
प्रश्न– अन्न नखाईकन बस्नु एकादशी व्रत हो कि अरू नै अर्थ हुन्छ एकादशी व्रत को? अहिलेको कलियुगमा, एकादशी व्रत कतिको अनुकूल छ? शास्त्रमा के बताइको छ? मेरो जिज्ञासा समाधान गरिदिनु भए आभारी हुने थिएँ। प्रश्नकर्ता– कृष्ण कार्की, इलाम।
उत्तर–
एकादशी
एकादशी पञ्चाङ्ग अनुसारको एघारौँ तिथि हो। एकादशी दुई प्रकारका हुन्छन्। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ। एक वर्षमा चौबीस एकादशी हुन्छन्। प्रत्येक तीन वर्षमा पुरुषोत्तम महिना हुन्छ, त्यो वर्ष छब्बीस वटा एकादशी हुन्छन्।
एकादशी माहात्म्य
सनातन धर्ममा हरेक दिन पर्व हो। प्रत्येक दिन कुनै न कुनै पर्व पर्छ। अतः हरेक दिनको विशेष महत्त्व छ। अब एकादशीको महत्त्व के हो त? एकादशीको माहात्म्यका बारेमा शास्त्रमा अनेक प्रमाणहरू पाइन्छन्। यथा–
एकादश्यां निराहारो यो भुङ्क्ते द्वादशीदिने। शुक्ले वाऽप्यथवा कृष्णे तद् व्रतं वैष्णवं महत्॥ वराहपुराण ६५–७
अर्थात्, एकादशीको दिन, चाहे त्यो शुक्ल पक्षको एकादशी होस् या कृष्णपक्षको, उपवास राखेर द्वादशीको दिन भोजन गर्नाले भगवान् प्रसन्न हुनुहुन्छ।
एकादशीमा भोजन गर्ने बारेमा
यदि कसैले एकादशीमा भोजन गर्छ भने, शास्त्र भन्दछ–
एकादश्यां न भुञ्जीत पक्षयोरुभयोपरि। यो भुंक्ते सोऽत्र पापीयान्परत्र नरकं व्रजेत्॥ नारदपुराण १–२३-४
अर्थात्, जसले एकादशीमा भोजन गर्छ, ऊ पापी हो र ऊ मृत्युपश्चात् नरक जान्छ। एकादशीमा भोजन गर्नु अत्यन्त ठुलो पाप हो। एकादशी व्रतमा कति छाक भोजन छोड्ने सन्दर्भमा शास्त्र भन्दछ–
उपवासफलं प्रेप्सुर्जह्याद्भुक्तचतुष्टयम्। पूर्व्वारपरदिने रात्रौ नाहर्नक्तञ्च मध्यमे॥ बृहन्नारदीयपुराण २१–५
अर्थात् चार छाक भोजन छोड्नुपर्छ। अघिल्लो दिनको साँझको छाक, व्रतको दिनको दुवै छाक, अनि भोलिपल्टको पनि साँझको छाक। यस प्रकारले भोजन परित्याग गर्न के हामीलाई सम्भव छ? छैन। तर शास्त्रमा यदि कसैले यस प्रकार भोजनको परित्याग गरेन भने निकै ठुलो पाप लाग्छ भनिएको छ। शास्त्रमा एकादशीको दिन भोजन गर्नु गाईको मासु खाए जत्तिकै पाप हो भनिएको छ र यो पापको कुनै पनि प्रायश्चित छैन पनि भनिएको छ।
जसको उमेर आठ वर्षदेखि असी वर्ष छ, उनीहरू सबैले एकादशी व्रत बस्नुपर्छ भनेर शास्त्रले भनेको छ। जो रोगी छन्, या जसको शरीर पित्त-प्रधान छ एवं जो असी वर्षमाथिका छन्, उनीहरूले रात्रि भोजन गर्न सक्छन्।
शास्त्रमा यो पनि बताइएको छ कि रात्रि कालमा हविष्यान्न (नउसिनेको अगहनी धानको चामल, मुगी, कालो तिल, जौ, केराउ, कागुनो, नाबो धान, बेथु, हुर्हुरे साग, साठी धानको चामल, नरिचो, मुला, केमुआ बाहेक (आलु, पिँडालु, तरुल, आदि) कन्द, सिधे र पाङ्गानुन, गाईको दही, घिउ तर ननिकालेको दूध, रूख कटर, आँप, हर्रो, पिपला, जिरा, सुन्तला, अमिली, केरा, हरफारेबडी (लबली), अमला आदि फल, चिनी, मिस्री र तेलमा नपकाएको वस्तु) ग्रहण गर्न सकिन्छ। अन्नव्यतीत अर्थात् फालिएको या छाडिएको अन्न, अनि फल, दूध, जल, पञ्च-गव्य यी सबै वस्तु परस्पर उत्तरोत्तर रात्रिमा सेवनको निम्ति उचित हुन्। तर उत्थानको दिन, शयनको दिन एवं पार्श्व परिवर्तन दिन अन्न अथवा फल सेवन निषेधित छ।
