यसअघिको सारांश–

यसअघि हामीले यही चर्चा गर्यौं कि हामी सबै आनन्द चाहन्छौं। हामीमात्र होइन, चराचार जीव सबै सुख नै चाहन्छन्। आनन्दबाहेक यदि कसैले म केही चाहन्छु भन्छ भने, त्यो पनि आनन्दप्राप्तिकै निम्ति हो। यसको बारेमा पनि चर्चा गर्यौं।

वास्तविक सुख कस्तो हुन्छ त? यसको बारेमा चर्चा गर्दै हामीले यही बुझ्यौं कि वास्तविक सुख अनन्त मात्राको, प्रतिक्षण बढ्दै जाने र सँधै रहिरहने स्वभावको हुन्छ। हामी सबै पनि यी तीनवटा लक्षणले युक्त सुख चाहन्छौं– अनन्त मात्राको, प्रतिक्षण बढ्दै जाने र सँधै रहिरहने। तर आजसम्म यसको विपरित स्वभावको सुखको अनुभव गर्यौं। सीमित, घट्दै जाने र समाप्त हुने। वास्तविक सुख के हो? कहाँ छ? जस्ता प्रश्नहरूको समाधान नगरेका कारणले नै हामीले आजसम्म अनेकप्रकारका दुःखहरू भोगिरह्यौं।

आनन्द के हो त? यसको बारेमा वेदशास्त्रद्वारा यही बुझ्यौं कि आनन्द भगवान् नै हुनुहुन्छ। आनन्द र भगवान् पर्यायवाची शब्द हुन्छ। चाहे उहाँलाई हामी राम, कृष्ण भनौं, चाहे आनन्द भनौं। भगवान् नै आनन्द भएकाले भगवान्लाई पाएर नै हामी सुखी हुन सक्छौं। भगवान्लाई कसरी प्राप्त गर्न सकिन्छ त? वेदले बतायो कि भगवान् त सर्वव्यापी हुनुहुन्छ। उहाँ हामीभित्र पनि हुनुहुन्छ। त्यसैले उहाँ पहिले देखि नै हामीलाई प्राप्त हुनुहुन्छ। केवल जाने पुग्छ। अतः भगवान्लाई जान्नासाथ हामी सुखी हुन्छौं। त्यसैले भगवान्लाई जान्नुपर्यो।

भगवान्लाई कसरी जान्न सकिन्छ त? सर्वप्रथम त हामीले यही बुझ्यौं कि केवल मानव देहमा नै भगवान्लाई जान्न सकिन्छ। त्यसो त चौरासी लाख प्रकारका शरीरहरू छन्। तर ती शरीरहरूमध्ये केवल मानव देहमा नै भगवान्लाई जान्न सकिने भएकाले चराचर सबै जीव मानव देह नै चाहन्छन्। स्वर्गका देवताहरूको शरीर पनि भोग योनी हो। त्यसैले स्वर्गमा कर्म गर्न या भनौं भगवान्लाई जान्ने साधना गर्न सकिँदैन। त्यसैले स्वर्गका देवताहरू समेत मानव देह चाहन्छन्। यति दुर्लभ हुँदाहुँदै पनि मानव देहमा एउटा अत्यन्त ठूलो कमजोरी छ। त्यो हो– मानव देह क्षणभङ्गुर छ। क्षणभङ्गुर भन्नाले कुन बेला हामीबाट खोसिन्छ, कसैलाई थाहा छैन। त्यसैले भगवान्लाई जान्नको लागि तुरुन्तै प्रयत्न गर्नुपर्छ।

यहाँसम्म हामीले यसअघि चर्चा गरिसकेका छौं। अब हामी नयाँ विषयवस्तुका बारेमा चर्चा गर्नेछौं। आउनुहोस्, भगवान्लाई जान्नको निम्ति वेदमा जाऊँ। किनकि वेदद्वारा नै भगवान्लाई जान्न सकिन्छ। वेदमा नै बताइएको छ–

नावेदविन्मनुते तं बृहन्तम् । शाट्यायनीयोपनिषद् ४

अर्थात्, वेदबिना कसैले पनि भगवान्लाई जान्न सक्दैन। यसको मतलब वेदद्वारा नै भगवान्लाई जान्न सकिन्छ। ठीक पनि हो। किनकि वेद त अनादि हो। भगवान्को वाणी हो। भगवान्ले वेदलाई प्रकट गर्नभएको हो। त्यसैले भगवान्लाई यदि जान्न सकिन्छ भने वेदद्वारा नै जान्न सकिएला। अतः हामी वेदको सहायताद्वारा नै भगवान्लाई जान्नेछौं। त्यसैले आउनुहोस् वेदमा नै जाऊँ।

