प्रश्न– के वैतरणी र विरजा एकै नदी हुन ? जसको पार गरेपछि परमव्योम लोकको सुरुवात हुन्छ ? प्रश्नकर्ता– युवराज बस्याल, बुटवल

उत्तर– होइन। वैतरणी नदी र विरजा नदी एकै होइनन्। वैतरणी नदी नरक पुग्नु अघि आउने नदी हो भने विरजा नदी मायिक क्षेत्र र ईश्वरीय क्षेत्रको सन्धि हो। अर्थात्, विरजा नदी पार गरेपछि भगवान्‌को धाम प्रारम्भ हुन्छ।

गरुड-पुराणका अनुसार यमलोक हाम्रो पृथ्वीबाट छयासी हजार योजन टाढा छ। एक योजनमा लगभग १२ देखि १३ किलोमिटर हुन्छ।

के यमलोक अथवा नरकलाई देख्न सकिन्छ? एउटा प्रश्न आउन सक्छ। अहिले त हामी विभिन्न वस्तुहरू दूरबिनद्वारा देख्न सक्छौँ। त्यसै गरी, के नरकलाई देख्न सकिन्छ? सकिँदैन। किन?

तीन वटा आयामहरू हुन्छन्। एउटा पञ्चमहाभूतको आयाम, एउटा दैवी आयाम र एउटा दिव्य आयाम।

दिव्य आयाम

भगवान्‌का धामहरू वैकुण्ठ, गोलोक आदि सबै दिव्य आयाममा पर्छन्। दिव्य आयाम सर्वव्यापी हुन्छ। किनकि भगवान् सर्वव्यापी हुनुहुन्छ। दिव्य आयाममा भएका ईश्वरीय धाम, परिकर आदिको दर्शन गर्न दिव्य इन्द्रिय-मन-बुद्धि चाहिन्छ। भगवान् र भगवान्‌लाई प्राप्त गरेका महापुरुषहरूले दिव्य आयाम र त्यसमा भएका ईश्वरीय धाम, परिकरहरू एवं अनन्त लीलाहरूको दर्शन इत्यादि गर्न सक्छन्।

दैवी आयाम

स्वर्ग, नरक आदि दैवी आयाम अन्तर्गत पर्छन्। यो पनि मायिक क्षेत्रमा नै हो। माया अनन्त भएकाले दैवी आयाम पनि अनन्त हुन्छ। तर भगवान्‌को धाममा, ईश्वरीय क्षेत्रमा दैवी आयामको गति हुँदैन। दैवी आयामको ग्रहण पञ्चमहाभूतका इन्द्रियद्वारा हुन सक्दैन। किनकि यी सूक्ष्म हुन्छन्। सूक्ष्म इन्द्रियहरूद्वारा त्यसको ग्रहण हुन सक्छ।

अहिले पनि यदि देवासुर सङ्ग्राम भयो भने हामीलाई त्यसको अनुभव हुन सक्दैन। किनकि ती सबै दैवी आयाममा हुन्छन्।

जब योग साधनाद्वारा योगीहरू मनलाई एकाग्र बनाएर सूक्ष्म जगत्‌को विषय ग्रहण गर्न सक्ने स्थितिमा पुग्छन्, तब उनीहरू दैवी आयामको अवलोकन अनि त्यसको अनुभव पनि गर्न सक्छन्। भागवतमा योगीहरूले प्राप्त गर्ने सिद्धिहरूमध्ये एउटा सिद्धि स्वर्गमा अप्सराहरूसँग हुने देव-क्रीडाको अवलोकन पनि हो।

देवानां सहक्रीडानुदर्शनम्। भागवत ११–१५–७

यसबाट यही सिद्ध हुन्छ कि एउटा स्थितिमा पुगेर दैवी आयामको दर्शन हुन सक्छ। अन्य युगमा व्यक्तिहरूमा त्यो क्षमता हुन्थ्यो तर कलियुगमा हाम्रा इन्द्रियहरू अत्यन्त सङ्कुचित भएका छन्। त्यसैले हामी देख्न सक्दैनौँ।

