कसङ्गत कुरा हो। अब शास्त्रबाट पनि बुझौं। भागवत भन्दछ–

कर्माण्यारभमाणानां दु:खहत्यै सुखाय च। भागवत ११–३–१८

अर्थात्, हरेक व्यक्तिले दुःखबाट छुटकारा पाउन एवं सुखप्राप्तिका लागि नै कार्य गर्दछ। त्यतिमात्रै होइन। भागवत भन्दछ–

सुखाय दु:खमोक्षाय सङ्कल्प इह कर्मिण:। भागवत ७–७–४२

अर्थात्, प्रत्येक सङ्कल्प, सोचाइ, इच्छा पनि सुखप्राप्तिकै लागि हो। एकजना दम्पतीलाई हेरौं। उनीहरू सुख मिलोस् भन्नका लागि योजना बनाउँछन्। प्रेमगर्दा देखि नै। विवाह गर्ने योजना, पैसा कमाउने योजना, बालबच्चाको योजना, अनेक प्रकारका योजना बनाउँछन्। त्यसअनुसार कार्य पनि गर्छन्। केका निम्ति? सुखको निम्ति। दुःख जओस् र सुख मिलोस् भनेर। तर भागवत भन्दछ–

सुखाय दु:खमोक्षाय कुर्वाते दम्पती क्रिया:। ततोऽनिवृत्तिरप्राप्तिर्दु:खस्य च सुखस्य च॥ भागवत ६–१६–६०

सुख मिलोस् र दुःखबाट छुटकरा मिलोस् भनेर संसारमा सबै दम्पतीहरूले अनेक कार्य गर्दछन्। हामी पनि परिवारमा सबैजना यही उद्देश्य लिएर कार्य गर्छौं। तर हामी सबैको अनुभव यही हो कि न त ती कार्यबाट सुख नै मिल्छ, न त दुःखबाट छुटकारा नै। त्यसैले अधिकांश व्यक्तिले बृद्धावस्थामा जीवनको बारेमा, विगतको बारेमा सोच्छन्, र समग्रमा जीवनलाई निसार, निरस नै पाउँछन्। किनकि वेदव्यासजी भन्नुहन्छ–

सुखाय कर्माणि करोति लोको न तै: सुखं वान्यदुपारमं वा। विन्देत भूयस्तत एव दु:खं यदत्र युक्तं भगवान् वदेन्न:॥ भागवत ३–५–२

सुखको निम्ति हरेक व्यक्तिले प्रत्येक कार्य गर्दछन्। तर ‘न तैः सुखम्’ त्यसबाट सुख मिल्दैन, उल्टै दुःख मिल्छ। हामीलाई जहाँजहाँबाट सुख मिल्छ भन्ने आशा हुन्छ, त्यहीँत्यहीँबाट नै दुःख मिल्छ। हामीलाई आफ्नो श्रीमान् वा श्रीमतिबाट नै दुःख मिल्छ। बाटोमा हिँडेको कुनै पुरुष वा स्त्रीबाट दुःख मिल्दैन। हामीलाई आफ्नै बच्चाबाट दुःख मिल्छ। अरूको बच्चा बिग्रिए पनि दुःख मिल्दैन। निष्कर्ष के हो भने जुन विषयबाट सुख मिल्छ भन्ने कामना गर्दछौं, त्यसैबाट अन्तिममा गएर दुःख नै मिल्छ। किन? किनकि हामीले वास्तविक सुख के हो र कसरी मिल्छ भन्नेबारेमा जानेनौं।

त्यसैले वास्तविक सुख के हो र कसरी मिल्न सक्छ? यसको बारेमा जान्नुछ। त्यसैले अब हामी वास्तविक सुख केलाई भनिन्छ? त्यस्तो वास्तविक सुख कसरी प्राप्त हुन सक्छ? यसको बारेमा चर्चा गर्नेछौं।

हामीमात्र होइन, सबै जीव आनन्द नै चाहन्छन्।

हामी सबै आनन्द चाहन्छौं। यसमा कुनै पनि अपवाद छैन। केवल मनुष्य मात्रै होइन पशुपंक्षी पनि आनन्द नै चाहन्छन्।