१ भगवान् इन्द्रिय–मन–बुद्धिभन्दा पर हुनुहुन्छ।

बताउनुहोस् वेदजी महाराज भगवान्को बारेमा। वेद भन्दछ–

इन्द्रियेभ्यः परा ह्यर्था अर्थेभ्यश्च परं मनः। मनसस्तु परा बुद्धिर्बुद्धेरात्मा महान् परः॥ कठोपनिषद् १–३–१०
महतः परमव्यक्तमव्यक्तात् पुरुषः परः। पुरुषान्न परं किञ्चित् सा काष्ठा सा परा गतिः॥ कठोपनिषद् १–३–११

अर्थात् इन्द्रियभन्दा पर इन्द्रियका विषयहरू छन्, विषयभन्दा पर मन छ, मनभन्दा पर बुद्धि छ, बुद्धिभन्दा पर आत्मा छ, आत्माभन्दा पर माया छ, मायाभन्दा पनि पर भगवान् हुनुहुन्छ। त्यसैले हामी भगवान्लाई जान्न सक्दैनौं। भगवान्लाई त के, हामी आत्मालाई पनि जान्न सक्दैनौं। आत्माभन्दा पर महत्तत्त्व छ, त्यसभन्दा पनि पर अव्यक्त प्रकृति छ। ज्ञानीहरू जसले आत्माको अनुभव गरे, ती आत्मज्ञानीले समेत महान् र प्रकृतिलाई पार पाउन सक्दैनन्। भगवान् त त्यसभन्दा पनि पर हुनुहुन्छ। अतः हामी भगवान्लाई जान्न सक्दैनौं। यहाँ पर भन्नाले दुरीवाला टाढा होइन। जस्तै हामी यो शहरभन्दा त्यो शहर पर भन्छौं नि। यस्तो पर होइन। किनकि यस्तो पर त एकदिन पार पाउन सकिन्छ। हामी हिँडेर वा गाडी चढेर त्यहाँ पुग्न सक्छौं। यहाँ परको अर्थ हो ग्रहण गर्न नसकिने।

दृष्टान्त–

जस्तै, एउटा बालक कामदोषबाट पर छ भन्छौं नि। यसको मतलब उसले अहिले कामको विषयमा जान्न सक्दैन। एउटा बालकलाई बोलाएर सोध्नुहोस्– तिमी आमाको छोरा हौ कि बुबाको। उसले उत्तर दिन सक्दैन। उसलाई दुवैको छोरा हुँ भनेर भन्न लगाइन्छ। उसले कण्ठ पनि पार्न सक्छ कि म आमाको पनि सन्तान हुँ अनि बुबाको पनि सन्तान हुँ। तर कसरी त? थाहा छैन। किनकि ऊ कामदोषभन्द पर छ।

मनमनै उसले सोच्दो हो कि पक्कै एकजनाले झूट बोलिरहेका होलान्। म कसरी दुवैजनाको छोरा हुन सक्छु? अनि अर्को व्यक्तिको छोरा किन होइन? त्यो बालकले यसबारे बिचार गरेर बुझ्न खोज्यो भने यस्तै सोच्न सक्छ। तर अहिले कामरहित भएकाले कामको बारेमा जान्न सक्दैन। म आमाको पनि सन्तान हुँ अनि बुबाको पनि सन्तान हुँ भनेर रट्न सक्छ। रट्नु र जान्नु अलग अलग कुरा हुन्। पछि कामयुक्त भएपछि बल्ल म किन आमाबुबाको सन्तान हुँ भन्ने बुझ्न सक्छ। अहिलेको अवस्थामा सक्दैन।

अस्तु। जसरी कामरहित व्यकतिको निम्ति कामको विषय पर हो। उसले ग्रहण गर्न सक्दैन। त्यसैगरी भगवान् पनि बुद्धिभन्दा पर हुनुहुन्छ। त्यसैले हामी हाम्रो बुद्धिले भगवान्लाई जान्न सक्दैनौं।

यति भन्दैमा हामी मान्दैनौं। किनकि हामीलाई हाम्रो बुद्धिको अहङ्कार छ। कसरी जान्न सकिन्न भन्नुहुन्छ? हामी त हाम्रो बुद्धिद्वारा धेरै कुरा जान्न सक्छौं। दिनदिनै नयाँ कुरा जानिरहेका छौं। नयाँ नयाँ आविष्कारहरू भैरहेका छन्। त्यसैले हामी भगवान्लाई अवश्य जान्न सक्छौं। यस्तै लाग्छ हामीहरूलाई। तर वेद भन्दछ कि भगवान्लाई जान्न सकिँदैन। आखिरी भगवान्लाई किन जान्न सकिँदैन त? वेदले अनेक कारणहरू बताएको छ।

२ भगवान् दिव्य हुनुहुन्छ।

वेद भन्दछ–

दिव्योह्यमूर्तः पुरुषः। मुण्डकोपनिषद् २–१–२
दिव्यो देव एको नारायणः। सुबालोपनिषद् ६–३

