प्रश्न–आफू सनातन हिन्दु भए पनि हामीमाथि भएको जातीय विभेदको जड यही धर्ममा मात्रै भएको हुँदा सनातन धर्मको छाती फुकालेर वकालत गर्न सकेको छैन। मेरा गाउँका ब्राह्मण त झन् दलितको घरमा पूजा गर्न नै जाँदैनन्। कसरी म यो सनातन धर्मको प्रशंसा गरूँ गुरु ? सन्तोष परियार, दाङ।

उत्तर– प्रिय सन्तोषजी। एउटा ज्ञानी र अनुभवी व्यक्तिले नै अर्को अज्ञानी व्यक्तिको अज्ञानता औँल्याउन, दोष बताउन र समाधान दिन सक्छ। तपाईँसँग अहिले ज्ञान नभएकाले, तपाईँले चाहेर पनि ती व्यक्तिहरूको कुरा गलत छ भनेर सिद्ध गर्न सक्नुहुन्न। त्यसैले यसको निम्ति सबैभन्दा पहिले तपाईँले सनातन धर्मको बारेमा जान्नुपर्‍यो। आफ्नो धर्मको ज्ञान प्राप्त गर्नु, यो तपाईँको पनि जिम्मेवारी हो। अब विषयतर्फ लागौँ।

सनातन धर्ममा जातीय विभेद छ कि छैन भन्नुअघि म एउटा प्रतिप्रश्न गर्न चाहन्छु। हाम्रो देशको कानुनले पनि जातीय अस्तित्वलाई स्वीकार गरेको छ। यसको मतलब, के हाम्रो देशको कानुन र संविधानले जातीय विभेद गरेको छ? यसको उत्तरमा यहाँले भन्न सक्नुहुन्छ कि जातीय अस्तित्वलाई स्वीकार गरेता पनि सबैलाई समान अवसर अनि सबैको हक अधिकार सुनिश्चित गरेकाले हाम्रो संविधान वा कानुनमा जातीय विभेद छैन। ठिक यही तर्कअनुसार यदि कसैले प्राचीन समाजमा जातिवाद थियो भन्छ भने पनि सनातन धर्ममा जातीय विभेद छैन। तर अझ बुझ्नुपर्ने कुरा के हो भने सनातन धर्ममा जातीयता, जातिवाद, जाती पाती नै छैन।

सनातन धर्ममा जातीयता नभएका केही प्रमाणहरू– ​

१. थर गौण भएकाले।

महाभारत आजभन्दा लगभग पाँच हजार वर्ष पहिले लेखिएको ग्रन्थ हो। यस ग्रन्थमा पात्रहरू छन्, हजारौँ नामहरू छन्। तर कसैको पनि थर छैन। अर्जुनको थर के हो? श्रीकृष्णको थर के हो? महर्षि दुर्वासाको थर के हो? वेदव्यासजीको थर के हो? थरको किन उल्लेख भएन होला? यसको दुई वटा सम्भावना हुन सक्छन्। एउटा या त थर थिएन। या थर मुख्य थिएन। कमसेकम हामी यति भन्न सक्छौँ कि थर गौण थियो। जाती-पातीको मुख्य आधार थर हो। यसबाट यही प्रमाणित हुन्छ कि जाती पाती थिएन।

२. नाम अनुसारको वंश परम्परा भएकाले।

हाम्रो इतिहासमा वंश परम्परा पनि नाम अनुसार छ, कुनै थर अनुसार छैन। रघुवंश, सूर्यवंश, चन्द्रवंश आदि विभिन्न वंशहरू नामबाट छन्। थरबाट छैनन्। यसबाट यही प्रमाणित हुन्छ कि जाती पाती थिएन।

३. वर्ण र जाती भिन्न भएकाले।

सनातन धर्ममा बताइएको वर्ण व्यवस्था जातीय व्यवस्था होइन। वर्ण अर्कै हो र जाती पाती अर्कै हो। सनातन धर्मको वर्ण व्यवस्था कर्मको आधारमा हो। आजको समाजमा पनि कुनै न कुनै रूपमा यिनै वर्ण व्यवस्था नै भेटिन्छ। जस्तै सबैको आ–आफ्नै सङ्गठनहरू छन्। सबैको आ–आफ्नै इज्जत छ। एउटा कुचो लगाउने व्यक्तिभन्दा एउटा शिक्षकको सम्मान हुनु आजको समाजमा पनि स्वाभाविक हो। यसको मतलब आजको समाज जातिवादको पक्षमा छ भन्ने त होइन नि। वर्ण व्यवस्था र जातिवाद भिन्न भएकाले पनि प्रमाणित हुन्छ कि जातिवाद थिएन।

