प्रश्न– के सम्प्रदायमा आबद्ध हुनु अनिवार्य हो? दीक्षा र मन्त्र-जपको रहस्य के होला? 

उत्तर– प्रायः व्यक्तिहरू कुनै न कुनै सम्प्रदायमा आबद्ध भएर दीक्षा लिनुपर्छ भन्ने ठान्दछन्। सम्प्रदायमा आबद्ध भएर दीक्षा नलिईकन कल्याण हुँदैन भन्ने मान्यता धेरैमा पाइन्छ। शास्त्रमा दीक्षाको विशेष महत्त्व बताइएको छ–

ते नराः पशवो लोके किं तेषां जीवने फलम्। 
यैर्न लब्धा हरेर्दीक्षा नार्चितो वा जनार्दनः॥ स्कन्दपुराण, कार्त्तिकप्रसङ्ग

जसले दीक्षा ग्रहण गरेर भगवान्‌को अर्चना गर्दैन, ऊ पशु समान हो। ऊ बाँच्नु पनि व्यर्थ हो।  यहाँसम्म बताइएको छ। अतः दीक्षाको विशेष महत्त्व छ। यस प्रकारका शास्त्रका भनाइहरू सुनेर व्यक्तिहरूले दीक्षा लिनु अनिवार्य हो, दीक्षा नलिईकन भगवान्‌लाई प्राप्त गर्न सकिँदैन भन्ने ठान्दछन्।

तर दीक्षा लिनुपर्ने रहेछ भनेर जबरजस्ती गरेर हुँदैन। एउटा डाक्टर दीक्षित हुनुपर्छ। अर्थात्, आवश्यक प्रमाणपत्र प्राप्त गरेको हुनुपर्छ। यदि कुनै व्यक्ति डाक्टरको पढाइबाट दीक्षित छैन भने ऊ डाक्टर बन्न सक्दैन। तर यसको मतलब जबरजस्ती नक्कली प्रमाणपत्र बनाएर कसैले कसैलाई डाक्टर बनाउन खोज्यो भने ती दुवै अपराधी हुन पुग्छन्। जेल जानुपर्छ। अतः जबरजस्ती हुँदैन। त्यसको एउटा प्रक्रिया हुन्छ। योग्यता चाहिन्छ।

सम्प्रदायको बारेमा पनि शास्त्रमा बताइएको छ–

सम्प्रदायविहीना ये मन्त्रास्ते निष्फला मताः। पद्मपुराण

अर्थात् कुनै वास्तविक सम्प्रदायबाहेक अन्यत्र मन्त्र ग्रहण गर्नाले त्यो निष्फल हुन्छ। यो तर्कसङ्गत कुरा पनि हो। किनकि कसैले पनि नयाँ मन्त्र बनाउन सक्दैन। साथै मन्त्र लिँदा, दिँदा, पुरश्चर्या गर्दा विभिन्न नियमहरू हुन्छन् जुन एउटा गुरु-परम्पराबाट नै थाहा हुन सक्छ। त्यसैले मन्त्र ग्रहण गर्नको निम्ति सम्प्रदाय अनिवार्य हो।

मन्त्र किन चाहियो त? यसको उत्तर यही हो कि मन्त्र ग्रहण अर्थात् दीक्षा नलिईकन पूजा गर्ने अधिकार हुँदैन। यथा–

दीक्षाविधिर्लिख्यतेऽत्रानुसृत्य क्रमदीपिकाम्।
विना दीक्षां हि पूजायां नाधिकारोऽस्ति कस्यचित्॥ हरिभक्तिविलास २–२

अर्थात् पूजा गर्नको निम्ति मन्त्र लिएको हुनुपर्‍यो र मन्त्र लिने या दीक्षा प्राप्त गर्नको निम्ति सम्प्रदाय चाहियो। हामी सनातनी हौँ। कमसेकम पूजा त गर्नुपर्छ होला नि त? पूजा गर्नको निम्ति घुम्दै फिर्दै कुनै सम्प्रदायमा आबद्ध हुनुपर्ने देखियो।