अर्थात्, भगवान् दिव्य हुनुहुन्छ। गीतामा पनि भगवान् भन्नुहुन्छ।

जन्मकर्म च मे दिव्यम्। गीता ४–९

अर्थात् उहाँको जन्म पनि दिव्य हुन्छ, कर्म पनि दिव्य हुन्छ। भगवान्को जन्म हामी सबैको जस्तो प्राकृत हुँदैन। प्राकृत जन्म भन्नाले, आमाको शरीरमा पहिले रज र वीर्यको मिश्रणद्वारा शरीर बन्दछ। त्यो शरीर बिस्तारै विकसित हुन्छ। केही समयपछि, त्यसमा जीवात्मा प्रवेश गर्छ। अनि निश्चित समयमा जन्म हुन्छ। भगवान्को जन्म यसप्रकार हुँदैन।

भागवतमा वेदव्यासजीले भगवान्को जन्म कसरी हुन्छ भन्ने बारेमा विस्तृत वर्णन गर्नुभएको छ। भगवान् श्रीकृष्ण देवकी माताको गर्भबाट बाहिर आउनुहुन्न। उहाँ बाहिर नै प्रकट हुनुहुन्छ। साधारण शिशुका माताहरू जस्तै देवकी मातालाई पनि अनुभव हुन्छ। पेट बढ्छ। भित्र बच्चा चलेको पनि आभास हुन्छ। प्रसव वेदना पनि हुन्छ। तर त्यो वायुमात्र हो। भगवान् त सम्पूर्ण श्रृंगार सहित एउछा सुन्दर बालकको रूपमा चतु्र्भुज स्वरूपमा प्रकट हुनुहुन्छ। चारवटा हातमा शङ्ख, गदा, चक्र र कमल लिनुभएको, वक्षःस्थलमा श्रीवत्सको चिह्न, गलामा कौस्तुभमणि, शरीरमा पीताम्बर, कानमा कुण्डल, कमरमा करधनी, पाखुरामा बाजूवंद, हातमा कङ्कण आदि धारण गर्नुभएको स्वरूपमा भगवान् प्रकट हुनुहुन्छ। वसुदेव–देवकीलाई दर्शन दिनुहुन्छ। उहाँहरूले भगवान्को स्तुति गर्नुहुन्छ।

भगवान्ले देवकी र वसुदेवलाई उहाँहरूको पूर्वजन्मको भक्तिको स्मरण गराउनुभयो। स्वायम्भुव मनवन्तरमा उहाँहरू क्रमशः पृश्नि र सुतपा हुनुहुन्थ्यो। उहाँहरूले जुन साधना र भक्ति गर्नुभएको थियो, त्यसको स्मरण गराउनुभयो। त्यही भक्तिको कारणले गर्दा उहाँहरूले यो जन्ममा भगवान्लाई पुत्रको रूपमा प्राप्त गर्नुभयो। यसप्रकार पूर्वजन्मको स्मरण गराइसकेपछि भगवान् बालक स्वरूपबाट एउटा शिशुको रूप धारण गर्नुहुन्छ। त्यसपछि बाललीला गर्ने सङ्कल्प गर्नुहुन्छ। अनि मुस्कुराउनुहुन्छ। पिता वसुदेव र माता देवकीलाई उहाँ भगवान् हुनुहुन्छ भन्ने कुराको विस्मरण गराइदिनुहुन्छ। त्यसपछि रुन शुरु गर्नुहुन्छ। अब बाललीला प्रारम्भ भयो। आनन्दसिंधु भएर पनि संसारी बालक समान रुनुहुन्छ।

यसप्रकार भगवान्को जन्म दिव्य हुन्छ। कतिपय व्यक्तिहरू आमाको गर्भबाट जन्मिने पनि कहीँ भगवान् हुन्छन्? हाम्रा जिसस त कुमारी माताको गर्भबाट जन्मिएका हुन्। भन्दै अनर्गल प्रचार गर्दै हिँडिरहेका छन्। उनीहरूले मान्ने जिसस के हुन्? त्यसको यहाँ चर्चा गर्न आवश्यक छैन। तर भगवान्को जन्मको बारेमा उनीहरूले शास्त्रमा के बताइएको छ भन्ने साधारण जानकारी पनि नलिइकन, हाम्रो धर्मलाई प्रहार गर्ने उद्देश्यले यसप्रकारको प्रचार गर्दै हिँडिरहेका छन् भन्ने सहजै अनुमान गर्न सकिन्छ।

अस्तु। भगवान्को जन्म दिव्य हुन्छ। उहाँको कर्म पनि दिव्य हुन्छ। उहाँको शरीर पनि दिव्य हुन्छ। दिव्य भन्नाले? गीतामा भगवान् भन्नुहुन्छ–

त्रिभिर्गुणमयैर्भावैरेभि: सर्वमिदं जगत्।
मोहितं नाभिजानाति मामेभ्य: परमव्ययम्॥ गीता ७–१३

