
मेरो प्रश्न मूर्तिपूजा सम्बन्धी थियो। मेरो हजुरबुबाले दुर्गा र शिवजीको मन्दिरमा लगभग १० वर्ष जति पूजा गर्नुभयो। पूजा गरेर गाउँको घरमा आउँदा दुर्घटनामा ट्रकको ठक्करले ज्यान गुमाउनु भयो। जबकि उहाँको औँलामा रातो थियो, पूजाको निसान पनि। त्यस घटनाले गर्दा मैले मूर्तिको पूजा मान्दैनथेँ। तर कोही कोही गुरुहरूले गर्ने गरेको पाइन्छ। वास्तवमा ४ वेदहरू के भन्छन् यसको बारेमा? यजुर्वेद(४०.९) अनुसार गर्न नहुने जस्तो पाइयो। यो जिज्ञासा मेटाइ दिनुपर्यो। मेरो नाम चाहिँ उल्लेख नगरिदिनुहोला।
उत्तर–
भगवान्का दुई स्वरूप
भगवान् श्रीकृष्णका दुई वटा स्वरूप छन्– एउटा निर्गुण निर्विशेष निराकार अनि अर्को सगुण सविशेष साकार। वेद भन्दछ–
द्वे वाव ब्रह्मणो रूपे मूर्तं चैवामूर्तं च। बृहदारण्यकोपनिषद् २–३–१
यी दुवै स्वरूप अनादि, नित्य हुन्। निर्गुण, निर्विशेष र निराकार स्वरूपलाई ब्रह्म भनिन्छ। ब्रह्मको नाम, रूप, लीला, गुण, धाम आदि केही पनि हुँदैन। अतः ब्रह्मको स्वरूपलाई अमूर्त स्वरूप भनिन्छ। यदि कसैले ब्रह्मको मूर्ति हुन्छ या मूर्तिपूजा हुन्छ भन्छ भने त्यो मूर्ख हो। त्यसैले जो केवल ब्रह्मलाई नै मान्दछन्, उनीहरू मूर्ति पूजालाई स्वीकार गर्दैनन्।
सगुण सविशेष साकार स्वरूपमा भगवान्का अनन्त नाम, रूप, लीला गुण, धाम आदि हुन्छन्। भगवान्को यो स्वरूपलाई मूर्त स्वरूप भनिन्छ। अतः साकार भगवान्को मूर्ति हुँदैन भनेर कसैले भन्छ भने त्यो मूर्ख हो। संसारी व्यक्तिको त मूर्ति हुन सक्छ भने भगवान्को किन हुन सक्दैन?
संसारी जीव एक देहमा नै व्यापक हुन सक्छ। त्यसैले ऊ उसको मूर्तिमा हुन सक्दैन। तर भगवान् सर्वव्यापक हुनुहुन्छ, त्यसैले उहाँको मूर्तिमा पनि हुनुहुन्छ। अतः भगवान्को मूर्तिमा भगवान्को भावना बनाएर यदि कसैले पूजा या उपासना गर्छ भने उसको अवश्य कल्याण हुन्छ।
पाँच प्रकारले जीवको कल्याण हुन सक्छ।
१. भगवान्को अवतार कालमा भगवान्लाई जानेर प्रेम गर्नाले।
२. भगवान्को अवतार कालमा भगवान्लाई नजानीकन प्रेम गर्नाले।
३. जड बस्तुमा भगवान्को भावना राखेर प्रेम गर्नाले। मूर्ति, शालिग्राम, पत्थर आदि कुनै पनि वस्तुमा भगवान्को भावना राखेर पूजा गर्न सकिन्छ।
४. भगवान्लाई प्राप्त महापुरुषमा भगवान्को भावना राखेर प्रेम गर्नाले।
५. मायाधीन जीवमा भगवान्को भावना राखेर प्रेम गर्नाले।
यी पाँच वटा उपायमध्ये पाँचौँ उपाय लगभग असम्भव हो। किनकि मायाधीन व्यक्तिमाथि भगवान्को स्थायी भाव बनाउन असम्भव प्रायः छ। यहाँ जुन तेस्रो उपाय हो, त्यसमा मूर्तिपूजा पर्दछ। तर सर्त के हो भने भगवान्को भाव बनाएर प्रेम हुनुपर्यो।
वेदका मन्त्रहरू केही निर्गुण निर्विशेष निराकार ब्रह्मपरक छन् भने केही सगुण सविशेष साकार ब्रह्मपरक छन्। अब यहाँनेर ध्यान दिनुहोस्। वेदका जुन ऋचाहरू निर्गुण निर्विशेष निराकार ब्रह्मपरक हुन्, ती ऋचाहरूमध्ये कुनैले स्पष्ट रूपमा मूर्तिपूजाको खण्डन गर्न सक्छन्। किनकि जब निर्गुण, निराकार स्वरूपको मूर्ति नै हुन सक्दैन भने अनि मूर्तिपूजा कसरी हुन सक्छ?
