म के चाहन्छु र त्यो कसरी प्राप्त हुन्छ? यस विषयमा चर्चा गर्ने क्रममा अहिलेसम्म यही बुझ्यौं कि हामी सबै आनन्द चाहन्छौं। प्रवचन श्रृंखला कै क्रममा हामीले आनन्दको लक्षणका बारेमा पनि चर्चा गरिसक्यौं। आनन्दका तीन प्रमुख लक्षण हुन्छन्– अनन्त मात्राको, प्रतिक्षण बढ्दै जाने र सँधै रहिरहने। यी लक्षणले युक्त आनन्द हामीले अहिलेसम्म प्राप्त गरेनौं। विभिन्न विषयहरूबाट अनन्तपटक सुख मिल्यो। तर विपरित लक्षणले युक्त सुख नै मिल्यो। अर्थात्, सीमित, घट्दै जाने र समाप्त हुने लक्षण भएको सुख मिल्यो।
हामीले अहिलेसम्म सुखप्राप्तिको निम्ति प्रयत्न गर्दा बारम्बार दुःख नै पायौं। तीन प्रकारका तापद्वारा बारम्बार दुःखी भयौं– आध्यात्मिक, आधिभौतिक अनि आधिदैविक दुःख या ताप।
हाम्रो आनन्दको खोजी यो जन्मको मात्रै होइन।
अहिलेसम्म आनन्द नमिलेपनि हामी निरन्तर आनन्दकै खोजीमा छौं। वास्तवमा हाम्रो आनन्दको खोजी यो जन्मदेखिको मात्रै होइन। अनादिकालदेखिको हो। यहाँहरूलाई याद होला हामीले प्रत्यक्ष एवं अनुमान प्रमाणहरूद्वारा म आत्मा हुँ र आत्मा नित्य हुन्छ भनेर सिद्ध गरेका थियौं। शब्दप्रमाणले पनि यही भन्छ। गीतामा भगवान् भन्नुहुन्छ–
ममैवांशो जीवलोके जीवभूत: सनातन:। गीता १५–७
अजो नित्यः शाश्वतोऽयं पुराणः। कठोपनिषद् १–२–१८, गीता २–२०
त्यसैगरी तुलसीदासजी महाराज पनि भन्नुहुन्छ–
ईस्वर अंस जीव अबिनासी। चेतन अमल सहज सुखरासी॥ रामचरितमानस
अर्थात्, आत्मा नित्य हो। म अर्थात् आत्मा, नित्य भएकाले आनन्दको खोजी पनि नित्य हो।
सनातन धर्मको अर्को परिभाषा–
जसरी हामी यो जन्ममा आनन्दकै निम्ति प्रत्येक कर्म गर्छौं, प्रत्येक सङ्कल्प लिन्छौं। यो हाम्रो स्वभाव हो। त्यसैगरी यसअघिका अनन्त जन्महरूमा पनि आनन्दकै खोजी गर्यौं। त्यसैले आनन्दको खोजी पनि नित्य हो। किनकि प्रत्येक जीवले प्रत्येक जन्ममा केवल आनन्द नै चाहन सक्छ। करोडौं वर्ष कसैले साधना गर्यो भनेपनि सुखलाई छोडेर दुःखलाई लक्ष्य बनाउन सक्दैन। वास्तवमा यही सनातन धर्म हो। जसरी आगोको धर्म हो जलाउनु, त्यसैगरी हाम्रो धर्म हो आनन्द चाहनु।
आनन्द चाहनु नै जीवमात्रको सनातन धर्म हो।