अर्थात्, यो जगत् तीन गुणले उक्त हुन्छ। जगत् भन्नाले महान, अहंकार, एकादश इन्द्रिय, पञ्चतन्मात्रा, पञ्चमहाभूत यी सबै तत्त्वहरू। यी सबै गुणमयी हुन्छन्। सत्त्व, रज र तम, यी तीनवटा गुण हुन्। तर भगवान् यी तीन गुणभन्दा पर हुनुहुन्छ। अर्थात्, दिव्य हुनुहुन्छ। दिव्य भन्नाले तीन गुणभन्दा पर। हामीसँग भएका इन्द्रिय–मन–बुद्धि त्रिगुणात्मक या मायिक या प्राकृत भएकाले मोहित हुन्छन् र दिव्य भगवान्लाई जान्न सक्दैनन्। त्यसैले हामी प्राकृत इन्द्रियद्वारा दिव्य भगवान्को अनुभव गर्न सक्दैनौं। अवतारकालमा पनि उहाँको वास्तविक स्वरूपलाई हामी प्राकृत आँखाले देख्न सक्दैनौं।

भगवान् राम जनकजीको सभामा जानुभयो। उहाँको वास्तविक स्वरूप जनकजीले देख्नुभयो। तर अन्यले–

जिन्ह कें रही भावना जैसी। प्रभु मूरति तिन्ह देखी तैसी॥ रामचरितमानस १–२४१–२
बिदुषन्ह प्रभु बिराटमय दीसा। बहु मुख कर पग लोचन सीसा॥ रामचरितमानस १–२४२–१

अर्थात्, जसको जस्तो भावना थियो, त्यसले भगवान्को त्यस्तै स्वरूपको दर्शन गर्यो। संसारमा यस्तो हुँदैन। संसारमा १९–२०को फरक पर्न सक्छ। एउटा व्यक्ति कसैलाई सुन्दर लाग्ला, कसैलाई अलिकति कम सुन्दर लाग्ला। तर भगवान् रामलाई एउटाले देखेर भयभीत हुँदै यसको त दशवटा शीर छ भन्यो। अर्कोले तँलाई गन्न आएन बीसवटा शीर छ भन्यो। यस्तो त संसारमा हुँदैन नि। त्यसैले भगवान्को वास्तविक स्वरूपलाई हामी हाम्रा मायिक आँखाले देख्न सक्दैनौं। हामी मायिक आँखाले दिव्य भगवान्लाई किन देख्न सक्दैनौं भन्ने कुरा एउटा दृष्टान्तबाट बुझ्न सक्छौं।

दृष्टान्त–

यदि कसैले आँखाले बन्द गरेर कानले देख्न प्रयेत्न गर्यो भने त्यसलाई मूर्ख भनिन्छ नि। किनकि आँखाको विषय कानले ग्रहण गर्न सकिँदैन। जबकि दुवै दृष्यरूपि विषय र कानरूपि इन्द्रिय मायिक हुन्। यसको मतलब मायिक इन्द्रियद्वारा मायिक विषय पनि ग्रहण हुँदैन भने मायाभन्दा परको दिव्य विषय कसरी ग्रहण हुन सक्छ?

त्यसैले वेद भन्दछ–

न चक्षुषा गृह्यते नापि वाचा नान्यैर्देवैस्तपसा कर्मणा वा। मुण्डकोपनिषद् ३–१–८

अर्थात्, हामी भगवान्लाई हाम्रा प्राकृत आँखाले देख्न सक्दैनौं न वाणीले बताउन सक्छौं, न कुनै कर्म, तपस्याजस्ता साधनद्वारा नै जान्न वा प्राप्त गर्न सक्छौं। भगवान्लाई देख्नको लागि दिव्य आँखा चाहिन्छ। भगवान्को बारेमा सोच्नको लागि दिव्य मन चाहिन्छ। भगवान्लाई जान्नको लागि दिव्य बुद्धि चाहिन्छ। दिव्य भन्नाले भगवान्वाला। अतः वेद भन्दछ–

यस्माद्वाचो निवर्तन्ते अप्राप्य मनसा सह। तेजोविन्दूपनिषद् १–२०

अर्थात्, हाम्रो शब्द र मन भगवान्को क्षेत्रमा जान सक्दैन। प्राकृत शब्दद्वारा दिव्य भगवान्को वर्णन कसले गर्न सक्छ? यदि भगवान्ले नै दिव्य वाणीद्वारा वर्णन गर्नुभयो भने पनि हाम्रा इन्द्रिय त मायिक छन्। कसरी ग्रहण गर्न मिल्छ?

दृष्टान्त–

एउटा भँवराले मानव जगतको विषयको वर्णन फूललाई कसरी गर्न सक्छ? बिचारा भँवरासँग एउटा भुन्भुन् आवाजमात्र छ। हाम्रो जस्तो अनेक अक्षर र स्वरहरू छैन। त्यो एउटा आवाज पनि फूलले सुन्न सक्दैन। त्यसैले फूललाई केही कुरा बताउनुपर्यो भने केवल स्पर्शद्वारा प्रयन्त गर्न सक्ला। तर के यसप्रकार मनुष्य जगतको विषयको वर्णन भँवराले फूललाई गराउन सक्छ? मानिसले नै चाह्यो भने पनि फूललाई कसरी मानव जगतको विषय वर्णन गर्न सक्छ? सक्दैन नि।

