यसअघिको सारांश–
यसअघि ‘म के चाहन्छु?’को बारेमा चर्चा गर्ने क्रममा हामीले यही बुझ्यौं कि विश्वका प्रत्येक जीव केवल आनन्द नै चाहन्छन्। विभिन्न व्यक्तिहरूले विभिन्न प्रकारका कार्य गरेको देखिएता पनि ती सबै कार्यहरूको अन्तिम प्रयोजन आनन्द प्राप्त गर्नु नै हो।
संसारमा कुनै दुई कुराहरू मेल खाँदैनन्। तर हरेक व्यक्ति कसैले नपढाइकन नसिकाइकन स्वाभाविक रूपमा केवल आनन्द नै चाहन्छ। त्यही आनन्दप्राप्ति कै निम्ति प्रत्येक कर्म गर्दछ। त्यो आनन्द कस्तो हुन्छ? हामीले चर्चा गरिसक्यौं कि हामीले चाहने आनन्दको तीनवटा प्रमुख लक्षणहरू हुन्छन्। अनन्त मात्राको…यो पहिलो लक्षण। अर्थात् हामी अनन्त मात्राको सुख चाहन्छौं। प्रतिक्षण बढ्दै जाने….यो दोस्रो लक्षण। त्यसैगरी सँधै रहिरहोस्…यो तेस्रो लक्षण। हामी सबै अनन्त मात्राको प्रतिक्षण बढ्दै जाने र सँधै रहिरहने आनन्द चाहन्छौं।
तर आजसम्म हामीले पाएका, अनुभव गरेका सुख यसको ठीक विपरित स्वभावका छन्। हामीले अहिलेसम्म सीमित, घट्दै जाने र समाप्त हुने खालको सुख प्राप्त गर्यौं। वास्तविक सुख के हो र कहाँ छ? यही नजानेको कारणले गर्दा नै अनादिकालदेखि सुखप्राप्तिकै निम्ति प्रत्येक कर्म गरेता पनि आजसम्म पनि सुखको लवलेश प्राप्त हुन सकेन। सुखको सट्टा हामीलाई बारम्बार अनेक प्रकारका दुःखहरू नै प्राप्त भयो– शारीरिक दुःख, मानसिक दुःख, आधिभौतिक दुःख र आधिदैविक दुःख। यी दुःखहरूका बारेमा पनि हामीले चर्चा गरिसक्यौं।
आनन्द के हो? यसको समाधान पनि हामीले गरिसक्यौं। त्यसक्रममा वेदशास्त्रले यही बतायो कि भगवान् नै आनन्द हुनुहुन्छ। चाहे हामी भगवान् भनौं, चाहे आनन्द भनौं। एउटै कुरा हो। भगवान् नै आनन्द भएकाले भगवान्लाई प्राप्त गरेर नै हामी सुखी हुन सक्छौं।
हामी आनन्दसिंधु भगवान्को अंश भएको कारणले गर्दा निरन्तर आनन्द नै चाहन्छौं। यो हाम्रो बाध्यता हो। अनि भगवान् नै आनन्द भएकाले भगवान्लाई पाएर नै सुखी हुन सक्छौं। यो परम सत्य हो। भगवान्लाई प्राप्त नगरी संसारी विषय वा भोग प्राप्त गरेर त्यो अनन्त सुख कदापि मिल्दैन।
त्यसैले भगवान्लाई प्राप्त गर्नुछ। कसरी प्राप्त गर्ने त? वेदशास्त्रले यही बताए कि भगवान्लाई प्राप्त गर्ने एकमात्र उपाय भनेको भगवान्लाई जानेर नै हो। भगवान् हामीसँगै हुनुहुन्छ। हामीभित्र हुनुहुन्छ, बाहिर हुनुहुन्छ, सर्वव्यापी हुनुहुन्छ। त्यसैले जसरी खल्तीमा एउटा पारसमणि भएको व्यक्तिले पारस मणि प्राप्त गर्नेको लागि केही पनि गर्नुपर्दैन, केवल जाने पुग्छ, त्यसैगरी हामीसँग भगवान् पहिल्यैदेखि भएकाले केवल जाने पुग्छ। जान्नासाथ भगवान्लाई प्राप्त गरिन्छ। भगवान्लाई प्राप्त गर्नासाथ हामी सदाका लागि सुखी हुनेछौं।
मानव देहको महत्त्व–
अस्तु। भगवान्लाई जान्नुछ। यहाँसम्म हामीले यसअघि चर्चा गरिसकेका छौं। अब नयाँ विषय सम्झाउन जाँदैछु। कृपया सावधान हुनुहोला।
दृष्टान्त–
एकजना गरिब व्यक्तिले सँधै भगवान्सँग हे प्रभु! मलाई धनी बनाइदिनुहोस् भन्दै प्रार्थना गर्थ्यो। एकदिन साँझपख भगवान्ले एउटा साधुको भेषमा आएर उसलाई पारस मणि दिनुभयो र त्यसको महत्त्व पनि बताइदिनुभयो। साथमा यो पनि बताउनुभयो कि म कुनै पनि बेला आएर यसलाई फिर्ता लिन सक्छु। रात परिसकेको थियो। त्यो व्यक्तिले सोच्यो कि भोलि यो पारसको उपयोग गरेर म धनी बन्नेछु। यही सोचेर ऊ सुत्यो।
भोलिपल्ट बिहानै उसको साथी आएर मेरो घरमा मरिमराउ पर्यो मद्दत गर्न लिन आएको भन्यो। उसलाई कसरी भनोस् कि आज पारसको उपयोग गरेर धनी बन्नुछ भनेर। मसँग पारस छ भनेर अरूलाई बताउन त भएन। पारसको उपयोग पछि गरूँला भन्ने सोच्दै ऊ केही नभनि साथीकोमा गयो। तर त्यहाँ दिनभरि नै अलमल भयो। राति घर फर्किएपछि उसले सोच्यो कि भोलि त म पक्कै धनी हुनेछु।
भोलिपल्ट बिहान हन्हन्ती ज्वरो आएर ऊ ओछ्यानबाट उठ्नै सकेन। अरूलाई दिएर फलाम किन्न लगाएर पारसले सुन बनाउँ कि भन्ने पनि सोच्यो। तर अरूलाई दियोभने तर उनिहरूले पासर चोरीदेलान् या उनीहरूकै निम्ति सुन बनाउलान्। त्यसैले उसले सोच्यो कि केही छैन। भोलि गरुँला। तर भोलि बिहान अचानक ती साधु त्यही व्यक्तिको घरमा पुगेर पारस फिर्ता माग्नुभयो। साधुरुपी भगवान्ले भन्नुभयो, मैले तेरो प्रार्थना सुनेर तँलाई एउटा यस्तो अवसर दिएको थिएँ, जुन अवसरको सदुपयोग तैँले गरेको भए, तँ धनी हुने थिइस्।
आफूले पाएको दुर्लभ अवसरको सदुपयोग नगरेको भएर त्यो व्यक्तिले अत्यन्त पश्चाताप गर्यो।
ठीक यही अवस्था हाम्रो पनि छ। हामीलाई पनि यस्तै दुर्लभ अवसर प्राप्त छ। यदि यो अवसरको सदुपयोग गर्यौं भने हामीले भगवान्लाई जानेर सदाको लागि दुःखबाट छुटकारा र अनन्त आनन्द प्राप्त गर्न सक्छौं। त्यो दुर्लभ अवसरको नाम हो मानव देह।
शास्त्र भन्दछ–
न मानुषं विनान्यत्र तत्त्वज्ञानन्तु लभ्यते ॥ गरुडपुराण २–४९–१३
अर्थात् केवल मनुष्य देहमा नै तत्त्वज्ञान प्राप्त हुन सक्छ। अनन्त आनन्द के हो र कसरी प्राप्त गर्न सकिन्छ भन्ने ज्ञान पाउन सकिन्छ। भगवान्लाई जान्नको निम्ति जुन तत्त्वज्ञान चाहिन्छ, त्यो केवल मनुष्यदेहमा नै सम्भव हुन सक्छ। मनुष्य बाहेक अन्य पशुपंक्षी आदिको त बुद्धि नै हुँदैन। उनीहरूले कसरी ज्ञान प्राप्त गर्न सक्छन् र? त्यसैले यो मानव देह विशेष छ। विभिन्न योनीहरूमा करोडौंपटक जन्म लिँदै, मर्दै, अनेक प्रकारका दुःखहरू सहँदै गएर धेरै पछि कुनै जीवलाई यो मानव देह मिल्छ। त्यसैले शास्त्र भन्दछ, यही मानव देहमा भगवान्लाई जानीहाल। यदि कसैले जान्ने प्रयत्न गरेन भने, उसको निम्ति वेदव्यासजी भन्नुहुन्छ–
न वेत्त्यात्महितं यस्तु स भवेद्ब्रह्मघातकः॥ गरुडपुराण २–४९–१६
