यसअघिको सारांश–
हामी सबै आनन्द चाहन्छौं। हामी सबै प्रत्येक कर्महरू पनि आनन्दप्राप्तिकै निम्ति गर्दछौं। यदि आनन्दप्राप्ति बाहेक कसैले केही चाहन्छु भन्छ भने, त्यो पनि आनन्दकै निम्ति हो। तैपनि वास्तविक सुख कस्तो हुन्छ भन्ने आजसम्म जान्न सकेनौं।
वेदशास्त्रद्वारा हामीले यही बुझ्यौं कि हामी सबै अनन्तमात्राको, प्रतिक्षण बढ्दै जाने र सँधै रहिरहने आनन्द चाहन्छौं। यी तीनवटा लक्षणले युक्त आनन्द नै हामी चाहन्छौं। तर आजसम्म हामीलाई यसको ठीक विपरीत सीमित, घट्दै जाने र समाप्त हुने स्वभावको आनन्द नै प्राप्त भयो। वास्तविक सुख यानि शाश्वत सुख कहाँ छ र कसरी प्राप्त हुन्छ भन्ने नजानेको कारणले गर्दा हामीले अनादिकालदेखि निरन्तर दुःख नै प्राप्त गर्यौं।
आनन्द के हो भनेर जान्नको निम्ति हामी वेदमा गयौं। वेदले बतायो कि आनन्द ब्रह्म हो। अर्थात्, भगवान् नै आनन्द हुनुहुन्छ। भगवान् नै आनन्द भएको कारणले गर्दा भगवान्लाई पाएर नै सुखी हुन सक्छौं। त्यसैले भगवान्लाई प्राप्त गर्नुछ। कसरी त? वेदले बतायो कि भगवान्लाई जान्नासाथ प्राप्त गर्न सकिन्छ। अरु कुनै उपाय छैन। उहाँलाई कसरी जान्न सकिन्छ त?
हामी वेदशास्त्रको शरणमा गयौं। वेदशास्त्रले बताए कि केवल मानव देहमा नै भगवान्लाई जान्न सकिन्छ। त्यसैले यो मानव देह विशेष हो। मानव देहमा नै भगवान्लाई जान्न सकिने भएकोले स्वर्गका देवीदेवता साथै चराचर जीव मानव देह चाहन्छन्। किनकि मानव देहबाहेक अन्य सबै देह भोगयोनी हुन्। अतः मानव देह दुर्लभ हो। स्वर्गका देवताहरूलाई समेत मानव देह दुर्लभ हो। यति दुर्लभ हुँदाहुँदै पनि मानव देहमा एउटा अवगुण छ। त्यो के हो भने, मानव देह क्षणभङ्गुर छ। कुनै पनि बेला हाम्रो मृत्यु हुन सक्छ। त्यसैले तुरुन्तै भगवान्लाई जान्ने प्रयत्न गर्नुपर्छ।
हामी भगवान्लाई जान्नको निम्ति वेदमा गयौं। वेदले बतायो कि भगवान्लाई जान्न सकिँदैन। किनकि भगवान् इन्द्रिय–मन–बुद्धिभन्दा पर हुनुहुन्छ। त्यसैले हामी भगवान्लाई जान्न सक्दैनौं। भगवान् दिव्य हुनुहुन्छ। हाम्रा इन्द्रिय–मन–बुद्धिहरू मायिक छन्। त्यसैले हामी हाम्रा मायिक इन्द्रिय–मन–बुद्धिद्वारा दिव्य भगवान्लाई अनुभव गर्न, जान्न सक्दैनौं।
यसबाहेक पनि भगवान् अनन्त विरोधी धर्महरूको अधिष्ठान हुनुहुन्छ। उहाँमा अनन्त विरोधी धर्महरू एकैसाथ रहन्छन्। उहाँ सानोभन्दा सानो हुनुहुन्छ, ठूलोभन्दा ठूलो हुनुहुन्छ, न त सानो हुनुहुन्छ, न त ठूलो हुनुहुन्छ। त्यसैगरी भगवान् टाढाभन्दा टाढा हुनुहुन्छ, नजिकभन्दा नजिक हुनुहुन्छ। उहाँ धर्म–अधर्म, भूत, वर्तमान र भविष्यभन्दा पर हुनुहुन्छ। उहाँ अजन्मा हुनुहुन्छ, तर अनन्त जन्म भएका छन्। भगवान्का इन्द्रियहरू छैनन् तर सबै इन्द्रियका विषयहरू ग्रहण गर्नुहुन्छ। त्यसैगरी उहाँका इन्द्रियहरू छैनन् पनि र अनन्त इन्द्रियहरू छन् पनि। यस्ता अनन्त विरोधी धर्महरू भगवान्मा एकसाथ रहने हुनाले हामी भगवान्लाई जान्न सक्दैनौं। किनकि संसारमा यस्तो कहिँपनि देखिँदैन।
त्यसैले वेदले तर्कसहित, कारणहरूसहित बतायो कि भगवान्लाई जान्न सकिँदैन। तर भगवान्लाई नजानिकन काम पनि त बन्दैन। हामीलाई लाग्न सक्छ कि भगवान्लाई जान्न सकिन्छ होला। कुनै न कुनै उपाय होला भगवान्लाई जान्नको लागि। आज हामी यस्तै केही उपायहरूको समीक्षा गर्नेछौं।
१. के व्यक्तिहरूको उपदेश सुनेर हामी भगवान्लाई जान्न सक्छौं?
भगवान्को बारेमा कसैलाई सोध्नुहोस्, उसले तुरुन्तै उत्तर दिन्छ– ‘भगवान्को बारेमा? भगवान्को बारेमा त सबैलाई थाहा छ नि। भगवान् कणकणमा हुनुहन्छ। घटघट व्यापक राम।’ हेर्नुस् लेक्चर दिन थाल्छ जसले पनि। किन? अहंकारका कारण। कसैले पनि थाहा छैन भन्दैन। अर्को एउटाले भन्न सक्छ कि भगवान् त छँदै छैनन्। उसले वेदशास्त्र पढ्दै नपढेको किन नहोस्। तर भगवान्को बारेमा सबैले केही न केही बताउँछन्। रकेट कसरी उढ्छ? त्यसको विज्ञान के हो भनेर सोध्नुहोस्। व्यक्तिले थाहा छैन भनेर स्वीकार गर्छ। अरू संसारी विषयमा पनि मलाई थाहा छैन। कसरी थाहा हुन सक्छ? मैले पढेकै छैन।
यसप्रकारले आफ्नो अनभिज्ञता बताउँछ। तर भगवान्को बारेमा मलाई केही पनि थाहा छैन भन्ने व्यक्ति भेटिँदैन। सबैको कुनै न कुनै धारणा हुन्छ। जानेका हुँदैनन्। धारणा। बिचार। या त भगवान् छैनन् भन्ने नास्तिक बिचार हुन्छ। या त भगवान् भनेको यो हो भन्ने एउटा धारणा हुन्छ। सबैले आ–आफ्नो धारणा बताउने हुन्। भगवान्को बारेमा बताउन सक्दैनन्। ध्यान दिनुहोस्। यहाँ सूक्ष्म कुरा हुँदैछ। सबैले भगवान्को बारेमा आफ्नो धारणा बताउने हुन्। मान्यता बताउने हुन्। भगवान्को बारेमा बताउन सक्दैनन्।
मानिलिनुहोस् एउटा अनन्त समुद्र छ। हामीलाई त्यो समुद्रको गहिराइ जान्नु छ। अब त्यसको निम्ति यदि व्यक्तिहरूलाई सोधेर जान्न प्रयेत्न गर्ने हो भने हाम्रो अगाडि तीनथरी व्यक्ति हुन सक्छन्।
१.१. समुद्र नै नदेखेका व्यक्तिबाट समुद्रको गहिराइ थाहा हुँदैन।
