प्रश्न– हामी सनातन हिन्दु धर्म को ‘राधे-राधे’ अभिवादन किन? विकाश गौतम, दाङ
उत्तर– हामी जुन अभिवादन गर्दछौँ, त्यसको प्रयोजन हो प्रणाम गर्नु। सम्मानको भाव प्रकट गर्नु। त्यसको निम्ति हामी हात जोड्छौँ र सम्मानजनक कुनै शब्द प्रयोग गर्छौँ।
अभिवादनमा भगवान्को नाम किन?
यहाँको प्रश्न छ कि राधे-राधे अभिवादन किन? तर पहिले त यो बुझ्नुपर्छ कि अभिवादनमा भगवान्को नाम किन? हुनसक्छ, हजुरलाई थाहा होला। तर सबैलाई थाहा नहुन सक्छ।
केही सोच्न सक्छन् कि जो व्यक्ति अगाडि छ, जसको अभिवादन गर्नुपर्ने हो, उसलाई सम्मान गर्ने क्रममा हात जोडेर नमस्ते या प्रणाम या नमस्कार आदि भन्दा भइहाल्छ। किन राधे–राधे, राम–राम, हरे कृष्ण, जय शम्भु, हरि ॐ, ॐ तत् सत् आदि भन्नुपर्यो र? पहिले यसको समाधान गरौँ। त्यसपछि ‘राधे-राधे’को अभिवादन किन भन्नेबारे चर्चा गर्नेछौँ।
एउटा साधकले मनलाई भगवान्मा निरन्तर लगाउन प्रयत्न गर्छ। भगवान्ले गीतामा अर्जुनलाई यही उपदेश दिनुभएको छ।
तस्मात्सर्वेषु कालेषु मामनुस्मर युध्य च। गीता ८–७
अर्थात्, हे अर्जुन! मेरो स्मरण निरन्तर गर्दै युद्ध पनि गर।
हामीलाई पनि निरन्तर भगवान्को स्मरण गर्दै सबै आवश्यक कार्यहरू गर्नु छ। त्यसैको निम्ति भक्ति–मार्गमा प्रत्येक कार्य भगवान्सँग जोड्ने प्रयत्न गरिन्छ। त्यही क्रममा अभिवादनलाई पनि भगवान्मय बनाउनको निम्ति शरीरद्वारा अभिवादन गर्दै मुखले भगवान्को नाम उच्चारण गर्दै मन भगवान्मा लगाउने प्रयत्न गरिन्छ। जस्तै, हात जोडेर अभिवादन गर्दा मुखले राम-राम भन्यौँ भने मनले पनि भगवान् रामको चिन्तन गर्न आवश्यक छ। केवल मुखले राम-राम भनेर केही लाभ मिल्दैन। मन लगाउनु अनिवार्य हो। किनकि, शास्त्रअनुसार बन्धन र मोक्षको कारण मन हो। यथा–
मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः । ब्रह्मबिन्दूपनिषद् २ मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः । त्रिपुरातापिन्युपनिषद् ५–६ मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः । मैत्रायण्युपनिषद् ४–४–११ मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः । शाट्यायनीयोपनिषद् १ मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः । विष्णुपुराण ६–७–२८ मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः । नारद पुराण १–४७–४ मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः । पंचदशी ६–६८, ११–११७ बन्धन मोक्ष का गोविंद राधे । कारण एकमात्र मन है बता दे ॥ राधा गोविंद गीत ४४३३ मय्येव मन आधत्स्व मयि बुद्धिं निवेशय । गीता १२–८
