अर्थात्, वेदमा तीन वटा काण्डहरू छन्– कर्म, ज्ञान र भक्ति। योगको चर्चा ज्ञान अन्तर्गत नै गरिएको छ। त्यसैले तीन वटा मार्गहरू छन्। अब यी तीन वटा मार्गहरूका बारेमा हामीले केही कुरा जान्न आवश्यक छ। जस्तै–
१. ती मार्गले हामीलाई कहाँ पुर्याउन सक्छन्? अर्थात्, ती बाटोहरूको गन्तव्य के हो? के प्राप्त हुन सक्छ?
२. ती मार्गमा हामी हिँड्न सक्छौँ कि सक्दैनौँ? कत्तिको सहज छन् त?
आउनुहोस्, हामी क्रमशः यी दुई वटा प्रश्नहरूको आधारमा ती मार्गहरूको विश्लेषण गरौँ। पहिले कर्मको बारेमा चर्चा गरौँ।
कर्म–
१. पहिलो प्रश्न– कर्मद्वारा के प्राप्त हुन सक्छ? शास्त्रअनुसार यदि कसैले विधिपूर्वक कर्म-धर्मको पालना गर्यो भने त्यो कर्मद्वारा उसलाई स्वर्ग आदि लोक प्राप्त हुन्छ। तर ती लोकहरूको सुखभोग क्षणिक हो। यथा–
पुण्यजितो लोकः क्षीयते। छान्दोग्योपनिषद् ८–१–६
दोस्रो कुरा, त्यहाँ पनि काम, क्रोध, शोक आदि दुःख हुन्छ। यथा–
अर्थात्, देश, काल, द्रव्य, पुरोहित, कर्ता र मन्त्र सही-सही हुनुपर्यो। कुन स्थानमा हवन गर्ने? जहाँ सजिलो छ त्यहाँ गर्ने होइन। कुन समयमा गर्ने? त्यसको निम्ति मुहूर्त निकालिन्छ त्यही समय अनुसार यज्ञ गर्नुपर्छ। वर्णाश्रम धर्म अनुसारको शुद्ध कमाइद्वारा जुटाइएको द्रव्य होस्। आजकाल ब्राह्मणले या क्षत्रियले व्यापार पनि गर्छन्। नोकरी पनि गर्छन्। यस प्रकारले कमाएको पैसाले होइन। वर्णाश्रम नियम अनुसार कमाएको पैसाले हुनुपर्छ। कर्ता र पुरोहितको निम्ति पनि कडा विधानहरू छन्।
सबैभन्दा कठिन हो सही-सही मन्त्र उच्चारण गर्न। यहाँहरूले सुन्नुभएकै छ होला, पण्डितजीले मन्त्र बोलेर यजमानलाई स्वाहा भन्नुहोस् भन्छन्। अनि यजमानले अग्निमा हव्य छोडिदिन्छन्। यो जुन वेदमन्त्र हुन्छ, त्यसमा उदात्त, अनुदात्तजस्ता स्वर हुन्छन्। त्यसको ज्ञान हुनुपर्छ। भगवान्लाई प्राप्त गरेका महापुरुषबाहेक आजको युगमा कोही पनि यस्तो व्यक्ति छैन जसले वेदका मन्त्रहरूको सही-सही उच्चारण गर्न सकोस्। बृत्तासुरको प्रसङ्ग यहाँहरूले सुन्नुभएकै होला। एउटा मन्त्र थियो–
इन्द्रशत्रुर्विवर्धस्व।
यसको अर्थ थियो– इन्द्रको शत्रु बढोस्। ऋषिहरूले आद्युदात्तको सट्टा अन्त्युदात्त स्वर लगाए। मन्त्र पनि त्यही, शब्द पनि त्यही, अक्षर पनि त्यही केवल स्वर परिवर्तन गरिदिए। अर्थ हुन गयो इन्द्र बढोस्, इन्द्रको शत्रु घटोस्। यज्ञ सम्पन्न भयो। ब्रह्माजीले जुन मन्त्रद्वारा यज्ञ सम्पन्न भएको छ, त्यसको फल मिलोस्। तथास्तु भन्नुभयो। परिमाण स्वरूप बृत्तासुर मारियो।
यस प्रकार यदि मन्त्रमा कुनै एउटामा त्रुटि भयो भने पनि यजमानको विनाश हुन्छ।