एकथरी व्यक्ति ती हुन् जसले समुद्र देखेकै छैनन्। के उनीहरूबाट समुद्रको गहिराइ कित छ जान्न सकिएला त? उनीहरूले पनि आफ्नो धारणा राख्न सक्छन्। समुद्र देखेकै छैन तर भनिदिन्छन् कि समुद्र यस्तो हुन्छ यस्तो हुन्छ। हामीले पनि देखेका छैनौं। त्यसैले होला भनेर मान्नुबाहेक अरू कुनै विकल्प छैन। तर यसरी होला भनेर, मानेर हाम्रो काम बन्दैन। हामीलाई त त्यसको गहिराइ जान्नु छ। यस्ता समुद्र नै नदेखेका व्यक्ति पहिलो कक्षामा पर्छन्।
उनीहरूले या त भगवान् छैनन् भनेर भनिदिन्छन्। या त भगावन्को बारेमा उनीहरूको मान्यता बताइदिन्छन्। उनस्हरूलाई सोध्नुहोस्, वेद पढेका छौ? छैन। गीता पढेका छौ? छैन। शास्त्रहरू पढेका छौ? छैन। कुनै साधना गरेका छौ? छैन। अनि कसरी भन्न सक्छौ कि भगवान् हुनुहुन्छ अथवा हुनुहुन्न? यस्ता व्यक्तिहरू मान भन्दछन्। भगवान् यस्तो हुनुहुन्छ। मान। यस्तो हुनुहुन्छ। मान। मान मतलब विश्वास गर। तर नजानिकन त विश्वास हुँदैन।
तुलसीदासजी महाराज भन्नुहुन्छ–
जानें बिनु न होइ परतीती। बिनु परतीति होइ नहिं प्रीती॥ रामचरितमानस ७–८९–४
नजानिकन विश्वास नै हुँदैन। त्यसैले यस्ता व्यक्तिहरूको धारणाबाट हाम्रो काम बन्दैन।
१.२. समुद्रलाई नाप्न प्रयत्न गरेका व्यक्तिबाट समुद्रको गहिराइ थाहा हुँदैन।
अर्को थरी व्यक्ति यस्ता हुन्छन्, जसले समुद्रको गहिराइलाई नाप्न खोजेका हुन्छन्। तीमध्ये केही तार्किक कुरा गर्छन्। केहीले विभिन्न साधना पनि गरेका हुन्छन्। केहीले साधना गर्ने क्रममा केही अनुभव पनि पाएका हुन्छन्। यस्ता व्यक्ति समुद्रसम्म पुगेका हुन्छन्। समुद्रको गहिराइ नाप्ने प्रयत्न पनि गरेका हुन्छन्। तर के हुन्छ? उनीहरूले समुद्रको गहिराइ नाप्न सकेका हुँदैनन्। किनकि जुन समुद्रको गहिराइ नाप्नु छ, त्यसको गहिराइ अनन्त छ।
दृष्टान्त–
मानिलिनुहोस् एउटाले सय मिटर गहिराइ नाप्न सक्ने यन्त्र लिएर समुद्रको गहिराइ नाप्न गयो। उसले नाप्यो र आएर सबैलाई भन्यो– ‘मैले समुद्रको गहिराइ नापेँ। समुद्र सय मिटर गहिरो रहेछ।’ अर्को पनि गयो समुद्र नाप्न। उसँग हजार मिटर नाप्न सक्ने यन्त्र थियो। उसले पनि समुद्रको गहिराइ नाप्यो र आएर भन्यो– ‘मैले समुद्रको गहिराइ नापेँ। अघिल्लो व्यक्ति गलत हो। समुद्रको वास्तविक गहिराइ एकहजार मिटर हो।’ अर्को एकजनासँग दशहजार मिटर नाप्न सक्ने यन्त्र थियो। ऊ पनि गयो समुद्रको गहिराइ नाप्न र नापेर आएर भन्यो– ‘यसअघिका दुवैजना मूर्ख हुन्। समुद्रको वास्तविक गहिराइ दशहजार मिटर छ।’
अब बताउनुहोस्। समुद्रको गहिराइ सय मिटर वा हजार मिटर वा दश हजार मिटर त होइन नि। समुद्रको गहिराइ त अनन्त छ। उनीहरूले समुद्रको वास्तविक गहिराइ बताइरहेका थिएनन्। के बताइरहेका थिए? उनीहरूको आ–आफ्नो क्षमता बताइरहेका थिए। यसैलाई अर्को एउटा उदाहरणद्वारा बुझ्नुहोस्।
दृष्टान्त–
यहाँहरूले एउटा कथा सुन्नुभयो होला अन्धाहरूको। म अन्धा नै भन्दछु। दृष्टिविहीन भन्दिन। किनकि अन्धाहरूको पनि दृष्टि हुन्छ। तर धेरैजना आँखा भएकाहरूको पनि दृष्टि नहुन सक्छ। अन्धालाई दृष्टिविहीन भन्ने एजेन्डा पनि विभिन्न पाश्चात्य मिशन अन्तर्गतको एउटा हो। अस्तु। अन्धाहरूलाई हात्तीको परिभाषा सोधियो भने उनीहरू सबैले एउटै हात्तीको अलग अलग व्याख्या गर्छन् नि । हेर्नुस् हात्ती त एउटै छ । तर कसैले त्यसलाई खम्बाजस्तै भने, कसैले भित्ताजस्तै, कसैले नाङ्लोजस्तै त कसैले डोरीजस्तै । यसरी विभिन्न व्यक्तिहरूले आ–आफ्नो अनुभवमा सही लागेपनि हात्तीको गलत व्याख्या गरिरहेका छन् ।
अधिकांश व्यक्तिहरूले गरेको भगवान्को व्याख्या पनि अन्धाहरूले हात्तीको व्याख्या गरेको जस्तै हो। यदि उनीहरूको पछाडि लाग्यौं भने हाम्रो हालत के हुन्छ? शास्त्र भन्दछ–
अन्धेनैव नीयमाना यथान्धाः। मुण्डकोपनिषद् १–२–८, कठोपनिषद १–२–५
अर्थात् एकजना अन्धाले आवाज दियो। कोही हुनुहुन्छ जसले मलाई प्रवचनस्थलसम्म लगिदियोस्? एउटाले उसको आवाज सुन्यो। ऊ पनि अन्धो थियो। तर उसले सोच्यो कि यसलाई के थाहा मैले पनि आँखा देख्दिन भनेर। उसले भन्यो– ‘ए भाइ! यता आऊ। मेरो हात समात। म तिमीलाई पुर्याइदिन्छु। अब तिनीहरू दुवै केहीबेरमै एउटा खाल्टोमा पर्न सक्छन्। हाम्रो पनि यही हालत हुन्छ। यस्ता व्यक्तिहरूको पछि लाग्यौं भने।
एउटाले भन्छ दिनको सय माला जप। अर्कोले भन्छ एकादशीको व्रत लिउ। अर्कोले भन्छ सोमबार पशुपतिनाथजीलाई बेलपत्र र जल चढाउ। अर्कोले भन्छ तीर्थ यात्रा गर। अर्का महाशयले भन्छन् तिमीलाई त दशा लागेको छ, त्यसको निम्ति यसो यसो गर। उनीहरूले जेजे साधना गरेका छन्, त्यो बताइदिन्छन्। अथवा उनीहरूले जेजे यन्त्रद्वारा समुद्रलाई नाप्न खोजेका थिए, त्यो यन्त्र दिन्छन्। तर त्यसबाट हामी समुद्रको गहिराइ नाप्न सक्दैनौं। यसरी हामीले केवल समय नष्ट गर्छौं। धन बर्बाद गर्छौं। उपलब्धि केही हुँदैन। जहाँको तहीँ रहन्छौं।
यसप्रकार यदि हामीले समुद्र नै नदेखेका या समुद्र नाप्न प्रयत्न गरेका दुईप्रकारका व्यक्तिबाट भगवान्को बारेमा जान्न सक्दैनौं। किनकि पहिलो व्यक्तिले बताएको उसको धारणा मात्र हो। दोस्रो व्यक्तिले बताएको उसको आफ्नो अनुभव अथवा क्षमता हो।
१.३. समुद्रको वास्तविक गहिराइ जानेका व्यक्तिबाट पनि समुद्रको गहिराइ थाहा हुँदैन।