कलियुगमा मन्त्रजप र पूजा सम्भव छैन।

मूर्तिपूजा या विग्रहको अर्चना नवधा-भक्ति अन्तर्गत नै पर्छ। पूजा दुई प्रकारको हुन्छ– बाह्य पूजा र मानसी पूजा। बाह्य पूजामा मन्त्र, विधि, सामग्रीको आवश्यकता पर्छ। मूर्ति या विग्रहको पूजा या अर्चना गर्दा त्यसमा विधि हुन्छ। यदि विधिको पालना हुन सकेन भने सेवापराध हुन जान्छ। लाभको ठाउँमा हानि हुन्छ। तर मानसी पूजामा यी नियमहरू हुँदैनन्। यथा– 

प्रकट सेवा ते हो गोविंद राधे। मानसी सेवा श्रेष्ठ बता दे॥ राधा गोविंद गीत ४४२८

प्रकट में नियम है गोविंद राधे। मानसी में नहिं नियम बता दे॥ राधा गोविंद गीत ४४३२

त्यसैले मानसी पूजा प्रकट या बाह्य पूजाभन्दा श्रेष्ठ हो। शास्त्र भन्दछ–

अयं यो मानसो यागो जराव्याधिभयापहः
पापोघसर्गशमनो भवाभावकरो द्विज
सतताभ्यासयोगेन देहबन्धाद्विमोचयेत्॥ नारद पाञ्चरात्र

अर्थात्, मानसी पूजाले सम्पूर्ण दुःखलाई हरण गरेर जीवलाई मुक्त बनाउँछ। त्यसैले बाह्य पूजा गर्दा पनि मानसी पूजा अनिवार्य हो। वास्तवमा पूजा त द्वापर युगको साधन हो। यथा–

द्वापरे परिचर्यायां कलौ तद्धरिकीर्तनात्॥ भागवत १२–३–५२

द्वापर करि रघुपति पद पूजा। नर भव तरहिं उपाय न दूजा॥ रामचरितमानस ७–१०३–१

अर्थात्, पूजा द्वापरयुगको साधन हो, कलियुगको होइन। 

१. पहिलो त केवल सम्प्रदाय भएर मात्र भएन, त्यो सम्प्रदायमा वर्तमान समयमा कोही योग्य महापुरुष हुनुपर्‍यो।

२. मन्त्र लिएपछि जुन मन्त्र दीक्षाको रूपमा लिइन्छ, त्यसलाई सिद्ध गर्नको निम्ति पुरश्चरण गर्नुपर्छ। किनकि पुरश्चरण नगरीकन मन्त्र सिद्ध हुँदैन। तर पुरश्चरण गर्नको निम्ति नित्य अर्चना, नित्य मन्त्रजप, नित्य तर्पण, नित्य हवन एवम् नित्य ब्राह्मण भोजन, यी पाँच वटा अनुष्ठान गर्नुपर्छ। के कलियुगमा आम मानिसको निम्ति यी सबै गर्न सम्भव छ त? छैन। 

३. मन्त्रजप गर्दा मन्त्रको सही उच्चारण हुनुपर्छ। 

४. बाहिरी पूजा, अर्चना गर्नको निम्ति विधि र नियम पुर्‍याउनुपर्छ अनि पूजामा प्रयोग हुने विभिन्न मन्त्रहरूको सही उच्चारण गर्नुपर्छ।

यी सबै कारणले गर्दा कलियुगमा न त मन्त्रजप सम्भव छ, न त पूजा। त्यसैले तुलसीदासजी महाराज भन्नुहुन्छ–