तर फूलले मानव जगतको विषय बुझ्यो रे! यो असम्भव कुरा पनि भयो रे भनेर मान्न सकिन्छ। किनकि मानव जगतको विषय र त्यो विषय जेलाई बुझाउन खोजिएको हो– फूल, यी दुवै मायिक हुन्। तर दिव्य भगवान्को बारेमा मायिक इन्द्रिय–मन–बुद्धिले जान्न सक्दैन।

३ भगवान् अनन्त विरोधी धर्महरूको अधिष्ठान हुनुहुन्छ।

यसबाहेक पनि भगवान् जान्न नसकिने अर्को एउटा कारण छ। त्यो के हो त? भगवान् अनन्त विरोधीको अधिष्ठान हुनुहुन्छ। अर्थात्, भगवान्मा अनन्त विरोधी धर्महरू पाइन्छन्। विरोधी धर्म भन्नाले जस्तै दिन र रात विरोधी धर्म हुन्।

दृष्टान्त–

ब्रह्मचर्य र विषयभोग विरोधी धर्म हुन्। यदि कोही ब्रह्मचारी छ भने विषयभोगी हुन सक्दैन, विषयभोगी छ भने ब्रह्मचारी हुन सक्दैन। कसैले म त दिनमा तेइस घन्टा ब्रह्मचर्यमा रहन्छु, एकघन्टा मात्र विषयभोग गर्छु भन्यो भने उसलाई ब्रह्मचारी भन्न सकिँदैन। ब्रह्मचारीको मतलब हो अखण्ड ब्रह्मचारी।

यसप्रकार हाम्रो अनुभवमा यही छ कि विरोधी धर्महरू साथसाथै रहन सक्दैनन्। तर भगावन्को सम्दर्भमा विरोधी धर्महरू एकसाथ रहन्छन्। अर्थात्, भगवान् अनन्त विषयभोगी पनि हुनुहुन्छ र साथसाथै अखण्ड ब्रह्मचारी पनि हुनुहुन्छ। भगवान् यस्ता एउटा दुईवटा होइन, अनन्त विरोधी धर्महरूको अधिष्ठान हुनुहुन्छ । अतः हामी भगवान्लाई जान्न सक्दैनौं। किनकि हामीलाई त्यसको अनुभव छैन। संसारमा त्यस्तो हुँदैन।

३.१ भगवान् सानोभन्दा सानो हुनुहुन्छ, ठूलोभन्दा ठूलो हुनुहुन्छ।

जस्तै हेर्नुहोस्। वेद भन्दछ–

अणोरणीयान्महतो महीयान्। कठोपनिषद् १–२–२०

अर्थात्, भगवान् सानोभन्दा पनि सानो हुनुहुन्छ। ठीकै छ त। संसारमा पनि कैयौं यस्ता बस्तुहरू छन् जुन अत्यन्त सूक्ष्म हुन्छन्। जस्तै– इलेक्ट्रोन, प्रोटोन आदि। त्यसैगरी भगवान् सबैभन्दा सानो हुनुहुन्छ। यसमा आश्चर्य मान्नुपर्ने कुरा के नै छ र? यदि यतिमात्र भएको भए आश्चर्य मान्नुपर्ने थिएन। यति बताएर तुरुन्तै वेदले यही मन्त्रमा बतायो कि भगवान् ठूलोभन्दा पनि ठूलो हुनुहुन्छ।

सानोभन्दा पनि सानो हुनुहुन्छ र ठूलोभन्दा पनि ठूलो हुनुहुन्छ। एकैसाथ। यो हो आश्चर्यको कुरा।

यसप्रकार भगवान्को बारेमा शास्त्रमा दुवै थरी कुरा गरिएको छ। भगवान् सानोभन्दा सानो हुनुहुन्छ, साथसाथै ठूलोभन्दा पनि ठूलो हुनुहुन्छ। वेदव्यासजी भन्नुहुन्छ–

अणोरणिम्नेऽपरिगण्यधाम्ने महानुभावाय नमो नमस्ते॥ भागवत ८–६–८

वेद पनि भन्दछ–

यस्मात् परं नापरमस्ति किंचिद् यस्मान्नाणीयो न ज्यायोऽस्ति कश्चित्। श्वेताश्वतरोपनिषद् ३–९

अर्थात्, भगवान् अणुभन्दा पनि सानो हुनुहुन्छ। साथै महान्भन्दा पनि महान् हुनुहुन्छ। अणुभन्दा पनि सानो यसकारण हुनुहुन्छ किनकि भगवान् सर्वव्यापक हुनुहुन्छ। परमाणुभन्दा पनि सानो हुनुभएन भने परमाणुमा कसरी व्याप्त हुन सक्नुहुन्छ? त्यसैले भगवान् यदि सानोभन्दा पनि सानो हुनुभएन भने सर्वव्यापक हुन सक्नुहुन्न। त्यसैगरी ठूलोभन्दा पनि ठूलो हुनुभएन भने समस्त विश्वलाई महाप्रलयको समयमा आँफूमा लीन गराउनु सक्नुहुन्न। त्यसैले भगवान् दुवै हुनुहुन्छ। अब वेदले भगवान्को बारेमा तेस्रो पनि कुरा गरेको छ। वेद भन्दछ–