अब तेस्रो व्यक्ति ती हुन् जसले भगवान्लाई देखेका छन्। जानेका छन्। उनीहरूलाई महापुरुष भनिन्छ। उनीहरूको वचनलाई प्रवचन भनिन्छ। उनीहरूलाई सोधेर, उनीहरूको प्रवचन सुनेर हामी भगवान्लाई पक्कै जान्न सक्छौं होला। होइन र? होइन।
वेद भन्दछ–
नायमात्मा प्रवचनेन लभ्यो न मेधया न बहुना श्रुतेन। कठोपनिषद् १–२–२३
अर्थात् प्रवचनद्वारा कसैले भगवान्लाई जान्न सक्दैन। सुन्नेवाला जतिसुकै विद्वान् किन नहोस्। हामीले अनन्त महापुरुषको दर्शन गरिसक्यौं। अनन्तपटक उहाँहरूको प्रवचन पनि सुनिसक्यौं। तर पनि भगवान्लाई जानेनौं। यसको मतलब के हो भने प्रवचनद्वारा भगवान्लाई जान्न सकिँदैन। एउटा अनुभवी व्यक्तिले बताएको मिठाइको स्वाद सुनेर हामीले मिठाइको स्वाद थाहा पाउन सक्दैनौं नि। त्यसैगरी प्रवचन सुनेर पनि हामी भगवान्लाई जान्न सक्दैनौं। एउटा उदाहरणबाट बुझ्नुहोस्।
दृष्टान्त–
एउटा गहिरो कुवामा केही भ्याकुताहरू थिए। त्यो कुवामा एकदिन बाहिरबाट एउटा भ्याकुता खसेछ। यसले त्यहाँ भएका भ्याकुताहरूलाई बाहिरको संसारको परिमाण बताउन खोजेछ। समुद्र यती विशाल छ भनेर बुझाउन खोज्यो तर कसैले पनि बुझ्न जान्न सकेनन्। उनीहरू यही सोध्थे यो कुवा जत्रो? या कुवा भन्दा दुईगुना ठूलो? यस्तै गरेर उनीहरू कुवाको परिमाणको आधारमा समुद्रको परिमाण नाप्न चाहन्थे। त्यो समुद्र देखेको भ्याकुताको कुरा सुनेर जसरी त्यो कुवामा भएका भ्याकुताहरूले समुद्रलाई जान्न सक्दैनन्, त्यसैगरी वास्तविक सन्तहरूको प्रवचन सुनेर पनि हामी भगवान्लाई जान्न सक्दैनौं।
गीता के हो? भगवान्को वचन हो नि। प्रवचन हो। त्यसैगरी भागवत पनि प्रवचन हो। शुकदेवजी महाराजको वचन हो। हामीले गीता सुन्यौं, भागवत पनि सुन्यौं। तर भगवान्लाई जान्न सकेनौं। निष्कर्ष के हो भने, प्रवचन सुनेर पनि हामी भगवान्लाई जान्न सक्दैनौं।
दोस्रो उपाय हो वेदशास्त्रहरू पढेर । अब हामी यसको बारेमा चर्चा गर्नेछौं। के हामी वेदशास्त्र पढेर भगवान्लाई जान्न सक्छौं त?
२. के वेदशास्त्रद्वारा भगवान्लाई जान्न सकिन्छ?
यद्यपि शास्त्रको प्रयोजन नै भगवान्लाई जान्नु हो। यथा–
शास्त्रप्रयोजनं तत्वदर्शनम् । चाणक्यसूत्राणि ५४
वेद पनि यही भन्दछ–
नावेदविन्मनुते तं बृहन्तम् । शाट्यायनीयोपनिषद् ४
अर्थात्, जसले वेदलाई जान्दैन, उसले भगवान्लाई जान्दैन। तर वेदमा नै भनिएको छ–
नायमात्मा प्रवचनेन लभ्यो न मेधया न बहुना श्रुतेन। कठोपनिषद् १–२–२३
बहुना श्रुतेन। अर्थात्, अनेक शास्त्रद्वारा भगवान्लाई जान्न सकिँदैन। स्वयं भगवान्ले गीतामा भन्नुभएको छ–
नाहं वेदैर्न तपसा न दानेन न चेज्यया। गीता ११–५३
अर्थात्, कसैले पनि वेदद्वारा अनि वेदमा बताइएका तप, दान आदि साधनद्वारा भगवान्लाई जान्न, उहाँको दिव्य स्वरूपको दर्शन पाउन सक्दैन। आखिरी किन त? किनकि हामी वेदशास्त्रलाई जान्न सक्दैनौं। वेदलाई जान्न सके पो भगवान्लाई जान्न सकिन्थ्यो। वेदशास्त्र जान्न नसक्नुको पछाडि पाँचवटा कारणहरू छन्। अब हामी यसको बारेमा चर्चा गर्नेछौं।
२.१.वेदशास्त्र अनन्त छन्।
कैयौं धर्महरूमा एउटा पुस्तक छ। त्यो पुस्तक पढेर उनीहरू पार पाउन सक्लान्। तर सनातन धर्ममा अनेक शास्त्रहरू छन्। चार वेद, चार उपवेद, ११८० उपनिषद्हरू, ६ वटा वेदाङ्ग, १८ पुराण, १८ उपपुराण, एकलाख श्लोक भएको महाभारत, रामायण, गीता, ६ वटा दर्शनहरू, अनेक संतहरूले लेख्नुभएका अनेक शास्त्रहरू छन्। हाम्रो धर्ममा शास्त्रहरूको ठूलो भण्डार छ। वास्तवमा वेद अनन्त छ। उपनिषद् अनन्त छन्। वेदव्यासजी भन्नुहुन्छ–
अनन्तपारं गम्भीरं दुर्विगाह्यं समुद्रवत्। भागवत ११–२१–३६
जब वेदशास्त्र अनन्त छन् भने कसरी शास्त्र पढेर पार पाउन सकिन्छ? जब शास्त्र पढेर पार नै पाउन सकिन्न भने कसरी त्यसबाट भगवान्लाई जान्न सकिन्छ? यदि कसैसँग करोडौं वर्षको आयु छ भनेपनि वेदशास्त्र पढेर जान्न सक्दैन। किनकि–
२.२. वेदशास्त्रमा बिरोधी मतहरू छन्।
वेदव्यासजी भन्नुहुन्छ–
तर्कोऽप्रतिष्ठः श्रुतयो विभिन्ना नैको ऋषिर्यस्य मतं प्रमाणम्। महाभारत ३–३१३–११७
अर्थात् वेदशास्त्र अनेक छन् र त्यसमा अनेक विपरित मतहरू छन्। त्यसैले पढ्नेवाला भ्रममा पर्छ। यो सही हो कि यो सही हो। जस्तै, रामायणमा नै हेर्नुहोस्–
भायँ कुभायँ अनख आलसहूँ। नाम जपत मंगल दिसि दसहूँ॥
चाहे कसैले भावसँग भगवान्को नाम लियोस् या बिनाभाव नै लियोस्, भगवान्को नाम लिनाले मङ्गल नै हुन्छ। तुलसीदासजी महाराज अझै भन्नुहुन्छ–
जासु नाम सुमरत एक बारा। उतरहिं नर भवसिंधु अपारा॥
अर्थात्, यदि कसैले एकपटक पनि भगवान्को नाम लियो भने ऊ संसारको बन्धनबाट पार हुन्छ। यो पढेर के हुन्छ? हाम्रो बुद्धि भ्रमित हुन्छ। कसरी सम्भव हुन सक्छ र? बुद्धि लाग्छ। एकपटक भगवान्को नाम लिएर कसैले संसाररूपी सागर पार पाउन सक्छ र? हामी बुझ्न सक्दैनौं। हेर्नुहोस्, उहाँ नै फेरि बताउनुहुन्छ–
मिलहिं न रघुपति बिनु अनुरागा। किएँ जोग तप ग्यान बिरागा॥
बिना प्रेम अनेक साधनद्वारा भगवान्लाई प्राप्त गर्न सकिँदैन। प्रेम अनिवार्य हो। यसप्रकारले शास्त्रमा अनेक बिरोधी कुराहरू छन्। अर्को उदाहरण लिनुहोस्। तुलसीदासजी महाराज ज्ञानीको निम्ति भन्नुहुन्छ–