एहिं कलिकाल न साधन दूजा। जोग जग्य जप तप ब्रत पूजा॥ रामचरितमानस ७–१३०–३

किनकि कलियुगमा विधिको पालना गर्न सम्भव नै छैन। कलियुगको साधन के हो हामी चर्चा गर्नेछौँ। जब पूजा कलियुगको साधन नै होइन भने, अहिलेको युग कलियुग भएको हुनाले पूजा गर्नुपरेन। पूजा गर्नकै निम्ति त मन्त्र लिएको हुनुपर्थ्यो र मन्त्र लिनको निम्ति सम्प्रदाय चाहिन्थ्यो। त्यसैले पूजा नै कलियुगको साधन नभएकाले सम्प्रदाय कलियुगमा अनिवार्य होइन।

हाम्रो सनातन धर्ममा पञ्चदेवोपासना बताइन्छ। यी भगवान्‌का पाँच वटा विशिष्ट स्वरूप हुन्। शिव, शक्ति(दुर्गा), सूर्य, गणेश, विष्णु। यी देवता या डेमीगड होइनन्, भगवान्‌कै स्वरूप हुन्। यी सबै इष्टदेव अन्तर्गतका आ-आफ्नै अनेकौँ सम्प्रदायहरू छन्। 

पञ्चदेव मध्ये भगवान्‌ विष्णुका उपासकलाई वैष्णव भनिन्छ। वैष्णव अन्तर्गत विभिन्न सम्प्रदायहरू छन्। जगद्‍गुरु श्री निम्बार्काचार्य, जगद्‍गुरु श्री रामानुजाचार्य, जगद्‍गुरु श्री माध्वाचार्य, श्री बल्लभाचार्यजी आदिका आ-आफ्नै सम्प्रदायहरू छन्। त्यसै गरी कैयौँ सन्तहरूले पनि सम्प्रदाय चलाउनुभएको छ। तीमध्ये अनेकौँ सम्प्रदायहरू आज लुप्त जस्तै भइसके भने केही अझै पनि छन्। 

एउटा प्रश्न के हो भने कुनै सम्प्रदायलाई शङ्कराचार्यजीको अथवा माध्वाचार्यजीको सम्प्रदाय किन भन्ने? किन उहाँका गुरु का गुरु का गुरु भगवान्‌ नारायणको सम्प्रदाय किन नभन्ने? ब्रह्माजीको सम्प्रदाय किन नभन्ने? नारदजीको सम्प्रदाय किन नभन्ने? अतः यो तर्कअनुसार वास्तवमा केवल दुई वटा सम्प्रदायहरू छन्– एउटा भगवान्‌को सम्प्रदाय एउटा मायाको सम्प्रदाय।  

जगद्‍गुरु श्री कृपालु जी महाराजले सम्प्रदायको बारेमा आफ्नो मत राख्दा दुई वटा नै सम्प्रदाय छन् भन्नुभएको छ। उहाँको भनाइअनुसार वर्तमान समयमा सम्प्रदायवादले आपसी वैमनस्य बढाएको छ। अनेक आडम्बर र पाखण्डलाई बढवा दिएको छ। त्यसैले उहाँले आफ्नो छुट्टै सम्प्रदाय बनाउनुभएन।

अब केही साम्प्रदायिक सङ्कीर्णता भएका व्यक्तिहरू गुरु परम्परा भएको एउटा कुनै सम्प्रदायमा आबद्ध हुनै पर्छ भन्छन्। त्यसमा पनि धेरैजसोले वैष्णव सम्प्रदायमा आबद्ध हुनु अनिवार्य हो, अन्यथा कल्याण हुँदैन भन्छन्। अनि त्यसमा पनि केही त हाम्रै सम्प्रदायबाट दीक्षित भएर नै कल्याण हुन सक्छ भन्छन्।

गोकर्ण कुन सम्प्रदायको हुनुहुन्थ्यो? धुन्धुकारिले कुन मन्त्र दीक्षाको रूपमा प्राप्त गरे र? उनको कल्याण कसरी भयो? शुकदेवजीले परीक्षित्‌जीलाई कुन मन्त्र दीक्षाको रूपमा दिनुभयो? परीक्षित्‌को कल्याण कसरी भयो?