नेति नेत्यस्थूलमनणुः। वेद

अर्थात्, भगावन् न त सानो हुनुहुन्छ न त ठूलो हुनुहुन्छ। यदि कसैले भगवान् सानोभन्दा सानो हुनुहुन्छ भन्ने बुझ्यो भने तुरुन्तै वेदले बतायो कि भगावन् ठूलोभन्दा पनि ठूलो हुनुहुन्छ। यो दुवै विरोधी अवस्था पनि यदि कसैले बुझ्यो भने तुरुन्तै वेद भन्दछ कि भगवान् न त सानो हुनुहुन्छ, न ठूलो नै हुनुहुन्छ। अब यी तीनैवटा कुरा एकसाथ कसैमा भएको हामी कसरी बुझ्न सक्छौं?
त्यसैले भगवान् विरोधी धर्महरूको अधिष्ठान भएकाले हामी भगवान्लाई जान्न सक्दैनौं।

३.२ भगवान् टाढाभन्दा टाढा हुनुहुन्छ, नजिकभन्दा नजिक हुनुहुन्छ।

यसैगरी वेद भन्दछ–

तदेजति तन्नैजति तद्दूरे तद्वन्तिके।
तदन्तरस्य सर्वस्य तदु सर्वस्यास्य बाह्यतः॥ ईशावास्योपनिषद् ५

अर्थात् भगवान् चल्नुहुन्छ तर चल्नुहुँदैन पनि। टाढाभन्दा टाढा हुनुहुन्छ, तर नजिकभन्दा नजिक हुनुहुन्छ। भगवान् सबैभित्र हुनुहुन्छ तर सबै बाहिर पनि हुनुहुन्छ। त्यसैले भगवान्लाई कसैले जान्न सक्दैन।

३.३ भगवान् धर्म–अधर्म, भूत, वर्तमान र भविष्यभन्दा पर हुनुहुन्छ।

वेद भन्दछ–

अन्यत्र धर्मादन्यत्राधर्मादन्यत्रास्मात्कृताकृतात्। अन्यत्र भूताच्च भव्याच्च यत्तत्पश्यसि तद्वद॥ कठोपनिषद् १–२–१४


अर्थात्, भगवान् धर्मभन्दा पनि पर हुनुहुन्छ, अधर्मभन्दा पनि पर हुनुहुन्छ। उहाँलाई न त पापले छुन सक्छ, न त पुण्यले नै छुन सक्छ। भगवान् राम्रो र नराम्रोभन्दा पर हुनुहुन्छ। उहाँ सृष्टिभन्दा पनि पर हुनुहुन्छ र सृष्टिको सूक्ष्म कारणभन्दा पनि पर हुनुहुन्छ। उहाँ भूत, वर्तमान र भविष्यभन्दा पनि पर हुनुहुन्छ।

३.४ भगवान् अजन्मा हुनुहुन्छ तर उहाँका अनन्त जन्म भएका छन्।

वेद भन्दछ–

अजायमानो बहुधा विजायते, तस्य योनिं परिपश्यन्ति धीराः॥ यजुर्वेद ३१–१९

अर्थात् भगवान्को जन्म हुँदैन। तर यही वेदमन्त्रले यो पनि भन्दछ कि भगवान्का अनन्त जन्म हुन्छन्। विरोधी कुराहरू एकसाथ। अजन्माको जन्म कसरी हुन सक्छ? अनि अनन्त जन्म भएर पनि अजन्मा कसरी हुन सक्छ? हामी बुझ्न सक्दैनौं।

३.५ भगवान्का इन्द्रिय छैनन् तर इन्द्रियका विषयहरूको भोग गर्नुहुन्छ।

त्यसैगरी वेद भन्दछ–

सर्वेन्द्रियगुणाभासं सर्वेन्द्रियविवर्जितम्। सर्वस्य प्रभुमीशानं सर्वस्य शरणं बृहत्। श्वेताश्वतरोपनिषद् ३–१७

अर्थात्, भगवान् इन्द्रियहरू रहित हुनुहुन्छ। कसैले भन्न सक्छ कि यसमा के कमाल छ र? संसारमा पनि कैयौं व्यक्तिहरूको आँखा, कान, हुँदैन। तर भगवान्को सन्दर्भमा एउटा कमाल छ। त्यो के हो भने भगवान्का कुनै पनि इन्द्रियहरू छैनन् तर सबै इन्द्रियहरूको विषय ग्रहण गर्नुहुन्छ। अर्थात्, आँखा छैन तर देख्नुहुन्छ। अन्य इन्द्रियहरूका विषयहरूको पनि यही अवस्था छ।