अर्थात् यदि कसैले यही मानव देहमा नै भगवान्लाई जानेन भने, ऊ ब्रह्महत्यारा समान पापी हो। योभन्दा ठूलो पाप अरू केही हुनै सक्दैन। हामी विभिन्न पापको कुरा गर्छौं नि। भगवान्लाई नजान्नु समान अन्य कुनै पनि पाप छैन। यदि मनुष्य देह पाएर पनि कसैले भगवान्लाई जान्ने प्रयत्न गरेन भने उसलाई निकै ठूलो घाटा लाग्छ। भागवतमा स्वयं भगवान् भन्नुहुन्छ–
लब्ध्वेह मानुषीं योनिं ज्ञानविज्ञानसम्भवाम्। आत्मानं यो न बुद्ध्येत न क्वचिच्छममाप्नुयात् ॥ भागवत ६–१६–५८
अर्थात्, यदि मनुष्य जीवन पाएर पनि कसैले भगवान्लाई जानेन भने उसलाई अन्य कुनै पनि योनीमा शान्ति मिल्दैन। किनकि मानव देह ज्ञान र विज्ञानको मूल स्रोत हो। यसको मतलब के हो भने केवल मानव देहमा नै भगवान्लाई जान्न सकिन्छ। अन्य शरीरमा भगवान्लाई जान्न सम्भव नै छैन। त्यसैले वेद भन्दछ–
इहचेदवेदीदथसत्यमस्ति न चेदिहावेदीन् महती विनष्टिः। केनोपनिषद् २–५
अर्थात्, यदि मानव देह पाएर कसैले भगवान्लाई जानेन भने महान हानि हुन्छ। के हानि हुन्छ? वेदले नै बताएको छ–
इहचेदशकद्बोद्धुं प्राक्शरीरस्य विस्रसः। ततः सर्गेषु लोकेषु शरीरत्वाय कल्पते॥ कठोपनिषद् २–३–४
यदि कसैले यो मानव देह रहँदारहँदै भगवान्लाई जानेन भने मानव देह छुटेपछि हजारौं कल्प हीन योनीहरूमा अत्यन्त दुःख भोग्दै भट्किनुपर्छ। कल्प भनेको ब्रह्माजीको एक दिन, अर्थात्, चार अरब बत्तीस करोड बर्ष। यस्ता हजारौं कल्प। यो त बुझाउनको लागि मात्रै हो। हजार कल्प बितेपछि पनि मानव देह मिल्छ, यसको कुनै ग्यारेन्टी छैन।
केही व्यक्ति यही सोच्छन् कि मरेपछि एकपटक चौरासी लाख योनीमा चक्कर लगाएपछि तुरुन्तै मानव देह मिल्छ। तर यसो होइन। हामीले वेदबाट बुझिसक्यौं। कतिपय त अझ मर्नासाथ मानव नै हुन्छौं भन्ने भ्रम छ। एउटा सम्प्रदाय नै छ। उनीहरूको तर्क यही हो कि कुकुरबाट बिरालो जन्मिएको देखिँदैन। जसरी परेवाबाट परेवा नै जन्मिन्छ, त्यसैगरी मनुष्य पनि मरेपछि फेरि मनुष्य भएर नै जन्मिन्छ। यो गलत तर्क हो। शरीर र आत्माको बीचमा भेद छ भन्ने नबुझ्नेले यस्तो कुरा गर्न सक्छ।
मनुष्य शरीर कती दुर्लभ छ–
कथा–
एकपटक बुद्ध भगवान्ले उहाँका शिष्य आनन्दलाई सोध्नुभयो। तिमी मानव देह पाएकोमा कति खुशी छौ? आनन्दले भने कि गुरुदेव खुशी छु, सौभाग्यशाली महसुस गरिरहेको छु। उनको शब्दमा कुनै पनि भावना थिएन। भित्रि आवाज थिएन। किनकि उनले विषयलाई गम्भीरताका साथ लिएनन्। केवल बाहिरबाट वाणीले खुशी छु भनेका थिए।
बुद्ध भगवान्ले उनलाई एउटा प्रश्न सोध्नुभयो। आनन्द! मानिलेउ कि एउटा समुद्रको पीँधमा कछुवा छ। त्यो कछुवा सय वर्षमा एकपटक सास फेर्नको लागि सतहमा आउँछ। त्यो समुद्रको सतहमा एउटा काठको टुक्रा छ जसको बीचमा एउटा प्वाल छ। सयवर्ष पछि त्यो कछुवा सास फेर्न सतहमा आउँदा त्यो कछुवाको गर्धन त्यो काठको प्वालमा फँस्ने सम्भावना कति हुन्छ?
बुद्ध भगवान्को प्रश्न सुनेर आनन्दले गम्भीर भएर बिचार गर्न लागे। समुद्रमा छालले काठ बगाएर कहाँ पुर्याउँछ कहाँ। त्यसैले सय वर्षपछि त्यो कछुवा सास फेर्न सतहमा आउँदा उसको गर्धन त्यो काठमा भएको प्वालमा फँस्ने सम्भावना नै छैन। त्यसैले आनन्दले भने कि प्रभु! यो त असम्भव छ।
के वास्तवमा नै असम्भव छ र? बुद्ध भगवान्ले फेरि प्रश्न सोध्नुभयो। आनन्दले फेरि गम्भीर भएर सोचे। निकै बेर सोचेपछि भने कि प्रभु! यदि त्यो कछुवा अमर हो र काठ पनि कुहिएन भने, हुन सक्छ कि अरबौं अरब बर्षमा यस्तो संयोग बन्न सक्छ। कि त्यो कछुवा सास फेर्न सतहमा आएको होस्। ठीक त्यही बेला संयोगवश समुद्रको छालले त्यो काठको टुक्रा बगाउँदै त्यहीँ पुर्याओस्। यसप्रकार संभव छ। तर अन्यन्त दुर्लभ संभावना छ। बुद्ध भगावान्ले भन्नुभयो– आनन्द! मनुष्य जीवन पाउन त्योभन्दा पनि दुर्लभ छ। यो सुन्नासाथ आनन्द खुशीले विभोर भए। नाच्न थाले। उनलाई बल्ल मलाई यति दुर्लभ मानव देह मिलेको छ भन्ने कुराको बोध भयो।
४,३२,००० वर्षको कलियुग, यसको दुईगुना अर्थात् ८,६४,००० वर्षको द्वापरयुग, कलियुगको तीनगुना अर्थात् १२,९६,००० वर्षको त्रेतायुग एवं कलियुगको चारगुना अर्थात् १७,२८,००० वर्षको सत्ययुग हुन्छ। चारै युग मिलाउँदा ४३ लाख २० हजार वर्ष हुन जान्छ, जसलाई चतुर्युग भनिन्छ। एक हजार चतुर्युग बित्दा ब्रह्माजीको एक दिन बित्छ जसलाई कल्प भनिन्छ। यसरी एक कल्प बराबर चार अरब बत्तिस करोड वर्ष हुन्छ। त्यसपछि त्यति नै लामो ब्रह्माजीको रात्रि हुन्छ। यसप्रकार ब्रह्माजीको पूर्ण आयु सय वर्षको हुन्छ । एकतीस नील दश खरब चालीस अरब। यति मानव वर्ष बराबारको ब्रह्माजीको आयु हुन्छ।
स्वामी नारायणजी एकजना सन्त हुनुभएको छ। उहाँले पनि मानव देह कति दुर्लभ हो भनेर बताउनुभएको छ। त्यही क्रममा उहाँ भन्नुहुन्छ कि साढे तीन करोड ब्रह्माजीको आयु बितिसकेपछि बल्ल एउटा जीवको फेरि मनुष्य बन्ने सम्भावना रहन्छ। सोच्नुहोस् त। एउटा ब्रह्माजीको आयु नै एकतीस नील दश खरब चालीस अरब वर्ष। यस्ता साढे तीन करोड ब्रह्माजीको आयु बितिसकेपछि। त्यति लामो समयसम्म हीन योनीमा अनेप प्रकारका दुःख सहँदै भट्कनुपर्छ।
यदि बुद्धि लगायौं भने तर्कद्वारा पनि हामी यही निष्कर्षमा पुग्न सक्छौं। विश्वमा लगभग सात अरब मनुष्यहरू छन्। वैज्ञानिकहरूका अनुसार एउटा पानीको थोपामा नै त्योभन्दा बढी जीवाणुहरू हुन सक्छन्। त्यसैले सम्पूर्ण विश्वमा कति जीवात्मा होलान्? अनि मनुष्य बन्ने सम्भावना कति होला? आँफै अनुमान गर्नुहोस्। यही अनुमान गर्न सक्छौं कि अत्यन्त दुर्लभ छ।
भगवान्का तीन दुर्लभ कृपा–
