
प्रश्न– के वैदिक दर्शनमा आस्तिक र नास्तिक दुवै दर्शनहरूलाई समेटिएको छ? वैदिक दर्शन कति प्रकारका छन्? यो बारेमा स्पष्ट रूपमा बत्ताइदिनुहुन अनुरोध गर्दछु । प्रश्नकर्ता– रमेश बन्धु अर्याल
उत्तर– एउटा फूलमा फूलका अनेक पत्ताहरू भएकाले सुन्दर देखिन्छ। सनातन धर्ममा पनि यस्तै छ। सनातन धर्मरूपी पुष्पमा पत्तारूपी अनेक दर्शनहरू छन्। हाम्रो धर्मको एउटा विशेषता यो पनि हो कि यसमा अनेक दर्शनहरू छन्। दर्शन शब्द ‘दृष’ धातुबाट बनेको हो। ‘दृष’को अर्थ हो देख्नु। दर्शनको परिभाषा यस प्रकार बताइएको छ।
दृश्यते यथार्थतत्त्वम् अनेन इति।
दृश्यते वस्तु याथात्म्यं अनेन इति दर्शनम्।
अर्थात्, जसबाट यथार्थ तत्त्वको ज्ञान हुन्छ, त्यसलाई दर्शन भनिन्छ। जसबाट कुनै पनि बस्तु को ठिक-ठिक निर्णय हुन सक्छ, त्यसलाई दर्शन भनिन्छ।
आस्तिक एवं नास्तिक दर्शन
दर्शन दुई प्रकारका छन्– आस्तिक दर्शन र नास्तिक दर्शन। आस्तिक दर्शन ती हुन्, जसले वेदलाई मान्दछन्। यिनीहरूलाई वैदिक दर्शन पनि भनिन्छ। यिनीहरूको आधार वेद हो। वेदलाई प्रमाण मान्दछन्।
जुन दर्शनले वेदलाई मान्दैनन्, वेद अनुसार छैनन्, मनको कल्पना गरेर या आफ्नो अनुभवबाट या स्वार्थ सिद्धिको लागि बनेका हुन्, ती नास्तिक दर्शन या अवैदिक दर्शन हुन्। अवैदिक दर्शनमा चार्वाक दर्शन, बौद्ध दर्शन, जैन दर्शन आदि पर्दछन्।
छवटा वैदिक (आस्तिक) दर्शन
वैदिक दर्शनमा छ वटा दर्शनहरू छन्। मीमांसा, न्याय, वैशेषिक, पातञ्जल, साङ्ख्य र वेदान्त दर्शन। यी सबै दर्शनले वेदलाई सर्वोच्च प्रमाण मान्दछन्। यिनीहरूमा पनि केही ईश्वरवादी छन् भने केही अनीश्वरवादी छन्।
यहाँहरूलाई लाग्न सक्छ कि वैदिक (आस्तिक) दर्शन पनि अनीश्वरवादी हुन सक्छ र? वेदलाई मान्ने अनि ईश्वरलाई नमान्ने, यस्तो पनि हुन्छ र? हुन्छ।
मीमांसा दर्शन
जस्तै मीमांसा दर्शनलाई लिनुहोस्। यसको प्रणेता महर्षि जैमिनी हुनुहुन्छ। उहाँले नै मीमांसा दर्शन बनाउनुभयो। कर्मको मीमांसा गर्नुभयो। कर्म-धर्मको निरूपण गर्नुभयो र भन्नुभयो भगवान्को कुनै पनि आवश्यकता छैन। यदि भगवान् आवश्यक मान्नुहुन्न भने कर्मको फल कसरी प्राप्त हुन्छ त? उहाँ भन्नुहुन्छ कि कर्म आफै फल बन्दछन्। यज्ञ नै सब थोक हो। यज्ञद्वारा सांसारिक सुख अनि विभिन्न मायिक लोकका सुख प्राप्त गर्नु नै जीवको लक्ष्य हो।
वास्तवमा यज्ञ आदि कर्मद्वारा स्वर्गसम्म जान सकिन्छ। ती कर्महरूबाट मोक्ष मिल्न सक्दैन। कर्म अनुसार स्वर्गको सुखको भोग गरेपछि जीव फेरि फर्केर आउँछ।
पुनरपि जननं पुनरपि मरणं पुनरपि जननी जठरे शयनम्। आदि जगद्गुरु श्री शङ्कराचार्यजी
त्यसैले जुन अनन्त मात्राको प्रतिक्षण बढ्दै जाने र सधैँ रहिरहने सुख हामी चाहन्छौँ, त्यो मीमांसा दर्शनबाट प्राप्त हुन सक्दैन।
साङ्ख्य दर्शन