कसैलाई लाग्न सक्छ कि आनन्द चाहनु कसरी सनातन धर्म हुन सक्छ? हेर्नुहोस्। सनातन धर्म अपरिवर्तनशील धर्म हुनुपर्छ। सार्वभौम धर्म हुनुपर्छ। सर्वमान्य धर्म हुनुपर्छ। अब बताउनुहोस् कुन चाहिँ यस्तो चीज छ संसारमा जुन सबैजना चाहन्छन् र सबैजना मान्दछन्? एउटै चीज छ। आनन्द चाहनु। यो जीवमात्रको अपरिवर्तनशील धर्म हो। किनकि आनन्दलाई छोडेर कसैले पनि दुःख चाहन सक्दैन। आनन्द चाहनु नै सबैको धर्म हो। किनकि चाहे धनी होस्, चाहे गरीब होस्, चाहे हिन्दू, इसाइ, इस्लाम कुनै धर्म मान्ने होस्, ऊ आनन्द नै चाहन्छ। त्यसैले आनन्द चाहनु नै सनातन धर्म हो।
सनातन धर्मले के बताउँछ? जुन आनन्द हामी चाहन्छौं, त्यो आनन्द के हो र कसरी प्राप्त गर्न सकिन्छ, यही बताउँछ। त्यसैले सबै जीवको सनातन धर्म हो आनन्द चाहनु।
हामी सबै स्वार्थी छौं।
एउटा विचारणीय कुरा के हो भने हामी केवल आफ्नो सुख चाहन्छौं र केवल आफ्नो सुखको निम्ति नै कामना गर्दछौं। केवल आफ्नो। वेद भन्दछ–
न वा अरे पत्युः कामाय पतिः प्रियो भवत्यात्मनस्तु कामाय पतिः प्रियो भवति। न वा अरे जायायै कामाय जाया प्रिया भवत्यात्मनस्तु कामाय जाया प्रिया भवति। न वा अरे पुत्राणां कामाय पुत्राः प्रिया भवन्त्यात्मनस्तु कामाय पुत्राः प्रिया भवन्ति। न वा अरे सर्वस्य कामाय सर्वं प्रियं भवत्यात्मनस्तु कामाय सर्वं प्रियं भवति। बृहदारण्यकोपनिषद् ४–५–६
अर्थात्, कुनै पनि पतिले पत्नीको सुखको निम्ति केही पनि गर्न सक्दैन। कुनै पनि पत्नीले पतिको सुखको निम्ति केही पनि गर्न सक्दिन। कुनै पनि पुत्रले पिताको सुखको निम्ति केही पनि गर्न सक्दैन। कसैले पनि अरू कसैको सुखको निम्ति सपनामा पनि केही पनि सोच्नसम्म पनि सक्दैन। सबैले केवल आफ्नो सुखको निम्ति नै प्रत्येक कार्य गर्दछन्।
दृष्टान्त–
कसैलाई लाग्न सक्छ कि मेरी श्रीमतीले त मेरो सुख पनि चाहन्छिन्। यसको प्रत्यक्ष प्रमाण त म आँफै छु। तर गम्भीरताका साथ बिचार गर्यौं भने श्रीमतीले श्रीमानको हेरचाह आफ्नै सुखको लागि आफ्नै स्वार्थपूर्तिका लागि गर्छिन्। पहिलो त भोलि म बिरामी भएँ भने पतिले पनि यसैगरी हेरचाह गरून् भन्ने स्वार्थ हुन्छ। दोस्रो यदि पति मरे भने त स्वार्थमा हानि हुन्छ, मेरो बिचल्ली हुन्छ भन्ने चिन्ता हुन्छ। यी दुई प्रमुख कारण हुन्। सोच्नुहोस् त। यदी पत्नीले पतिको सुख चाहन सक्ने हो भने पतिलाई अरू नै कुनै केटीसँग प्रेम गर्न इच्छा भयो भने, खुशी भएर त्यसको समर्थन गर्नुपर्ने नि। तर त्यस्तो त देखिँदैन। त्यसैले पत्नीले आफ्नै सुखको लागि नै सबै कार्य गर्दछिन्।
यही कुरा श्रीमान-श्रीमती, पीता-पुत्र, साथीभाइ आदि सबै सम्बन्धमा लागू हुन्छ।