यदि सम्प्रदाय त्यति महत्त्वपूर्ण भएको भए यी सबै कुन सम्प्रदाय अन्तर्गतका थिए, कुन मन्त्र प्राप्त गरे इत्यादि कुराहरू शास्त्रमा जोड दिएर बताइएको हुन्थ्यो।

यदि अहिले अस्तित्वमा भएका सम्प्रदायमा आबद्ध भएर दीक्षा लिनुपर्ने अनिवार्य भएका भए धुन्धुकारि, परीक्षित्‌जी आदिको कल्याण नहुनुपर्ने। हाम्रा शास्त्र गलत त होइनन्। त्यसैले हालका सम्प्रदायमा आबद्ध हुनै पर्छ भन्ने भनाइ गलत हो।

विद्या प्रदान गर्ने योग्य शिक्षकले हो, कलेजले अथवा कक्षाले होइन। कलेजको महत्त्व के हो भने त्यहाँ योग्य शिक्षकहरू छन्। यदि योग्य शिक्षक भएनन् भने हजार वर्ष पुरानो शिक्षालय किन नहोस्, त्यसबाट लाभ हुँदैन। कल्याण गराउने महापुरुषले हो, सम्प्रदायले होइन। कुनै पनि सम्प्रदायमा वर्तमानमा वास्तविक महापुरुष हुनुहुन्छ भने उहाँको शरणमा गएर कल्याण हुन्छ। तर यदि कुनै सम्प्रदायमा वर्तमान समयमा वास्तविक महापुरुष हुनुहुन्न भने त्यो जतिसुकै पुरानो सम्प्रदाय होस्, जतिसुकै धेरै मन्दिरहरू हुन्, अनुयायीहरू हुन्, त्यसबाट कल्याण हुँदैन।

मन्त्र लिनु अनिवार्य होइन।

दीक्षा दिने क्रममा संस्कृतमा एउटा मन्त्र कानमा सुनाइन्छ। जस्तै–

रामाय नमः।

ऊँ भगवते वासुदेवाय नमः।

क्लीं कृष्णाय नमः।

श्रीकृष्ण: शरणं मम।

प्रायः सबै मन्त्रहरूको अर्थ यही हो– हे भगवान्‌! हजुरलाई नमस्कार छ। हे भगवान्‌! म हजुरको शरणमा छु। के त्यही कुरा नेपालीमा भन्यो भने हुँदैन र? ईश्वरीय क्षेत्रमा पनि भाषावाद छ र? भगवान्‌ले संस्कृतमा भन्यो भने सुन्ने अनि अरू भाषामा भन्यो भने नसुन्ने गर्नुहुन्छ र? शास्त्रमा त यसको विपरीत बताइएको छ। वेद भन्दछ–

भावग्राह्यमनीडाख्यं भावाभावकरं शिवम्। श्वेताश्वतरोपनिषद् ५–१४

त्यसैगरी,

भावग्राही जनार्दनः॥ नारद पञ्चरात्र १–१२–४०

अर्थात्, भगवान्‌ले भाव हेर्नुहुन्छ। प्रेमको भोको हुनुहुन्छ। एउटा मूर्खले विष्णाय नमः भन्ला। विद्वान्‌ले विष्णवे नमः भन्ला। दुवैको बराबर भाव छ भने दुवैलाई समान फल मिल्छ।

मूर्खो वदति विष्णाय धीरो वदति विष्णवे।
तयोः फलं तु तुल्यं हि भावग्राही जनार्दनः॥ 

जब भगवान्‌ भावग्राही हुनुहुन्छ भने यो मन्त्र इत्यादि किन लिनुपर्‍यो त? 