पञ्चमहाभूतको आयाम

सूर्य, पृथ्वी, ग्रहहरू, ताराहरू पञ्चमहाभूतको आयाममा पर्दछन्। पञ्चमहाभूतको आयाम पनि अनन्त हुन्छ, असीम हुन्छ। किनकि अनन्त ब्रह्माण्डहरू यही आयाममा हुन्छन्। हामीसँग पञ्चमहाभूतका इन्द्रियहरू भएकाले हामी पञ्चमहाभूतको आयामको अनुभव गर्न सक्छौँ। देख्न, सुन्न सक्छौँ।

त्यसैले हामी नरकलाई दूरबिन आदिद्वारा देख्न सक्दैनौँ। प्रत्यक्ष अनुभवमा आउन सक्दैन। न त तर्कद्वारा नै यसको बारेमा केही जान्न सक्छौँ। त्यसैले नरक आदिको बारेमा जान्नको निम्ति शास्त्रको सहायता लिनु अनिवार्य हो।

वैतरणी नदी

अब वैतरणी नदीको बारेमा चर्चा गरौँ। श्री गरुड पुराण अनुसार यमलोक मृत्यु-लोकबाट छयासी हजार योजन टाढा छ। मृत्युपश्चात् जीव प्रतिदिन २४७ योजन र आधा कोस प्रतिदिनको गतिले यात्रा गर्दै ३४८ दिनमा यमलोक पुग्छ। यो यात्राको क्रममा जीवले पाप कर्म अनुसार विभिन्न प्रकारको दुःख प्राप्त गर्छ। मृत्यु-लोकदेखि यमलोकसम्म सोह्र वटा पुरहरू पर्दछन्।

जीवले एक एक गरेर ती पुरहरू अत्यन्त कष्ट भोग्दै पार गर्दै जान्छ। याम्य, सौरिपुर, नगेन्द्रभवन, गन्धर्वपुर, शैलग्राम, क्रौंच, क्रूरपुर, विचित्रभवन गरेर आठ वटा पुरहरू छ महिनामा पार गर्छ। यी पुरहरूमा र मार्गमा जीवले के कस्ता दुःखहरू भोग्नुपर्छ, त्यसको वर्णन गरुडपुराणमा गरिएको छ। त्यसको यहाँ उल्लेख गर्न आवश्यक छैन।

विचित्रभवन पार गरिसकेपछि बल्ल वैतरणी नामक नदी आउँछ। उक्त नदी रगत र पीपले भरिएको हुन्छ अनि त्यसको चौडाइ सय योजन हुन्छ। यदि  जीवले वैतरणी गाईको दान गरेको छ भने उसले नौकामा बसेर त्यो नदी सहजै पार गर्न सक्छ। अन्यथा अत्यन्त दुःख कष्ट भोग्नुपर्छ। त्यसैले, यो दुःखबाट छुटकारा पाउनको लागि जीवले जीवनकालमा नै वैतरणी गाईको दान गर्नुपर्छ।

वैतरणी नदी पार गरेपछि जीवले बह्वापद, दुःखद, नानाक्रन्दपुर, सुतप्तभवन, रौद्र, पयोवर्षण, शीताढ्य र बहुभीति गरेर अन्य पुरहरू पार गर्छ। त्यसपछि बल्ल यमपुरी पुग्छ, जहाँ यमराजले उसको कर्मको फैसला गरेर उसको कर्म अनुसारको शरीर एव गति प्रदान गर्नुहुन्छ।

मृत्यु हुँदा मानव शरीरबाट जीव सूक्ष्म शरीर लिएर निस्किन्छ। त्यो सूक्ष्म शरीरलाई प्रेत पनि भनिन्छ। त्यो शरीरले कुनै पनि भोग गर्न सक्दैन। अतः सबैभन्दा पहिले उसलाई आतिवाहिक शरीर मिल्छ, जुन पिण्डद्वारा निर्मित शरीर हो। यमपुरीमा पुगेपछि उसलाई उसको कर्म अनुसारको अरू शरीरहरू प्राप्त हुन्छ। ती शरीरहरूद्वारा उसले आफ्नो कर्मको फल भोग्नुपर्छ।

विरजा नदी

भगवान्‌को धाम र प्राकृत ब्रह्माण्डको बिचमा विरजा नदी स्थित छ। यथा–

प्रधानपरमव्योम्नोरन्तरे विरजा नदी।
वेदाङ्गस्वेदजनिततोयैः प्रस्राविता शुभा॥ पद्मपुराण उत्तरखण्ड २५५–५७