संसारमा कुनै पनि दुईजना व्यक्ति बीचको सम्बन्ध स्वार्थमा आधारित हुन्छ। यदि निकै स्वार्थपूर्ति भैरहेको छ या भविष्यमा हुने संभावना देखिन्छ भने त्यहाँ प्रगाढ प्रेम हुन्छ। यदि स्वार्थपूति कम भयो भने प्रेम पनि कम हुन्छ। यदि स्वार्थ सकियो भने प्रेम पनि सकिन्छ। यदि स्वार्थमा हानि भयो भने अब लडाईं, झगडा शुरु हुन्छ, हत्यासम्म पनि हुन सक्छ। हामी समाचार सुन्छौं नि छोराले बाबुको हत्या गर्यो, इत्यादि।
निष्कर्ष यही हो कि संसारमा कसैले पनि अरु कसैको सुखको निम्ति सपनामा पनि सोच्नसम्म पनि सक्दैन। हरेक व्यक्तिले केवल आफ्नै सुखको निम्ति निरन्तर प्रयत्न गर्दछ।
यसप्रकार अनादिकालदेखि निरन्तर आफ्नो सुखको लागि प्रयत्न गर्दा पनि आजसम्म हामीले आनन्द प्राप्त गर्न सकेनौं। ध्यान दिनुहोस्। हामी निरन्तर आनन्द चाहन्छौं।
हामी निरन्तर आनन्दप्राप्तिको लागि प्रयत्नशील छौं।
आनन्दकै निम्ति अनादिकालदेखि निरन्तर प्रयत्न गर्दा पनि हामीलाई वास्तविक सुख मिलेन। ध्यान दिनुहोस्। निरन्तर प्रयत्न। हामी निरन्तर कर्म गर्दछौं। जीव एकक्षण पनि अकर्मा रहन सक्दैन। म त केही नगरी सिरक ओढेर बिस्तारामा बसीरहेको छु भनेर कसैले भन्छ भने त्यो पनि कर्म हो। त्यसैले गीतामा भनिएको छ–
न हि कश्चित्क्षणमपि जातु तिष्ठत्यकर्मकृत्। गीता ३–५, भागवत ६–१–५३
अर्थात्, जीव एकक्षण पनि कर्म नगरीकन रहन सक्दैन। हेर्नुस्, जीवसँग एउटा यस्तो मसिन छ जुन नचलिकन रहन सक्दैन। त्यो मसिन हो मन। मन नै कर्ता हो। आत्माले मनद्वारा नै कर्म गर्छ। त्यसैले शरीरले केही नगरेपनि मनले हामी सोच्दछौं, त्यो कर्म हो। वेद भन्दछ–
मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः। ब्रह्मबिन्दूपनिषद् २
अर्थात्, मन नै बन्धन र मोक्षको कारण हो किनकि मन नै कर्ता हो। मनको निरन्तर कर्म गर्ने स्वभावको कारणले गर्दा जीवात्मा एकक्षण पनि अकर्ता रहँदैन। निरन्तर कर्म गरिरहन्छ। यसप्रकार गरिने प्रत्येक कर्म सुखको निम्ति नै हो। त्यसैले जीवले निरन्तर सुखप्राप्तिको निम्ति प्रयत्नशील रहन्छ।
यसरी निरन्तर सुखप्राप्तिको लागि प्रयत्न गर्दा जतिपनि सुखको आभास मिल्यो, विपरित स्वभाववाला मिल्यो। अर्थात्, सीमित, घट्दै जाने र समाप्त हुने लक्षण भएको सुख मिल्यो।
वास्तविक सुख के हो भनेर नजान्नाले नै हामीले वास्तविक सुखको लागि प्रयत्न गरेनौं। वेदशास्त्रद्वारा हामीले आनन्द के हो भन्ने बुझ्यौं। अब बुझौं वास्तविक सुख के हो? आनन्द केलाई भनिन्छ?
आनन्द केलाई भनिन्छ?