शास्त्रहरूमा बारम्बार यही बताइएको छ कि मन नै कर्ता हो। भगवान्ले मनले गरेको भक्तिको नै हिसाब राख्नुहुन्छ। त्यसैले मनलाई भगवान्मा लगाउनुपर्छ। त्यसको सहायताको निम्ति मुखले भगवान्को नाम लिन सक्छौँ अथवा नाम जप गर्न सक्छौँ या नाम-सङ्कीर्तन गर्न सक्छौँ। अरू सबै सहायक हुन्। प्रमुख हो मनद्वारा स्मरण।
जसरी एउटा पियक्कड पिउनको लागि बहाना खोज्छ, त्यसै गरी एउटा भक्त साधक पनि भगवान्को स्मरण गर्नको निम्ति बहाना खोज्छ। त्यसैले अभिवादन गर्दा पनि भगवान्को नाम लिने गरिन्छ। ताकि भगवान्को स्मरण भइरहोस्।
अभिवादन गर्दा भगवान्को नाम किन लिने भन्नेबारेमा अर्को एउटा कारण पनि छ। त्यो के हो भने, सर्वव्यापी भगवान्लाई सबैमा हुनुहुन्छ भनेर महसुस गर्नु।
अर्थात्, भगवान् सर्वव्यापक हुनुहुन्छ। त्यो सर्वव्यापी भगवान्लाई सर्वत्र महसुस गर्नु, यो पनि साधनाको एउटा अङ्ग हो।
चर अचर में लखहु अपनो, इष्ट कहँ नित प्यारे। सर्वदा सर्वत्र हरि को, साथ मानहु प्यारे। युगल माधुरी
प्रारम्भमा दर्शन त हुँदैन। किनकि भगवान्लाई हामी हाम्रो मायिक इन्द्रिय–मन–बुद्धिद्वारा देख्न, अनुभव गर्न, जान्न सक्दैनौँ। त्यसैले हुनुहुन्छ भन्ने अभ्यास गरिन्छ। मभित्र पनि हुनुहुन्छ अनि जसको म अभिवादन गर्दै छु, उहाँभित्र पनि हुनुहुन्छ। यसको अभ्यासको निम्ति पनि अभिवादनको क्रममा भगवान्को नाम लिने गरिन्छ।
अब अर्को प्रश्न। ‘राधे–राधे’ किन?
राधा तत्त्व
भगवान् एक हुनुहुन्छ। वेद भन्दछ–
एको देवः। श्वेताश्वतरोपनिषद् ६–११ एको हि रूद्रो न द्वितीयाय तस्थुर्य इमाँल्लोकानीशत ईशनीभिः। श्वेताश्वतरोपनिषद् ३–२
पुनः वेद भन्दछ–
एकोऽपि सन्बहुधा यो विभाति। गोपालपूर्वतापिन्युपनिषद् १९
अर्थात्, एक भएर पनि अनेक या अनन्त स्वरूप धारण गर्नुहुन्छ। यहाँनेर ध्यान दिनुपर्ने कुरा के हो भने भगवान्का अनन्त स्वरूपहरू भएता पनि परस्पर एक हुनुहुन्छ।
भागवतमा जब वेदव्यासजीले भगवान्का अनेक अवतारहरू बताउन थाल्नुभयो, तब उहाँले बताउनुभयो–
ब्रह्मसंहिता ग्रन्थ ब्रह्माजीले बनाउनुभएको हो। उहाँले सय अध्यायको ग्रन्थ बनाउनुभएको थियो। तर वर्तमानमा केवल एउटा अध्यायका ६२ वटा श्लोकहरू उपलब्ध छन्। यहाँ ब्रह्माजीले बताउनुभयो कि श्रीकृष्ण परमेश्वर हुनुहुन्छ।
अब राधा रानी को हुनुहुन्छ? यसको बारेमा संक्षिप्तमा बुझौँ।
यद्यपि राधा-तत्त्वभन्दा पूर्वकै कैयौँ तत्त्वहरू इन्द्रिय-मन-बुद्धिभन्दा पर छन्, तैपनि जहाँसम्म चर्चा गर्न सकिन्छ, बुझ्न-बुझाउन सकिन्छ, त्यहाँसम्म वेद-शास्त्रले बताएका छन्। सन्तहरूले बताउनुभएको छ।
ब्रह्मवादिनो वदन्ति, कस्माद्राधिकामुपासते आदित्योऽभ्यद्रवत्॥ अ.रा. १