मनुजी महाराज, ब्रह्माजीको आफ्नै पुत्र, उहाँले यज्ञ गराउनुभयो। यज्ञमा अलिकति गल्ती हुन गएर पुत्रको सट्टा पुत्री प्राप्त भयो। काशी नरेश मिथ्या वासुदेवले भगवान् श्रीकृष्णलाई मार्ने उद्देश्यले यज्ञ गराए अनि उल्टै आफू मरे। हिरण्यकशिपुले पुरोहितद्वारा यज्ञ गराए प्रह्लादलाई मार्नको लागि तर अलिकति त्रुटि हुनाले आफै मरे। शास्त्र भन्दछ–
अर्थात्, अनधिकार भएर पनि यज्ञ कसैले गर्यो भने, वेद-मन्त्रको गलत उच्चारण गर्यो भने कुलान्याशु विनश्यन्ति, कूलको नै विनाश हुन्छ। त्यसै गरी भगवान् श्रीकृष्णले भागवतमा भन्नुभएको छ–
मन्त्रस्य च परिज्ञानं कर्मशुद्धिर्मदर्पणम्। धर्मः सम्पद्यते षड्भिरधर्मस्तु विपर्ययः॥ भागवत ११–२१–१५
अर्थात्, देश, काल, पदार्थ, कर्ता, मन्त्र र कर्म आदि सबै यदि शुद्ध भयो भने बल्ल त्यो धर्म हुन्छ अन्यथा यदि कहीँ पनि त्रुटि भयो अशुद्ध भयो भने विपर्यय, त्यो अधर्म हुन्छ। एउटा व्यक्तिको धर्म अर्कोको लागि अधर्म हुन सक्छ। कर्म धर्मको सही–सही हिसाब त केवल भगवत्प्राप्त महापुरुषले नै गर्न सक्छन्।
ज्ञान–
१. ज्ञानद्वारा के प्राप्त हुन्छ त? शास्त्र अनुसार ज्ञानद्वारा आत्मज्ञान हुन्छ। आत्मज्ञान ज्ञानीहरूको अन्तिम अवस्थाको नाम हो, जुन अवस्थामा पुगेर ज्ञानीले ‘म आत्मा हुँ’को अनुभव गर्छ। साक्षात् अनुभव। ज्ञानद्वारा आत्माको अनुभूति भएता पनि मोक्ष भने प्राप्त हुँदैन। मोक्ष त ब्रह्मज्ञानद्वारा नै हुन्छ। अनि ब्रह्मज्ञान ज्ञानीले भक्ति गरेर भगवान्को कृपाद्वारा नै प्राप्त गर्न सक्छ। त्यसैले आदि जगद्गुरु श्री शङ्कराचार्यजी समेत भन्नुहुन्छ–
अर्थात्, ज्ञान मार्गमा प्रवेश पाउनको लागि चार वटा साधनद्वारा सम्पन्न हुनुपर्छ– विवेक, वैराग्य, शमादि षट्सम्पत्ति अनि मुमुक्षुत्व। यी सबै अत्यन्त कठिन छन्। कलियुगमा लगभग असम्भव छन्। यसको विस्तृत चर्चा यहाँ गरिने छैन। यी चार वटा साधनद्वारा सम्पन्न भएपछि अर्थात् विवेक, वैराग्य, शमादि षट्सम्पत्ति अनि मुमुक्षुत्व भएपछि बल्ल ज्ञानको श्रवण हुन्छ। त्यसपछि मनन अनि निधिध्यासन अनि समाधि। यी आठ वटा ज्ञान मार्गका अङ्ग हुन्। हामी यसलाई पालन गर्न सक्दैनौँ। त्यसैले ज्ञान मार्ग हाम्रो लागि काम लाग्ने मार्ग होइन।
योग–
१. योग मार्गद्वारा चित्तवृत्तिको निरोध हुन्छ। अर्थात्, यसरी बुझ्नुहोस् कि मनको अवस्था मृत समान हुन्छ। केही पनि गर्दैन। त्यो हो अन्तिम अवस्था। त्यो अवस्थामा पुगेको योगीले उनको इच्छा अनुसार ऋद्धि–सिद्धि प्राप्त गर्न सक्छन्। तर योगीको पनि मुक्ति हुँदैन। यथा–