दृष्टान्त–
एउटा कुकुरलाई पिटिदिनुस्। ऊ भुक्दै पर जान्छ। रिसाएर हेर्छ, दुःखी भएर भुक्छ र भन्छ, मलाई यो पीडा चाहिँदैन। म पनि आनन्द चाहन्छु। यसको मतलब यही हो कि सबै जीव आनन्द नै चाहन्छन्।

त्यसैले शास्त्रमा भनिएको छ–

पशु पक्षी कीट आदि गोविंद राधे। आनन्द ही के हेतु व्यग्र बता दे॥ राधा गोविन्द गीत

पशुपंक्षी कीटपतंग सबै आनन्द कै निम्ति व्यग्र रहन्छन्।

अन्य प्रत्येक चाहनाको पछाडिको अन्तिम प्रयोजन पनि आनन्दप्राप्ति नै हो।

अब फेरि हाम्रै कुरा गरौं। वेदशास्त्रद्वारा र अनुभवद्वारा पनि हामीले बुझ्यौं कि हामी सुख चाहन्छौं, त्यसको विपरित दुःख चाहँदैनौं । वास्तवमा हामी आनन्द बाहेक केही पनि चाहँदैनौं। हामीले गर्ने प्रत्येक कर्म, प्रत्येक संकल्प सुखकै निम्ति हो । आनन्दबाहेक यदि कसैले केही चाहन्छु भन्छ भने, वेदव्यासजी भन्नुहुन्छ –

सर्वेषामपि भूतानां नृप स्वात्मैव वल्लभ:। इतरेऽपत्यवित्ताद्यास्तद्वल्लभतयैव हि॥ भागवत १०–१४–५०

अर्थात्, यदि धन, सन्तान, आदि विभिन्न कुराहरू प्राप्त गर्नको लागि कसैले कामना गरेको, प्रयत्न गरेको देखिन्छ भने त्यो पनि केवल आत्माको सुखको लागि हो। आनन्दकै निम्ति हो। त्यसैले एरिस्टोटल पनि भन्दछन्–

For we choose happiness for itself, and never with a view to anything further; whereas we choose honor, pleasure, intellect . . . because we believe that through them, we shall be made happy. Aristotle

अर्थात्, हामी केवल सुख चाहन्छौं। यसबाहेक सम्मान, मजा, ज्ञान यसकारण चाहन्छौं किनकि हामी यही मान्दछौं कि त्यसबाट हामीलाई आनन्द मिल्छ। त्यसैले।
केही दार्शनिकहरू जीवन, ज्ञान, स्वतन्त्रता, शासन र आनन्द गरेर पाँचवटा लक्ष्यको कुरा गर्दछन्। यो अनुभवसिद्ध विषय पनि हो।

जीवन– हरेक व्यक्ति बाँच्न चाहन्छ। मर्ने कसैलाई रहर हुँदैन।
ज्ञान– त्यसैगरी हामी निरन्तर नयाँ कुरा जान्न चाहन्छौं। पढेर, भोगेर, अरूको बोलीचाली, व्यवहारबाट विभिन्न प्रकारले हामी नयाँनयाँ कुरा सिकिरहेका हुन्छौं।
स्वतन्त्रता– हामी स्वतन्त्रता चाहन्छौं। स्वतन्त्रताकै निम्ति विश्वभर कति धेरै आन्दोलन भए।
शासन– त्यसैगरी यद्यपि हामी आफू चाहिँ स्वतन्त्रता चाहन्छौं, तर अरू सबैमाथि शासन गर्न चाहन्छौं।
आनन्द– हामी सबै आनन्द चाहन्छौं। यसमा दुई मत छैन।