अद्वैतवादका संस्थापक स्वयम् आदि जगद्गुरु श्री शङ्कराचार्यजी समान वेदको ज्ञाता यो कलियुगमा को होला र? उहाँले मूर्तिपूजाको खण्डन गर्नुको सट्टा मूर्तिपूजालाई स्थापित गर्नुभएको छ। उहाँले चार धाममा मूर्ति स्थापित गराउनुभएको छ। नेपालको पशुपतिनाथजीको मन्दिरमा भगवान् शङ्करजीको मूर्तिको पूजालाई उहाँले नै व्यवस्थित गर्नुभएको हो। अब कोही आफूले आफैलाई शङ्कराचार्यजीभन्दा पनि महान् अद्वैती ठानेर मूर्तिपूजाको खण्डन गर्छ भने उसको बारेमा के नै भन्न सकिन्छ र?
अब अर्को एउटा सिद्धान्त दयानन्द सरस्वतीजीको छ। उहाँले सत्यार्थ प्रकाश नामक ग्रन्थमा जुन सिद्धान्त प्रतिपादन गर्नुभयो, त्यस अनुसार परमात्माका अनन्त नाम हुन्छन्, अनन्त शक्ति हुन्छन्, तर रूप हुँदैन। परमात्माले जीवको कर्मको हिसाब राख्नुहुन्छ र फल प्रदान गर्नुहुन्छ। तर उहाँको कुनै अवतार हुँदैन। उहाँले भगवान्को साकार स्वरूपको अस्तित्वलाई अस्वीकार गर्नुभएको। उहाँको मतानुसार रामकृष्ण आदि आदर्श महापुरुष हुन्। उहाँको सिद्धान्त कुनै सर्वमान्य ‘वाद’को रूपमा स्थापित हुन सकेन।
दयानन्द सरस्वतीजीले त्यति बेलाको देश, काल, परिस्थिति अनुसार इसाई र इस्लाम धर्मको षड्यन्त्रमा भइरहेको धर्म परिवर्तनलाई रोक्नको निम्ति अनि धर्मको आडमा भएका कुरीतिहरूलाई मेटाउनको निम्ति विभिन्न प्रयत्नहरू, सुधारहरू ल्याउनुभएको थियो। त्यस क्रममा उहाँले पनि त्यति बेला आवश्यक ठानेर मूर्तिपूजाको खण्डन गर्नुभयो होला। उहाँको सिद्धान्तमा सगुण साकार भगवान्को अस्तित्व स्वीकार नगरेकाले उहाँका अनुयायीहरूले मूर्तिपूजाको खण्डन गर्नु कुनै नौलो कुरा होइन।
अब स्वामी विवेकानन्दजीको कुरा गरौँ। केही व्यक्तिहरू विवेकानन्दजी मूर्तिपूजाको विरोधी हुनुहुन्थ्यो भन्ने सोच्दछन्। तर त्यसो होइन। विवेकानन्दजीको गुरु रामकृष्ण परमहंस काली माताको भक्त हुनुहुन्थ्यो। उहाँले सगुण–साकार भगवान्को भक्तिको उपदेश विवेकानन्दजीलाई दिनुभएको थियो। विवेकानन्दजीले विदेशमा प्रचार गर्ने क्रममा नास्तिक व्यक्तिहरूको बिचमा निर्गुण–निराकार ब्रह्मको प्रचार गर्नुभयो। किनकि जसलाई नास्ति (अर्थात् भगवान् छैनन् भन्ने कुरा) प्रिय छ, उनीहरूको बिचमा अस्ति–नास्ति (अर्थात् भगवान् छन् तर निराकार छन्) भन्ने नै स्थापित गर्न सजिलो हुन्छ। तर विवेकानन्द आफू चाहिँ भक्त हुनुहुन्थ्यो।