एकादशी व्रतमा पक्षको भेद हुँदैन। अर्थात्, कृष्णपक्ष र शुक्ल पक्षको एकादशी उत्तिकै महत्त्वपूर्ण हो। यदि कसैले एकादशीबिच भेद मान्दछ भने त्यो पनि अक्षम्य पाप हो। एकादशी कुनै पनि वार पर्यो अथवा महिनाको कुनै पनि दिन पर्यो भने पनि उपवास बस्नुपर्छ। सूतक पर्दा या आशौचमा पनि एकादशीको व्रत त्याग्नुहुँदैन। एकादशीकै दिन श्राद्ध पर्यो भने पनि श्राद्धलाई द्वादशीको दिन गरेर एकादशीको दिन व्रत बस्नुपर्छ। चारै वर्ण र आश्रममा रहेकाले एकादशीको व्रत बस्नुपर्छ। वैष्णव, शैव वा सौर सबैले एकादशीको व्रत बस्नको निम्ति शास्त्रले आज्ञा दिएको छ। अर्थात्, एकादशीको व्रत सबैको निम्ति हो।
एकादशी व्रत बसेमा के मिल्छ?
यदि कसैले विधिपूर्वक एकादशी व्रत बस्छ भने के मिल्छ त? यदि कसैले एकादशी व्रत बस्यो भने एक त पाप नष्ट हुन्छ। यदि व्रत बस्ने वालाको संसारी धन, पद, सन्तानको कामना छ भने त्यो पनि पूर्ण हुन्छ। स्वर्गको कामना छ भने त्यो पनि पूर्ण हुन्छ। साथै यदि कसैको मोक्षको कामना छ भने त्यो पनि पूर्ण हुन्छ। एकादशी व्रत बस्ने भक्तको पुनर्जन्म हुँदैन र वैकुण्ठमा वास प्राप्त गर्छ।
त्यसै गरी पुराणमा यो पनि बताइएको छ कि कलियुगमा एकादशीको व्रतको समान उद्धारको उपाय छैन। एकादशीको उपवास गर्नेले यमराजको यातना सहन गर्नुपर्दैन। एकादशी व्रत कसैले बस्यो भने उसले अब तीर्थ, तपस्या, दान आदि गरिरहन आवश्यक छैन। उसको मोक्ष हुन्छ। इत्यादि। यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने यो जुन एकादशीको माहात्म्य बताइएको छ, यो श्रीकृष्ण-भक्तिका साथ गरिने एकादशीको महिमा हो। भक्तिको अङ्गरूपी एकादशीको माहात्म्य हो। केवल उपवासको माहात्म्य होइन। श्रीकृष्ण-भक्ति अनिवार्य हो। यथा–
एकादशी महापुण्या सर्व्वपापविनाशिनी। भक्तेश्च दीपनी विष्णोः परमार्थगतिप्रदा। यामुपोष्य नरो भक्त्या न संसारे भविष्यति॥ भविष्यपुराण
एकादशीव्रतं भक्त्या यः करोति नरः सदा। स विष्णुलोकं व्रजति, याति विष्णोः स्वरूपताम्। गरुडपुराण
यः करोति नरो भक्त्या एकादश्यामुपोषणम्। शिवपुराण
अर्थात्, भक्ति अनिवार्य हो। यदि कसैले भक्ति नगरीकन केवल भोजन छोड्यो या भोकै बस्यो भने त्यसको भक्तिसम्बन्धी केही पनि लाभ हुँदैन। स्वास्थ्य लाभ होला, अन्नको वचन होला, त्यो आफ्नो ठाउँमा छ, तर श्रीकृष्णप्रेम बढ्दैन।
त्यसै गरी यदि कसैले भक्ति गरेर एकादशीमा भोजन गर्यो भने, त्यो भगवत्अर्पित् कर्म भएकाले उसलाई त्यो कर्मको क्लेश हुँदैन। अर्थात्, कुनै दोष हुँदैन।
हामीले एकादशी व्रत बस्ने कि नबस्ने?