यसरी पाँचवटा लक्ष्य मान्दछन्। तर, वास्तवमा हामी अन्य जीवन, ज्ञान, स्वतन्त्रता र शासन पनि आनन्दकै श्रोत ठानेर आनन्दकै निम्ति चाहन्छौं। जस्तै, जीवन। हामी यसकारण बाँच्न चाहन्छौं किनकि बाँचेर नै त आनन्दप्राप्तिको संभावना रहन्छ। यदि कसैले उसको जीवनमा कहिल्यै पनि सुखप्राप्त गर्ने संभावना नै छैन भन्ने निश्चित गर्यो भने उसले आत्महत्या गर्छ। आनन्दप्राप्तिको संभावना बिनाको जीवन पनि प्रिय हुँदैन। यदि जीवन परमचरम लक्ष्य भएको भए, कसैले पनि आत्महत्या गर्न सक्दैन। कुनै पनि अवस्थामा। तर व्यक्तिहरूले आत्महत्या गरेको देखेका छौं। तसर्थ परमचरम लक्ष्य जीवन होइन, आनन्द नै हो। जीवन, ज्ञान, शासन, स्वतन्त्रचा आदिको लक्ष्य पनि आनन्दकै निम्ति हो ।

हामी सफलता पनि आनन्दप्राप्ति कै निम्ति चाहन्छौं।

कतिपय सफलता चाहन्छन्। तर सफलता केलाई भनिन्छ भन्ने नै थाहा छैन। एउटा बैंकमा करियर शुरु गरेको व्यक्तिले त्यो बैंकको म्यानेजर बन्नु वा सिइओ बन्नुलाई नै सफलता ठान्दछ। तर त्यसो होइन। देवर्षि नारदजी भन्नुहुन्छ–

दुःखहानिः सुखावाप्तिः श्रेयस्तन्नेह चेष्यते। भागवत ४–२५–४

अर्थात्, दुःखको आत्यान्तिक नाश र परमानन्दप्राप्ति नै वास्तवमा सफलता हो। श्रेय हो। सँधैका लागि दुःख समाप्त होस् र सँधैका लागि सुख मिलोस्। यही वास्तवमा सफलता हो। यसबाहेक अरू सबै भ्रम हुन्। किनकि हाम्रो परमचरम लक्ष्य आनन्द हो। तसर्थ जबसम्म हामी आनन्द प्राप्त गर्दैनौं, तबसम्म सफल हुँदैनौं।
आनन्दको निम्ति निरन्तर प्रयत्न गर्दागर्दै पनि बारम्बार दुःख नै मिल्यो।

दृष्टान्त–
आनन्द पाउनको लागि हामीले अहिलेसम्म धेरै प्रयत्न गर्यौं। सबै प्रयत्न देखासिकी द्वारा नै गर्यौं। सानो हुँदा हामीलाई स्कूलको पढाइ सकेपछि सुख मिल्छ भनियो। हामीले दिनरात मेहनत गरेर स्कूलको पढाइ पूरा गर्यौं। सुख मिल्यो? मिलेन। सुख एककदम पर सर्यो। बाह्रको पढाइ पूरा भयो भने सुख मिल्छ। त्यो पनि पूरा गर्यौं। सुख मिल्यो? मिलेन। सुख अझै एककदम पर सर्यो। एम्.बी.बी.एस्. पढ्यो भने सुख मिल्छ। त्यसको लागि पनि परिश्रम गर्यौं। पढ्यौं। पास गर्यौं। डाक्टर बन्यौं। सुख मिल्यो? मिलेन। सबैले सल्लाह दिए। बिबाह गर्यो भने सुख मिल्छ। होला भन्ने लाग्यो। बिबाह गर्यौं। सुख मिल्यो? मिलेन। सुख एककदम पर सर्यो। बच्चा भयो भने सुख मिल्छ। बच्चा पनि भयो। तैपनि सुख मिलेन।

यसप्रकार जीवनभरि सुखको निम्ति प्रयत्न गर्यौं तैपनि,

सुखाय कर्माणि करोति लोको न तै: सुखं वान्यदुपारमं वा। विन्देत भूयस्तत एव दु:खं। भागवत ३–५–२

सुख मिलेन। उल्टै दुःख मिल्यो। सुख मिलोस् भन्ने उद्देश्यले नै कार्य गरेता पनि ती कार्यहरूबाट अनेक प्रकारका दुःखहरू नै मिल्यो।