विवेकानन्दजीको अर्को एउटा प्रसङ्ग यहाँ प्रस्तुत गर्न उपयुक्त हुन्छ। एक पटक विवेकानन्दजी राजस्थानको अलवर राज्यका राजा मङ्गल सिंहको दरबारमा पुग्नुभयो। ती राजा आर्य समाजको सिद्धान्तबाट प्रभावित थिए। त्यसैले मूर्तिपूजाको खण्डन गर्थे। विवेकान्दजीले सम्झाउन प्रयत्न गर्नभयो कि मूर्ति पूजा सही हो। किनकि मूर्ति भगवान्को सङ्केत या प्रतीक हो। राजाले बुझेनन्। कुनै पनि प्रकारले ती राजाले नबुझेपछि विवेकानन्दजीले राजाको दरबारमा भएको उनको पिताजीको तस्बिरमा राजालाई थुक्न भने। राजाले किन मान्थे र बरु विवेकानन्दजीप्रति क्रोधित भए। विवेकानन्दजीले क्रोधको कारण सोध्नुभयो। राजाले आफ्नो पिताजीप्रति उहाँले अपमान गरेकाले क्रोधित भएको बताए। विवेकानन्दजीले को पिता भनेर सोध्नुभयो? यो त केवल एउटा कागज हो र रङ्ग हो भनेर बताउनुभयो। जसरी यो कागज र रङ्गको सम्मिश्रणलाई तपाईँले आफ्नो पिताको प्रतीक मान्नुहुन्छ र यसलाई प्रेम र आदर गर्नुहुन्छ, त्यसै गरी मूर्तिलाई पनि भगवान्को प्रतीक मानेर त्यसमा प्रेम गर्ने अभ्यास गरिन्छ। यो कागज र रङ्गको सम्मिश्रणमा तपाईँको पिताजी हुनुहुन्न। त्यसैले तपाईँको यसप्रतिको प्रेम गलत हो, भ्रम हो। तर भगवान् सर्वव्यापी भएकाले त्यो मूर्तिमा पनि हुनुहुन्छ। त्यसैले मूर्तिपूजा सत्य हो र त्यसको फल प्राप्त हुन्छ। बल्ल राजाले बुझे। अस्तु विवेकानन्दजी मूर्तिपूजाको विरोधी हुनुहुन्नथ्यो।
मूर्तिपूजा सनातन हो।
केही व्यक्तिहरू मूर्तिपूजाको व्यवस्था सनातन नभएर बौद्ध मार्गीहरूबाट या जैनहरूबाट आएको हो भन्दछन्। तर त्यसो होइन। एक त बुद्ध भगवान्को मत एवं जैन मत अनीश्वरवादी मत हो। त्यसैले तार्किक दृष्टिले त्यहाँ मूर्तिपूजाको स्थान हुन सक्दैन, हुनु हुँदैन पनि। दोस्रो बुद्ध भगवान्को अवतार कालभन्दा धेरै पहिलेदेखि नै मूर्तिपूजाको प्रमाण उपलब्ध छ।
भगवान् रामले भगवान् शङ्करजीको मूर्ति स्थापना गर्नुभयो (जसलाई हामी रामेश्वर भनेर जान्दछौँ।) र पूजा गर्नुभयो। यो त्रेतायुगको घटना हो। भगवान् राम प्रत्येक त्रेतायुगको अन्तिममा अवतरित हुनुहुन्छ। उहाँ ११,००० वर्ष यस धर्तीमा रहनुहुन्छ। उहाँ जब अप्रकट हुनुहुन्छ, तब द्वापरयुग प्रारम्भ हुन्छ। यस प्रकार कलियुग ५१२२ वर्ष, द्वापरयुगको ८,६४,००० वर्ष अनि भगवान् रामको अवतारकाल ११,०० वर्ष जोड्दा ८,८०,११२ वर्ष हुन आउँछ। अतः भगवान् रामको अवतार ८,८०,११२ वर्ष पहिले भएको थियो। यो उहाँको नवीनतम अवतार हो। यसभन्दा पहिले पनि उहाँका असङ्ख्य अवतार भैसकेका छन्। अस्तु मूर्तिपूजा बौद्ध मार्गीहरूले भित्र्याएको होइन। मूर्तिपूजाको इतिहास पनि सनातन हो।
शास्त्र परिचय
अब एउटा जिज्ञासा हुन सक्छ कि शास्त्रमा के बताइएको छ मूर्तिपूजाको बारेमा? तर सबैभन्दा पहिले शास्त्र केलाई भनिन्छ? यसको बारेमा बुझौँ। जगद्गुरु श्री माध्वाचार्यजीले शास्त्रको परिभाषा यस प्रकार दिनुभएको छ–
ऋग्यजुःसामाथर्वाश्च भारतं पञ्चरात्रकम्।