ग्यानी प्रभुहि बिसेषि पिआरा।
अर्थात्, भगवान्लाई ज्ञानी अत्यन्त प्रिय छन्।
भगतिहि ग्यानहि नहिं कछु भेदा। रामचरितमानस
अर्थात्, ज्ञानी र भक्तमा खासै भेद छैन।
भक्ति हीन मोहि प्रिय नहिं सोऊ॥ रामचरितमानस
अर्थात्, भक्तिहीन ज्ञानी प्रिय छैनन्। हेर्नुहोस्। विपरीत कुरा आयो। यतिमात्रै होइन। तुलसीदासजी महाराज भन्नुहुन्छ–
ते जड़ कामधेनु गृहँ त्यागी। खोजत आकु फिरहिं पय लागी॥ रामचरितमानस
अर्थात्, ज्ञानी जड हुन् जो घरमा कामधेनु गाई हुँदाहुँदै अन्तै दुध खोज्दै हिँडिरहेका छन्। अझ भन्नुहुन्छ–
ते सठ महासिंधु बिनु तरनी। पैरि पार चाहहिं जड़ करनी॥ रामचरितमानस
अर्थात्, ज्ञानी सठ हुन्, मूर्ख हुन् जो जहाजबिना पौडेर समुद्र पार गर्द खोजिरहेका छन्।
यसप्रकारले एउटै शास्त्रमा एउटै विषयको बारेमा पनि अलग अलग मतहरू छन्। हामीजस्तो अल्पज्ञ जीवले पढेर के निर्णय लिन सक्छ र? त्यसैले भ्रमित हुन्छ। तुलसीदासजी महाराज भन्नुहुन्छ–
बहु मत मुनि बहु पंथ पुराननि जहाँ-तहाँ झगरो सो। विनय पत्रिका
शास्त्रवेदमा, पुराणहरूमा अनेक मतहरू छन्, अनेक पन्थहरू बताइएका छन्। ती परस्पर बिरोधी छन्। झगडा नै झगडा छ।
श्रुति पुरान बहु कहेउ उपाई। छूट न अधिक अधिक अरुझाई। रामचरितमानस
त्यसैले हामी वेदशास्त्र पढेर त्यसैको अर्थ बुझ्न सक्दैनौं, झन्झन् उल्झिँदै जान्छौं। भगवान्लाई जान्नु त धेरै परको कुरा।
२.३. वेदशास्त्रमा परोक्षवाद छ।
अर्को कारण हो कि वेदशास्त्रमा परोक्षवाद छ। परोक्षवाद भन्नाले शब्दको अर्थ अर्कै, वास्तविक अर्थ अर्कै। जस्तै इन्द्र। इन्द्रको अर्थ हो स्वर्गको राजा। तर इन्द्र शब्द भगवान्लाई जनाउनको लागि पनि प्रयोग गरिएको छ। त्यसैगरी आकाश शब्द। पंचमहाभूत मध्ये एक हो आकाश जसको केवल एउटा गुण हुन्छ शब्द। तर आकाश शब्द भगवान्लाई जनाउनको लागि प्रयोग भएको छ। सत् शब्द भगवान्को निम्ति प्रयोग भएको छ। असत् अर्थात् ‘सत्’को उल्टो, यसको प्रयोग पनि भगवान्को निम्ति भएको छ।
वेदव्यासजी भन्नुहुन्छ–
परोक्षवादो वेदोऽयम्। भागवत ११–३–४४
अर्थात्, वेदमा परोक्षवाद छ। मानिलिनुहोस् एउटा वाक्य छ– म कलमको पूजा गर्छु। यो वाक्यमा कलमको अर्थ के होला? कलमको अर्थ सीसाकलम होला, विभिन्न रंगका, विभिन्न आकारका, विभिन्न किसिमका लेखनीहरू होलान्। तर, कुनै पनि विद्वान्ले कलमको अर्थ भगवान् हो भन्ने त लगाउँदैन नि। अब लेख्नेले भगवान्को अर्थमा लेखेको रहेछ भने कसले जान्न सक्छ? यसलाई भनिन्छ परोक्षवाद। शब्दको अर्थ अर्कै, वास्तविक अर्थ अर्कै। त्यसैले वेदको वास्तविक अर्थ त केवल भगवान् जान्नुहुन्छ।
गीतामा भगवान्ले नै भन्नुभएको छ–
वेदैश्च सर्वैरहमेव वेद्यो वेदान्तकृद्वेदविदेव चाहम्॥ गीता १५–१५
अर्थात् श्रीकृष्ण नै वेदलाई जान्नुहुन्छ। अतः हामी वेदशास्त्र पढेर केही पनि बुझ्न सक्दैनौं। अझ रहस्यको कुरा के हो भने वेद साक्षात् भगवत्स्वरूप हुन्।
२.४. वेद भगवत्स्वरूप हुन्।
वेद केवल पुस्तक वा अक्षर होइन। वेद वास्तवमा भगवत्स्वरूप हुन्।
स्वयं वेदव्यासजी भन्नुहन्छ–
वेदो नारायणः साक्षात्। भागवत ६–१–४०
अर्थात्, वेद साक्षात् भगवान् हुनुहुन्छ। जसरी भगवान् दिव्य हुनुहुन्छ, त्यसैगरी वेदशास्त्र पनि दिव्य छन्। हामीसँग मायिक इन्द्रिय–मन–बुद्धि छन्। त्यसैले हामी हाम्रो मायिक इन्द्रिय–मन–बुद्धिले दिव्य वेदलाई ग्रहण गर्न सक्दैनौं। त्यसैले वेद पढेर सबैले आ–आफ्नो कर्म र रुचि अनुसार नै अर्थ निकाल्छन्। यथा–
मन्मायामोहितधिय: पुरुषा: पुरुषर्षभ। श्रेयो वदन्त्यनेकान्तं यथाकर्म यथारुचि॥ भागवत ११–१४–९
अर्थात्, सत्त्वगुणी व्यक्तिले सत्त्वगुणी अर्थ लगाउँछ। रजोगुणी व्यक्तिले रजोगुणी अर्थ लगाउँछ। तमोगुणी व्यक्तिले तमोगुणी अर्थ लगाउँछ। वास्तविक अर्थ कसैले पनि जान्दैन।
दृष्टान्त–
यसलाई एउटा उदाहरणबाट बुझ्नुहोस्। बुद्ध भगवान् जेतवनमा विचरण गर्दै हुनुहुन्थ्यो। एकदिन सन्ध्यास्नानपछि सयनको समय अगाडिको सत्संग प्रदान गर्दै हुनुहुन्थ्यो। त्यहाँ केही चोर पनि उपस्थित थिए। उनिहरूको उद्देश्य थियो चारी गर्नु। तर घनघोर रात परिसकेको थिएन। त्यसैले चोरको नेताले सल्लाह दियो पहिला रात छिप्पियोस अनि चोरौंला। केही समय सत्सङ्ग प्रदान गरेपछि जब रात छिप्पीयो, बुद्ध भगवान्ले भन्नुभयो जाऊ अब आफ्नो कार्य गर।
बुद्ध भगवान्का अन्तरंग शिष्य आनन्दले एकान्तमा बुद्ध भगवान्को आज्ञाको अर्थ सोध्नुभयो। बुद्ध भगवान्ले भन्नुभयो कि यसको अर्थ सबैले आफ्नो स्थिति अनुसार लगाउँछन्। ती चोरहरूले यसको अर्थ लगाए कि बुद्ध भगवान् अन्तर्यामी हुनुहुन्छ। उहाँलाई थाहा भयो हामी चोरी गर्न आएको भनेर, त्यसैले भन्नुभयो अब चोरी कार्य गर। अन्य साधक, जो उच्च स्थितिका थिए, उनीहरूले सोचे कि बुद्ध भगवान्को अब आफ्नो कार्य गर भन्नुको अर्थ हो केहीबेर ध्यान गर अनि विश्राम गर। जो साधारण साधक थिए, उनीहरूले सोचे कि अब सुत्ने आज्ञा भयो गुरुदेवको। जसरी बुद्ध भगवान्को आज्ञाको सबैले आ–आफ्नो भावना अनुसार लगाए, त्यसैगरी वेदशास्त्रको वास्तविक मर्म पनि हामी जान्न सक्दैनौं ।