नाम-जप या नाम-सङ्कीर्तन मन्त्र-जप भन्दा श्रेष्ठ छन्। 

१. जसले दीक्षा अनिवार्य हो भन्दछन् अनि मन्त्र लिने-दिने कार्य गर्छन्, उनीहरू भन्छन्, ‘यो हाम्रो गुरु परम्पराबाट आएको सिद्ध मन्त्र हो। यसमा अलौकिक शक्ति छ।’ 

तर भगवान्‌को नाममा त सबै शक्तिहरू छन्। सनातन गोस्वामिजीले उल्लेख गर्नुभएको छ–  

नाम चिन्तामणिः कृष्णश्चैतन्यरसविग्रहः। 
पूर्णः शुद्धो नित्यमुक्तोऽभिन्नत्वान्नामनामिनोः। हरिभक्तिविलास ११–५०३

अर्थात् भगवान्‌ र भगवान्‌को नाममा कुनै पनि भेद छैन। चैतन्य महाप्रभुजी पनि भन्नुहुन्छ– 

नाम्नामकारि बहुधा निज सर्वशक्तिस्तत्रार्पिता नियमितः स्मरणे न कालः। शिक्षाष्टक–२

भगवान्‌ आफ्ना सबै शक्तिहरूका साथ नाममा बस्नुभएको छ। त्यसैले त भगवान्‌ शङ्करजी निरन्तर ‘राम’ नामको जप गर्नुहुन्छ।

शक्तिको दृष्टिले नाम-जप या नाम-सङ्कीर्तन श्रेष्ठ हो।

२. दीक्षाको रूपमा लिइएको मन्त्रलाई सिद्ध गर्नको पुरश्चरण गर्नुपर्छ। अर्थात्, नित्य अर्चना, नित्य मन्त्रजप, नित्य तर्पण, नित्य हवन एवम् नित्य ब्राह्मण भोजन, यी पाँच वटा अनुष्ठान गर्नुपर्छ जुन कलियुगमा सम्भव छैन। तर नाम-जप या नाम-सङ्कीर्तनमा कुनै पुरश्चर्या गर्नुपर्दैन।

दीक्षापुरश्चर्य्याविधि अपेक्षा ना करे। चैतन्य चरितामृत २–१५–१०९

रूप गोस्वामिजी महाराज पनि भन्नुहुन्छ–

नो दीक्षां न च सत्क्रियां न च पुरश्चर्यां मनागीक्षते॥ पद्यावली २९

अगस्त्यसंहितामा पनि बताइएको छ–

विनैव दीक्षां विप्रेन्द्र पुरश्चर्यां विनैव हि।
विनैव न्यासविधिना जपमात्रेण सिद्धिदाः॥ अगस्त्यसंहिता

न त कसैबाट नामको दीक्षा लिनुपर्छ, न त त्यसको पुरश्चर्या गर्नुपर्छ। साथै नाममा भगवान्‌ समस्त शक्तिसहित बस्नुभएको छ। अतः केवल भगवान्‌को नामको जप गर्नाले पनि काम बन्छ।

अस्तु। पुरश्चर्या आदिको दृष्टिले पनि नामजप श्रेष्ठ हो।

दीक्षाको वास्तविक तात्पर्य

आध्यात्मिक क्षेत्रमा दीक्षा शब्दको वास्तविक तात्पर्य हो–

दिव्यं ज्ञानं यतो दद्यात् कुर्य्यात् पापस्य संक्षयम्
तस्माद्दीक्षेति सा प्रोक्ता देशिकैस्तत्त्वकोविदैः॥ विष्णुयामल

अर्थात्, दीक्षा एउटा अनुष्ठान हो जसबाट दिव्य ज्ञान प्राप्त हुन्छ र समस्त पापहरू नष्ट हुन्छन्। दीक्षा प्रदान गर्नासाथ जीवको कल्याण हुन्छ। दीक्षा प्राप्त गर्नासाथ उसलाई भगवान्‌को दर्शन प्राप्त हुन्छ, त्यो अनन्त आनन्द प्राप्त हुन्छ। जगद्‍गुरु श्री कृपालु जी महाराज भन्नुहुन्छ–