४. सबैलाई समान अधिकार भएकाले।

सनातन धर्ममा सबै वर्णका व्यक्तिहरूलाई सबै कार्यमा समान अधिकार छ। अघिको उदाहरणमा, जसरी भोलि गएर कुचो लगाउने व्यक्तिको सन्तान पनि शिक्षक बनेर सम्मानित हुन सक्छ, त्यसै गरी आज अर्कै वर्णको व्यक्तिको सन्तान भोलि अर्कै वर्णको हुन सक्छ। समान अधिकार स्थापित भइन्जेल जातीयताको अस्तित्व हुन सक्दैन। किनकि जातीयताको लागि असमानताको भावना पहिलो पूर्वाधार हो।

५. जातको परिभाषा अनुसार।

जातको परिभाषाबाट पनि सनातन धर्ममा मनुष्य एउटै जात हो। जाती शब्दको उत्पत्ति संस्कृतमा जनि धातुबाट भएको हो। ‘समानप्रसावात्मिकाजाती’ अर्थात्, समान जन्मवाला मिलेर एउटा जाती बन्दछ। सम्पूर्ण मनुष्य एउटा जाती हुन्। किनकि सबैको जन्म समान ढङ्गले हुन्छ। मनुष्य र चराचुरुङ्गी अलग जातीका हुन् किनकि उनीहरूको जन्म अलग प्रकारले हुन्छ। जाती सधैँ रहिरहन्छ। कुनै भाइरस सम्पूर्ण मानव-जातीलाई हानिकारक छ भनिन्छ नि। जस्तै अहिले कोरोना भाइरस भयो।

६. सनातन धर्मको सिद्धान्त नै ‘वसुधैव कुटुम्बकम्’ को सिद्धान्त भएकाले।

यथा–

अयं बन्धुरयं नेति गणना लघुचेतसाम्। उदारचरितानां तु वसुधैव कुटुम्बकम्॥ महोपनिषद् ६–७१

जहाँ सबैलाई एउटै परिवार मान्ने सिद्धान्तको प्रचार छ, त्यो सिद्धान्तमा जातीयताको अनि जातीय विभेदको अस्तित्व पनि हुन सक्दैन।

जातीयताको जरो पश्चिमी समाज हो भन्ने प्रमाणहरू–

१. पश्चिमी समाजमा थर प्रधान हुनु।

उनीहरूको पुस्तकमा, विद्वत् समाजमा पहिले थर अनि नाम लेखिन्छ। व्यक्तिहरूलाई चिन्दा पहिले थरले चिनिन्छ।

२. भारतमा हुने जनगणनामा अङ्ग्रेजहरूले नै नाम, थर, जात, धर्म आदि उल्लेख गर्न लगाउनु।

यसले पनि उनीहरूमा नै जातीयताको सोचाइ थियो भन्ने सिद्ध हुन्छ। उनीहरूमा नभएको भए, यस प्रकारको कार्य नै हुँदैनथ्यो। त्यसअघिको पूर्वीय समाजमा कुन जातिका कुन धर्मका कति जना थिए भन्ने कुरा नै गौण हुन्थ्यो। पूर्वीय समाजलाई खण्डित पार्न, कमजोर बनाउन जातीयताको मलजल आवश्यक ठानेर अङ्ग्रेजहरूको रणनीति र चरणबद्ध विभिन्न प्रयास गरे जसद्वारा नै पूर्वीय समाजमा म यो जातिको हुँ, ऊ त्यो जातीको हो भन्ने भावनाको वृद्धि हुँदै गयो।

३. युरोपेली समाजमा जातीय भेदभावको इतिहास हुनु।

जातीय भेदभावलाई अङ्ग्रेजीमा रेसियल डिस्क्रिमिनेसन भनिन्छ। इन्टरनेटमा गएर खोज्नुभयो भने पनि पाश्चात्य जगत्‌मा रेसियल डिस्क्रिमिनेसनको नाममा विगतमा भएका असङ्ख्य अत्याचारहरू पाउनुहुन्छ। यही रेसियल डिस्क्रिमिनेसनलाई नेपालीमा अनुवाद गर्दा जातीय विभेद भएको हो। यस प्रकार जातीय विभेदको सोचाइको उत्पत्ति नै अङ्ग्रेजी भाषाबाट भएको हो।