तीन प्रकारका दुःख–

शास्त्रमा दुःखलाई ताप पनि भनिएको छ। यद्यपि अनेक प्रकारका दुःखहरू हामीले भोग्दछौं। ती दुःखहरूलाई तीन भागमा वर्गीकरण गरिएको छ। अर्थात्, शास्त्रमा तीन प्रकारको दुःख बताइएको छ। विष्णुपुराणको छैटौं अंशको पाँचौं अध्यायमा हामीले हाम्रो जीवनमा आइपर्ने अनेक प्रकारका दुःखको विषद् वर्णन गरिएको छ। ती सबै दुःखलाई परासरजीले तीन भागमा विभक्त गर्नुभएको छ। उहाँ भन्नुहुन्छ – दुःख ३ प्रकारका हुन्छन्। पहिलो आध्यात्मिक दुःख, दोस्रो आधिदैविक दुःख एवं तेस्रो आधिभौतिक दुःख।

यसमा आध्यात्मिक दुःख दुई प्रकारका हुन्छन् । शारीरिक एवं मानसिक। शारीरिक दुःख अन्तर्गत शरीरमा अनेक प्रकारका रोग लागेर हुने दुःखहरू पर्दछन्। जस्तै ज्वरो आयो, रुघा लाग्यो, दाँत दुख्यो भने हामीलाई पीडा हुन्छ। हामी दुःखी हुन्छौं। त्यसैगरी मानसिक दुःखमा मानसिक तापहरू जस्तै काम, क्रोध, लोभ, मोह, भय, आदि पर्दछ। एकजनाले हामीलाई एउटा शब्द भन्यो भने हामी त्यसैको बारम्बार चिन्तन गरेर भित्रभित्रै जल्छौं। हाम्रो अरू सबै सुख समाप्त भएको अनुभव हुन्छ। यस्तो छ हाम्रो हालत कि एउटा शब्द, एउटा गाली, एकपटकको अपमान सहन सक्दैनौं। परीक्षामा कम अङ्क आयो भनेर हरेक वर्ष कतिजनाले आत्महत्या गरिरहेका हुन्छन्। हिजोआज मायाप्रेमको कारणले गर्दा व्यक्तिहरूले कति धेरै मानसिक दुःख भोगिरहेका छन्। विस्तृत गर्न आवश्यक छैन। यहाँहरूले बुझिसक्नुभयो। यसरी आफ्नो शरीर र मनको अवस्थाले गर्दा उत्पन्न हुने दुःखलाई अर्थात् शारीरिक र मानसिक दुःखलाई आध्यात्मिक दुःख भनिन्छ।

अब आधिभौतिक दुःख केलाई भनिन्छ, त्यो बुझ्नुहोस्। हामीलाई अन्य मनुष्य, पशुपंक्षी आदिबाट प्राप्त हुने दुःख हो आधिभौतिक दुःख। जस्तै, हामीले विश्वास गरेर कसैलाई मद्दत गर्यौं। पैसा सापटी दियौं। उसले पैसा फिर्ता दिनु कताकता, फोन पनि उठाएन। यो हो आधिभौतिक दुःख। अरुको कुरै छोडौं। हामी हाम्रै परिबारमा कहिले श्रीमतीबाट कहिले छोराछोरीबाट, कहिले आमाबुबाबाट हामी सँधै दुःखी हुन्छौं।

तेस्रो प्रकारको दुःख हो आधिदैविक दुःख। जाडो, गर्मी, वर्षा, खडेरी, प्राकृतिक प्रकोप आदिबाट प्राप्त हुने दुःख आधिदैविक दुःख हो। यी तीन प्रकारका दुःखलाई तीन ताप पनि भनिन्छ। कहिँ यदि तीन ताप सुन्नुभयो भने आध्यात्मिक दुःख, आधिदैविक दुःख एवं आधिभौतिक दुःख भनेर बुझ्नुहोला।