दिव्यज्ञान दिव्यप्रेम गोविंद राधे। 
जब गुरु दे तो वाय दीक्षा बता दे॥ राधा गोविंद गीत २१२४

अर्थात्, गुरुले जब दिव्य प्रेम दिनुहुन्छ, दिव्य ज्ञान दिनुहुन्छ, त्यसलाई दीक्षा भनिन्छ।

दीक्षा परम्परामा विकृति

जब चैतन्य महाप्रभुजीले श्रीईश्वरपुरीजीबाट दीक्षा लिनुभयो। दीक्षा लिनासाथ–

दीक्षा-अनन्तरे कैल प्रेम परकाश। चैतन्य चरितामृत १–१७–७

उहाँमा श्रीकृष्ण-प्रेमको सञ्चार भयो। 

तर हिजोआज जुन दीक्षा दिइन्छ, त्यसो गर्दा लिने व्यक्तिलाई त्यस्तो प्रभाव अनुभवमा आउँदैन। श्रीकृष्ण-प्रेम उत्पन्न हुँदैन। पञ्चकोश, पञ्चक्लेष इत्यादि भस्म हुँदैनन्। एउटा साधारण बिजुलीको तारलाई छोएको बराबर पनि झट्का लाग्दैन। 

भागवतमा देवर्षि नारदजीले भगवान्‌लाई प्राप्त गर्नको लागि घर छोडेर निस्केका ध्रुवलाई मन्त्रदीक्षा दिनुभएको छ। तर, मन्त्र दिनुभन्दा पहिले १. उहाँले परीक्षा लिनुभयो। ध्रुवलाई घर फर्कने उपदेश दिनुभयो। तर ध्रुव भगवान्‌लाई प्राप्त गर्नको निम्ति अटल थिए। २. अटल निश्चय देखेपछि नारदजीले ध्रुवलाई शास्त्र-वेदको सिद्धान्तको सार सम्झाउनुभयो। 

भगवान् वासुदेवस्तं भज तं प्रवणात्मना। भागवत ४–८–४०

अर्थात्, भगवान्‌को भजनद्वारा नै कल्याण हुन्छ।

धर्मार्थकाममोक्षाख्यं य इच्छेच्छ्रेय आत्मन:। 
एकं ह्येव हरेस्तत्र कारणं पादसेवनम्॥ भागवत ४–८–४१

अर्थात्, भगवान्‌को सेवा गर्नाले, भक्ति गर्नाले नै धर्म, अर्थ, काम, मोक्ष सबै प्राप्त हुन्छ। यस प्रकार पहिले भगवान्‌को भक्तिको उपदेश दिनुभयो। ३. त्यसपछि नारदजीले ध्रुवलाई यमुना नदीको किनारमा गएर भक्ति-साधना गर्ने निर्देशन दिनुभयो। ४. दैनिक शौच, प्राणायाम सकिसकेपछि भगवान्‌को यस प्रकार ध्यान गर्नु भन्दै भगवान्‌को स्वरूपको वर्णन गर्नुभयो। जब भगवान्‌को रूपध्यान गर्दा मन भगवान्‌मा स्थिर हुन्छ अनि–

एवं भगवतो रूपं सुभद्रं ध्यायतो मन:।
निर्वृत्या परया तूर्णं सम्पन्नं न निवर्तते॥ भागवत ४–८–५२

मन शीघ्र परमानन्दमा डुबेर तल्लीन हुन्छ। फेरि त्यहाँबाट फर्किनु पर्दैन। ५. अनि मात्र नारदजीले मन्त्र दिनुभयो–