४. आजसम्म पनि रङ्ग र थर अनुसारको भेद हुनु।

सबैभन्दा विकसित र सभ्य भनिएका अमेरिका, बेलायत एवं अन्य युरोपेली देशहरूमा आजसम्म पनि रङ्गअनुसार, थर अनुसार भेद हुनुले पनि जातीय विभेदको संस्कृति थियो भन्ने प्रमाणित गर्दछ।

५. उनीहरूको धार्मिक सिद्धान्तमा केवल मेरो मान्यता मात्रै सही हो भन्नु।

अन्य धर्म मान्नेलाई सैतान हो भन्ने मानसिकता जुन धर्ममा हुन्छ, त्यस धर्मका अनुयायी भएको समाजले सबै समान हुन् भन्ने कल्पना कसरी गर्न सक्छ?

सनातन धर्ममा व्यवस्था भएको वर्णमा विभेद नभएको प्रमाण–

१. वर्णको परिभाषा चयन भएकाले, चयन गर्ने अधिकार भएकाले।

निरुक्त अनुसार–

वर्णः वृणोतेः। निरुक्त २–१

अर्थात्, वर्ण शब्द वृणोतिबाट उत्पन्न भएको हो। जसको अर्थ हो धारण गर्नु, चयन गर्नु। जस्तै हिजोआज हामी शिक्षक बन्ने कि व्यापार गर्ने भनेर चयन गर्छौँ नि। त्यसै गरी हामीले चयन गरेको गुण र कर्मको आधारमा हाम्रो वर्ण हुन्छ। शास्त्रमा चार प्रकारको वर्ण व्यवस्था छ– ब्राह्मण, क्षत्री, वैश्य र शूद्र। हामीले कुन वर्ण धारण गर्ने, त्यसको स्वतन्त्रता हामीमा नै छ। यही स्वतन्त्रता भएकाले विभेद छैन।

२. वर्ण व्यवस्था भगवान्‌द्वारा नै स्थापित भएकाले र कर्ममा आधारित भएकाले।

गीतामा भगवान् श्रीकृष्ण भन्नुहुन्छ –

चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशः। तस्य कर्तारमपि मां विद्ध्यकर्तारमव्ययम्। गीता ४–१३

वर्ण व्यवस्था भगवान्‌ले नै गर्नुभएको हो। वास्तवमा सबै वर्णको उत्पत्ति भगवान्‌बाट नै भएको हो। भगवान् श्रीकृष्ण उद्धवजीलाई भन्नुहुन्छ –

विप्रक्षत्रियविट्‍शूद्रा मुखबाहूरुपादजा:। वैराजात् पुरुषाज्जाता य आत्माचारलक्षणा:॥ भागवत ११–१७–१३

विराट पुरुषको मुखबाट ब्राह्मण, भुजाबाट क्षत्रिय, जङ्घाबाट वैश्य र चरणबाट शूद्रको उत्पत्ति भएको हो। यी चार वटा वर्ण उत्पत्ति भएका हुन्। मनुष्य होइन। ध्यान दिनुहोस्। कोही व्यक्ति ब्राह्मणहरू भगवान्‌का मुखबाट जन्मेका हुन् भन्छन्। त्यसो होइन। सबै मनुष्य मनुजी महाराजबाट उत्पत्ति भएका हुन्। वर्ण भगवान्‌बाट। जुन मनुष्यले जुन वर्ण धारण गर्‍यो, त्यसअनुसार उसको वर्ण हुन गयो। यस प्रकार, वर्णको जन्मसँग कुनै पनि सम्बन्ध छैन। गुण र कर्मसँग सम्बन्धित छ। यदि मातापिता आफ्नो गुण र कर्म अनुसार कुनै वर्णका छन् भने उनीहरूका सन्तानले गुण र कर्मद्वारा अर्कै वर्ण धारण गर्न सक्छन्। चार वटा वर्ण छन्। अहिलेको समयमा पनि ती सान्दर्भिक छन्। किनकि चार प्रकारका नै कर्म हुन सक्छन्। पहिलो शिक्षा अनि दानसँग सम्बन्धित। दोस्रो रक्षा अनि व्यवस्थापन। तेस्रो खेतीपाती अनि व्यापार। चौथो यी सबैलाई आवश्यक पर्ने सेवा।