यी त भए जीवन रहँदाका दुःख। जीवित अवस्थाका दुःख। यसबाहेक पनि जन्मँदा र मर्दा अत्यन्त दुःख मिल्छ।
अहिले त हामीले बिर्सियौं। तैपनि अन्दाज गर्न सक्छौं। यदि कुनै हट्टाकट्टा व्यक्तिलाई २४ घन्टा उल्टो झुन्ड्यायौं भने कति दुःख मिल्छ उसलाई। सोच्नुस् त। महिनौंसम्म अत्यन्त दुर्गन्धित बातावरणमा आमाको गर्भमा उल्टो झुण्डिदा एउटा बालकलाई कति पीडा भयो होला? त्यहीमाथि आमाले खाएको चिल्लो, पिरो, अमिलोले गर्भको बालकलाई झन् पीडा मिल्छ। मल–मूत्रको कुण्डमा अत्यन्त पीडित हुँदा हातखुट्टा चलाउन पनि सक्दैन। चेतनायुक्त हुँदाहुँदै पनि श्वास फेर्न सक्दैन। यसरी गर्भावस्थामा अत्यन्त दुःखी भएर हामी आमाको कोखमा रहेका थियौं।

त्यसपछि जन्मिँदाको कष्ट।

पुनरपि जननं पुनरपि मरणं पुनरपि जननी जठरे शयनम्। इह संसारे खलु दुस्तारे कृपया पारे पाहि मुरारे॥ शंकराचार्यजी

आदि जगद्गुरु श्री शंकराचार्यजी भन्नुहुन्छ कि जन्मँदा, मर्दा र आमाको गर्भमा, यी तीनवटा अवस्थामा विशेष कष्ट मिल्छ। गर्भको दुःखको व्याख्या त हामीले गर्यौं। गर्भको दुःखभन्दा पनि बढी दुःख जन्मँदा र मर्दा हुन्छ। त्यसैले अनेक स्थानमा बताइएको छ–

जनमत मरत दुसह दुख होई। रामचरितमानस
जन्ममरणादिषु दुःखमेव। चाणक्यसूत्र

अर्थात्, जन्ममरण आदिमा दुःख नै दुःख छ। जन्मँदाखेरि त्यस्तो कोमल शरीर, सानो क्षीद्रबाट रगडिँदै बाहिर निस्किन्छ। त्यसमा अत्यन्त दुःख मिल्छ बालकलाई। मल, मुत्र, रगत, सबै अनुहारभरि लत्पतिन्छ। शिशु अवस्थामा पनि अनेक दुःख आइपर्छन्। एउटा बालकलाई हेर्नुहोस्। ऊ बिस्तारामा रहिरहन्छ। भोक लाग्यो पनि भन्न सक्दैन। कीराले टोक्यो भने पनि केही गर्न सक्दैन। यसप्रकारले जीवले जन्मँदा र बाल्यअवस्थामा अनेक प्रकारको दुःख भोग्छ। युवावस्थामा पनि सम्पत्ति आर्जन गर्न, त्यसको रक्षा गर्न र त्यसको नष्ट हुँदा अनेक प्रकारले दुःख पाउँछ। बृद्ध अवस्थामा त शरीर नै शिथिल हुन्छ। न मन लागेको खान पाउँछौं, न मन लागेको ठाउँमा जान नै सक्छौं। आँगन पनि परदेशसमान लाग्छ। दाँत पनि झर्छ। सौन्दर्यता, बल सबैले शरीरको साथ छोड्छन्। हड्डी कमजोर हुन्छ। अनेक प्रकारका रोग लाग्छन्। स्मरणशक्ति पनि कमजोर हुन्छ। सबै कार्य गर्न अरुको सहायता लिनुपर्ने हुँदा हेलाहाको पात्र बनिन्छ। त्यस्तो अवस्थामा युवावस्थाको स्मरण गरेर हामी अत्यन्त दुःखी हुन्छौं। मृत्युको समयमा पनि अत्यन्त पीडा हुन्छ। हजारौं बिक्षुले टोकेको समान कष्ट हुन्छ। मृत्युपछि अनेक प्रकारका नरकको यातना त झन् निकै भयानक हुन्छ।