मानव शरीर यती दुर्लभ छ कि भगवान्ले विशेष कृपा गरेर जीवलाई मानव देह दिनुहुन्छ। शास्त्रमा भगवान्को तीनवटा अत्यन्त दुर्लभ कृपा बताइएको छ। आदि जगद्गुरु श्री शंकराचार्यजी भन्नुहुन्छ–
दुर्लभं त्रयमेवैतद्देवानुग्रहहेतुकम्। मनुष्यत्वं मुमुक्षुत्वं महापुरुषसंश्रयः॥ विवेकचूडामणि ३
अर्थात्, तीनवटा अत्यन्त दुर्लभ कृपा हुन्छन्। तीमध्ये पहिलो दुर्लभ कृपा हो। मनुष्य देह मिल्नु। यो त भगवान्को विशेष कृपाद्वारा, करुणाद्वारा नै प्राप्त हुन्छ। त्यसैले त तुलसीदासजी महाराजले भन्नुभयो–
कबहुँक करि करुना नर देही। देत ईस बिनु हेतु सनेही॥ रामचरितमानस
अर्थात्, भगवान्ले कुनैबेला विशेष करुणा गरेर नै जीवलाई मानव देह दिनुहुन्छ। शास्त्रमा दुवैकुरा गरिएको छ। मनुष्य शरीर भगवान्को कृपाले मिल्छ। यो पनि बताइएको छ। हामीले चर्चा गरिसक्यौं। त्यसैगरी शास्त्र यो पनि भन्दछ–
बड़ें भाग मानुष तनु पावा। सुर दुर्लभ सब ग्रन्थन्हि गावा॥ रामचरितमानस
निकै भाग्य, सुकर्म, पुण्यकर्म संचित भएर जीवलाई मानव देह मिल्छ। यी दुवै ठीक हुन्। भगवान्को कृपा जथाभावी वा दामासायी हिसाबले या प्रोब्याब्लीटीको हिसाबले हुँदैन। त्यसको निम्ति कुनै आधार चाहिन्छ। त्यो आधार भनेको जीवको सुकृत या पुण्य कर्म या भाग्य।
अस्तु मानव देह अत्यन्त दुर्लभ हो। त्यसैले त शास्त्रमा भनिएको छ–
दुर्लभो मानुषो देहो देहिनां क्षणभङ्गुर:। तत्रापि दुर्लभं मन्ये वैकुण्ठप्रियदर्शनम्॥ भागवत ११–२–२९
अर्थात् मानव देह दुर्लभ छ। त्योभन्दा पनि दुर्लभ हो, वास्तविक संत, भगवान्लाई प्राप्त गरेको संतको दर्शन गर्नु।
नृदेहमाद्यं सुलभं सुदुर्लभं प्लवं सुकल्पं गुरुकर्णधारम्।
मयानुकूलेन नभस्वतेरितं पुमान् भवाब्धिं न तरेत् स आत्महा॥ भागवत ११–२०–१७
अर्थात्, मानव देह दुर्लभ हो। यो यस्तो नौका हो, जसबाट नै संसाररूपी सागर तर्न सकिन्त। गुरुरूपी नाविक, मानव देहरूपी नौका अनि भगवान्को कृपारूपी अनुकूल वाय, यी तीनवटा संयोगद्वारा संसाररूपी भवसागर पार गर्न सकिन्छ।
यही कुरा भगवान् रामले पनि बताउनुभयो।
नर तनु भव बारिधि कहुँ बेरो। सन्मुख मरुत अनुग्रह मेरो॥ करनधार सदगुर दृढ़ नावा। दुर्लभ साज सुलभ करि पावा॥
जो न तरै भव सागर नर समाज अस पाइ। सो कृत निंदक मंदमति आत्माहन गति जाइ॥
सो परत्र दुख पावइ सिर धुनि धुनि पछिताइ। कालहि कर्महि ईस्वरहि मिथ्या दोस लगाइ॥ रामचरितमानस
यदि मानव देह समान दुर्लभ अवसर पाएर पनि कसैले यो मायाबाट पार भएन भने, त्यो मूर्ख हो। बुद्धिहीन हो। आत्महत्यारा हो। उसले परत्र दुःख नै दुःख प्राप्त गर्छ र त्यसपछि अत्यन्त पश्चाताप गर्छ। मैले मानव देह पाएको थिएँ। तर त्यसको सही सदुपयोग गरिनँ। भगवान्लाई जान्नको लागि प्रयत्न गरिनँ भनेर खेद गर्छ।
आदि जगद्गुरु श्री शङ्कराचार्यजी पनि भन्नुहुन्छ–
मनुजदेहमिमं भूवि दुर्लभं, समधिगम्य सुरैरपि वाञ्छितम्।
विषयलम्पटतामपहाय वै भजत रे मनुजाः कमलापतिम्॥ शंकराचार्य
अर्थात्, मानव देह दुर्लभ हो। यस्तो दुर्लभ मानव देह प्राप्त गरेर विषयभोगमा नै लम्पट नरहनु। यसरी शास्त्रमा बारम्बार मानव देह दुर्लभ हो भनेर बताइएको छ।
यो मानव देह यति दुर्लभ छ कि स्वर्गका देवता समेत मानव देह चाहन्छन्।
स्वर्गका देवता समेत मानव देह चाहन्छन्।
त्यसो त स्वर्गका देवीदेवताको शरीर विशेष हुन्छ। उनीहरूलाई भोकप्याश लाग्दैन। स्वादको लागि नै, भोजनसुखको लागि नै विभिन्न प्रकारका स्वर्गीय रसले युक्त दिव्य भोजन गर्छन्। उनीहरूको शरीरबाट मलमूत्र, पसीना, दुर्गन्ध आदि केही पनि निस्किँदैन। सुगन्ध निस्किन्छ। यदि स्वर्गका देवीदेवता हाम्रो अगाडि आए भने उनीहरूको शरीरबाट निस्किएको सुगन्ध सहन गर्न नसकेर हामी मुर्छित अवश्य हुन्छौं। मर्न पनि सक्छौं। हामी एउटा सीमाभित्रको नै सुख वा दुःख सहन गर्न सक्छौं। यदि त्योभन्दा धेरै दुःख मिल्यो भने पनि हाम्रो मृत्यु हुन्छ। यदि त्योभन्दा धेरै सुख मिल्यो भने पनि हाम्रो मृत्यु हुन्छ। एउटा गरिबलाई करोडौं रुपियाँको चिट्ठा पर्यो भने, त्यो खुसीलाई सहन गर्न नसकेर उसको मृत्यु हुन सक्छ। अस्तु, स्वर्गका देवीदेवताको शरीरबाट सुगन्ध आउँछ। उनीहरूको शरीरमा धूलो लाग्दैन। उनीहरूको शरीरको छाया पर्दैन। उनीहरूको चरणले जमिनमा स्पर्श गर्दैन। उनिहरूको शरीरमा लगाएको फूलको माला ओइलाउँदैन। उनीहरूको आँखाको परेला झिम्किँदैन। यस्ता अद्भुत गुणहरू हुन्छन्।
कथा–
यीनै लक्षणहरूद्वारा दमयन्ती रानीले नल राजाको स्वरूप धारण गरेका देवताहरूलाई चिनेर नल राजालाई नै पतिको रूपमा वरण गरेकी थिइन्। नल राजा र दमयन्ती रानीको कथा महाभारतमा छ। दमयन्ती रानी यति सुन्दर थिइन् कि स्वर्गका देवता समेत उनलाई प्राप्त गर्न चाहन्थे। तर उनको प्रेम नल राजासँग थियो। उनको विवाहको लागि स्वयंवरको आयोजना गरियो। त्यहाँ नल राजा सहित अनेक राजाहरू उपस्थित थिए। देवताहरू पनि नल राजको भेषमा पुगे। दमयन्तीलाई दुविधा भयो को वास्तविक नल हुन् भनेर। उनलाई देवताहरूको शरीरको लक्षण थाहा थियो। त्यसैले तीनै लक्षणद्वारा उनले वास्तविक नललाई चिनिन् र उनलाई नै पतिको रूपमा वरण गरिन्। यो त भयो स्वर्गको देहको विशेषता।
अर्को कुरा स्वर्गमा विशेष सुख मिल्छ। वास्तविक सुख अर्थात् अनन्त मात्राको सुख मिल्दैन। संसारी सुख नै मिल्ने हो। तर अत्यन्त ठूलो मात्राको। जसरी एउटा रोगले पीडित बृद्ध गरिब व्यक्तिले पाएको सुख र संसारको धनी स्वस्थ युवाले पाएको सुखमा अन्तर छ, त्योभन्दा पनि बढी अन्तर यो मृत्युलोकको सबैभन्दा सुखी व्यक्ति र स्वर्गको सुखको बीचमा छ। अब प्रश्न आउन सक्छ, कि यस्तो दिव्य शरीर र यति भोगविलाश प्राप्त भएका स्वर्गका देवता हाम्रो शरीर चाहन्छन् होला र? यदि चाहन्छन् भने किन?