आज पनि विश्वमा जे जति कर्म छन् ती सबै ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र कर्म अन्तर्गत नै पर्छन्। पाँचौँ प्रकारको कुनै कर्म नै छैन। एउटा व्यक्तिले कुनै विश्वविद्यालयमा यदि शिक्षा लिने–दिने कार्य गर्‍यो भने त्यो कर्म ब्राह्मणको कर्म हो। अर्कोले त्यही विश्वविद्यालयको व्यवस्थापन हेर्छ। त्यो क्षत्रियको कर्म हो। अर्कोले त्यस विद्यालयमा लगानी गरेको छ, त्यो वैश्यको कर्म हो। अनि अर्कोले त्यस विश्वविद्यालयको लागि विभिन्न सुविधा प्रदान गर्दै छ। त्यो शूद्रको कर्म हो। सबैको कर्म समान रूपले आ–आफ्नो प्रकारले श्रेष्ठ छ।

३. कठिन परिश्रम गर्ने व्यक्ति वर्तमानमा पनि सम्मानित हुनाले।

कसैलाई लाग्न सक्छ कि यो सबै त ठिकै छ। तर ब्राह्मणलाई किन सम्मान गर्ने त? यदि हामीले बिचार गर्‍यौँ भने अहिले पनि कसैले परिश्रम गर्छ भने ऊ सम्मानित हुन्छ। प्रतिष्ठित हुन्छ। त्यसै गरी ब्राह्मण पूजित हुनु वर्ण विभेद होइन। किनकि ब्राह्मण हुन सजिलो छैन।

कुनै व्यक्ति ब्राह्मण हुनको निम्ति केवल ब्राह्मणको कर्म गर्नुपर्‍यो अनि ब्राह्मणको गुण पनि हुनुपर्‍यो। ब्राह्मणको गुण के हुन् त? भागवतमा वेदव्यासजी भन्नुहुन्छ–

शमो दमस्तप: शौचं सन्तोष: क्षान्तिरार्जवम्। मद्भ‍‍क्तिश्च दया सत्यं ब्रह्मप्रकृतयस्त्विमा:॥ भागवत ११–१७–१६

शम अर्थात् मनमाथि कन्ट्रोल, दम अर्थात् इन्द्रियमाथि निग्रह, तपस्या, पवित्रता, सन्तोष, क्षमाशीलता, सिधासादा, भगवान्‌को भक्ति, दया, र सत्य यी ब्राह्मणका गुण हुन्। त्यसै गरी ब्राह्मणको कर्म हुन् वेद पढ्नु, पढाउनु, यज्ञ गर्नु, गराउनु अनि दान दिनु, लिनु। यही छ वटा कर्म। साथै चार वटा आश्रमको पनि पालना गरोस्। २५ वर्षसम्म ब्रह्मचारी रहेर शास्त्रको अध्ययन, त्यसपछि चाह्यो भने ५० वर्षको उमेर हुँदा सम्म विवाह गरेर गृहस्थ आश्रममा रहेर यज्ञादि कर्म गरोस्, गृहस्थ आश्रमपछि ७५ वर्षको उमेरसम्म घर छोडेर वानप्रस्थमा रहोस् अर्थात् श्रीमान् श्रीमती जङ्गलमा वास गरेर श्रीकृष्ण भक्ति गरून्, ७५ वर्षपछि श्रीमान् श्रीमती पनि अलग रहेर सन्न्यास धारण गरून्। ब्रह्मचर्य आश्रममाबाट वा गृहस्थ आश्रमबाट सीधै संन्यास धारण गर्न पनि सक्छ। यी चार वटा आश्रममा पनि अनेक नियमहरू छन्। ती सबैको पालना गरून्।

अब बताउनुहोस्। नेपालको जनसङ्ख्या तीन करोड छ। त्यसमध्ये कति जना ब्राह्मण होलान्? या त छँदै छैनन्। भए पनि औँलामा गन्न सकिन्छ। अब यदि अघि बताइएका गुण भएको यस्तो दुर्लभ ब्राह्मण कोही छ भने ऊ त पूज्य हो। उसको सेवा गर्न पाउनु सौभाग्यको कुरा हो।

४. कर्म नगरेमा, योग्य नभएमा सबै समान हुनाले अनि कर्म गरेमा, योग्य भएमा पनि सबै समान हुनाले।

शास्त्र अनुसार जन्मसिद्ध सबै जना शूद्र हुन्छन्। यथा–

जन्मना जायते शूद्रः संस्काराद् भवेद् द्विजः। वेदपाठाद् भवेद्विप्रो ब्रह्म जानातीति ब्राह्मणः॥