ॐ नमो भगवते वासुदेवाय। भागवत ४–८–५४

त्यसपछि ध्रुवजीले साधना गरेर लक्ष्य प्राप्त गर्नुभयो। 

यस्तै प्रसङ्गहरूलाई आधार बनाएर हिजोआज पनि दीक्षा दिइन्छ। १. तर सुरुमा नै मन्त्र दिइन्छ। २. हजारौँ व्यक्तिहरूलाई एकै पटक माइकद्वारा मन्त्र दिइन्छ। गुरुलाई शिष्यहरूको नामसम्म पनि थाहा हुँदैन। ३. दीक्षा दिने र शिष्य बनाउने यस्तो होड छ कि साना बच्चाहरूको पनि कान फुक्ने, मन्त्र दिने काम गर्छन्। ४. शिष्यहरू झन् संसारमा आशक्त हुन्छन्। कान फुकाउँदा सानै थिए, विवाह भएको थिएन। काम, क्रोध, लोभ कम थियो। पछि विवाह भयो, बच्चाहरू भए। झन् दुःखी भए, झन् संसारमा फसे। कल्याणको सट्टा हानि भयो। ५. बाबाजीलाई शिष्यको कल्याणसँग कुनै मतलब छैन। कोही कोही यस्ता बाबाजीहरू छन्, जसका करोडौँ शिष्यहरू छन्। यस्ताले उनीहरूलाई मार्ग निर्देशन दिने कार्य, उनीहरूको आध्यात्मिक उत्थान गर्ने कार्य कसरी गर्न सक्छन्? यस्ता नक्कली बाबाजीलाई उनीहरूको कल्याणसँग मतलब नै छैन। ६. धेरै अनुयायी होउन् र पैसा, प्रतिष्ठा धेरै होस् भन्ने लक्ष्य छ। यस प्रकारको आचरणले नक्कली गुरु र तिनको भरोसामा बसेका शिष्य दुवै नरक जान्छन्।

दीक्षाको निम्ति योग्यता

शरणागतिबिना न त गुरुले दिव्य प्रेम दिन सक्नुहुन्छ, न त भगवान्‌ले दिन सक्नुहुन्छ। त्यसैले दीक्षाप्राप्त गर्नको निम्ति पहिले पूर्ण शरणागत हुन अनिवार्य छ। यानि शिष्य योग्य हुनुपर्छ। जसले ममतावश या लोभवश अदीक्षितलाई अर्थात् योग्यता नभएका व्यक्तिहरूलाई अपनाउँछन्, त्यस्ता गुरु एवम् शिष्यको निम्ति शास्त्रमा बताइएको छ–

स्नेहाद्वा लोभतो वाऽपि यो गृह्णीयाददीक्षया।
तस्मिन् गुरौ सशिष्ये तु देवताशाप आपतेत्॥ विष्णुयामल

ती दुवैलाई देवताको शाप लाग्छ अर्थात्, नरक जान्छन्। दीक्षा दिनको निम्ति, शिष्य बनाउनको निम्ति दुवैमा योग्यता हुनुपर्छ। दीक्षा दिनेवाला भगवान्‌लाई प्राप्त गरेको महापुरुष हुनुपर्छ। साथै दीक्षा लिनको निम्ति शिष्य हुनको निम्ति, वेदमा नै बताइएको छ–

प्रशान्तचित्ताय शमान्विताय। मुण्डकोपनिषद् १–२–१३

जितेन्द्रियाय शान्ताय मन्त्रं देयमिदं महत्। सूर्यतापिन्युपनिषद् १–५

शम दम इत्यादि गुण भएको, जितेन्द्रिय, प्रशान्त चित्त भएको व्यक्तिलाई नै शिष्य बनाएर वेदको ज्ञान दिन मिल्छ। मन्त्र दिन मिल्छ। संसारी विषयमा मन अल्झिएको हुनु भएन। भगवान्‌लाई नै प्राप्त गर्नु छ भन्ने अटल निश्चय भएको हुनुपर्‍यो। यस्तो व्यक्तिलाई नै दीक्षा दियोस्, शिष्य बनाओस्। 

मन्त्र दिने शिष्य बनाउने चलन किन छ त?