हाम्रो शरीर त मलमूत्रले युक्त छ। नौवटा द्वारबाट गन्दगी नै गन्दगी निस्किन्छ। दुईवटा आँखा, दुईवटा कान, नाकका दुई छेद, मुख अनि गुदा र लिंग वा भग यीनै नौ द्वार हुन्। यी सबैबाट दुर्गन्ध नै दुर्गन्ध निस्किन्छन्। यतिमात्रै होइन। शरीरको रोमरोमबाट दुर्गन्ध निस्किन्छ। विश्वसुन्दरी नै किन नहोस्, अनुहारको छालालाई खोलेर देखाइयो भने हामी बेहोश हुन सक्छौं। शरीर भित्र पनि हाम्रो दुर्गन्ध नै दुर्गन्ध छ। धेरै व्याख्य नगरौं। यहाँहरूले बुझिसक्नुभयो। त्यसैगरी यो शरीरमा बृद्धावस्था हुन्छ, रोग लाग्छ, भोकप्याश लाग्छ, अनेक प्रकारका दुःख कष्टहरू झेल्नुपर्छ। स्वर्गका देवताहरू चाहन्छन् होला र यस्तो देह? अब सुन्नुहोस्, शास्त्र के भन्दछ। वेदव्यासजी भन्नुहुन्छ–
दुर्लभं मानुषं जन्म प्रार्थ्यते त्रिदशैरपि। नारद पुराण १–३२–४८
अर्थात्, मनुष्य जीवन दुर्लभ छ। कति दुर्लभ छ? यति दुर्लभ छ कि प्रार्थ्यते त्रिदशैरपि, अर्थात्, स्वर्गका देवता समेत भगवान्सँग मानव देहको निम्ति प्रार्थना गर्दछन्। शङ्कराचार्यजी भन्नुहुन्छ–
मनुजदेहमिमं भूवि दुर्लभं, समधिगम्य सुरैरपि वाञ्छितम्।
विषयलम्पटतामपहाय वै भजत रे मनुजाः कमलापतिम्॥ शङ्कराचार्य
अर्थात्, मानव देह दुर्लभ छ। स्वर्गका देवताहरू पनि चाहन्छन्।
मल मूत्र का पिटारा गोविंद राधे। किन्तु नर तनु सुर चाहे बता दे॥ राधा गोविंद गीत
अर्थात्, यो मल मूत्रको पिण्डरूपी मानव देह स्वर्गका देवता चाहन्छन्।
मानव देह स्वर्गका देवताहरूको लागि पनि दुर्लभ हो।
अब ध्यान दिनुहोस्। यहाँसम्म यही बताइयो कि देवताहरू पनि मानव देह चाहन्छन्। तर केवल यति मात्रै होइन। उनीहरूले प्रार्थना गर्दैमा उनीहरूलाई मिल्दैन। उनीहरूको निम्ति पनि दुर्लभ हो मानव देह। अर्थात्, चाहँदैमा प्राप्त गर्न सक्दैनन्।
राधे राधे बोल मन गोविंद राधे। सुर दुर्लभ तनु सफल बना दे॥ राधा गोविंद गीत
यहाँ सुर दुर्लभ भनियो। अर्थात्, देवताहरूलाई पनि दुर्लभ हो, मानव देह प्राप्त हुन। तुलसीदासजी महाराज पनि यही भन्नुहुन्छ–
नर तन सम नहिं कवनिउ देही। जीव चराचर जाचत तेही॥ रामचरितमानस
सबै जीव मानव देह चाहन्छन्। किन? उत्तरमा उहाँ भन्नुहुन्छ–
नरग स्वर्ग अपबर्ग निसेनी। ग्यान बिराग भगति सुभ देनी॥ रामचरितमानस
अर्थात् मानव देहद्वारा सर्वप्रथम बताउनुभयो नरक मिल्छ। नरक? हो त। मानवदेह पाएर अधिकांशले यसको महत्त्व बुझ्दैनन्। इन्द्रियको सुखको निम्ति नै जीवनभरि प्रयत्न गर्छन्। त्यसको निम्ति पापकर्म गर्छन्। त्यसैले मृत्युपश्चात नरक जान्छन्।
हेर्नुहोस् जुन जीव जति बुद्धिवान् हुन्छ उसले यदि सही कार्य गरेन भने गलत कार्य पनि त्यति नै ठूलो गर्छ। एउटा भोको कुकुरले रोटी चोर्यो भनेपनि बिचरा सबैले देख्नेगरि चोर्छ। पिटाइ खान्छ। एउटा पशुले देख्ने गरि अर्काको खेतको बाली खान सक्छ। पिटाइ खान्छ। तर मान्छेले कस्तो कस्तो चोरी गर्छ। बैंक लुट्छ। हत्या गर्छ। कसैले पनि थाहा पाउँदैन। एउटाले हत्या गर्छ, अर्कोले सजायँ पाउँछ। ऊ हाँस्छ। चोरी त मैले गरेको थिएँ, तर अर्कैलाई पक्रिएछन्। हत्या त मैले गरेको थिएँ तर अर्कैलाई पक्रिएछन्।
मानव देहधारीको बौद्धिक क्षमता पनि श्रेष्ठ हुन्छ, त्यसैले उसको कार्य पनि श्रेष्ठ हुन्छ। राम्रो कार्य गर्यो भने पनि, नराम्रो कार्य गर्यो भने पनि। एउटा साइकल चलाउँदा दुर्घटना भयो भने क्षति कम हुन्छ। तर हवाइजाहाजमा दुर्घटना भयो भने धेरै क्षति हुन्छ। त्यसैले यदि मनुष्यले लापरवाही गर्यो भने उसको धेरै क्षति हुन्छ। त्यसैले तुलसीदासजी महाराजले सबैभन्दा पहिले बताउनुभयो नरक। त्यसपछि अरू कोही अलि समझदार स्वर्गको लागि प्रयत्न गर्छन्। अझै समझदार मोक्षको लागि प्रयत्न गर्छन्। सबैभन्दा समझदार भक्तिको लागि प्रयत्न गर्छन्। यी सबै पुरुषार्थ दिलाउने देह मानव देह हो। त्यसैले सबै जीव मानव देह चाहन्छन्। देवताहरू पनि मानव देह चाहन्छन्। तर चाहँदैमा पाउँदैनन्। तुलसीदासजी महाराज भन्नुहुन्छ–
बड़ें भाग मानुष तनु पावा । सुर दुर्लभ सब ग्रन्थन्हि गावा ॥ रामचरितमानस
आखिरि स्वर्गका देवता मानव देह किन चाहन्छन्?