वेदमा एउटा प्रसंग छ, जहाँ भृगुजीले आफ्नो पीता भगवान् वरुणजीलाई ब्रह्मको बारेमा सोध्नुहुन्छ। एउटा स्वर्गका देवता हुनुहुन्छ, उहाँको नाम पनि वरुण हो। साथै वरुण नाम भगवान्को निम्ति पनि आएको छ। स्वर्गका देवता ब्रह्मज्ञानी होइनन्। मायाधीन हुन्। त्यसैले यहाँ भृगुका पीता वरुण भगवान् वरुण हुनुहुन्छ। अस्तु। वरुणजीले ब्रह्मको परिभाषा दिँदै भन्नुभयो–
यतो वा इमानि भूतानि जायन्ते येन जातानि जीवन्ति। यत्प्रयन्त्यभिसंविशन्ति। तद्विजिज्ञासस्व। तद् ब्रह्म। तैत्तिरीयोपनिषद् ३–१
अर्थात्, जसबाट यो संसारको सृष्टि हुन्छ, जसमा स्थित हुन्छ अनि जसमा लय हुन्छ, त्यो ब्रह्म हो। वरुणजीले सोध्नुभयो, ‘सुनिस्?’ ‘सुनेँ पिताजी’। ‘बुझिस’? ‘बुझिन’। ‘साधना गर’। ‘हस’। भृगुजी साधना गर्न जानुभयो। साधना गरेर जब बोध भयो तब आएर पिताजीलाई भन्नुभयो कि मैले जानेँ। ‘के जानिस्?’ वरुणजीले सोध्नुभयो।
अन्नं ब्रह्मेति व्यजानात्। अन्नाद्ध्येव खल्विमानि भूतानि जायन्ते। अन्नेन जातानि जीवन्ति। अन्नं प्रयन्त्यभिसंविशन्तीति। तैत्तिरीयोपनिषद् ३–२
अर्थात्, अन्न नै ब्रह्म हो। अन्न भन्नाले दाल, भात, तरकारी। हामीले खाएको अन्नबाट रस बन्छ, रसबाट रक्त बन्छ, रक्तबाट माँस बन्छ, माँसबाट मेदा बन्छ, मेदाबाट मज्जा बन्छ, मज्जाबाट हड्डी बन्छ, हड्डीबाट वीर्य बन्छ। वीर्य र रजको संयोगबाट मनुष्य बन्छ। यसप्रकार सबै जीव अन्नबाट बन्छन्। अन्न कै कारणले जीवित हुन्छन्। अन्त्यमा पृथ्वीमा नै गएर मिल्छन्। त्यही पृथ्वीबाट नै अन्न बन्छ। त्यसैले अन्न नै ब्रह्म हो। वरुणजीले भन्नुभयो कि गलत। साधना गर। भृगुजी साधना गर्न जानुभयो। केही समय साधना गरेपछि फेरि बोध भयो। अनि फेरि आएर भन्नुभयो–
प्राणो ब्रह्मेति व्यजानात्। प्राणाद्ध्येव खल्विमानि भूतानि जायन्ते। प्राणेन जातानि जीवन्ति। प्राणं प्रयन्त्यभिसंविशन्तीति। तैत्तिरीयोपनिषद् ३–३
अर्थात्, प्राण नै ब्रह्म हो। पाँच प्रकारका प्राण या वायु हुन्छन्। प्राण, अपान, उदान, व्यान र समान। हामीले लिने स्वास प्राण हो। हामीले छोड्ने वायु अपान हो। नाकबाट फेर्ने स्वास र अधोवायुको दुवै अपान हुन्। पाचन प्रणालीमा हुने वायु उदान वायु हो। डकार र हिक्काको रूपमा उदान वायुको अनुभव गर्न सिकन्छ। शरीरभरि पनि वायु रहन्छ। आजकालका वैज्ञानिकहरू पनि मान्दछन्। प्रत्येक कोषमा वायु पुग्छ। यसरी शरीरभरि व्यापक रहने वायुलाई व्यान भनिन्छ। समान वायु घाँटीबाट शुरु भएर शीरतर्फ जान्छ। यी पाँच प्राणद्वारा नै प्राणीहरूको सृष्टि हुन्छ या अस्तित्वमा आउँछन्। यीनै प्राणको कारणले जीव जीवित रहन्छ। र मृत्युको समयमा वायु वायुमा मिसिन्छ।