तस्याः पारे परव्योम्नि त्रिपाद्भूतं सनातनम्।
अमृतं शाश्वतं नित्यमनन्तं परं पदम्॥ पद्मपुराण उत्तरखण्ड २५५–५८

अर्थात्, प्रकृति एवं परव्योमको बिचमा विरजा नाम गरेको नदी छ। त्यो नदी पानीको नदी होइन। त्यसमा भगवान्‌को धर्म-जल प्रवाहित हुन्छ। हामी त्यो जलको अनुभव या अनुमान गर्न सक्दैनौँ। त्यो नदीको यताको तीरमा प्राकृत ब्रह्माण्ड स्थित छ र अर्को तीरमा परव्योम नाम गरेको परमधाम छ। त्यो परव्योम धाम सनातन, अमृत(अनन्त आनन्दले युक्त), शाश्वत, नित्य एवं अनन्त छ। यही कुरा श्री चैतन्य चरितामृतमा पनि बताइएको छ।

कारणाब्धि–पारे हय मायार नित्य स्थिति। विरजार पारे परव्योमे नाहि गति॥ चैतन्यचरितामृत २–२०–२३१

विरजा नदी या कारण–समुद्रको यता माया नित्य रहन्छ। तर कारण–समुद्रको पारी परव्योम अर्थात् दिव्य चिन्मय लोक छ।

एक उडुम्बर–वृक्ष लागे कोटि फले। कोटि ब्रह्माण्ड भासे विरजार जले॥ चैतन्यचरितामृत २–१५–१७२

जसरी एउटा वृक्षमा अनेक फलहरू फल्छन्, त्यसै गरी विरजा नदी या कारण–समुद्रमा अनन्त ब्रह्माण्ड प्रकाशित हुन्छन्। चैतन्य महाप्रभु भन्नुहुन्छ–

ब्रह्माण्ड भ्रमिते कोन भाग्यवान् जीव। गुरु–कृष्ण–प्रसादे पाय भक्तिलता–बीज॥
माली हञा करे सेइ बीज आरोपण। श्रवण–कीर्त्तन–जले करये सेचन॥
उपजिया बाढ़े लता–ब्रह्माण्ड भेदि जाय। विरजा ब्रह्मलोक भेदि परव्योम पाय॥ चैतन्यचरितामृत २–१९–१३३, १३४, १३५

अर्थात्, ब्रह्माण्डमा अनेक योनीहरूमा भ्रमण गर्दा गर्दा कुनै भाग्यशाली जीवले श्री गुरुदेव या श्रीकृष्णको कृपाद्वारा भक्तिरूपी लताको बीज प्राप्त गर्छ। त्यसपछि त्यो जीवले माली बनेर त्यो बीजलाई रोप्छ अनि श्रवण कीर्तन रूपी जलद्वारा सिचाइ गर्छ, तब त्यसबाट भजन–प्रवृत्तिरूपी अङ्कुर प्रकट हुन्छ। त्यसपछि त्यो भक्ति-लताले ब्रह्माण्डलाई फोरेर माथि जान्छ र बढ्दै बढ्दै विरजा (कारण समुद्र) तथा ब्रह्मलोक (सिद्धलोक या चिन्मय ज्योतिर्मय धाम)लाई फोरेर परव्योमसम्म पुग्छ।

सायुज्य मुक्तिका अधिकारी ज्ञानी र भगवान्‌को हातबाट मरेका दैत्यहरू ब्रह्मलोकमा रहन्छन्। ब्रह्मलोक विरजा र परव्योम(वैकुण्ठ)को बीचमा अवस्थित छ। त्यहाँ जीव सूक्ष्म रूपमा ब्रह्मानन्दमा लीन भएर रहन्छ। परव्योम-लोकको अधिपति नारायण हुनुहुन्छ। सार्ष्टि, सारूप्य, सालोक्य र सामीप्य गरेर चार प्रकारका मुक्तिका अधिकारीहरू परव्योममा रहन्छन्।

श्रीकृष्ण–भक्तिरूपी लताले परव्योम लोकलाई पनि भेदन गर्दै भगवान् श्रीकृष्णको धामसम्म अर्थात्, गोलोक वृन्दावनसम्म पुग्छ।

अस्तु विरजा नदी पार गर्ने एक मात्र उपाय भनेको भगवान् श्रीकृष्णको भक्ति नै हो।

जय श्री राधे!