साधारण व्यक्तिको के कुरा गर्नु र? वेदव्यासजी भन्नुहुन्छ–
वेदस्य चेश्वरात्मत्वात् तत्र मुह्यन्ति सूरयः। भागवत ११–३–४३
अर्थात्, वेद ईश्वरकै स्वरूप हुन्। त्यसैले देवताहरू पनि मोहित हुन्छन्। वेदको वास्तविक अर्थ उनीहरू पनि जान्दैनन्। देवताहरूमात्रै होइन, ब्रह्माजीलेसमेत वेदलाई जान्न सक्नुभएन। यथा–
मुह्यन्ति यत्सूरयः। भागवत १–१–१
अतः वेदशास्त्र दिव्य भएकाले हामी वेदशास्त्र जान्न सक्दैनौं।
२.५. वेदशास्त्र पढ्न योग्यता चाहिन्छ।
संसारमा पनि कुनै पनि कुरा जान्नको लागि योग्यता चाहिन्छ। विज्ञान विषय पढेको छैन भने डाक्टर पढ्न पाउँदैन। स्नातकोत्तरको अध्ययन गर्नुछ भने स्नातक त उत्तीर्ण गरेको हुनुपर्यो। ठीक यसैगरी शास्त्र पढ्नको लागि पनि योग्यता चाहिन्छ। जस्तै रामायण पढ्नको लागि तीनवटा शर्तहरू पूरा गर्नुपर्छ।
जे श्रद्धा संबल रहित नहि संतन्ह कर साथ। तिन्ह कहुँ मानस अगम अति जिन्हहि न प्रिय रघुनाथ॥
अर्थात्, १.श्रद्धा, २.वास्तविक गुरुको साथ, ३.भगवान् रामप्रति अत्यन्त प्रेम, यी तीनवटा निधि कसैसँग छैन भने उसले रामचरितमानस बुझ्न सक्दैन। पहिलो हो श्रद्धा। श्रद्धा केलाई भनिन्छ? श्रद्धाको अर्थ हो दृढ विश्वास। यथा–
‘श्रद्धा’-शब्दे विश्वास कहे सुदृढ़ निश्चय। चैतन्यचरितामृत
गुरुवेदान्तवाक्येषु बुद्धिर्या निश्चयात्मिका। सत्यमित्येव सा श्रद्धा निदानं मुक्तिसिद्धये ॥ सर्ववेदान्तसिद्धान्तसारसङ्ग्रहः २१०
शास्त्रस्य गुरुवाक्यस्य सत्यबुद्ध्यवधारणम्। सा श्रद्धा कथिता सद्भिर्यया वस्तूपलभ्यते॥ विवेकचूडामणिः २५
गुरु र शास्त्रवेदको वाणीप्रति पूर्ण विश्वास हुनु नै श्रद्धा हो।
दृष्टान्त–
वाल्मीकिलाई नारदजीले जबसम्म म फर्केर आउँदिन, तबसम्म मरा मरा भन्दै जानु भन्ने आज्ञा दिनुभयो। ‘हस गुरुजी!’ यो मरा भनेको के हो? हजुर कहिले फर्केर आउनुहुन्छ? यसप्रकारका कुनै पनि प्रश्न गर्नुभएन। आज्ञापालन गर्न्ुभयो। भगवान्को उल्टो नाम जपिरहनुभयो। एकस्थानमा रहेर नाम जप गर्दागर्दा उहाँको शरीरमा कीराले गुण बनायो। गुरुजीले अवस्य मेरो कल्याणको लागि भन्नुभएको हो। यही कल्याणको मार्ग हो। यस्तो दृढ विश्वास गुरुको वाणीमा। यसलाई श्रद्धा भनिन्छ। परिणाम? भगवान् रामको दर्शन गर्नुभयो। भगवान् रामको अवतारभन्दा पहिल्यै रामायण देखिदिनुभयो।
रामायणमा लेखिएको सबैकुरा सत्य हो। पूर्ण विश्वास हुनुपर्यो। यो पहिलो आवश्यकता या शर्त।
दोस्रो शर्त हो– वास्तविक गुरु हुनुपर्यो। वास्तविक गुरु कस्तो हुनुपर्छ? यसको बारेमा म पछि बताउनेछु। अहिलेको लागि यति नै बुझ्नुहोस कि वास्तविक गुरु वेदशास्त्रको ज्ञाता हुनुको साथसाथ भगवान्को दर्शन गरेको हुनुपर्छ। यस्तो गुरुको साथ भयो भने जेजे हाम्रा शङ्का हुन्छन्, तिनीहरूको समाधान हुन सक्छ।
तेस्रो शर्त हो– भगवान् राम अत्यन्त प्रिय लाग्नुपर्यो। कति प्रिय?
कामिहि नारि पिआरि जिमि लोभिहि प्रिय जिमि दाम।
तिमि रघुनाथ निरंतर प्रिय लागहु मोहि राम॥
अर्थात्, एउटा कामी पुरुषको लागि एउटा सुन्दर स्त्री जति प्रिय लाग्छ, त्यति प्रिय। अब बताउनुहोस्। हामीमा त्यति श्रद्धा छ र? हामीसँग वास्तविक गुरुको साथ छ र? हामी भगवान् रामलाई त्यति प्रेम गर्छौं र? हाम्रो त भगवान् रामप्रति त्यति पनि प्रेम छैन, जति तरकारीमा नुनप्रति छ। अर्थात्, तरकारीमा भएको नुनबाट जति सुख मिल्छ, तरकारीमा हुनुभएको भगवान् रामबाट पनि त्यति सुख मिल्दैन। त्यसैले हामी रामचरितमानस पढेर वास्तविक ज्ञान प्राप्त गर्दैनौं।
गीता पढ्नको निम्ति त झन् कठीन शर्तहरू छन्। भगवान् भन्नुहुन्छ–
इदं ते नातपस्काय नाभक्ताय कदाचन। न चाशुश्रूषवे वाच्यं न च मां योऽभ्यसूयति॥ गीता १८–६७
गीता पढ्नको निम्ति पहिलो तपस्वी हुनुपर्यो, दोस्रो भक्त हुनुपर्यो, तेस्रो गीताको प्रत्येक श्लोकप्रति पूर्ण विश्वास हुनुपर्यो र चौंथो श्रीकृष्ण पूर्णब्रह्म हुनुहुन्छ यो विश्वास हुनुपर्यो। अनि बल्ल लाभ मिल्छ। नत्र त सात सय श्लोक त हो। हिजोआज कैयौं बच्चाहरूलाई कण्ठ छ। तर लाभ मिल्न सक्दैन।
अब भागवतमा आउनुहोस्। गीता पढ्नको लागि, सुन्नको लागि त भक्त भए पुग्थ्यो। तर भागवत पढ्नको लागि भक्त भएर मात्रै पनि पुग्दैन। रसिक भक्त हुनुपर्छ। यथा–
पिबत भागवतं रसमालयं मुहुरहो रसिका भुवि भावुकाः। भागवत १–१–३
त्यसैले त हामीले यतिका पटक भागवत सुन्यौं तैपनि भगवान्लाई जान्न सकेनौं। वेदको बारेमा त हामीले चर्चा गरिसक्यौं। वेद दिव्य हो कसैले बुझ्न नै सक्दैन। कुरै सकियो। त्यसैले हामीमा वेदशास्त्र पढ्ने योग्यता पनि छैन। अतः वेदशास्त्र पढेर न त हामी त्यसको मर्म बुझ्न सक्छौं न त त्यसद्वारा भगवान्लाई नै जान्न सक्छौं।
अर्थात्, हामी न त व्यक्तिहरूको प्रवचन सुनेर भगवान्लाई जान्न सक्छौं। न त अनेक श्रुतिहरूद्वारा या शास्त्रहरूद्वारा नै भगवान्लाई जान्न सक्छौं।
अझै एउटा उपाय हुन सक्छ। भगवान्को अवतारकालमा यदि हामी पनि भयौं भने सायद भगवान्लाई जान्न सकिन्छ कि? आउनुहोस्, यसको समाधान गरौं।
३. के भगवान्को अवतारकालमा भगवान्लाई जान्न सकिन्छ?