मूलरामायणं चैव शास्त्रमित्यभिदीयते॥
यच्चानुकूलमेतस्य तच्च शास्त्रं प्रकीर्तितम्।
अतोऽन्यो ग्रन्थविस्तारो नैव शास्त्रं कुवर्त्म तत्॥ माधवभाष्य
अर्थात्, ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, महाभारत, पुराण र रामायणलाई शास्त्र भनिन्छ। साथै यी शास्त्रहरूको अनुकूल ग्रन्थहरू पनि शास्त्र भनेरै गनिन्छ। तर यिनीहरूका विपरीत ग्रन्थहरू शास्त्र होइनन्। ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद यी चार वेद हुन्। महाभारत र रामायण इतिहास हुन्। त्यसै गरी १८ पुराणहरू छन्। इतिहास एवं पुराणलाई पञ्चम वेद अर्थात्, पाँचौँ वेद भनेर वेदमा नै भनिएको छ। यथा–
इतिहासपुराणं पञ्चमं वेदानां वेदम्। छान्दोग्योपनिषद् ७–१–२
वेदजस्तै इतिहास एवं पुराण पनि नित्य हुन्। नित्य भएकै हुनाले नै इतिहास एवं पुराणको नाम वेदमा आएका छन्। यथा–
एवं वा अरेऽस्य महतो भूतस्य निःश्वसितमेतद्यदृग्वेदो यजुर्वेदः सामवेदोऽथर्वाङ्गिरस इतिहासः पुराणं। बृहदारण्यकोपनिषद् २–४–१०
अर्थात्, भगवान्को श्वासबाट वेद, इतिहास र पुराण प्रकट हुन्छन्। यी सबै सनातन हुन्। वेद हुन्। पुराणको जुन मूल स्वरूप हो, त्यसमा एक अरब श्लोकहरू छन्। वेदव्यासजीले पाँच लाख श्लोकमा संक्षिप्त गरेर इतिहास एवं पुराण बनाउनुभयो।
शास्त्रले मूर्तिपूजाको बारेमा के बताएको छ त? पहिले मूर्तिको बारेमा बुझौँ। मूर्ति साकार स्वरूपको नै हुन सक्छ। त्यसैले ब्रह्मको मूर्ति हुँदैन तर भगवान्को मूर्ति हुन्छ। स्वयं भगवान् श्रीकृष्णले उद्धवजीलाई भागवतमा उहाँको आठ प्रकारको मूर्ति बताउनुभएको छ। यथा–
शैली दारुमयी लौही लेप्या लेख्या च सैकती।
मनोमयी मणिमयी प्रतिमाष्टविधा स्मृता॥ भागवत ११–२७–१२
शिलाको, काठको, धातुको, माटो (चन्दन) को, चित्र, बालुवा, मनोमय (मनले ध्यान गरेर बनाएको) र मणिमय गरेर आठ प्रकारका मूर्ति हुन्छन्। यसपछि भगवान्ले विभिन्न प्रकारको मूर्तिहरूको पूजा-विधि पनि बताउनुभएको छ। हामी पूजा-विधिको बारेमा चर्चा गर्दैनौँ।
भगवान्ले प्रतिमा स्थापना गर्ने आज्ञा पनि दिनुभएको छ। यथा–
मदर्चां सम्प्रतिष्ठाप्य मन्दिरं कारयेद् दृढम्।
पुष्पोद्यानानि रम्याणि पूजायात्रोत्सवाश्रितान्॥ भागवत ११–२७–५०
अर्थात्, यदि सामर्थ्य छ भने मेरो मन्दिर बनाएर त्यसमा प्रतिमा स्थापित गर्नु, र नित्य पूजाको व्यवस्था गर्नु, यो भगवान्को आज्ञा हो। अस्तु शास्त्रमा मूर्तिपूजाको वर्णन छ। ध्यान दिनुहोस्। वेदमा ब्रह्मको साकार एवं निराकार स्वरूप दुवै बताइएको छ। निराकार स्वरूपको मूर्तिपूजा हुँदैन। साकार स्वरूपको मूर्तिपूजा हुन्छ।
अब हामीले मूर्तिपूजा गर्ने कि नगर्ने?