दृष्टान्त–

एउटा कार्यक्रममा कुनै व्यक्तिलाई अगाडि बोलाएर उसको परिचय दिने क्रममा उद्घोषकले उहाँ अन्धो हुनुहुन्छ तर देख्न सक्नुहुन्छ भन्यो भने हामी उद्घोषक त पागल रहेछ भन्छौं नि। किनकि अन्धो व्यक्तिले देख्न सक्दैन।

तर भगवान् अन्धो पनि हुनुहुन्छ र देख्न पनि सक्नुहुन्छ। वेद भन्दछ–

अपाणिपादो जवनो ग्रहीता पश्यत्यचक्षुः स शृणोत्यकर्णः। स वेत्ति वेद्यं न त तस्यास्ति वेत्ता तमाहुरग्र्यं पुरुषं महान्तम्॥ श्वेताश्वतरोपनिषद् ३–१९

यसको अनुवाद तुलसीदासजी महाराजले गर्नुभएको छ। तुलसीदासजी महाराज भन्नुहुन्छ–

बिनु पद चलइ सुनइ बिनु काना। कर बिनु करम करइ बिधि नाना॥
आनन रहित सकल रस भोगी। बिनु बानी बकता बड़ जोगी॥
तनु बिनु परस नयन बिनु देखा। ग्रहइ घ्रान बिनु बास असेषा॥
असि सब भाँति अलौकिक करनी। महिमा जासु जाइ नहिं बरनी॥ रामचरितमानस

गोडा छैनन् तर हिँड्नुहुन्छ। हात छैन तर अनेक काम गर्नुहुन्छ। जिब्रो छैन तर सबै रसको भोग गर्नुहुन्छ। बाणी छैन तर बक्ता हुनुहुन्छ। शरीर, छाला छैन तर स्पर्श गर्नुहुन्छ, आँखा छैन तर देख्नुहुन्छ। नाक, घ्राण छैन तर सुँध्नुहुन्छ। यही कुरा भगवान् गीतामा पनि भगवान् भन्नुहुन्छ। यथा–

सर्वेन्द्रियगुणाभासं सर्वेन्द्रियविवर्जितम्। गीता १३–१४

यसप्रकार भगवान्का अलौकिक कार्यहरू हुन्छन्। हामी बुझ्न सक्दैनौं। अझ आश्चर्यको कुरा सुन्नुहोस्। वेद भन्दछ–

सहस्रशीर्षा पुरुषः सहस्राक्षः सहस्रपात्। स भूमिꣳसर्वतस्पृत्वात्यतिष्ठद्दशाङ्गुलम्॥ पुरुष शुक्त १

एकातिर वेदशास्त्रले यही बताएका थिए कि भगवान्का इन्द्रिय छैनन् तर सबै विषयभोग गर्नुहुन्छ, हामी यही नै बुझ्न सकिरहेका थिएनौं, तुरुन्तै वेदशास्त्र भन्दछन् कि भगवान्का असङ्ख्य शीर, आँखा, हात, चरण आदि छन्। अब हामी भगवान्लाई के भनेर बुझ्ने? आँखा छैन, देख्नुहुन्न भनेको भए भगवान् अन्धो हुनुहुँदो रहेछ भनेर बुझ्थ्यौं होला। तर अन्धो भन्न मिलेन किनकि देख्नुहुन्छ। साथसाथै आँखा छैन पनि अनि अनन्त आँखाहरू छन्। अब के भन्ने? यस्तै समस्या सबै इन्द्रियहरूमा छ।

३.६ भगवान् कर्ता पनि हुनुहुन्छ, अकर्ता पनि हुनुहुन्छ।

भगवान् सृष्टिकर्ता हुनुहुन्छ। वेद भन्दछ–

सोऽकामयत। बहुस्यां प्रजायेयेति। स तपोऽतप्यत। स तपस्तप्त्वा इदꣳ सर्वमसृजत, यदिदं किञ्च। तत्सृष्ट्वा तदेवानुप्राविशत्। तदनुप्रविश्य सच्च त्यच्चाभवत्। निरुक्तं चानिरुक्तं च। निलयनं चानिलयनं च। विज्ञानं चाविज्ञानं च। सत्यं चानृतं च सत्यमभवत्। यदिदं किञ्च। तत्सत्यमित्याचक्षते। तदप्येषश्लोको भवति॥ तैत्तिरीयोपनिषद् २–६

अर्थात्, भगवान्ले सृष्टिको कामना गर्नुभयो। सङ्कल्प गर्नुभयो। सङ्कल्प गर्नासाथ सृष्टि भयो। यसको मतलब भगवान्ले सृष्टि गर्नुभयो। हामीले भगवान्को परिभाषाको क्रममा नै चर्चा गरिसक्यौं कि भगवान्ले यो जगतको सृष्टि गर्नुहुन्छ। अतः उहाँ सृष्टिकर्ता हुनुहुन्छ। सृष्टि गरिसकेपछि, त्यसमा प्रविष्ट हुनुहुन्छ। त्यतिमात्र होइन। प्रत्येक जीवभित्र बसेर त्यो जीवको अनन्त जन्मको प्रत्येक कर्मको हिसाब राख्ने र फल प्रदान गर्ने गर्नुहुन्छ। यथा–