वरुणजीले गलत भयो भन्नुभयो। भृगुजी फेरि साधना गर्न जानुभयो। फेरि आएर भन्नुभयो–
मनो ब्रह्मेति व्यजानात्। मनसो ह्येव खल्विमानि भूतानि जायन्ते। मनसा जातानि जीवन्ति। मनः प्रयन्त्यभिसंविशन्तीति। तैत्तिरीयोपनिषद् ३–४
अर्थात्, मन नै ब्रह्म हो। भएन। फेरि साधना गर्न पठाउनुभयो। फेरि आएर भन्नुभयो–
विज्ञानं ब्रह्मेति व्यजानात्। विज्ञानाद्ध्येव खल्विमानि भूतानि जायन्ते। विज्ञानेन जातानि जीवन्ति। विज्ञानं प्रयन्त्यभिसंविशन्तीति। तैत्तिरीयोपनिषद् ३–५
अर्थात्, आत्मा नै ब्रह्म हो। विज्ञान भन्नाले आत्मा। आत्मा ज्ञानको स्रोत हो। त्यसैले कसैले विज्ञान भन्नाले ज्ञान बुझ्दछन्। वरुणजीले भएन भन्नुभयो। भृगुजी फेरि साधना गर्न जानुभयो अनि आएर भन्नुभयो कि पिताजी अब मैले बुझें। के?
आनन्दो ब्रह्मेति व्यजानात्। आनन्दाद्ध्येव खल्विमानि भूतानि जायन्ते। आनन्देन जातानि जीवन्ति। आनन्दं प्रयन्त्यभिसंविशन्तीति। तैत्तिरीयोपनिषद् ३–६
अर्थात्, आनन्द नै ब्रह्म हो। ठीक। हामी जुन आनन्द चाहन्छौं, त्यो ब्रह्म नै हो। वेदमा बारम्बार भनिएको छ–
रसो वै सः। तैत्तिरीयोपनिषद् २–७
अर्थात्, भगवान् नै आनन्द हुनुहुन्छ। यहाँ ‘रसो वै तस्मिन्’ भनिएन। यदि ‘रसो वै तस्मिन्’ भनिएको भए भगवान्मा आनन्द छ भन्ने अर्थ लाग्थ्यो। जस्तै रसबरीमा दुध फटाएर बनाइएको छेना अलग हुन्छ र रस अलग हुन्छ। त्यो छेनामा रस हुन्छ। यसैगरी भगवान्मा रस हुन्छ, यस्तो होइन। भगवान् नै रस हुनुहुन्छ। शास्त्र भन्दछ–
आनन्दं ब्रह्मणो विद्वान्। न बिभेति कदाचन। तैत्तिरीयोपनिषद् २–४, २–९
विज्ञानमानन्दं ब्रह्म। बृहदारण्यकोपनिषद् ३–९–२८
आनन्द ही है ब्रह्म गोविन्द राधे। आनन्द सार सार प्यार बता दे॥ राधा गोविन्द गीत ४४४५
अर्थात्, यी सबै मन्त्र र श्लोकले यही बताएका छन् कि भगवान् नै आनन्द हुनुहुन्छ।
दृष्टान्त–
जब भगवान् श्रीकृष्ण मथुरा जानुभयो, तब कुब्जाले उहाँको आलिंगन गरेकी थिइन्। वेदव्यासजी श्रीकृष्णको आलिंगन गरिन् भन्नुभएन।
आनन्दमूर्तिमजहादतिदीर्घतापम्। भागवत १०–४८–७