अर्थात् मन यति चञ्चल छ कि, चञ्चलता मनको नेचर नै हो। जसरी आगोको धर्म जलाउनु हो। त्यसै गरी मनको धर्म हो– चञ्चल हुनु। कुनै वस्तुको धर्म त परिवर्तन हुन सक्दैन। आगोको धर्म अर्थात् जलाउनुलाई कसैले मेट्न सक्छ र? असम्भव। त्यसैले मनको धर्म नै हो चञ्चलता भएकाले वेद भन्दछ –
आगोलाई कसैले खान सक्छ, यो बरु सम्भव हुन सक्छ, तर मनमाथि कसैले नियन्त्रण गरोस् यो सम्भव छैन। जुन अर्जुनको लागि भगवान् भन्नुहुन्छ–
वीराणामहमर्जुन:। भागवत ११–१६–३५
अर्थात्, वीरहरूमा म अर्जुन हुँ। ती जितेन्द्रिय अर्जुन् भन्दछन्–
चञ्चलं हि मन: कृष्ण प्रमाथि बलवद्दृढम्। तस्याहं निग्रहं मन्ये वायोरिव सुदुष्करम्॥ गीता ६–३४
यति चञ्चल छ मन कि वायोरिव सुदुष्करम्। वायुलाई बरु कसैले नियन्त्रण गर्न सक्छ, तर मनमाथि कसैले नियन्त्रण गर्न सक्दैन। कसले कन्ट्रोल गर्न सक्छ अनि कसरी गर्न सक्छ र? जब विश्वामित्र, पराशर जस्ता ठुला-ठुला हस्तीहरूले मनमाथि निग्रह प्राप्त गर्न सकेनन् भने साधारण मनुष्यबाट के आशा गर्नु?
निष्कर्ष के हो भने योग मार्ग असम्भव छ।
भक्ति–
भक्तिद्वारा नै हाम्रो लक्ष्य प्राप्त हुन्छ। यथा–
न तपोभिर्न वेदैश्च न ज्ञानेनापि कर्मणा। हरिर्हि साध्यते भक्त्या प्रमाणं तत्र गोपिकाः॥ भागवत महात्म्य २–१८
अर्को कुरा भक्ति सबैको निम्ति हो। यथा–
सर्वेऽधिकारिणो ह्यत्र विष्णुभक्तौ तथा नृप। पद्मपुराण स्वर्गखण्ड २९–४१
त्यसैले भक्ति नै एक मात्र कल्याणको साधन हो। अब बुझ्नुहोस् कर्मयोग, ज्ञानयोग र भक्तियोगको बारेमा।
कर्मयोग, ज्ञानयोग र भक्तियोग
कर्मको साथसाथै भक्ति गरियो भने, त्यो कर्मयोग हो। कर्मयोगीले भक्ति पनि गरेको हुनाले उसको कल्याण हुन्छ।
ज्ञान अथवा योगको साथसाथै भक्ति गरियो भने, त्यो ज्ञानयोग हो। ज्ञानयोगीले पनि कर्मयोगीले झैँ भक्ति पनि गरेको हुनाले उसको पनि कल्याण हुन्छ।
यदि कसैले केवल भक्ति गर्छ भने, त्यसलाई भक्तियोग भनिन्छ। भक्तियोगद्वारा परम चरम लक्ष्य प्राप्त हुन्छ।
यसलाई एउटा दृष्टान्तद्वारा पनि बुझ्नुहोस्। यदि कसैले अमृत पानीसँग मिसाएर पियो भने पनि ऊ अमर हुन्छ। दूधसँग मिसाएर पियो भने पनि अमर हुन्छ। केवल अमृत पियो भने पनि अमर हुन्छ। भक्ति अमृत समान हो। कसैले केवल भक्ति गर्यो भने पनि उसको कल्याण हुन्छ। कर्म या ज्ञान या योग गर्दै भक्ति गर्यो भने पनि कल्याण हुन्छ। तर अमृतबिना अमर हुन नसकेकोजस्तै भक्तिबिना अन्य साधनद्वारा न त दुःखबाट छुटकारा नै मिल्छ, न त अनन्त सुखप्राप्ति नै हुन्छ।
कर्मयोग, ज्ञानयोग र भक्तियोगमा भक्तियोग नै श्रेष्ठ हो। साधनाको हिसाबले पनि लक्ष्यप्राप्तिको हिसाबले पनि।