तर हामी यी सबै दुःख चाहँदैनौं। हामी त आनन्द चाहन्छौं।

दृष्टान्त–
हामीले जन्मनासाथ ‘म आनन्द चाहन्छु।’ भनेर नारा लगायौं। यहाँहरूले भन्नुहोला कि जन्मँदा त कसैले बोल्न पनि सक्दैन। फेरि नारा कसरी लगाउन सक्छ? जन्मँदा बालकलाई अत्यन्त कष्ट मिल्छ। त्यसैले बालक जन्मनासाथ रुन्छ। रोएर यही भन्छ कि म यो कष्ट चाहन्न। म आनन्द चाहन्छु।

आनन्द कस्तो हुन्छ? केलाई भनिन्छ? यही नजानेको कारणले गर्दा हामी दुःखी छौं। पहिले चर्चा गरौं आनन्द कस्तो हुन्छ भनेर। हामी कस्तो आनन्द चाहन्छौं त? कस्तो सुख चाहन्छौं त?

वास्तविक सुख कस्तो हुन्छ?

आनन्दका तीनवटा प्रमुख लक्षण हुन्छन्। हामीले चाहने आनन्दको तीनवटा गुणहरू छन्। ध्यान दिनुस् तीनवटा। जुन आनन्दको निम्ति हामी प्रत्येक कामना बनाउँदछौं, त्यसका तीनवटा गुणहरू छन्। शास्त्रमा पनि तीनवटा प्रमुख लक्षणहरू बताइएको छ। तीनै लक्षणको आधारमा हामी आनन्दलाई चिन्न सक्छौं। जान्न सक्छौं। ती लक्षणहरू केके हुन् त?

पहिलो लक्षण हो आनन्द अनन्त मात्राको हुन्छ। अर्थात्, हामी अनन्त मात्राको आनन्द चाहन्छौं। वेदमा पनि यही बताइएको छ।

यो वै भूमा तत्सुखं नाल्पे सुखमस्ति भूमैव सुखं भूमा त्वेव विजिज्ञासितव्यः। छान्दोग्योपनिषद् ७–२३–१

हेर्नुस् वेद भन्दछ – आनन्द भूमा हुन्छ, अल्प हुँदैन। भूमाको अर्थ हो अनन्त। हामी सबै असीमित आनन्द चाहन्छौं। इन्फाइनाइट ह्यापीनेस। वास्तवमा यो हाम्रो प्रत्यक्ष अनुभव हो। अनुभवसिद्ध हो। कुनै शास्त्रको प्रमाण चाहिँदैन। एकछिन आँखा बन्द गरेर सोच्नुहोस् त। म सीमित आनन्द चाहन्छु कि अनन्त मात्राको आनन्द चाहन्छु? तुरुन्तै उत्तर आउँछ कि अनन्त मात्राको चाहन्छु। यो हो पहिलो गुण। अर्थात् आनन्द अनन्त मात्राको हुन्छ।

आनन्दको दोस्रो गुण हो– हामी प्रतिक्षण बढ्दैजाने आनन्द चाहन्छौं।

गुणरहितं कामनारहितं प्रतिक्षणवर्धमानम्। नारद भक्ति सूत्र ५४

नारदजी नारद भक्ति सूत्रमा भन्नुहुन्छ, आनन्दको स्वरुप हो प्रतिक्षण बढ्दैजाने। निरन्तर बढ्दै जाओस्। इभर इन्क्रीजिङ। यसरी अनन्तकालसम्म अनन्त मात्राको आनन्द प्रतिक्षण बढ्दै जान्छ। फेरि आँखा बन्द गरेर सोच्नुहोस् त। म घट्दै जाने आनन्द चाहन्छु कि बढ्दै जाने आनन्द चाहन्छु? तुरुन्तै उत्तर आउँछ कि बढ्दै जाने आनन्द चाहन्छु। त्यसैले वास्तविक आनन्द बढ्दै जान्छ।