अर्थात्, मानवयोनी प्राप्त गर्न देवताहरूलाई पनि दुर्लभ हो। त्यसैले देवदुर्लभ योनी बताइयो। आखिर यो मानव देह किन श्रेष्ठ छ त? शास्त्र भन्दछ–
आहारो मैथुनं निद्रा भयं क्रोधस्तथैव च। गरुडपुराण २–१२–८
सर्वेषा मेव जन्तूनां विवेको दुर्लभः परः। गरुडपुराण २–१२–९
यही कुरा हितोपदेशमा पनि बताइएको छ।
आहारनिद्राभयमैथुनं च, सामान्यमेतत् पशुभिर्नराणाम्।
ज्ञानं हि तेषामधिको विशेषो, ज्ञानेन हीनाः पशुभि समानाः॥
हितोपदेशयस श्लोकको पहिलो पंक्तिमा भनियो, आहार, निद्रा,भय, मैथुन यी चार कुराहरूमा मनुष्य पशुसमान छ।
दृष्टान्त–
आजकाल हाम्रो यस्तो अवस्था भैसक्यो, हामी यी कुराहरूमा समेत पशुभन्दा पनि तल छौं। जस्तै हेर्नुस्। पशुपंक्षीहरू नेचुरल खानेकुरा खान्छन्। हामी त्यही खानेकुरालाई पनि भुटेर, तारेर, खुर्सानी, मरमसला हालेर, भएको सबै भिटामिन नष्ट गरेर खान्छौं । जंक फुड, बजारमा पाइने प्याकेटका खानेकुरा खान्छौं। त्यसैले धेरै रोगी पनि हुन्छौं। पशुपंक्षीहरूको कोही पनि डाक्टर हुँदैनन्। हाम्रो सन्दर्भमा नयाँ नयाँ रोगहरू निस्किरहन्छन्। किनकि हाम्रो आहार विहारले गर्दा।
अब निद्रालाई लिनुहोस्। हाम्रो निद्रा भन्दा पशुपंक्षीहरूको निद्रा राम्रो हुन्छ। उनीहरू समयमा सुत्छन्, समयमा उठ्छन्। हाम्रो? हाम्रो कुनै पनि भर छैन। आज त छुट्टीको दिन हो। अबेरसम्म सुत्छौं। आज त परीक्षाको तयारी गर्नु छ। रातभरि सुत्दैनौं। हामीमध्ये कतिपयलाई त निद्रा नै पर्दैन, टेन्सनले गर्दा। कैयौं व्यक्तिहरू गोलीको भरमा निदाउँछन्।
भयलाई लिनुहोस्। हामी कति भयभीत हुन्छौं। हरेक समय भय। कसैले केही गर्ला कि। प्रवचन सुन्दा सुन्दै पनि भय छ । घरमा नभनी आएको छु, गाली खानुपर्ने हो कि? आफ्नै घरपरिवारबाट डर छ। पशुपंक्षीहरू निर्भयताका साथ रहन्छन्। जबकी उनीहरूको सुरक्षा व्यवस्था छैन। तैपनि निर्भयताका साथ जंगलमा रहन्छन्। विचरण गर्छन्।
त्यसैगरी पशुपंक्षीहरू नियमअनुसार संभोग गर्छन्। हाम्रो कुनै नियम छैन। हामी त यो मामलामा पशुहरूभन्दा धेरै तल छौं। त्यसैले यी सबै कुरामा हाम्रो अवस्था पशुपक्षीको भन्दा पनि निम्न छ।
पशुपंक्षीलाई स्वाभाविक ज्ञान हुन्छ। एउटा चराले पनि यति राम्रो गुँड बनाउँछ। यहाँहरूले देख्नुभएको छ होला। वैज्ञानिकहरूसमेत आश्चर्यचकित हुन्छन् तिनीहरूको त्यो सीप देखेर। जनावरहरूलाई पौडिन सिकाउनु पर्दैन। त्यत्रो सुनामी आउँदा कुनै चराचुरुगीं, जनावर मर्दैन। उनीहरूलाई पहिल्यै थाहा हुन्छ। तर मनुष्यले सबैकुरा सिक्नुपर्छ।
अझ हेर्नुहोस्। मनुष्यको कुनै गुण राम्रो भयो भने पनि जनावरसँग तुलना गरिन्छ। जस्तै कसैको आँखा राम्रो छ भन्नको लागि हरिणको जस्तै आँखा छ यसको त भनिन्छ नि। आवाज राम्रो छ भने कोइलीको जस्तै आवाज छ भनिन्छ।
त्यसैले आहार, निद्रा, भय, मैथुन आदिको हिसाबले हाम्रो शरीर पशुको भन्दा पनि निक्रिष्ट छ। अब दोस्रो पंक्ति भन्दछ–
ज्ञानं हि तेषामधिको विशेषो, ज्ञानेन हीनाः पशुभि समानाः॥ हितोपदेश
ज्ञान शक्ति। मनुष्य ज्ञानप्रधान हो। बाँकी पशुपंक्षीहरूभन्दा मनुष्यमा ज्ञानशक्ति विशेष छ। त्यही ज्ञान शक्तिले गर्दा मनुष्यले हिस्रक वन्यजन्तुलाई पनि नियन्त्रणमा लिन सक्छ। त्यसैले अन्य सबैकुरा नराम्रो भएपनि ज्ञानशक्तिले गर्दा यो अन्य जनावरको योनीभन्दा मनुष्य शरिर विशेष छ। यदि ज्ञानहीन छ कोही भने ऊ पशुसमान हो, शास्त्रमा बताइयो।
तर यो तर्क पनि त्यति चित्त बुझ्दो छैन किनकि पशुपंक्षीभन्दा त हाम्रो ज्ञान श्रेष्ठ छ। त्यसैले उनीहरूले हाम्रो शरीर चाहन्छन्। यहाँसम्म ठीक छ। तर देवताहरूको ज्ञान त हाम्रो भन्दा करोडौं गुना श्रेष्ठ छ। बुद्धिका अथोरिटि हुन् देवगुरु बृहस्पति एवं श्री सरस्वति। सबै देवताहरू हामी भन्दा अत्यन्त ज्ञानवान्, बलवान्, सुन्दर एवं रुपवान् हुन्छन्। उनीहरू किन चाहन्छन् त यो मानव शरीर। यसको कारण हो–
सुर योनि भोग योनि गोविंद राधे। नर योनि ही कर्मयोनि बता दे॥ राधा गोविन्द गीत
अर्थात् स्वर्गका देवीदेवताको योनी भोग योनी हो। केवल मानव देहमात्रै कर्मयोनी हो। भोगयोनी भन्नाले त्यसमा कर्मको फलको भोगमात्रै गर्न मिल्छ। नयाँ कर्म गर्न मिल्दैन। तर मनुष्य देहमा कमाइ गर्न मिल्छ। जे चाह्यो त्यो प्राप्त गर्न मिल्छ। हेर्नुसे हामीले पुराणहरूमा देवताहरूले कर्म गरेको पढ्छौं। उनीहरू कर्म गर्न सकछन् तर त्यसको फल प्राप्त गर्दैनन्। देवताहरूले भगवान्को दर्शन पनि गर्छन्, कुराकानी पनि गर्छन् तर त्यसको फल प्राप्त हुँदैन उनीहरूलाई।
इन्द्रको पनि काल आउँछ–
कथा–
एकपटक स्वर्गसम्राट इन्द्रले एउटा महल बनाउन लागे। उनले विश्वकर्मालाई आज्ञा दिए– ‘यस्तो महल बनाउ जस्तो यो त्रिलोकमा नहोस्। आखिरि म स्वर्गको राजा हुँ।’ विश्वकर्माले महल बनाउन लागे। केही समयपछि इन्द्र निरीक्षण गर्न जाँदै थिए। यत्तिकैमा भगवान्ले एउटा ब्रह्मचारीको रुप धारण गरेर इन्द्रसमक्ष प्रकट हुनुभयो।
भगवान्ले सोध्नुभयो– ‘के हुँदैछ?’ इन्द्रले जवाफ दिए– ‘हे ब्राह्मणदेव! म महल बनाउँदैछु। यस्तो महल बनाउँदैछु, जस्तो महल तीनै लोकमा अरु कुनै पनि छैन।’ भगवान्ले इन्द्रको अगाडि कैयौं मिल लामो एउटा कमिलाको एउटा ताँती प्रकट गरिदिनुभयो। अनि त्यो ताँतीलाई देखाउँदै इन्द्रलाई यो के हो भनेर सोध्नुभयो। इन्द्रले भने– ‘यो कमिलाको ताँती हो।’ भगवान्ले भन्नुभयो– ‘कमिलाको ताँती त हो। तर के तिमीलाई थाहा छ? यी सबै कमिला त्यो आसनमा बसिसकेका छन् जुन आसनमा आज तिमी छौ। अर्थात्, यी सबै इन्द्र बनिसके।’ इन्द्र आश्चर्यचकित बने। ‘देवताहरूको राजा बनिसकेपछि पनि कमिला बने?’ भगवान्ले भन्नुभयो– ‘हो त। तिमीलाई के लाग्छ? एकपटक इन्द्रभएपछि सँधैका लागि कोहि इन्द्र हुन्छ र? हुँदैन। ’
सुर नर मुनि सब गोविंद राधे। काल के कलेवा बने बनेंगे बता दे॥ राधा गोविंद गीत
इन्द्रको पनि काल आउँछ। त्यसपछि फेरि हीन योनीहरूमा भट्किनुपर्छ।
स्वर्गको सुखभोग नश्वर रहेछ भन्ने जानेर इन्द्रलाई वैराग्य भयो। यत्तिकैमा भगवान्को प्रेरणाले लोमस मुनी त्यहाँ पुग्नुभयो। लोमस मुनिको एउटा हातमा कमण्डलु थियो, अर्को हातमा चकटी थियो। लोमस मुनिलाई देखेर इन्द्रले प्रणाम गरे। अनि सोधे– ‘महाराज! हजुर को हुनुहुन्छ? हजुरको घर कहाँ हो?’ लोमस मुनिले भन्नुभयो– ‘हे इन्द्र! मेरो नाम लोमस मुनि हो। मेरो कुनै घर छैन। यति छोटो जीवनका लागि किन घर बनाउनु र?’