कैयौं व्यक्तिहरू यही सोच्दछन् कि हामी भनि भगवान्को अवतारकालमा जन्मिएको भए, भगवान्को दर्शन पाएको भए, हाम्रो पनि काम बन्थ्यो होला। हामी भगवान्को दर्शन गर्न सक्थ्यौं। उहाँलाई जान्न पनि सक्थ्यौं होला। तर त्यसो होइन। वास्तवमा हामीले अनन्तपटक भगवान् रामको भगवान् कृष्णको दर्शन गरिसकेका छौं। भगवान् हामीभन्दा जेठो हुनुहुन्न। जहिलेदेखि भगवान् त्यहिलेदेखि हामी। हामी पनि अनादि, भगवान् पनि अनादि। भगवान् रामका, कृष्णका अनन्त अवतार भैसकेका छन्। हामीले पनि अनन्तपटक उहाँको दर्शन गरिसकेका छौं। तैपनि हाम्रो काम बनेन।
भगवान्को अवतारकालमा हामी भगवान्लाई भगवान् जान्नु त धेरै परको कुरा एउटा साधारण ठीकठाक मानव पनि मान्दैनौं। आउनुहोस्। भगवान् रामचन्द्रजीको अवतारकाललाई लिएर थप चर्चा गरौं।
श्री रामचन्द्र भगवान् हुनुहुन्छ। वेद भन्दछ–
यो ह वै रामचन्द्रः स भगवान् । रामोत्तरतापिन्युपनिषद् ४–१
रमन्ते योगिनोऽनन्ते नित्यानन्दे चिदात्मनि। इति रामपदेनासौ परं ब्रह्मभिधीयते॥ रामपूर्वतापिन्युपनिषद् १–६
अर्थात्, राम परम् ब्रह्म हुनुहुन्छ, भगवान् हुनुहुन्छ। वेदव्यासजी पनि भन्नुहुन्छ–
रा शब्दो विश्ववचनो मश्चापीश्वरवाचकः। ब्रह्मवैवर्तपुराण ४–११२–१८
विश्वानामीश्वरो यो हि तेन रामः प्रकीर्तितः॥ ब्रह्मवैवर्तपुराण ४–११२–१९
रामो नारायणः परः। अध्यात्मरामायण ७–५८
ततो नारायणः साक्षात्। अध्यात्मरामायण ७–४५
निस्कर्ष के हो भने श्रीराम भगवान् हुनुहुन्छ। अब भगवान् रामचन्द्रजीको एउटा झाँकी म बताउँछु। यसैबाट प्रमाणित हुन्छ कि हामी अवतारकालमा पनि भगवान्लाई जान्न सक्दैनौं।
यहाँहरूले रामायण पढ्नुभयो होला। जब भगवान् राम, देवी सीता एवं लक्ष्मणजीसमेत वनवास जानुहुन्छ, त्यहाँ रावणले देवी सीतालाई अपहरण गरेको प्रसङ्ग छ। गर्छ।
अब पहिलो प्रश्न– एउटा राक्षसले देवी सीताको कसरी अपहरण गर्न सक्छ? सीतामाता त भगवान् रामको ह्लादिनी शक्ति हुनुहुन्छ। भगवान् राम र माता सीतामा कुनै पनि भेद छैन। उहाँको अपहरण कसरी हुन सक्छ र? जुन रावणले लक्ष्मणजीले बनाउनुभएको रेखालाई पार गर्न सक्दैन, ऊसले कसरी सीता माताको हरण गर्न सक्छ? आश्चर्यको कुरा होइन र? यो पहिलो प्रश्न।
अब, मानौं कि रावणले कुनै प्रकारले अपहरण गर्यो रे! अब भगवान् राम के गर्नुहुन्छ? देवी सीताको खोजी गर्नुहुन्छ।
यो खोजी कार्य त अज्ञानीले गर्न सक्छ। हामी कुनै समान हरायो भने खोज्न सक्छौं। किनकि हामी अज्ञानी छौं। तर भगवान् त सर्वज्ञ हुनुहुन्छ।
वेद भन्दछ–
यः सर्वज्ञः सर्वविद्यस्य ज्ञानमयं तपः । मुण्डकोपनिषद् १–१–९
यतिमात्र नभएर सर्वव्यापक पनि हुनुहुन्छ। वेद भन्दछ–
एको देवः सर्वभूतेषु गूढः सर्वव्यापी सर्वभूतान्तरात्मा । श्वेताश्वतरोपनिषद् ६–११
तुलसीदासजी महाराज पनि भन्नुहुन्छ–
हरि व्यापक सर्वत्र समाना । रामचरितमानस
सर्वज्ञको मतलब हो कि अनन्तकोटि ब्रह्माण्डमा प्रत्येक ब्रह्माण्डको प्रत्येक लोकको प्रत्येक देशको प्रत्येक प्रान्तको प्रत्येक गाउँमा रहने अनन्त जीवहरूको प्रत्येक जन्मको प्रत्येक सङ्कल्प थाहा हुनु। यो हो सर्वज्ञता। सर्वव्यापी भन्नाले अनन्तकोटि ब्रह्माण्डमा प्रत्येक ब्रह्माण्डको प्रत्येक लोकको प्रत्येक देशको प्रत्येक प्रान्तको प्रत्येक गाउँमा भएका अनन्त कणहरूमा पूर्ण रूपले व्यापक हुनु। जुन भगवान् सर्वज्ञ र सर्वव्यापी हुनुहुन्छ, उहाँले खोजी कार्य किन गर्नुपर्यो? उहाँलाई त यसै थाहा हुनुपर्ने। ए। सीतालाई त रावणले हरण गरेको रहेछ, अहिले पुष्पक विमानमा राखेर यहाँसम्म पुर्याएछ। अहिले यहाँ पुगेछ। अहिले लङ्का पुगेछ। यसप्रकारले प्रत्येक पलको हिसाब थाहा हुनुपर्ने।
तर उहाँले के गर्नुभयो? खोज्नुभयो। अब कसरी खोज्नुभयो? यो सुनेर यहाँहरू आश्चर्यचकित हुनुहुन्छ। भगवान् राम सीता माताको खोजी गर्दै हुनुहुन्छ तर रोएर। रोएर! उहाँ त आनन्द हुनुहुन्छ। भगवान्का विभिन्न परिभाषाहरू हामीले चर्चा गरिसक्यौं नि। एउटा परिभाषा थियो– भगवान् आनन्द हुनुहुन्छ। वेद भन्दछ–
आनन्दो ब्रह्मेति व्यजानात्। तैत्तिरीयोपनिषद् ३–६
रसो वै सः। तैत्तिरीयोपनिषद् २–७
अर्थात्, भगवान् आनन्द हुनुहुन्छ। जसले भगवान्लाई प्राप्त गर्छ, ऊ नै सदाको लागि आनन्दमय हुन्छ। वेद भन्दछ–
एष आत्मापहतपात्मा विजरो विमृत्युर्विशोकोऽविजिघत्सोऽपिपासः सत्यकामः सत्यसंकल्पः । छान्दोग्योपनिषद् ८–१–५, ८–७–१
भगवान्लाई प्राप्त गरेको जीव नै शोकरहित हुन्छ। भने भगवान् किन रुँदै हुनुहुन्छ? यति मात्रै होइन। उहाँको दशा यस्तो छ–
रे वृक्षाः पर्वतस्था गिरिगहनलता वायुना विज्यमाना रामोऽहं व्याकुलात्मा दशरथतयः शोकवृत्तश्च दग्ध ॥
बिंबोष्ठी चारुनेत्रा सुविपुलजघना बद्धरत्नाढ्यकांची हा सीता केन नीता मम हृदयगता को भवान्केन दृष्टा ॥ भावार्थरामायण ३–१९–१८
उहाँ रूखलाई, पहाडलाई, लतापतालाई सोध्दै हुनुहुन्छ। ‘हे वृक्ष! तिमीले मेरी सीतालाई देखेको छौ कि? हे पवन!’ पनव भन्नाले हावा। ‘हे हावा! तिमीले देखेका छौ कि?’ यसप्रकारले सोध्दै हुनुहुन्छ। यो झाँकीमा हामीले भगवान्लाई देखेर कसरी चिन्न सक्छौं? यदि आजको दिनमा पनि कोही व्यक्ति खम्बाको अगाडि रुँदै, ‘हे खम्बा! तिमीले मेरो श्रीमतीलाई देखेको छौ?’ भनिरहेको रहेछ। अनि कसैले त्यो व्यक्तिलाई देखाउँदै हामीलाई ‘त्यो खम्बाको अगाडि श्रीमतीको खोजीमा रोइरहेको व्यक्ति भगवान् हो।’ भन्यो भने हामी के भन्छौं होला? ‘त्यो व्यक्ति त पूरै पागल हो। त्यसलाई भगवान् भन्ने तिमी पनि आधा पागल हौ। मनोचिकित्सकलाई देखाऊ।’ यही बताइदिन्छौं।
यतिमात्र होइन। भगवान् राम सीता मैयाको विरहमा आँफूले आँफैलाई बिर्सनुहुन्छ।
कोऽहं ब्रूहि सखे।
हे सखा! लक्ष्मणजीलाई पनि बिर्सनुभयो। सखा भन्दै हुनुहुन्छ।
कोऽहं ब्रूहि सखे स्वयं स भगवानार्यः स को राघवः।
महाराज हजुर राघव हुनुहुन्छ। को राधव? भगवान् राम हुनुहुन्छ। ए! म राम हुँ?