एकपटक आनन्दप्राप्ति भएपछि फेरि कहिल्यै दुःख प्राप्त हुँदैन। यो आनन्दको तेस्रो गुण हो।

सदा पश्यन्ति सूरयः तद्विष्णोः परमं पदम्। सुबालोपनिषद् ६–७

अर्थात्, सदैव सुखी रहन्छ, आनन्दप्राप्ति पश्चात, फेरि कहिल्यै दुःख भोग्नु पर्दैन, वेद भन्दछ। यो हाम्रो स्वाभाविक चाहना पनि हो। हामी चाहन्छौं कि एकपटक सुख मिलेपछि फेरि दुःख भोग्नु नपरोस्।

यी त भए आनन्दका गुण। केके? फेरि याद गर्नुस्। आनन्द अनन्तमात्राको हुन्छ, प्रतिक्षण बढ्दै जान्छ एवं एकपटक आनन्दप्राप्ति भएपछि फेरि कहिल्यै दुःख प्राप्त हुँदैन। यी प्रमुख गुण हुन्। आनन्दका अन्य पनि गणहरू हुन्छन्। जस्तै वास्तविक आनन्द जड हुँदैन। चेतन हुन्छ। सत्त्व, रज, तम आदि गुणरहित हुन्छ। किनकि जबसम्म गुणको अधीनमा हुन्छ, तबसम्म सुख मिल्न सक्दैन। त्यसैगरी, वास्तविक आनन्द कामनारहित हुन्छ। जबसम्म मनमा कामना रहन्छन्, तबसम्म सुख मिल्न सक्दैन। यी विभिन्न गुणहरू प्रवचनको क्रममा पछि बुझ्नुहुनेछ। तर अहिले यती बुझ्नुछ कि आनन्दका तीनवटा गुण या लक्षण प्रमुख हुन– अनन्त मात्राको, प्रतिक्षण बढ्दै जाने र सँधै रहिरहने।

अहिलेसम्म विपरित स्वभावको आनन्द मिल्यो।

के हामीलाई यस्तो सुख मिल्यो त? उदाहरणबाट बुझौं।

दृष्टान्त–
एउटा चार दिनदेखिको भोको व्यक्तिलाई लिनुहोस्। उसले जे भोगेको छ, त्यसको अहिले हामी कल्पना पनि गर्न सक्दैनौं। किनकि हामी चारदिनदेखि भोको छैनौं। त्यो भोगाइ, त्यो दुःख अनुभवको विषय हो। शब्दद्वारा बताउन सकिँदैन। तैपनि हामी अन्दाज लगाउन सक्छौं, केही हदसम्म, कि उसको भोजनको निम्ति अत्यन्त तीव्र कामना छ। मानिलिनुहोस्। उसको अगाडि भोजनका अनेकौं परिकार राखियो। ऊ ती परिकार देख्नासाथ कति सुखी हुन्छ होला? अब उसले खाना खान प्रारम्भ गर्यो। पहिलो गासमा कति धेरै सुख मिल्यो होला? अवश्य मिल्यो। दोस्रोमा पनि निकै सुख मिल्यो तर पहिलोभन्दा अलिकति कम। तेस्रो गासमा दोस्रो गासको भन्दा अलिकति कम सुख मिल्यो। यस प्रकारले बीस, पच्चीस, तीस गास भोजन गरेपछि उसलाई अब सुख मिल्दैन अनि भन्छ मलाई अब पुग्यो। अब जबर्जस्ती उसलाई खान कर गरियो भने त्यही भोजनबाट उसलाई दुःख मिल्न थाल्छ। यस दृष्टान्तमा सर्वप्रथम त उसलाई सीमित सुखको अनुभव भयो जुन क्रमशः घट्दै गयो अनि अन्ततः समाप्त भयो र फेरि उसले दुखी हुनुपर्ने अवस्था आयो।

हामीले जीवनभरि प्राप्त गरेका अनेकौं प्रकारका सुखको यही हाल छ। कुनै पनि विषयबाट, प्रारम्भमा हामीलाई सुख मिल्छ, त्यो सुख बिस्तारै कम हुँदै जान्छ। त्यसपछि फेरि त्यही विषयबाट दुःख मिल्छ। केहीबेर ध्यान दिएर बिचार गर्नुस् त। वास्तवमा सबै विषयबाट मिल्ने सुखको यही हाल यस्तै त छ नि। होइन र ?