इन्द्रले लोमस मुनिको शरिरको विभिन्न भागमा रौंहरू झरेको देखे। उत्सुकतावश उनले सोधे– ‘महाराज! हजुरको शरीरका विभिन्न भागमा रौंहरू किन छैनन्?’ लोमश मुनिले भन्नुभयो– ‘हे इन्द्र! जब एउटा इन्द्रको आयु समाप्त हुन्छ, तब मेरो शरीरको एउटा रौं आँफै झर्छ। यसप्रकारले जब मेरो शरीरबाट सबै रौंहरू झर्छन्, मेरो आयु पनि सकिन्छ।’ इन्द्रलाई चक्कर आउन लाग्यो। ‘यति लामो उमेर!’ इन्द्रको आयु एक मनवन्तरको हुन्छ। त्यो भनेको ३० करोड ६७ लाख २० हजार वर्षसम्म इन्द्रले स्वर्गको वैभव भोग्न सक्छन्। यस्ता लाखौं इन्द्रको उमेर! तैपनि उहाँ भन्नुहुन्छ, यति छोटो उमेर छ, किन घर बनाउनु र?
इन्द्रलाई पूर्ण वैराग्य भयो। उनले महल बनाउन रोके। ‘मलाई महलसहल केही पनि चाहिँदैन।’ यो सबै नश्वर रहेछ भन्ने निश्चय गरेर आफ्नो आसन छोडेर भगवान्को भक्ति गर्न गए। त्यसपछि देवगुरु बृहस्पतिले इन्द्रलाई सम्झाउनुभयो– ‘तिम्रो यो शरीर भोगयोनी हो। यसमा भक्ति गर्न सकिँदैन। तिमीले जे पनि साधना गर्छौ, त्यसको फल प्राप्त गर्दैनौ। यो त तिमीले त्यतिबेला सोच्नुपर्थ्यो, जतिबेला तिमी मनुष्य थियौ। त्यतिबेला तिमीले स्वर्गको सुखभोगको लक्ष्य राखेर आफ्नो जीवन बर्बाद गर्यौ। अब केही हुनेवाला छैन। फेरि भगवान्ले मनुष्य देह दिनुभयो भने त्यसमा भगवान्को भक्ति गरेर भगवान्लाई प्राप्त गर्नु। अहिले आफ्नो कर्तव्यपालन गर।’
सुर योनि भोग योनि गोविंद राधे। नर योनि ही कर्मयोनि बता दे॥ राधा गोविन्द गीत
निष्कर्ष यही हो देवताको योनीमा नयाँ कमाइ गर्न मिल्दैन।
दृष्टान्त–
मानिलिनुहोस्, एकजनाले बैंकमा एकलाख जम्मा गरेको थियो। अब हरेक महिना उसले दश हजारका दरले निकाल्यो भने, दश महिनामा समाप्त हुन्छ। त्यसपछि उसलाई त्यो बैंकले पैसा नै दिँदैन। किनकि उसको खातामा अब पैसा नै छैन।
त्यसैगरी स्वर्गमा पनि मनुष्य शरीर हुँदा गरेको पुण्य कर्मको फल भोग गर्न पाइने हो। त्यहाँ नयाँ कमाइ, नयाँ पुरुषार्थ हुन सक्दैन। केवल मानव देहमा नै पुरुषार्थ गर्न सक्ने क्षमता छ। मनुष्यले जे चाह्यो त्यो प्राप्त गर्न सक्छ। स्वर्ग जान चाह्यो, स्वर्ग प्राप्त गर्न सक्छ। सिद्धि चाहिन्छ? त्यो पनि प्राप्त हुन सक्छ। आत्मज्ञानी हुनु पर्यो? त्यो पनि प्राप्त हुन सक्छ। होइन मलाई त नरक नै जानुछ भनेर कोहि भन्छ भने त्यो पनि प्राप्त गर्न सकिन्छ। केवल मनुष्य देहमा नै सबैथोक प्राप्त गर्ने सामर्थ्य छ। मावन देहमा भक्ति गरेर भगवान्को प्रेम प्राप्त गरेर भगवान्लाई आफ्नो दास बनाउन सकिन्छ। यति महत्त्वपूर्ण हो मानव देह। संसारी दुःखबाट छुट्कारा अनि अनन्त आनन्द प्राप्त गर्ने एकमात्र अवसर हो। त्यसैले गर्दा जुन इन्द्रादिक देवताहरू, जसलाई हामी वेदमंत्रद्वारा आहुति दिन्छौं– ‘ॐ इन्द्राय स्वाहा। इदमिद्राय इदं न मम।’, उनीहरू समेत यो मानव देह चाहन्छन्।
तर हामी सबै, जसलाई वर्तमानमा मानव देह प्राप्त भएको छ, हामीलाई कुनै पर्वाह नै छैन। यसको महत्त्व नै बुझेका छैनौं। मनन गरेका छैनौं। त्यसैले भगवान्लाई जान्ने प्रयत्न नै गरेनौ। यसअघि सायद थाहा थिएन। तर अब त थाहा भयो? त्यसैले भगवान्लाई जान्नको लागि यही मानव देह छँदा नै प्रयत्न गर्नुपर्छ। यो मानव देह देवदुर्लभ हो। तर यसमा एउटा दुर्गुण छ, कमजोरी छ। यदि त्यो कमजोरीको बारेमा जानेनौं, मनन गरेनौं भने मानव देह पाएर पनि लाभ लिन सक्दैनौं। त्यो कमजोरी के हो त?