अर्थात्, ब्रह्मवेत्ता महापुरुषहरूको चित्तमा एउटा प्रश्न उत्पन्न भयो कि अन्य महाशक्तिहरूको उपासना छोडेर श्री राधाजीको उपासना किन गरिन्छ? यो प्रश्न उत्पन्न हुनासाथ एउटा महान् तेज पुञ्ज प्रकट भयो। त्यो महान् तेज पुञ्ज श्रुतिहरू(वेद) नै थिए।
श्रुतय ऊचुः–
श्रुतिहरूले बताए–
सर्वाणि राधिकाया दैवतानि सर्वाणि भूतानि राधिकायास्तां नमामः॥ अ.रा. २
अर्थात्, समस्त दैवी महाशक्तिहरूमा देवत्व शक्ति श्री राधाजीद्वारा नै आविर्भूत हुन्छ। सबै प्राणीहरू श्री राधाजीको शक्तिद्वारा नै अवस्थित हुन्छन्। त्यसैले हामी श्रुतिहरू पनि उहाँलाई नमस्कार गर्छौँ।
देवतायतनानि कम्पन्ते राधाया हसन्ति नृत्यन्ति च सर्वाणि राधादैवतानि। सर्वपापक्षयायेति व्याहृतिभिर्हुत्वाथ राधिकायै नमामः॥ अ.रा. ३
श्री राधा रानीको प्रेरणाद्वारा नै देवताहरूको शरीरमा चेष्टा प्राप्त हुन्छ र उनीहरू हाँस्दछन्, नाच्दछन्। देवताहरू सबै राधा रानीकै वशमा छन्। वेदले पनि श्री राधाजीकै उपासना गर्दछन्।
जसको दिव्य शरीरको कान्ति पर्नाले इन्द्रनीलमणि वर्णवाला श्रीकृष्णको शरीर पनि गौर प्रतीत हुन्छ, एवं जसको कान्तिले काग, कोइली, भँवराले समेत रास-मण्डलमा गौर वर्ण प्राप्त गरेर प्रवेश पाउँछन्, उहाँ श्री राधाजीलाई हामी नमस्कार गर्दछौँ।
यस्या अगम्यतां श्रुतयः सांख्ययोगा वेदान्तानि ब्रह्मभावं वदन्ति। न यां पुराणानि विदन्ति सम्यक् तां राधिकां देवधात्रीं नमामः॥ अ.रा. ५
जसको पार हामी सबै श्रुतिहरू तथा साङ्ख्य, योग, वेदान्त तथा उपनिषद् आदि पनि प्राप्त गर्न सक्दैनौँ, जसको स्वरूपको बारेमा पुराणहरू पनि अनभिज्ञ छन्, अर्थात्, सम्यक् प्रतिपादन गर्न सक्दैनन्, जो देवताहरूको पालन गर्नेवाला हुनुहुन्छ, उहाँ श्री राधाजीलाई हामी नमस्कार गर्दछौँ।
जगद्भर्तुर्विश्वसम्मोहनस्य श्रीकृष्णस्य प्राणतोऽधिकामपि। वृन्दारण्ये स्वेष्टदेवीं च नित्यं तां राधिकां वनधात्रीं नमामः॥ अ.रा. ६
जगत्-पति विश्वमोहन श्रीकृष्णचन्द्रकी प्राणभन्दा पनि प्रिया, परम उपास्या एवम् शरणागतहरूलाई अभय प्रदान गर्ने श्री राधाजीलाई हामी नमस्कार गर्दछौँ।
यस्या रेणुं पादयोर्विश्वभर्ता धरते मूर्ध्नि रहसि प्रेमयुक्तः। स्रस्तवेणुः कबरीं न स्मरेद्यल्लीनः कृष्णः क्रीतवत्तु तां नमामः॥ अ.रा. ७
प्रेम परायण आनन्दकन्द सच्चिदानन्द व्रजेन्द्र नन्दनन्दन पनि रासलीलामा जसको चरण रज मस्तकमा धारण गर्नुहुन्छ एवं जसको प्रेम–प्रभावमा आफ्नो मुरली तथा लौरी आदि दिव्य विभूतिहरूलाई पनि बिर्सिनुहुन्छ, श्रीकृष्ण एउटा क्रीत-दासजस्तै जसको वशमा रहनुहुन्छ, उहाँ श्री राधाजीलाई हामी नमस्कार गर्दछौँ।