दोस्रो हो साङ्ख्य दर्शन। दुई वटा साङ्ख्य दर्शन पाइन्छ। एउटा महाभारतको वन-पर्वका अग्नि-वंशज कपिलजीको साङ्ख्य दर्शन। उहाँ भगवान्लाई मान्नुहुन्नथ्यो। केवल सृष्टिको कुरा गर्नुहुन्थ्यो। भगवान्को आवश्यकता छैन, प्रकृतिद्वारा नै सृष्टि हुन्छ। जीव तत्त्व छ, अन्य चौबीस तत्त्व छन्। प्रकृति, महान्, अहङ्कार, एघार इन्द्रिय, पञ्चतन्मात्रा र पञ्चमहाभूत गरेर चौबीस अनि जीव सहित पच्चीस तत्त्व। तर भगवान्को आवश्यकता छैन। यदि त्यसो हो भने संसार कसरी बन्यो त? प्रकृतिबाट नै बन्छ। जड प्रकृतिबाट कसरी संसार बन्छ? साङ्ख्य मत अनुसार बन्छ। उहाँको मत अनुसार पच्चीस तत्त्वहरूको तत्त्व-ज्ञानबाट दुःख निवृत्ति हुन्छ। आनन्द प्राप्तिको कुरा साङ्ख्य दर्शनमा छैन।
अर्को एक जना कपिलजी हुनुहुन्छ– कर्दम र देवहूतिका पुत्र, भगवान्का अवतार कपिलजी। उहाँ पनि साङ्ख्य दर्शनको निर्माता हुनुहुन्छ। तर उहाँ भगवान्लाई मान्नुहुन्छ। साथमा उहाँले भक्तिको नै उपदेश दिनुभएको छ। उहाँले आफ्नी मातालाई विस्तारमा भक्तिको उपदेश दिनुभएको थियो। उहाँ भक्तिका महान् आचार्यहरू मध्ये एक हुनुहुन्छ।
न्याय दर्शन
तेस्रो दर्शन हो गौतमजीले बनाउनुभएको न्याय दर्शन। उहाँको सिद्धान्त अनुसार भगवान्बिना सृष्टि हुन सक्दैन। त्यसैले मीमांसा र साङ्ख्यको मत गलत हो। तर भगवान् एक्लैले सृष्टि गर्न सक्नुहुन्न। पृथ्वी, जल, तेज, वायु यी चार वटा चीजहरूका जुन सूक्ष्म परमाणुहरू हुन्, ती परमाणुहरूद्वारा भगवान्ले सृष्टि गर्नुहुन्छ। साथै प्रमाण, प्रमेय आदि सोह्र वटा तत्त्वहरूलाई जानेमा दुःखबाट छुटकारा मिल्छ। आनन्द प्राप्तिको कुरा न्याय दर्शनमा छैन।
अस्तु। न्याय दर्शन अनुसार भगवान्को अस्तित्व छ, हामीलाई दुःख निवृत्तिको निम्ति भगवान्को आवश्यकता पर्दैन।
वैशेषिक दर्शन
त्यसै गरी कणाद मुनिले वैशेषिक दर्शन बनाउनुभयो। यो दर्शन न्याय दर्शनकै अनुयायी दर्शन हो। परमाणुवादी हो र भगवान्लाई मान्दछ। साथै कर्म अनुसार फल मिल्छ भन्ने सिद्धान्त मान्दछ। वैशेषिक दर्शन अनुसार द्रव्य, गुण, कर्म आदि छ वटा तत्त्वलाई जानेर दुःखबाट छुटकारा प्राप्त गर्न सकिन्छ। अतः वैशेषिक दर्शनको लक्ष्य हो दुःख-निवृत्ति। दुःख-निवृत्ति भन्नाले जीव निश्चेष्ट अवस्थामा रहनु, जस्तै हामी गहिरो निद्रामा रहन्छौँ। त्यहाँ कुनै दुःख हुँदैन। वैशेषिक दर्शन अनुसार भगवान्को आवश्यकता पर्दैन।
योग दर्शन
अर्को दर्शन हो– योग दर्शन या पातञ्जल दर्शन। महर्षि पतञ्जलिले बनाउनुभएको हो। यो दर्शनले पच्चीस वटा तत्त्वहरूका साथै छब्बिसौँ तत्त्व– ईश्वर तत्त्वको अस्तित्व पनि स्वीकार गर्दछ। तर उहाँको आवश्यकता महसुस गर्दैन। चित्तवृत्तिको निरोध गरेर आफ्नो स्वरूपमा स्थित हुनु नै योग दर्शन अनुसार जीवको लक्ष्य हो। यसरी योग दर्शनको सिद्धान्त पनि दुःख-निवृत्तिमा नै सीमित छ। आनन्द-प्राप्तिको कुरा छैन।
योगीहरूको समाधि हुन्छ। यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, ध्यान, धारणा र समाधि, यी आठ वटा अङ्ग हुन्छन्। अन्तिम अवस्था समाधि हो। समाधिमा के हुन्छ? अनन्त आनन्द मिल्दैन। केवल निर्विकल्प समाधि हुन्छ। निर्विकल्प माने केही पनि अनुभव नहुनु। जस्तै गहिरो निद्राको अवस्था।
ध्यानविस्मृतिः समाधिः। मण्डलब्राह्मणोपनिषद् १–१०
ज्ञानीहरूको त्रिपुटी भनेजस्तै योगीहरूको समाधि हो।