जगद्गुरु श्री कृपालु जी महाराज भन्नुहुन्छ–
माला जप पाठ पूजा गोविंद राधे।
है प्रारम्भिक क ख ग घ बता दे॥ राधा गोविंद गीत ४४३६
मूर्तिपूजा सुरु–सुरुमा मन लगाउन सजिलो होस्, बानी बसोस् भनेर हो। जस्तै एउटा बच्चालाई सुरुमा जोड्न सिकाउँदा गुच्चाहरूको प्रयोग गरिन्छ। पछि औँला भाँचेर जोड्न सिक्छ। पछि आफसे आफ जोड्न सिक्छ। त्यसै गरी मूर्तिपूजा भगवान्को भक्ति गर्नको लागि प्रारम्भिक साधन हो। वेदव्यासजीले एवं तुलसीदासजी महाराजले मूर्तिपूजालाई द्वापरयुगको साधन बताउनुभएको छ। यथा–
द्वापरे परिचर्यायां कलौ तद्धरिकीर्तनात्॥ भागवत १२–३–५२
द्वापर करि रघुपति पद पूजा।
नर भव तरहिं उपाय न दूजा॥ रामचरितमानस ७–१०३–१
अर्थात्, पूजा द्वापरयुगको साधन हो। मूर्तिपूजामा विधि हुन्छ। यदि विधिको पालना हुन सकेन भने सेवापराध हुन जान्छ। लाभको ठाउँमा हानि हुन्छ। कलियुगमा विधिको पालना गर्न सम्भव नै छैन। त्यसैले कलियुगमा भगवान्को नामसङ्कीर्तन नै साधना हो। यथा–
कलिजुग केवल हरि गुन गाहा।
गावत नर पावहिं भव थाहा॥ रामचरितमानस ७–१०३–१
त्यसैले हामीले मूर्तिपूजा गर्नुपर्दैन। मूर्तिपूजा अनिवार्य होइन। सङ्कीर्तन साधना गर्दा हुन्छ। अझै एउटा रहस्य बताउन चाहन्छु। मूर्तिपूजा दुई प्रकारको हुन्छ। एउटा मानसी अर्को बाह्य या प्रकट। यी मध्ये मानसी पूजा नै सर्वश्रेष्ठ हो। किनकि शास्त्र भन्दछ–
अयं यो मानसो यागो जराव्याधिभयापहः।
पापोघसर्गशमनो भवाभावकरो द्विज।
सतताभ्यासयोगेन देहबन्धाद्विमोचयेत्॥ नारद पाञ्चरात्र
अर्थात्, मानसी पूजाले सम्पूर्ण दुःखलाई हरण गरेर जीवलाई मुक्त बनाउँछ। त्यसैले मानसी पूजा अनिवार्य हो।
प्रकट सेवा ते हो गोविंद राधे।
मानसी सेवा श्रेष्ठ बता दे॥ राधा गोविंद गीत ४४२८
प्रकट में नियम है गोविंद राधे।
मानसी में नहिं नियम बता दे॥ राधा गोविंद गीत ४४३२
मानसी पूजामा नियम हुँदैन। प्रकट-पूजा या बाह्य-पूजाभन्दा मानसी पूजा श्रेष्ठ हो। मानसी पूजा गर्नाले नै भगवान्प्रति प्रेम बढ्छ। जति पनि साधनाहरू शास्त्रमा बताइएका छन्। ती सबै साधनाको एक मात्र लक्ष्य हो– संसारप्रतिको आशक्ति घट्दै जानु र श्रीकृष्णप्रति प्रेम बढ्दै जानु। यदि भगवान्प्रति प्रेम बढ्दै गइरहेको छ भने बुझ्नुहोस् कि साधना ठिक–ठिक भइरहेको छ। तर यदि संसारप्रतिको आशक्ति पनि कम भइरहेको छैन, अनि श्रीकृष्णप्रतिको प्रेम पनि बढ्दै गइरहेको छैन भने हामीले गरेका सबै साधना व्यर्थ हुन्। अर्थात्, शास्त्र पढ्नु पनि व्यर्थ हो, पूजा गर्नु पनि व्यर्थ हो, जप गर्नु पनि व्यर्थ हो, भगवान्को कीर्तन गर्नु पनि व्यर्थ हो– यदि श्रीकृष्णप्रति प्रेम बढेन भने।
त्यसैले त कबीरदासजी भन्नुहुन्छ–
पाहन पूजे हरि मिलै, तो मैं पूजूं पहार। कबीरदास
अर्थात्, यदि मूर्तिको पूजा गरेर नै भगवान् मिल्ने भए, म त पहाडलाई पुज्ने थिएँ। यसको मतलब?