यस्याः क्रीडां चन्द्रमा देवपत्न्यो दृष्ट्वा नग्ना आत्मनो न स्मरन्ति। वृन्दारण्ये स्थावरा जङ्गमाश्च भावाविष्टां राधिका तां नमामः॥ अ.रा. ८
श्री रास-मण्डलमा जसको रास-क्रीडाको दर्शन गरेर चन्द्रमा एवं विवसना देव-पत्नीहरूलाई आफ्नो शरीरको पनि भान रहँदैन, श्री वृन्दावनमा समस्त जड एवं जङ्गम पनि आफ्नो स्वरूपलाई भुल्छन्, (अर्थात्, आनन्दमा निमग्न भएर जड, स्थावर पग्लिन थाल्छन्, जङ्गम समाधिस्थ अचल हुन्छन्), श्री रास-मण्डलमा भावावेशयुक्त उहाँ श्री राधा रानीलाई हामी नमस्कार गर्दछौँ।
स्वयं भगवान् श्री कृष्ण पनि जसको अङ्गरूपी शय्याको परमानन्दमा आफ्नो अपरिमेय सच्चिदानन्द स्वरूप तथा दिव्य चिन्मय धाम गोलोकलाई पनि बिर्सिनुहुन्छ, तथा महालक्ष्मी, पार्वती आदि जसको केवल अंश स्वरूपा शक्तिहरू हुनुहुन्छ, ती महाशक्तिहरूको पनि मूल, महा महाशक्ति स्वरूपा श्री राधाजीलाई हामी नमस्कार गर्दछौँ।
स्वरैर्ग्रामैश्च त्रिभिर्मूर्च्छनाभिर्गीता देवी सखिभिः प्रेमबद्धा। ब्राह्मीं निशां यातनोदेकशक्त्या वृन्दारण्ये राधिका तां नमामः॥ अ.रा. १०
महारासमा सखीहरूको साथमा विभिन्न स्वरहरू एवं रागहरूमा गीत गाउँदै प्रेमको बन्धनमा बाँधिएर (अधिकारी जीवहरूलाई महारास रस प्रदान गर्नको निम्ति) जसले त्यो रात्रिलाई ब्रह्माजीको रात्रि समान विस्तार गरिदिनुभयो, उहाँ श्री राधाजीलाई हामी नमस्कार गर्दछौँ।
कुनै बेला दुई भुजा भएका श्रीकृष्णको मूर्ति बनेर (श्रीकृष्णको स्वरूप धारण गरेर) राधारानीले वंशीको छिद्रमा स्वर भरिदिनुभयो। यसबाट उल्लसित भएर श्रीकृष्णले कुन्द र कल्पवृक्षका फूलहरूको माला बनाएर उहाँको शृङ्गार गर्ने प्रयत्न गर्नुभएको थियो।
जो श्रीराधा हुनुहुन्छ, उहाँ नै श्रीकृष्ण हुनुहुन्छ। दुवै परस्पर अभिन्न हुनुहुन्छ। केवल लीलाको लागि दुई वटा स्वरूपमा व्यक्त हुनुभएको हो। जसरी शरीर आफ्नो छायाबाट शोभित हुन्छ। जसले उहाँको लीला आदिको श्रवण, पठन गर्दछ, ऊ उहाँको धाम (गोलोक धाम)मा जान्छ।
यस प्रकार राधारानी श्रीकृष्णको स्वामिनी हुनुहुन्छ।
वेद भन्दछ–
कृष्णेन आराध्यते इति राधा। ऋग्वेदीयराधिकोपनिषत्
अर्थात् अनन्त ब्रह्माण्डात्मक विश्व प्रपञ्च एवं ब्रह्मादि ब्रह्माण्ड नायकहरूका परमाराध्य परब्रह्म श्री कृष्ण पनि श्री राधा तत्त्वको निरन्तर आराधना गर्नुहुन्छ। अतः यस प्रकार राधा तत्त्व सर्वोत्कृष्ट तत्त्व हो भन्ने कुरा निर्विवाद सिद्ध भयो।
अब यहाँले ‘राधे-राधे’को अभिवादनको महत्त्व के हो? या ‘राधे-राधे’को अभिवादन किन गरिन्छ? भन्ने कुरा बुझ्नुभयो होला।