अर्थात्, जन्मको हिसाबले सबै शूद्र हुन्। संस्कार कर्मद्वारा द्विज बन्दछ। वेदको अध्ययनद्वारा विद्वान् बन्दछ। अनि ब्रह्मलाई जानेपछि ब्राह्मण बन्दछ। यस प्रकार ज्ञानको या चेतनाको स्थिति अनुसार सबै समान हुनाले पनि विभेद छैन। वर्तमानमा पनि चेतना र शिक्षा अनुसार विभिन्न वर्ग हुनुलाई विभेद मान्न मिल्दैन।

५. सबै वर्णमा रहेर त्यस वर्ण अनुसारको कर्म गरेमा समान फल मिल्नाले।

सामाजिक व्यवस्था मिलाउनको लागि सबै वर्णको लागि शास्त्रमा अलग अलग धर्मको निरूपण गरिएको छ। शास्त्रले सबै वर्णलाई आ–आफ्नो धर्मको पालना गर्न निर्देशन दिएको छ। आ–आफ्नो धर्मको पालना गरेमा त्यसको फलस्वरूप सबै वर्णका मनुष्यले मृत्युपश्चात् स्वर्गको भोग प्राप्त गर्दछन्। त्यसैले धर्मको हिसाबले सबै वर्ण समान हुन्।

६. वर्णमा विभेद नभएको इतिहास प्रमाण उपलब्ध हुनाले।

श्रीमद्भागवत अनुसार–

ब्राह्मणा: क्षत्रिया वैश्या: शूद्रा यज्ञदिद‍ृक्षव:। तत्रेयु: सर्वराजानो राज्ञां प्रकृतयो नृप॥ भागवत १०–७४–११

अर्थात्, युधिष्ठिरजी महाराजको यज्ञमा सहभागी हुनका लागि ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र सबै जना त्यहाँ गए। यसबाट यही प्रमाणित हुन्छ कि कुनै निश्चित वर्णको लागि यज्ञादि कर्ममा सहभागी हुनको लागि शास्त्रअनुसार बन्देज छैन। अझै हेर्नुहोस्–

गुरुशुश्रूषणे जिष्णु: कृष्ण: पादावनेजने। परिवेषणे द्रुपदजा कर्णो दाने महामना:॥ भागवत १०–७५–५

अर्थात्, भगवान् श्रीकृष्णले युधिष्ठिरजी महाराजको यज्ञमा आएका सबै जना अतिथिको चरण धुने कार्य गर्नुभयो। यहाँ केवल ब्राह्मणको धुनुभयो भनिएको छैन। सबै अतिथि भनियो। त्यसैले अतिथि धर्ममा पनि कुनै पनि वर्णभेद शास्त्रमा भेटिँदैन। अझै हेर्नुहोस्–

अथर्त्विजो महाशीला: सदस्या ब्रह्मवादिन:। ब्रह्मक्षत्रियविट्‍शूद्रा राजानो ये समागता:॥ भागवत १०–७५–२५

देवर्षिपितृभूतानि लोकपाला: सहानुगा:। पूजितास्तमनुज्ञाप्य स्वधामानि ययुर्नृप॥ भागवत १०–७५–२६

अर्थात्, यज्ञमा उपस्थित ब्राह्मण, क्षत्री, वैश्य, शूद्र सबै जनाको पूजा युधिष्ठिरजी महाराजले गर्नुभयो।

यस प्रकारले चारै वटा वर्ण धर्मको हिसाबले समान हुन्। आ–आफ्नो धर्मको पालना सबैले गरेमा सबैको समान स्थान हुन्छ।

यस प्रकार यही सिद्ध हुन्छ कि सनातन धर्ममा जातीयता छैन। जुन वर्ण व्यवस्था छ, त्यसमा सबैको निम्ति समान अवसर छ। त्यसैले विभेद छैन। तैपनि हाम्रो समाजमा कहीँ कतै देखिने विभेदको जिम्मेवार समाज नै हो। सनातन धर्म होइन।

यसलाई एउटा उदाहरणद्वारा बुझ्नुहोस्। अमेरिकामा त्यहाँको संविधानमा वा कुनै पनि कानुनमा दुई जनाको अमेरिकी नागरिकको बिचमा भेद छैन। त्यहाँका मानिस विश्वकै शिक्षित र सभ्य मध्ये मानिन्छन्। स्वतन्त्र भएर संविधान जारी गरेको लगभग २३० वर्ष (मई २९, १७९०) अनि दास प्रथा अन्त्य गरेको लगभग १५५ वर्ष (डिसेम्बर १८, १८६५) बितिसक्दा पनि जातीय विभेदको विषयलाई लिएर (जून, २०२०मा) त्यहाँ देशव्यापी हिंसात्मक प्रदर्शन हामीले देख्यौँ। तर के त्यसको लागि त्यहाँको संविधान जिम्मेवार छ त? छैन। यदि कोही जिम्मेवार छ भने त्यहाँको समाज जिम्मेवार हो।

