श्राद्धको बारेमा बताउने क्रममा ३०औँ श्लोकमा गाइको घ्यू, दूध, दही, सख्खर, आदि पितृहरूलाई मन पर्छ। ३६औँ श्लोकमा गाईको खीरले पितृ सधैँका लागि तृप्त रहन्छन् भनियो। अब बिचमा ३१ देखि ३५ श्लोकसम्ममा सबै प्रकारका मासु पकाएर पितृलाई अर्पण गर्ने जुन कुरा आयो, त्यो अप्रासङ्गिक छ। गैँडा, हरिण, विशेष चराहरूको समेत उल्लेख गरिएको छ। एउटा तार्किक व्यक्तिले सजिलै बुझ्न सक्छ, यी सबै श्लोक क्षेपक हुन् भनेर। यहाँ गैँडा, कछुवाको मासु पनि बताइयो जुन शाही घरानाको भोजनमा पर्छ। त्यसको मासु सेवन गर्नाले कामसम्बन्धी उत्तेजना आउँछ। गैँडाको सिकार त राजाहरूले गर्ने गर्थे। साधारण खर्चमा घरको दूध, घ्यू, खीर आदिबाट काम बन्छ भने गैँडाको मासुको पछाडि कोही किन लाग्नु? त्यो आम व्यक्तिको लागि लगभग असम्भव कुरा हो। अतः यी सबै त्यति बेलाका मासु प्रेमी शासकहरूले गर्ने गरेको पाप कर्मलाई सर्वसाधारणको नजरमा वैधानिक बनाउने एउटा उपाय मात्रै हो।