अर्थात्, आनन्दको आलिंगन गरेकी थिइन् भन्नुभयो। किनकि भगवान् भन्नु र आनन्द भन्नु एउटै हो। पर्यायवाची शब्द हुन्।
भगवान् नै आनन्द भएकाले वेद भन्दछ–
रसꣳह्येवायं लब्ध्वा नन्दी भवति। तैत्तिरीयोपनिषद् २–७
रसं लब्ध्वा सुखी भवति। कठरुद्रोपनिषद् २७
अर्थात्, भगवान्लाई पाएर नै जीव आनन्दमय हुन्छ। भगवान्लाई नपाउनाले नै अनन्त जन्ममा हामीले अनन्त दुःख प्राप्त गर्यौं। त्यसैले अब भगवान्लाई कसरी पाउन सकिन्छ, त्यसको बारेमा जान्नुछ।
ध्यान दिनुहोस्। विषयवस्तुको क्रम याद गर्नुपर्छ। हामी आनन्द चाहन्छौं र निरन्तर आनन्द कै निम्ति प्रयत्न गर्दछौं। त्यो आनन्द भगवान् नै भएकाले जबसम्म हामी भगवान्लाई प्राप्त गर्दैनौं, तबसम्म हामी सुखी हुन सक्दैनौं। त्यसैले भगवान्लाई कसरी प्राप्त गर्न सकिन्छ? अब यसको बारेमा जान्नुछ।
हामी किन आनन्द नै चाहन्छौं?
यति बुझेपछि अब हामी जान्न सक्छौं कि हामी आनन्द नै किन चाहन्छौं? या भगवान्लाई किन चाहन्छौं? यसअघिको भागमा हामीले एउटा विद्यार्थीलाई प्रश्न गर्ने क्रममा सबैकुरा किन चाहन्छौ भन्दा सुखको लागि भनेको थियो। हामी सबै अन्य वस्तु किन चाहन्छौं भन्दा यही उत्तर आउँछ कि सुखको निम्ति चाहन्छौं। जसरी त्यो विद्यार्थीसँग सुख किन चाहन्छौ भन्दा उत्तर थिएन, त्यसैगरी ‘हामी सुख किन चाहन्छौं?’ भनेर प्रश्न गर्दा यसको उत्तर अहिलेसम्म हामीसँग पनि छैन। तर, अब उत्तर दिन सक्छौं। त्यसैले, यसको पनि समाधान गरिहालौं। वेदान्त भन्दछ–
अंशो नानाव्यपदेशात् । ब्रह्मसूत्र २–३–४२
गीतामा भगवान् भन्नुहुन्छ–
ममैवांशो जीवलोके जीवभूत: सनातन:। गीता १५–७
तुलसीदासजी महाराज भन्नुहुन्छ–
ईस्वर अंस जीव अबिनासी। चेतन अमल सहज सुखरासी॥ रामचरितमानस
अर्थात्, जीव भगवान्को अंश हो। अब एउटा अकाट्य सिद्धान्त छ। त्यो के हो भने, प्रत्येक अंशले आफ्नो अंशीलाई चाहन्छ।
दृष्टान्त–
जस्तै हातमा भएको मोबाइल यदि छुट्यो भने तल खस्छ। किन? किनकि त्यो पृथ्वीको अंश हो। पानी निरन्तर समुद्रतर्फ जान प्रयत्न गर्छ। किन? किनकि पानी समुद्रको अंश हो। त्यसैगरी हामी पनि आनन्दसिंधु भगवान्को अंश भएकाले आनन्द चाहन्छौं।
जीव अंश आनन्द गोविन्द राधे। याते जीव चाहे आनन्द बता दे॥ राधा गोविंद गीत
त्यसैले हामी निरन्तर आफ्नो अंशी भगवान्लाई वा आनन्दलाई प्रेम गर्छौं।