अर्को उदाहरण। केही वर्ष पूर्व हाम्रो देश विकाश नहुनुको कारण हाम्रो धर्म हो भनेर बाबुराम भट्टराईले सामाजिक सञ्जालमा लेखेका थिए। तर एक जना साधारण विवेक भएको व्यक्तिलाई पनि थाहा छ कि त्यसको कारण हाम्रो धर्म होइन बरु हामी नै हौँ। हाम्रो भ्रष्ट राजनीति हो, हाम्रा भ्रष्ट नेता हुन्।

त्यसै गरी समाजमा कुनै कुरीति छन्, कहीँ विभेद छ भने, त्यसको कारण हाम्रो धर्म होइन, हामी नै हौँ। जसरी यो प्रश्नको उत्तरको क्रममा मैले अहिले बताएँ, त्यसै गरी इतिहासमा पनि अनेक सन्तहरूले आध्यात्मिक क्षेत्रमा सबै समान हुन् भनेर बताउँदै आउनुभयो। सबैको वास्तविक स्वरूप आत्माको स्वरूप हो। सबै  भगवान्‌का अंश हुन्। सबैले अनन्त शाश्वत आनन्द चाहन्छन्। सबैले साधनाद्वारा भक्तिद्वारा भगवान्‌लाई प्राप्त गर्न सक्छन्। यसमा कुनै पनि विभेद छैन। यस प्रकार सम्झाउनुभयो। तैपनि हामी मान्दैनौँ र आफ्नो गल्ती पनि स्वीकार गर्दैनौँ। गल्ती हाम्रो हो। हाम्रो समाजको हो। सनातन धर्मको होइन। हाम्रो सत्सङ्गमा आएर हेर्नुहोस्। यहाँ कुनै पनि विभेद पाउनुहुन्न।

त्यसैले गर्भका साथ भन्नुहोस् कि मेरो धर्म सनातन धर्म हो। रह्यो कुरा यदि कुनै पुजारी पूजा गर्न कुनै निश्चित समुदाय वा थर भएका व्यक्तिको घरमा जाँदैनन् भने ती पुजारी अज्ञानी हुन्। उनीहरूलाई अहिलेसम्म पनि थाहा भएन कि भगवान् सर्वव्यापक हुनुहुन्छ। वेद भन्दछ–

सर्वव्यापी स भगवान्। श्वेताश्वतरोपनिषद् ३–११

अर्थात् भगवान् सर्वव्यापी हुनुहुन्छ। तुलसीदासजी महाराज पनि भन्नुहुन्छ–

हरि ब्यापक सर्बत्र समाना। प्रेम तें प्रगट होहिं मैं जाना॥ रामचरितमानस १–१८५–३

अर्थात्, भगवान् सर्वव्यापी हुनुहुन्छ। समान रूपले व्यापक हुनुहुन्छ। भगवान् सबैको हृदयमा हुनुहुन्छ।

एको देवः सर्वभूतेषु गुढः सर्वव्यापी सर्वभूतान्तरात्मा। श्वेताश्वतरोपनिषद् ६–११

स परेऽक्षर आत्मनि सम्प्रतिष्ठते। प्रश्नोपनिषद् ४–९

भगवान्‌को निम्ति सबै समान हुन्। यथा–

समोऽहं सर्वभूतेषु न मे द्वेष्योऽस्ति न प्रिय:। गीता ९–२९

जब भगवान् आफैँले बारम्बार सबै समान हुन् भन्नुभएको छ भने विभेद गर्ने अधिकार कसैलाई पनि छैन। त्यसैले यस्तो विभेद गर्नेहरूलाई नै बहिष्कार गर्नुहोस्। कोही त समझदार भेट्नुहुनेछ। उहाँबाट पूजा गराउनुहोस्।

साथै सनातन धर्मको बारेमा जान्नको लागि सनातन धर्म प्रवचन शृङ्खलाका सम्पूर्ण भागहरू नियमित रूपमा हेर्नुहोला।

जय श्री राधे !