मानव देह क्षणभंगुर छ।
अत्यन्त महत्त्वपूर्ण हुँदाहुँदै, अत्यन्त दुर्लभ हुँदाहुँदै पनि मानव देहमा एउटा अत्यन्त ठूलो खराबी छ। अवगुण छ। त्यो के हो? वेदव्यासजी भन्नुहुन्छ–
दुर्लभो मानुषो देहो देहिनां क्षणभङ्गुर:। तत्रापि दुर्लभं मन्ये वैकुण्ठप्रियदर्शनम् ॥ भागवत ११–२–२९
अर्थात्, मानव देह दुर्लभ छ। तर क्षणभंगुर छ। क्षणभंगुर भन्नाले कुन समय हामीबाट खोसिन सक्छ, कसैलाई पनि थाहा हुँदैन। एकपलको पनि भरोसा छैन। कोहि गर्भमै मर्छ। कोहि जन्मँदा जन्मँदै, कोहि जन्मनासाथ, कोहि शिशुअवस्थामा, कोहि बाल्यअवस्थामा, कोहि युवावस्थामा। हरेक उमेर, हरेक अवस्थामा कोही न कोही मरिरहेको हुन्छ। हामीलाई पनि थाहा छ, हामी मर्छौं भनेर। तर मनले मान्दैन। स्वीकार गर्दैन।
महाभारतमा युधिष्ठिरलाई यक्षले थुप्रै प्रश्न गरेका थिए। त्यसमध्ये एउटा प्रश्न थियो–
किमाश्चर्यम्। महाभारत ३–३१३–११४
अर्थात्, संसारमा सबैभन्दा आश्चर्यजनक कुरा के हो? युधिष्ठिरले जवाफ दिए–
अहन्यहनि भूतानि गच्छन्तीह यमालयम्। शेषाः स्थावरमिच्छन्ति किमाश्चर्यमतः परम्॥ महाभारत
अर्थात्, प्रत्येक पल व्यक्तिहरू मरिरहेका छन्। तर बाँचेकाले यही सोच्दछन्– म अहिले कहाँ मर्छु र? अर्थात्, आफूलाई स्थीर या चिरजीवी सोच्दछन्। यही सबैभन्दा ठूलो आश्चर्यको कुरा हो। पिताको अगाडि पुत्र मर्यो। तर पनि होश आउँदैन। म अहिले कहाँ मर्छु र? त्यसैले बारम्बार सोच्नुछ। यो जीवन क्षणभंगुर छ।
यही एउटा कुरामा गम्भीर बिचार नगर्नाले, यति दुर्लभ मानव देह पाएर पनि हाम्रो काम बन्न सकेन। हामीले अनन्त पटक मानव देह पायौं। प्रवचन पनि सुन्यौं। भगवान्लाई जानेर नै सुख मिल्छ भन्ने पनि जान्यौं। तर तर काम बनेन। किन? किनकि गरौंला नि, गरौंला नि भनेर गर्दै गरेनौं। भर्खर त २५ वर्षको छु। अहिले पैसा कमाउनु छ। भगवान्लाई जान्ने काम पछि गरौंला। अब त ४० वर्षको हुनुभयो। भगवान्लाई जान्ने प्रयत्न गर्नुहोस्। अझै बच्चाहरू सानै छन्। पछि गरौंला। अब त ६० वर्षको हुनुभयो। अब त गर्नुहोस्। अझै नाति सानो छ, गुरुजी। त्यसैले अहिले भ्याउँदिन। गर्ने नै हो, तर अलि पछि। यही भन्दा-भन्दै अनन्त जन्म बिते। तर कहिल्यै पनि भगवान्लाई जान्ने प्रयत्न गरेनौं। किनकि हामीले मृत्युलाई गम्भीरताका साथ लिएनौं। हाम्रो जीवनको एकपलको पनि भरोसा छैन। यथा–
पलका भरोसा नहिं गोविंद राधे। जाने कब काल नर तनु छिनवा दे॥ राधा गोविन्द गीत
त्यसैले शास्त्रमा पनि मानव देहलाई क्षणभंगुर भनिएको छ। हाम्रो आयु त पानीको फोका जस्तै हो।
आयुष्यं जललोलबिन्दु चपलं फेनोपनं जीवितम्। सुक्ति
अर्थात्, कुनबेला फुट्छ, केही भन्न सकिँदैन। त्यसैले वेद भन्दछ–
उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत। कठोपनिषद् १–३–१४
उठ। जाग। कुनै वास्तविक महापुरुषको शरणमा गएर भगवान्को बारेमा जानिहाल। भगवान्लाई प्राप्त गर्नको लागि जुटिहाल। पुनः वेद भन्दछ–
न श्वः श्व उपासीत को हि पुरुषस्य श्वो वेद । वेद
अर्थात्, भोलि भोलि भनेर भविष्यलाई नसाँच। के थाहा? भोलि आउँछ कि आउँदैन। त्यसैले तुरुन्तै लक्ष्यप्राप्तिका लागि अर्थात् आनन्तप्राप्तिका लागि अर्थात् भगवत्प्राप्तिका लागि जुटिहाल।
भगवान्लाई जान्नको बाल्यकालदेखि नै प्रयत्न गर्नुपर्छ।
अधिकांश यही सोच्दछन्। कि भगवान्को बारेमा बुढेसकालमा लाग्ने हो। बाल्यावस्थामा पढाइ, लेखाइ, युवावस्थामा धन आर्जन, मोजमस्ति इत्यादिमा ध्यान दिनुपर्छ। बुढेसकालमा हो भगवान्को बारेमा जान्ने, तीर्थ, वर्त गर्ने। यही सोच्दछन्। तर यो गलत सोचाइ हो। किनकि पहिलो कुरा त जीवन क्षणभंगुर छ। वृद्धावस्थासम्म बाँचिन्छ कि बाँचिदैन कसैले भन्न सक्दैन। बुढेसकालसम्म त छोडिदिनुस्। भोलिको दिन देखिन्छ कि देखिँदैन कसैले भन्न सक्दैन। यदि वृद्धावस्थासम्म कोही बाँच्यो भने पनि वृद्धावस्थामा इन्द्रिय कमजोर हुन्छन्। बुद्धि पनि कमजोर हुन्छ। त्यसैले भगवान्को बारेमा पहिले सिद्धान्त बुझेर, पछि फेरि साधना गर्न निकै कठीन हुन्छ। त्यसैले प्रह्लादजी महाराज भागवतमा भन्नुहुन्छ–
कौमार आचरेत्प्राज्ञो धर्मान् भागवतानिह।
दुर्लभं मानुषं जन्म तदप्यध्रुवमर्थदम्॥ भागवत ७–६–१
अर्थात्, यो मानव देह अत्यन्त दुर्लभ छ। भगवान्को कृपाले प्राप्त हुन्छ। त्यसैले बाल्यावस्थादेखि नै भगवान्लाई जान्ने प्रयत्न गर्नुपर्छ। बाल्यावस्थामा त हामीलाई थाहै भएन। ठीकै छ। जे बित्यो बित्यो। अब त थाहा भयो? त्यसैले अब भगवान्लाई जान्नको लागि तुरुन्तै प्रयत्न गर्नुपर्छ। किनकि मृत्यु निश्चित छ।
मृत्यु निश्चित छ।
कथा–
बुद्ध भगवान्को दर्शनको निम्ति एकजना असहाय महिला आइन्। उनको काखमा उनको मृतक पुत्रको शव थियो। उनले बुद्ध भगवान्लाई बचाइदिन आग्रह गरिन्। बुद्ध भगवान्ले उनलाई आश्वासन दिनुभयो र भन्नुभयो कि त्यसको लागि उनले एक मुठी तोरी भिक्षा ल्याउनुपर्छ। तर यस्तो घरबाट भिक्षा ल्याउनु, जुन घरमा कुनै न कुनै सदस्यको आजसम्म मृत्यु नभएको होस्। छोराको मृत्युको शोकमा डुबेकाले बुद्ध भगवान्को भनाइको सार नबुझी म त्यस्तै घरबाट एक मुठी तोरी ल्याउँछु भनेर उनी गइन्। तर जहाँ-जहाँ भिक्षाको निम्ति गईन्, सबैको घरमा आमा–बुबा, पती–पत्नि, छोरा–छोरी, हजुरबुबा–हजुरआमा कसैनकसैको मृत्यु भएको थियो। अन्त्यमा हार मानिन्। उनले बुझीन् कि सबैजना एक्दिन मर्ने रहेछन्। मृत्यु निश्चित छ। कहिले मृत्यु हुन्छ यो अनिश्चित छ। यही यो मनुष्य देहको भयानक दोष हो। तर हामीले अहिले मानेका छैनौं। कसैले सोध्यो भने भनिदिन्छौं। मृत्यु निश्चित छ। एकदिन मर्नुपर्छ। तर मान्दैनौं।
हामीले बारम्बार सुन्यौं कि मानव देह अत्यन्त महत्त्वपूर्ण देह हो, दुर्लभ शरीर हो। सुनेर मात्रै काम बन्दैन। ध्यान दिनुहोस्। सुन्नुको पनि अलग अलग स्तर हुन्छ। एउटाले सुन्यो। गुरुजी त राम्रो बोल्नुहुँदो रहेछ, विद्वान् हुनुहुँदो रहेछ। सकियो। उसको काम बन्दैन। अर्कोले सुन्यो, गम्भीरताका साथ लियो। ए! मानव देह त अत्यन्त दुर्लभ रहेछ। यसमा भगवान्लाई जान्नुपर्छ। उसको केही लाभ हुन्छ। अर्कोले एकदम मनमा लियो। बारम्बार चिन्तन गर्यो। डटेर लाग्यो। उसको काम बन्छ। भागवत महात्म्यमा वेदव्यासजी भन्नुहुन्छ–
श्रवणस्य विभेदेन फलभेदोऽत्त संस्थितः। श्रवणं तु कृतं सर्वैर्न तथा मननं कृतम्॥ भागवत महात्म्य ५–७१
त्यसैले बारम्बार चिन्तन मनन गर्नुपर्छ। बारम्बार सुन्नुपर्छ।
मानव देह, यसको दुर्लभता अनि क्षणभंगुरता, यो अत्यन्त महत्त्वपूर्ण विषय हो। त्यसैले त, रामायणमा गरुडजीले कागभुसुण्डीसँग सातवटा प्रश्न गर्ने क्रममा सबैभन्दा पहिले सोध्नुभयो–
प्रथमहिं कहहु नाथ मतिधीरा। सब ते दुर्लभ कवन सरीरा॥ रामचरितमानस
सम्पूर्ण शास्त्र वेदबाट छाँटेर गरुडजीले सातवटा प्रश्न गर्नुभयो। त्यसमा पनि पहिलो प्रश्न उहाँले सोध्नुभयो– सबैभन्दा दुर्लभ कुन शरीर हो? यहि मानव देहको महत्त्व थाहा भयो भने हामीबाट लापरवाही हुँदैन।
दृष्टान्त–
मानिलिनुस् कसैलाई बाटोमा हिँड्दा एउटा औंठी फेला पर्यो। उसले त्यो औंठी एउटा सुनको व्यापारीलाई देखायो। त्यो सुनको व्यापारीले यो त पित्तलको हो, दुईतीन सयको होला भन्यो। त्यो व्यक्तिले त्यो औंठी लिएर घर गयो। उसलाई जम्मा दुई तीन सयको रहेछ भन्ने लागेको थियो। त्यसैले त्यो औंठीप्रति उसको खासै प्रेम थिएन। टेबुलमा यताउता राख्थ्यो। केहीदिन पछि उसको एउटा साथी घरमा आउँदा त्यो औंठी टेबुलमा देख्यो। त्यो साथी हिराको व्यापारी थियो। उसले त्यो औंठी देख्नासाथ सोध्यो– ‘तैँले कहिले किनिस् यो अँगुठी?’ उसले भन्यो– ‘किन र? मैले त भेट्टाएको हो।’ त्यो साथीले भन्यो– ‘यार यो औंठीमा त हिरा जडिएको छ। कमसेकम यसको मुल्य पचास लाख होला।’ ‘के रे? पचास लाख।’ हेर्नुस्। औंठी पनि त्यही हो, मान्छे पनि त्यही हो। आँखा पनि त्यही हो। तर अब त्यसलाई हेर्ने दृष्टिमा कति परिवर्तन आयो। पहिले यताउता जहाँ पनि राख्थ्यो, लापरवाहीका साथ। अब अहिले लकरमा राख्यो तुरुन्तै। त्यसैले कुनै बस्तुको महत्त्व न जान्नाले नै हामी लापरवाही गर्छौं।
त्यसैले गरुडजीले पनि पहिलो प्रश्न गर्नुभयो– सबैभन्दा दुर्लभ शरीर कुन हो? कागभुसुण्डीले उत्तर दिनुभयो –
नर तन सम नहिँ कवनिउ देही। जीव चराचर जाचत तेहि। रामचरितमानस
मानव देह समान देह अरु कुनै पनि देह छैन। स्वर्गका देवी देवता समेत मनुष्यको देह चाहन्छन्। यो हामीले जानीसक्यौं। यस्तो देवदुर्लभ मानव देह पाएर पनि हामीले लापरवाही गरिरहेका छौं।
मानव देहको श्रेष्ठतम उपयोग कसरी गर्ने?