अर्थात्, हामीले चाहेको जस्तो अनन्त मात्राको, प्रतिक्षण बढ्दै जाने र सँधै रहिरहने सुख हामीलाई मिलेन। हामी अनन्त मात्राको सुख चाहन्छौं। तर सीमित सुख मिल्यो। हामी प्रतिक्षण बढ्दै जानेवाला सुख चाहन्छौं तर घट्दै जानेवाला सुख मिल्यो। हामी सँधै रहिरहने सुख चाहन्छौं तर समाप्त हुनेवाला सुख मिल्यो। त्यसैले हामीलाई आजसम्म वास्तविक सुख मिलेन। किनकि यदि पाएको भए, तुलसीदासजी भन्नुहुन्छ –

सोइ सुख लवलेस जिन्ह बारक सपनेहुँ लहेउ। ते नहिं गनहिं खगेस ब्रह्मसुखहि सज्जन सुमति॥ रामचरितमानस

यदि कसैले सपनामा पनि त्यो अनन्त शाश्वत सुखको लवलेश पनि प्राप्त गर्यो भने, त्यसले अन्य सबै सुखलाई नगन्य, मूल्यहीन ठान्दछ। त्यसको अब कुनै पनि कामना रहँदैन। पूर्णकाम बन्दछ।

ध्यान दिनुहोस्। यदि कसैलाई वास्तविक सुख मिल्यो भने अब उसलाई अरू केही पनि चाहिँदैन। जस्तै विद्यार्थीको उदाहरणमा ऊ डाक्टर बन्नको लागि पढ्न चाहन्थ्यो। यदि डाक्टर बन्यो भने फेरि पढ्न चाहन्छ र? चाहँदैन। यदि उसलाई डाक्टरको ज्ञान र प्रमाणपत्र यत्तिकै दिने हो भने किन पढ्न जान चाहन्छ र? त्यो पढाइ साधन हो। लक्ष्य होइन। लक्ष्यप्राप्त भएपछि साधन चाहिँदैन। दशकक्षा उत्तीर्ण गरिसकेको व्यक्ति फेरि कक्षा एक वा दुई पढ्न जाँदैन। यद्यपि अब एक कक्षा पढ्यो भने ऊ प्रथम हुन्छ। तैपनि जाँदैन किनकि त्यो साधन हो, लक्ष्य होइन। मनग्य पैसा भयो भने डाक्टर पनि बन्नुपर्दैन। अरूको सेवा किन गर्नुपर्यो। त्यसैगरी यदि वास्तविक सुख प्राप्त भयो भने अब अन्य कुनै पनि वस्तुको कामना नै रहन सक्दैन। किनकि कामना साधन हो। आनन्द लक्ष्य हो। अघि नै बताइयो कि लक्ष्य प्राप्त भएपछि साधन चाहिँदैन। अन्य सबै वस्तु त आनन्दकै निम्ति चाहने हो। आनन्द मिलिसकेपछि अब बस्तुको कामना पनि रहँदैन।

अस्तु, हामी सबै आनन्द चाहन्छौं। कस्तो आनन्द चाहन्छौं? अनन्त मात्राको, प्रतिक्षण बढ्दै जाने र सँधैको लागि रहिरहने सुख चाहन्छौं। अब मुख्य प्रश्न यही हो कि त्यस्तो आनन्द हामीले अहिलेसम्म पनि किन प्राप्त गरेका छैनौं? किनकि हामीले जान्दै जानेनौं आनन्द के हो भनेर।

त्यसैले अब हामी आनन्द भनेको के हो? अनि त्यो आनन्द कसरी प्राप्त हुन्छ? भन्नेबारे चर्चा गर्नेछौं। गरिनेछ। तर आज होइन भोलि।
जय श्री राधे!