एको देवः सर्वभूतेषु गूढः सर्वव्यापी सर्वभूतान्तरात्मा। कर्माध्यक्षः सर्वभूताधिवासः साक्षी चेता केवलो निर्गुणश्च॥ श्वेताश्वतरोपनिषद् ६–११

अर्थात्, भगवान् प्रत्येक आत्मामा परमात्माको रूपमा रहेर उसको अनन्त जन्मको कर्मको साक्षी बस्नुहुन्छ, हिसाब राख्नुहुन्छ। निश्चित देश, काल र परिस्थितिमा कर्मको उचित फल पनि प्रदान गर्नुहुन्छ। पुनः भगवान् स्वयं भन्नुहुन्छ–

अनन्याश्चिन्तयन्तो मां ये जना: पर्युपासते।
तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहम्॥ गीता ९–२२

अर्थात्, भगवान् भक्तको योगक्षेम वहन गर्नुहुन्छ। योगक्षेम वहन भन्नाले भक्तसँग जे छ, त्यसको रक्षा गर्नुहुन्छ अनि जे छैन त्यो प्रदान गर्नुहुन्छ।

यसप्रकार भगवान् कर्ता हुनुहुन्छ। उहाँ अनन्त कार्य गर्नुहुन्छ। तर वेद भन्दछ–

ज्ञाज्ञौ द्वावजावीशनीशावजा ह्येका भोक्तृभोग्यार्थयुक्ता।
अनन्तश्चात्मा विश्वरूपो ह्यकर्ता त्रयं यदा विन्दते ब्रह्ममेतत्॥ श्वेताश्वतरोपनिषद् १–९

अर्थात् भगवान् अकर्ता हुनुहुन्छ। वेदव्यासजी पनि भन्नुहुन्छ–

न विद्यते यस्य च जन्म कर्म वा न नामरूपे गुणदोष एव वा। भागवत ८–३–८

अर्थात्, भगवान्को कर्म हुँदैन। उहाँले केही पनि गर्नुहुन्छ। भगवान् कर्ता हुनुहुन्छ भने अकर्ता कसरी हुनुहुन्छ? अकर्ता हुनुहुन्छ भने कर्ता कसरी हुनुहुन्छ?

ब्रह्माजी, विष्णुजी, शङ्करजी समेत भगवान्लाई जान्न सक्नुहुन्न।

यसप्रकार अनन्त विरोधी धर्महरू भगवान्मा एकसाथ हुने भएको हुँदा भगवान्लाई कसैले पनि जान्न सक्दैन। हामी त के, तुलसीदासजी महाराज भन्नुहुन्छ–

राम सरुप तुम्हार बचन अगोचर बुद्धिपर। अबिगत अकथ अपार नेति नित निगम कह॥
जगु पेखन तुम्ह देखनिहारे। बिधि हरि संभु नचावनिहारे॥
तेउ न जानहिं मरमु तुम्हारा। औरु तुम्हहि को जाननिहारा॥
राम अतर्क्य बुद्धि मन बानी। मत हमार अस सुनहि सयानी॥ रामचरितमानस

अर्थात्, भगवान् रामलाई ब्रह्मा, विष्णु, शङ्करसमेत जान्न सक्दैनन्। उहाँ सर्वथा मन–बुद्धिभन्दा पर हुनुहुन्छ।

अब आँफै बिचार गर्नुहोस्। जब ब्रह्मा, विष्णु, शङ्करसमेत भगवान्लाई जान्न सक्नुहुन्न भने हामी बिचारा कसरी जान्न सक्छौं र? त्यसैले त वेद भन्दछ–

स वेत्ति वेद्यं न त तस्यास्ति वेत्ता तमाहुरग्र्यं पुरुषं महान्तम् । श्वेताश्वतरोपनिषद् ३–१९

अर्थात्, भगवान् सबै जान्नुहुन्छ, तर उहाँलाई कसैले पनि जान्न सक्दैन। तर हामीलाई त उहाँलाई जान्नु नै छ किनकि वेद भन्दछ–

तं ज्ञात्वाऽमृता भवन्ति। श्वेताश्वतरोपनिषद् ३–७
तमेव विदित्वाति मृत्युमेति नान्यः पन्था विद्यतेऽयनाय। श्वेताश्वतरोपनिषद् ३–८

अर्थात्, भगवान्लाई जानेर नै जीवले आनन्द प्राप्त गर्छ। अरू कुनै उपाय छैन। अब एकातिर त वेदले चिच्याइचिच्याइ यही बताएका छन् कि भगवान्लाई जान्नैपर्छ। अर्कोतिर वेदशास्त्रले नै बताएका छन् कि भगवान् जान्न सकिने तत्त्व नै होइन। फेरि यसको समाधान कसरी हुन्छ त?

त्यसैले अब यसको समाधान गर्नुछ। जय श्री राधे!