कथा–
कैयौं व्यक्तिहरूले एउटा कथा भन्ने गर्छन्। एउटा माझी जसले झिसमिसेमा माछा मार्न जाँदा एउटा सुनको सिक्काले भरिएको थैली पाउँछ। वरिपरि लाहाको लेप भएको कारणले उसले सुन हो भनेर चिन्न सक्दैन। त्यसैले बल्छी थापेको बेलामा, उसले त्यो थैलीमा भएको सुनको सिक्काले नदीको पानीमा गाई तार्ने काम गर्छ। यो एकप्रकारको खेल हो, जसमा गोलो बाटुलो ढुंगालाई पानीको सतहमा हान्दा उफ्रिँदै गएर खोला तर्न सक्छ। नदी ठूलो थियो। उसको सबै असर्फी नदीको बीचसम्म पुगेर त्यहीँ डुब्थ्यो। अन्तिम असर्फी फ्याँक्दा संयोगवश त्यसको एकातिरको लाह उप्किएको हुनाले उसले पहेँलो देख्यो र नियालेर हेर्दा सुन रहेछ भन्ने थाहा भयो। त्यसपछि उसलाई पश्चाताप भयो। कि मैले अनमोल असर्फीलाई नचिनेको कारणले गर्दा एकछिनको मजाको लागि नदीमा बगाएँ। यही अवस्था हामी सबैको हो।
कसैलाई परीक्षा दिने अवसर मिल्यो। परीक्षामा जे लेख्नुपर्ने हो त्यो नलेखेर यदि उसले राम राम लेख्यो भने पास हुन सक्दैन।
त्यसैगरी यो मनुष्य देहरूपी अवसर पाएर पनि हामीले जे को लागि अर्थात् भगवान्लाई पाउनको लागि यो शरीर मिलेको हो त्यो गरेनौं भने हामी मूर्ख नै हौं, अज्ञानी नै हौं।
जसरी माझीले सुनको असर्फी निम्न कोटीको प्रयोजनका निम्ति दुरुपयोग गर्यो, त्यसैगरी हामीले पनि मानव देहको त्यही प्रकारले निम्नकोटिको प्रयोजनका निम्ति दुरुपयोग गरिरहेका छौं। केको निम्ति? पढ्यो, जागिर खायो, विवाह गर्यो, बच्चा भए, घर बनाएँ, नातिनातिना भए, अनि एक दिन सब समाप्त। सबै छोडेर जानुपर्छ। कहाँ थाहा छैन। मृत्यु सत्य छ। एकदिन जानुनै छ। तर के त्यसको तयारी हामीले गरेका छौं त? कुनै यात्रामा जानुछ भने हामी तयारी गर्छौं नि। पासपोर्ट बनाउँछौं। भिसा लगाउँछौं। टिकट किन्छौं। सामान प्याक गर्छौं। पैसाको प्रबन्ध गर्छौं। त्यहाँ गइसकेपछि कहाँ बस्ने हो त्यसको प्रबन्ध गर्छौं। तर मृत्युपछिको यात्राको बारेमा केही थाहा छैन। केही तयारी पनि छैन। सोच्नुस् त। तयारी गर्नुपर्ने हो नि होइन त?
मानव देहको कसरी उपयोग गरिरहेका छौं? यही विषय सम्झाउनको लागि संत रामसुखदासजीले एउटा अत्यन्त सुन्दर दृष्टान्त दिनुभएको छ।
कथा–
एकपटक एकजना योगी घुम्दै जाँदा एउटा गाउँमा पुगेछन्। साँझ परेपछि एकजना गरीब ब्यक्तिको घरमा बास बस्न पुगेछन्। त्यो व्यक्तिको आतिथ्य सत्कारबाट प्रभावित भएर उनले उसलाई पारस मणि दिएर त्यहाँबाट बिदा भएछन्।
एकवर्षपछि ती योगी फेरि त्यही गाउँमा पुगेछन्। त्यो व्यक्ति अहिले पनि गरीब देखेर आश्चर्यचकित भएछन्। उनले उसलाई पारस मणिको के गर्दै छौ भनेर सोधेछन्। ऊ अत्यन्त हर्षित हुँदै पारसको मणि श्रीमतीलाई दिएको र उनले त्यसले चटनी बनाउने गरेको र त्यो चटनी अत्यन्त स्वादिष्ट हुने गरेकाले श्रीमती ऊसँग अत्यन्त खुशी भएको बतायो। पारस मणि, जसको सदुपयोग गरेर ऊ विश्वको सबैभन्दा धनी व्यक्ति बन्न सक्थ्यो, त्यसको प्रयोग चटनी बनाउनको लागि गरेको देखेर योगीलाई त्यो व्यक्तिको अवस्थाप्रति अत्यन्त दया आयो। हाम्रो हालत पनि त्यही व्यक्तिको जस्तै छ।
देवतालाई समेत दुर्लभ मानव देह पाएर पनि हामी यो मानव देहको अत्यन्त निम्न स्तरको प्रयोजनका लागि उपयोग गरिरहेका छौं। केवल बाँच्न कै लागि बाँचिरहेका छौं।
पाश्चात्य दार्शनिक बर्ट्र्रेण्ड रसेल भन्दछन्–
Life devoted only to life is animal, without any real human value, incapable of preserving men permanently from weariness and the feeling that all is vanity. If life is to be fully human it must serve some end…some end which is impersonal and above mankind, such as God, or truth or beauty. Bertrand Russell, Principles of Social Reconstruction
अर्थात्, केवल बाँच्न कै लागि बाँच्नु, यस्तो जीवन निरर्थक हो। यदि जीवनलाई सार्थक बनाउनु छ भने, भगवान्को सेवा गर्नुपर्छ। मानव देहको श्रेष्ठ उपयोग भनेको भगवान्लाई जान्नको लागि प्रयत्न गर्नु नै हो। किनकि भगवान्लाई जानेर नै भगवान्लाई प्राप्त गर्न सकिन्छ। भगवान्लाई प्राप्त गरेर नै आनन्द मिल्छ अनि बल्ल यो देवदुर्लभ मान देह सार्थक हुन्छ। त्यसैले भगवान्लाई जान्नुछ। कसरी? यसको बारेमा अब चर्चा गरिनेछ।