यति हुँदाहुँदै पनि मन्त्र दिने, शिष्य बनाउने चलन किन छ त? किनकि यसमा फाइदा छ। नामसङ्कीर्तनको निम्ति दीक्षा, पुरश्चर्या केही पनि चाहिँदैन। नामजपको या नामसङ्कीर्तनको प्रचार गरेर त कोही पनि शिष्य नबन्ने भए। किनकि नामदीक्षा त हुँदैन। त्यसैले जो बाबाजी हुन्, उनीहरूले ग्राहक नपाउने भए। उनीहरूलाई फाइदा नहुने भयो। अतः ग्राहक बनुन् भन्नको निम्ति बाबाजीहरूले मन्त्र दिने नाटक गर्छन्। जसले मन्त्र लिएका छन्, ती ग्राहकहरू पनि बाबाजीबाट मन्त्र लिएको छु, मलाई वैकुण्ठ मिलिहाल्छ भनेर ढुक्क भएर बस्छन्। न संसारको आशक्ति छोड्नुपर्‍यो, न साधना गर्नुपर्‍यो। दीक्षा लिएपछि सबै काम बनिहाल्यो।

यदि कुनै सम्प्रदायमा वास्तविक महापुरुष हुनुहुन्छ भने उहाँसँग आबद्ध भएर उहाँको शरणमा जाँदा अवश्य कल्याण हुन्छ। कुनै पनि सङ्कोच गर्नुपर्दैन। तर सर्त यही हो कि त्यो सम्प्रदायमा वर्तमानमा वास्तविक महापुरुष हुनुपर्छ। अन्यथा त्यहाँ सम्प्रदायवाद, त्यसको सङ्कीर्णता, सिद्धान्तको अपव्याख्या र भक्तिको नाममा केवल शारीरिक क्रिया र मिथ्या आत्मसन्तुष्टि मात्र देखिन्छ।

हिजोआज केही यस्ता सम्प्रदायहरू पनि छन्, जसमा भगवान्‌ शङ्करजीलाई डेमिगड अर्थात् केवल देवता हुन् भनिन्छ, कुनै सम्प्रदायमा रहेका मठाधीशहरू भगवान्‌ शङ्करजी मुक्तिदाता होइनन् सम्म भन्छन्, कुनै ठुलो आध्यात्मिक संस्थाका प्रचारकहरू हनुमानजीलाई मायावादी हुन् भन्ने गर्छन्, केही तिम्रा राम यस्ता, मेरा कृष्ण यस्ता भन्छन्। अनन्यताको नाममा यी सबैले नामापराध गरिरहेका हुन्छन्। 

त्यसमा पनि एउटा सम्प्रदायले कुनै अर्को सम्प्रदायलाई स्वीकार गर्दैनन्, त्यो गलत हो भन्छन्।

कुनै पनि सम्प्रदाय अथवा आध्यात्मिक संस्थाले भक्ति गराइदिने या भगवत्प्राप्ति गराइदिने होइन, कुनै वास्तविक महापुरुषले नै भक्ति गराउनु सक्नुहुन्छ। 

अतः सम्प्रदायलाई होइन, वास्तविक गुरुलाई अपनाउनुहोस्। वास्तविक महापुरुष कुनै सम्प्रदायभित्रकै हुनुपर्छ भन्ने होइन। गुरु हुनको निम्ति वेदशास्त्र अनुसार श्रोत्रिय र ब्रह्मनिष्ठ हुनुपर्छ। कुनै श्रोत्रिय, ब्रह्मनिष्ठ गुरुसँग आबद्ध हुनुहोस् र उहाँले बताउनुभएको साधना गर्नुहोस्। अवश्य लाभ मिल्नेछ।

जय श्री राधे!