के यूयं?
तिमी को हौ?
के यूयं बत नाथ नाथ किमिदं दासोऽस्मि ते लक्ष्मणः।
महाराज म हजुरको दास लक्ष्मण। ओहो! म राम अनि तिमी लक्ष्मण। यो बताऊ। हामी यो जङ्गलमा के गरिरहेका छौं? हामी त अयोध्यामा हुनुपर्ने। ल हेर्नुहोस्। प्रयोजन पनि भुल्नुभयो।
कान्तारे किमिहास्महे बत सखे देव्या गतिर्मृग्यते।
महाराज हामी देवीजीको खोजीमा छौं।
का देवी?
को देवी? सीता मातालाई पनि बिर्सनुभयो।
जनकाधिराजतनया हा जानकि क्वाऽसि हा ॥ महानाटकम् ४–२५
महाराज! राजा जनककी पुत्री जानकी। हा जानकी! मूर्छित हुनुभयो। यो झाँकी हामीले देखेको भए हामी भनिदिन्थ्यौं कि यस्तो श्रीमतीमा आशक्ति। त्रेतायुगमा नै कलियुग शुुरु भैसकेछ। हामी त उहाँलाई साधारण पुरुष समेत मान्न सक्दैनौं। यति आशक्ति त घरपरिवारमा मेरो पनि छैन। आँफूभन्दा पनि नीच मान्थ्यौं। अझ अर्को झाँकी हेर्नुहोस्।
सौमित्रे ननु सेव्यतां तरुतलं चण्डांशुरुज्जृम्भते चण्डांशोर्निशि का कथा रघुपते चन्द्रोऽयमुन्मीलति ।
वत्सैतद्भवता कथं नु विदितं धत्ते कुरंगं यतः क्वासि प्रेयसि हा कुरंगनयने चन्द्रानने जानकि ॥ हनुमन्नाटक ५–१८
भगवान् राम लक्ष्मणजीलाई भन्नुहुन्छ– ‘लक्ष्मण! अहिले प्रचण्ड सूर्य छ। गर्मी छ। त्यसैले केहीबेर छायाँमा आऊ।’ मध्यान्ह रात्रिमा भन्दै हुनुहुन्छ कि प्रचण्ड सूर्य छ। लक्ष्मणजीले भन्नुहुन्छ– ‘महाराज! अहिले रात्रिको समय हो। त्यो सूर्य होइन। चन्द्रमा हो। भगवान् राम सोध्नुहुन्छ– ‘तिमी कसरी भन्न सक्छौ कि चन्द्रमा हो भनेर?’ ‘महाराज! चन्द्रमामा मृगजस्तै टाटाहरू छन्। दागहरू छन्। त्यसैले।’ मृग शब्द सुन्नासाथ उहाँलाई मृगनयनी सीता माताको याद आयो। अनि देवी सीताको विरहमा ‘हा जानकी!’ भन्दै मूर्छित हुनुभयो।
भगवान्को यो लीला देखेर शङ्कर भगवान् अत्यन्त विभोर भएर उहाँलाई हात जोडेर प्रणाम गर्नुभयो। तर पार्वतीजीले सोच्नुभयो कि यस्तो पनि कसरी भगवान् हुन सक्छ र? उहाँ, भगवान् रामको परीक्षा लिनको लागि जानुभयो। सीतामाता बनेर। मेकअप होइन। स्वयं सीतामाताको देह लिएर भगवान् रामको अगाडि प्रकट हुनुभयो।
भगवान् रामले सीताको स्वरूपमा पार्वतीलाई देखेर प्रणाम गर्नुभयो र भन्नुभयो– ‘माताश्री! एक्लै आउनुभयो? पिताश्री कहाँ हुनुहुन्छ?’ लीला क्षेत्रमा भगवान् राम शंकरजीलाई आफ्नो पिता एवं इष्टदेव मान्नुहुन्छ। अनि भगवान् शङ्कर रामजीलाई आफ्नो इष्टदेव मान्नुहुन्छ। त्यसैले पीताश्री कहाँ हुनुहुन्छ भनेर सोध्नुभयो। पार्वतीजी लज्जित हुनुभयो। जब पार्वतीजीको मनमा त उहाँको लीला देखेर उहाँ भगवान् हुनुहुन्छ भन्ने कुरामा शङ्का गर्नुभयो। हामीजस्तो सर्वसाधारणको के दशा होला?