एउटा दृष्टान्तबाट बुझ्नुहोस्। यदि विद्यालय गएर नै उत्तीर्ण हुने भए, म विद्यालयमा नै बस्ने थिएँ। यहाँ विद्यालय जानुको विरोध होइन। तर केवल विद्यालय गएको भरमा नै विद्या आर्जन हुँदैन भनिएको हो। मन लगाएर पढ्नुपर्छ। गृहकार्य गर्नुपर्छ। परीक्षा दिनुपर्छ। त्यसमा उत्तीर्ण हुनुपर्छ। सबै पूरा गर्नुपर्छ। त्यसै गरी कबीरजीको दोहा मूर्तिपूजा विरोधी होइन। यसको मतलब हो, जसरी हामी मूर्तिपूजा गर्छौँ, त्यो गलत भइरहेको छ। हामीबाट जे भइरहेको छ त्यो भावबिना अथवा प्रेमबिना नै भइरहेको छ। केवल रीति मात्रै पूरा हुँदै छ। प्रेम छैन। प्रेम हुनुपर्यो भगवान्मा। त्यो प्रेम उत्पन्न हुनको निम्ति मानस पूजा अनिवार्य हो। मानस पूजा गरेपछि नै बल्ल बाहिरी मूर्तिपूजा गर्नुपर्छ। यथा–
अनुज्ञां देहि भगवन् बहिर्योगे मम प्रभो।
श्रीकृष्णमित्यनुज्ञाप्य बहिः पूजां समाचरेत्॥ नारद पाञ्चरात्र
मानसी पूजा गरेपछि नै भगवान्को आज्ञा लिएर बाह्य-पूजा गर्ने निर्देशन शास्त्रमा दिइएको छ।
अस्तु। मूर्तिपूजा शास्त्रसम्मत छ। तर हाम्रो निम्ति अनिवार्य छैन। वास्तवमा युग-धर्म अनुसार हाम्रो साधनामा उपयोगी पनि छैन। किनकि प्रकट या बाहिरी मूर्तिपूजामा विधिहरू छन्। जब बाहिरी मूर्तिपूजा गर्दा पनि मानस पूजा अनिवार्य हो, अनि मानस पूजामा कुनै नियम छैनन्, अनि मानस पूजाबाट नै लाभ मिल्ने हो भने मानस पूजा नै किन नगर्ने? मानस पूजा भन्नाले मनले भगवान्को ध्यान गरेर मनद्वारा नै जे जे सामग्री इच्छा लाग्छ जुटाएर, मनद्वारा नै भगवान्को पूजा एवं सेवा गर्नु। साधन–भक्तिमा जुन रूपध्यान साधनाको हामी अभ्यास गर्ने गर्छौँ, मानस पूजा त्यसको एउटा अङ्ग हो।
अब अर्को कुरा। मृत्यु अटल सत्य हो। तपाईँको मनमा लागेको हुन सक्छ कि हजुरबुबाले मूर्तिपूजा नगरेको भए ट्रकको ठक्करले मर्नु हुँदैनथ्यो होला। अथवा मूर्तिपूजाको ठाउँमा योग, जप या कीर्तन आदि कुनै साधना गरेको भएता त्यो साधनाले गर्दा उहाँको दशा टर्थ्यो कि? त्यसो होइन। किनकि संसारी लाभ, हानि, जन्म, मृत्यु आदि सबै हाम्रो कर्म अनुसार नै हुने हो। चाहे त्यो कर्म यो जन्मको होस् या पहिलेको। हामीले आफ्नै कर्मको फल भोग्ने हो। यसमा भगवान्को कुनै हात हुँदैन।
जय श्री राधे!