अब हामीले एकादशी व्रत बस्ने कि नबस्ने त? यसको समाधान त हजुरको गुरुले नै गर्नुहुन्छ। यहाँ गुरु भन्नाले श्रोत्रिय ब्रह्मनिष्ठ गुरु। जसले भगवान्लाई प्राप्त गरिसक्नुभएको छ, यस्तो गुरु।
गुरुहरूको आफ्ना साधकहरूलाई भक्ति-मार्गमा चलाउने छुट्टाछुट्टै तरिका हुन्छ। श्रीकृष्ण भक्तिका अनेक अङ्गहरू छन्। स्मरण भक्तिलाई अनिवार्य राख्दै, साधकको सुविधाको निम्ति भक्तिका अन्य साधनहरूमध्ये कसैले कुनैलाई प्राथमिकता दिनुहुन्छ, कसैले कुनैलाई। त्यसैले गुरुलाई सोधेर उहाँले जे बताउनुहुन्छ, त्यस अनुसार नै साधना गर्नु उपयुक्त हुन्छ। यही वेदशास्त्रको सार हो। किनकि वेद भगवान्को अधीनस्थ हो। भगवान् पनि गुरुको अधीनमा हुनुहुन्छ। त्यसैले गुरुले जुन साधनाको उपाय बताउनुहुन्छ, त्यही गर्नु कल्याणकारी हो। यही कलियुगमा पनि केही गुरुहरूले एकादशी व्रतलाई श्रीकृष्ण-भक्तिमा जोड दिनुभएको छ भने केहीले एकादशीलाई अनिवार्य बताउनुभएको छैन।
जस्तै, तुलसीदासजी महाराजले अनिवार्य बताउनुभएन। भगवान् श्रीकृष्णले पनि उद्धवजीलाई अनिवार्य बताउनुभएन। जगद्गुरु श्री कृपालु जी महाराजले पनि अनिवार्य बताउनुभएन। सिद्धान्त के हो भने भगवान्को शरणागतिद्वारा नै भगवान्को कृपा प्राप्त हुन्छ अनि उहाँको कृपाद्वारा नै उहाँको दर्शन, प्रेम प्राप्त हुन्छ। भगवान्को शरणागतिको निम्ति मन शुद्ध हुनुपर्छ। मनको शुद्धि केवल भक्तिद्वारा हुन्छ। भक्ति विभिन्न प्रकारका हुन्छन् र त्यसमा स्मरण भक्ति प्रमुख हो। यदि कसैले भगवान्को स्मरण साधना गर्यो भने उसको निम्ति अन्य कुनै पनि नियम लागू हुँदैन। उसले अरू केही पनि गर्नुपर्दैन।
स्मर्त्तव्यः सततं विष्णुर्विस्मर्तव्यो न जातुचित्। सर्वे विधिनिषेधाः स्युरेतयोरेव किंकराः॥ पद्मपुराण उत्तरखण्ड ७१–१००
अर्थात्, शास्त्रको सम्पूर्ण विधि र निषेधका यही दुई वटा सार हुन्। पहिलो हो– भगवान्को निरन्तर स्मरण। यो विधि हो। दोस्रो, उहाँको विस्मरण हुन नपाओस्। यो निषेध हो।
वास्तवमा सनातन धर्ममा विभिन्न पर्वहरू अथवा एकादशीमा गरिने व्रतको माहात्म्य यस कारण बताइएको हो ताकि संसारको काममा भुलेका हामीले एकादशीको व्रतको माहात्म्य सुनेर, लोभवश त्यही एक दिन भए पनि व्रत बसेर साधना गर्दै गयौँ भने बिस्तारै बिस्तारै बानी पर्छ। अनि यही प्रकारले साधना गर्दा गर्दा भगवान्मा रुचि बढ्छ। त्यसैले शास्त्रमा यस प्रकारका श्लोकहरू, उक्तिहरू पाइन्छन्। अन्यथा एक दिन एकादशीको दिन एक छाक भात नखाएर मोक्ष हुनेवाला छैन। हाम्रा अनन्त जन्म बितिसके। के एक पटक पनि एकादशीको दिन भोकै बसेनौँ होला र?
यदि कसैले श्रीकृष्ण-भक्तिका साथ एकादशीको व्रत पनि लिएको छ भने अति उत्तम हो। तर, यदि कसैले भक्ति नगरीकन केवल भोजन मात्र छोडेर एकादशी व्रत गरेको हामीले देख्यौँ भने पनि उसको उपहास गर्नु पाप हो। शास्त्रमा निन्दनीयप्रति त निन्दा नगर्नु भनिएको छ। हामी एउटा साधकको कसरी उपहास गर्न सक्छौँ? भगवान्को कृपाले उसले पनि एक दिन वास्तविक गुरु प्राप्त गर्छ अनि श्रीकृष्ण-भक्तिको बारेमा ज्ञान प्राप्त गर्छ। अनि गुरुको आज्ञा अनुसार साधना गर्छ। अतः हामीलाई आफ्नै साधनामा ध्यान दिनुपर्छ।
जय श्री राधे!