अब एकछिनलाई मानौं कि खोज्नुभयो रे। अनि अनेक प्रयत्न गरेर पत्ता पनि लगाउनुभयो। अब सीता मातालाई प्राप्त गर्नको लागि साधारण व्यक्तिले जस्तै किन सेना बनाउनुपर्ने, युद्ध गर्नुपर्ने? उहाँ त भगवान् हुनुहुन्छ। वेद भन्दछ–
एष आत्मापहतपात्मा विजरो विमृत्युर्विशोकोऽविजिघत्सोऽपिपासः सत्यकामः सत्यसंकल्पः। छान्दोग्योपनिषद् ८–१–५, ८–७–१
अर्थात्, भगवान् सत्यसंकल्प हुनुहुन्छ। सत्यसंकल्प भन्नाले सोच्नासाथ कार्य सिद्ध हुने। त्यसैले भगवान्ले सोचे हुने– सीतासँग तुरुन्तै मिलन होस्। अझै हेर्नुहोस्, जुन भगवान्को निम्ति वेद भन्दछ–
भयादस्याग्निस्तपति भयात्तपति सूर्यः। भयादिन्द्रश्च वायुश्च मृत्युर्धावति पञ्चमः॥ कठोपनिषद् २–३–३
अर्थात्, भगवान्को डरले अग्नि, सूर्य, इन्द्र, वायु, यमराज आ–आफ्नो कार्य नियमपूर्वक गर्दछन्। उहाँ भगवान् भन्नुहुन्छ–
घन घमंड नभ गरजत घोरा । प्रिया हीन डरपत मन मोरा ॥ रामचरितमानस
अर्थात्, ‘प्रियाबिना (देवी सीताबिना) मलाई बादल गर्जिँदा पनि डर लाग्छ।’ कुनै संसारी पुरुषले पनि स्त्रीबिना मलाई डर लाग्छ भन्दैन। भगवान्का यसप्रकारका लीलाहरू अनन्त छन्। ती लीलाहरूलाई देखेर हामी कसरी उहाँलाई भगवान् भनेर मान्न सक्छौं? जुन भगवान् राममा मायामुक्त परमहंसहरू पनि रमण गर्दछन्, यथा–
राम का अर्थ जामें गोविंद राधे। रमण करें मायामुक्त बता दे॥ राधा गोविंद गीत
उहाँप्रति हामी साधारण मानवको पनि भावना बनाइराख्न सक्दैनौं। भगवान्को दर्शन गर्दा वास्तवमा हामीलाई के अनुभव हुन्छ त? तुलसीदासजी महाराज भन्नुहुन्छ–
जिन्ह कें रही भावना जैसी। प्रभु मूरति तिन्ह देखी तैसी॥ रामचरितमानस
बिदुषन्ह प्रभु बिराटमय दीसा। बहु मुख कर पग लोचन सीसा॥ रामचरितमानस
अर्थात्, जसको जस्तो भावना हुन्छ, भगवान्को उसले त्यस्तै स्वरूपको दर्शन गर्छ। संसारमा यस्तो हुँदैन। संसारमा १९–२०को फरक पर्न सक्छ। एउटा व्यक्ति कसैलाई सुन्दर लाग्ला, कसैलाई अलिकति कम सुन्दर लाग्ला। तर भगवान् रामलाई एउटाले देखेर भयभीत हुँदै यसको त दशवटा शीर छ भन्छ। अर्कोले तँलाई गन्न आएन बीसवटा शीर छ भन्छ। यस्तो त संसारमा हुँदैन नि। त्यसैले अवतारकालमा हामीले भगवान्को लीला देखेर उहाँप्रित सन्देह शङ्का उत्पन्न हुन्छ।
जसको निम्ति शास्त्र भन्दछन्–
यदा यदेह धर्मस्य क्षयो वृद्धिश्च पाप्मनः। तदा तु भगवानीश आत्मानं सृजते हरिः॥ भागवत ९–२४–५६
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत। अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्॥ गीता ४–७
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्। धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे॥ गीता ४–८
अर्थात्, भगवान् अधर्मको नाश गर्न र धर्मको स्थापना गर्नको लागि अवतार लिनुहुन्छ। तर भगवान् स्वयं अधर्मको कार्य गर्दै हुनुहुन्छ। उहाँले नै बालीलाई छलले मार्नुभयो। उहाँले नै छलद्वारा बलि राजासँग तीन पाइला जमिनको बहानामा सर्वस्व हरण गर्नुभयो। अब बताउनुहोस्।
भगवान्लाई छोड्नुहोस्। भगवान्लाई प्राप्त गरेका महापुरुषलाई नै हामी जान्न सक्दैनौं। यथा–
जार चित्ते कृष्ण प्रेमा करये उदय। तार वाक्य–क्रियामुद्रा विज्ञे ना बुझय। चैतन्यचरितामृत
इतिहासमा भएका महापुरुषहरूको लीला पनि हामी बुझ्न सक्दैनौं। बृहस्पति, सरस्वतीसमेत जान्न सक्दैनन्। जब महापुरुषको लीला नै हामी जान्न, बुझ्न सक्दैनौं भने भगवान्को लीला कसरी बुझ्न सक्छौं? भगवान् श्रीकृष्णलाई हेर्नुहोस्।
जाको नाप जपी जन काटेँ भव वंधन। सोइ ऊखल बँधा मागे मुक्ति गोपीजन॥
नाचे जाकी माया वश बडे बडे ज्ञानी जन। सोइ गोपी छाछ पर नाचे नन्दनन्दन॥ ब्रज रस माधुरी–२
यशोदा मैयाले एउटा पातलो रस्सीले बालगोपाललाई बाँधीदिनुभयो। सोच्नुहोस् त! कसरी सम्भव हुन सक्छ? जसको नाम जपेर व्यक्तिहरू संसारको भवबन्धनबाट पार हुन्छन्। उहाँ भगवान्, एउटा पातलो रस्सीको बन्धनमा हुनुहुन्छ। अनि आफ्नो मुक्तिको निम्ति गोपीहरूसँग याचना गर्दै हुनुहुन्छ। तर यशोदा मैयाको आज्ञा छैन। त्यसैले उहाँको बन्धनबाट कुनै पनि गोपीले छुटाउने हिम्मत गर्दिनन्। मानिलिनुहोस्। यस्तै झाँकी कसैले हामीलाई देखायो। त्यो केटा छ नि आमाले बाँधिदिनुभएको, सिँगान बगाएर रोइरहेको, हो त्यो भगवान् हो भनेर कसैले हामीलाई देखायो भने के हामी उसलाई भगवान् मान्न तयार हुन्छौं र?
अर्को एउटा झाँकी हेर्नुहोस्। गोपीहरू भगवान्लाई नाच्न भन्दैछन्। किन? नाचेपछि मोही दिन्छु भनेर दही पनि होइन। मोही। जसको घरमा नौ लाख गाई छन्, उसलाई मोहीको लालच दिएर गोपीहरू नाच नचाउँदै छन्। ठाकुरजी नाच्दै हुनुहुन्छ। त्यहाँ कुनै बाजागाजा छैनन्। तालीको तालमा नाच्दै हुनुहुन्छ। गोपीहरू गाली गर्दै छन्। लम्पट, चोर भन्दै। यो झाँकीमा आज पनि कुनै केटा केटीहरूको इसारामा चोकमा नाचिरहेको छ भने हामी भगवान् मान्न सक्छौं र? सक्दैनौं नि। यसप्रकार यही सिद्ध हुन्छ कि भगवान्को अवतारकालमा पनि हामी भगवान्लाई जान्न सक्दैनौं।
त्यही भएर, रामकृष्णको अस्तित्व मान्दा आउने अनेक प्रकारका प्रश्नहरूको सामना गर्न नसकेर हिजोआज कैयौं वक्ताहरू भगवान्लाई अनि वेदशास्त्रलाई नै मान्दैनन्। केवल तर्कको कुरा गर्छन्। मान्छेहरूले सुन्दा यी त बडा तार्किक कुरा गर्छन्। अंग्रेजीमा बोल्छन्। उनीहरूमध्ये केहीको कुरा सुनेर यहाँहरूलाई पनि हाँसो उठ्छ। कोही रामकृष्ण भनेको केही गुणहरूको सङ्ग्रह नै हो भन्छन्। यदि तपाईं पनि गम्भीर हुनुहुन्छ, धर्मको पालन गर्नुहुन्छ भने तपाईं पनि राम हुनुहुन्छ। यति तपाईं चञ्चल हुनुहुन्छ, केटीहरूलाई जिस्काउनुहुन्छ, चोरी गर्नुहुन्छ भने कृष्ण। यस्तै कुरा गर्छन्। उनीहरूलाई वेदशास्त्रको ज्ञान नभएर नै यस्तो कुरा गरेका हुन्।
हामीलाई त भगवान्लाई जान्नु छ। तर व्यक्तिहरूलाई सोधेर, शास्त्रवेदको अध्ययन गरेर वा भगवान्को अवतारकालमा समेत भगवान्लाई जान्न सकिँदैन भन्ने थाहा भयो। तर नजानी त कुनै काम बन्दैन। त्यसैले जान्नु नै छ। चिन्ता नलिनुहोला। जब अनन्त जीवहरूले भगवान्लाई जानेर प्राप्त गरे भने हामीपनि अवश्य जान्न सक्छौं।
भगवान्लाई कसरी जान्न सकिन्छ, अब यसको बारेमा चर्चा गर्नुछ। जय श्री राधे!