यी सबै दर्शनहरूको प्रमुख लक्ष्य हो– दुःख-निवृत्ति। यी दर्शनहरू वैदिक भएर पनि ईश्वरको आवश्यकता मान्दैनन्। यी दर्शनहरू अनन्त आनन्द-प्राप्तिलाई लक्ष्य मान्दैनन्। केवल दुःख-निवृत्तिलाई नै लक्ष्य मान्दछन्। त्यसैले यी दर्शनहरूबाट पनि हाम्रो काम बन्दैन। अब आउनुहोस्, वेदान्त दर्शनमा जाऔँ।
वेदान्त दर्शन
केही वेदान्ती दुःख-निवृत्तिलाई नै लक्ष्य मान्दछन्। केही आनन्द-प्राप्ति भन्दछन्। अद्वैतीहरूका पनि दुईवटा राय छन्। जस्तै आदि जगद्गुरु श्री शङ्कराचार्यजी भन्नुहुन्छ कि आनन्द-प्राप्ति हुन्छ। तर उहाँका गुरु गोविन्दाचार्यजीका गुरु गौडपादाचार्यजी भन्नुहुन्छ कि दुःख-निवृत्ति नै हुन्छ।
वेदान्त दर्शन– अपौरुषेय दर्शन
वेदान्त दर्शन अपौरुषेय हो। अपौरुषेय भन्नाले कसैले बताएको होइन। जसरी वेद अनादि एवं अपौरुषेय हो, त्यसै गरी वेदान्त पनि अनादि एवं अपौरुषेय हो। अन्य दर्शन पौरुषेय हुन्। पौरुषेय भन्नाले एक दिन कसैले बनाउनुभएको हो। वेदान्त दर्शनले नै ईश्वर तत्त्व अनिवार्य बताउँछ। यही दर्शनले नै आनन्द-प्राप्तिको कुरा गर्दछ। अन्य सबै दर्शनले दुःख-निवृत्तिको कुरा गर्दछन्।
अन्य दर्शनका अनुयायीहरूलाई मोक्ष मिल्न सक्दैन। क्षणिक दुःख-निवृत्ति हुन सक्छ। सदाको निम्ति दुःख-निवृत्ति त मायाबाट छुटकारा पाएर नै हुन सक्छ। मायाबाट छुटकारा तब मिल्छ, जब भगवान्ले कृपा गर्नुहुन्छ। भगवान्को कृपा तब मिल्छ, जब कसैले उहाँको भक्ति गर्छ। उनीहरू भगवान्को भक्ति गर्दैनन्, त्यसैले उनीहरूको मोक्ष हुँदैन।
वेदान्त दर्शन– ईश्वरवादी दर्शन
अस्तु। आस्तिक (वैदिक) दर्शनहरूमध्ये, वेदान्त दर्शन ईश्वरवादी दर्शन हो। ईश्वरवादी वैदिक दर्शन पनि पाँच प्रकारका छन्। वेदको सिद्धान्त अनुसार पाँच इष्टदेव हुनुहुन्छ। विष्णुजी (कृष्णजी), शिवजी, सूर्यजी, गणेशजी र दुर्गाजी। पञ्चदेवोपासना हामी सबैले सुनेका छौँ।
विष्णुवादीलाई नै लियौँ भने पनि त्यहाँ अनेक वादहरू छन्। जस्तै अद्वैत, विशिष्टाद्वैत, द्वैताद्वैत, विशुद्धाद्वैत, द्वैत, अचिन्त्यभेदाभेद आदि अनेक प्रकारका सिद्धान्तहरू छन्। अगाडि पनि नयाँ सिद्धान्तहरू बन्न सक्छन्।
वेदान्त दर्शन– सर्वश्रेष्ठ दर्शन
अन्य दर्शनहरूले दुःख-निवृत्तिको मात्र लक्ष्य लिएका छन्। तर वेदान्त दर्शनले आनन्द-प्राप्तिलाई लक्ष्य मानेको छ। साथै तत्त्वज्ञान, मोक्षप्राप्ति, भगवत्प्राप्ति आदिको लागि भगवान्बाहेक अन्य कुनै पनि अवलम्ब छैन भनेको छ। त्यसैले वेदान्त दर्शन सर्वश्रेष्ठ मानिन्छ।
सृष्टिको विषयमा विभिन्न दर्शनहरूको मत
न्याय, वैशेषिक आदि दर्शनहरूले अनुमान-प्रमाण आदिद्वारा भगवान्लाई सृष्टिको निमित्तकारण र मायालाई या परमाणुहरूलाई उपादान कारण सिद्ध गरेका छन्। घैँटो बनाउनको लागि कुमाले निमित्त कारण हो र माटो उपादान कारण हो। तर वेदान्त दर्शनले एवं सबै वैष्णव आचार्यहरूले भगवान् श्रीकृष्णलाई नै सृष्टिको निमित्तोपादन कारण (निमित्त र उपादान दुवै) सिद्ध गरेका छन्। भगवान् सृष्टिको प्रमुख निमित्त कारण र प्रमुख उपादान कारण भगवान् नै हुनुहुन्छ। जीव गौण निमित्त कारण हो र माया गौण उपादान कारण हो।
जय श्री राधे!