केवल आनन्द या भगवान् मात्रै होइन हामी ईश्वरीय गुणसँग पनि प्रेम गर्छौं। सत्य, दया, अहिंसा आदि। हरेक व्यक्तिले यी दैवी गुणसँग स्वाभाविक रूपमा प्रेम गर्दछ। यहाँहरूलाई लाग्न सक्छ कि यो कलियुगमा को व्यक्ति होला र जसले सत्य, दया, अहिँसा, अस्तेय आदि गुणसँग प्रेम गरुन्? त्यसो होइन। प्रत्येक व्यक्तिले सत्य, दया, अहिंसा आदि दैवी गुणलाई नै प्रेम गर्छ। त्यसको विपरित असत्य, हिंसा आदिलाई प्रेम गर्दैन।
दृष्टान्त–
जस्तो। एउटा झूठ बोलिरहने व्यक्तिले पनि असत्यलाई प्रेम गर्न सक्दैन। किनकि यदि कसैले उसँग झूठ बोल्यो भने, उसलाई प्रिय लाग्दैन। यसको मतलब यही हो कि उसले झूठसँग प्रेम गर्दैन। यदि झूठसँग प्रेम गर्ने भएको भए ऊ खुशी हुनुपर्ने। त्यसैगरी एउटा चोरको घरमा जब चोरी हुन्छ, तब त्यो चोर दुःखी हुन्छ। यदि चोरीलाई प्रेम गर्ने भएको भए, ऊ खुशी हुनुपर्ने कि मेरो पार्टीवाला एउटा सदस्य बढेछ भनेर। तर दुःखी हुन्छ।
यसबाट यही सिद्ध हुन्छ कि हरेक व्यक्ति आनन्द वा भगवान्सँग त प्रेम गर्छ नै, साथमा ईश्वरीय गुणसँग पनि प्रेम गर्छ।
भगवान्लाई कसरी प्राप्त गर्न सकिन्छ?
अब मूल प्रसंगमा आउनुहोस्। वेद भन्दछ भगवान् आनन्द हुनुहुन्छ। त्यसैले भगवान्लाई पाएर नै हामी सुखी हुन सक्छौं। अब भगवान्लाई कसरी प्राप्त गर्ने त?
वेद भन्दछ –
तं ज्ञात्वाऽमृता भवन्ति। श्वेताश्वतरोपनिषद् ३–७
भगवान्लाई जानेर जीवले भगवान्लाई प्राप्त गर्छ र अमर हुन्छ। भगवान्लाई नजानिकन अरू पनि कुनै उपाय छ कि? छैन। वेद भन्दछ–
तमेव विदित्वाति मृत्युमेति नान्यः पन्था विद्यतेऽयनाय। श्वेताश्वतरोपनिषद् ३–८
भगवान्लाई जानेर नै जीवले भगवान्लाई प्राप्त गर्न सक्छ। अमरता प्राप्त गर्छ। नान्यः पन्था, अरू कुनै पनि उपाय छैन। जब जीवले भगवान्लाई प्राप्त गर्छ तब तुरुन्तै, यही वर्तमान शरीर रहँदै उसले परमानन्दको अनुभव गर्छ। त्यसैगरी तुलसीदासजी महाराज पनि भन्नुहुन्छ–
जानत तुम्हहि तुम्हइ होइ जाई। रामचरितमानस
अर्थात्, भगवान्लाई जानेर नै जीव भगवान्समान आनन्दमय हुन्छ।
भगवान्लाई नजानेकाले गर्दा नै हामी दुःखी छौं।
निष्कर्ष यही हो कि भगवान्लाई जान्नुछ। जबसम्म भगवान्लाई जान्दैनौं, तबसम्म हामी उहाँमा नै रहेर पनि वास्तविक सुखबाट बञ्चित हुन्छौं। हेर्नुस्। वेद पनि यही भन्दछ कि हामी भगवान्मा नै रहन्छौं।
यस्याक्षरं शरीरम्। सुबालोपनिषद् ७–१
आत्मा परमात्माको शरीर हो। जसरी आत्माको शरीर हो यो पञ्चमहाभूतको शरीर। त्यसैगरी म भगवान्को शरीर हूँ। हामी आनन्दमा नै रहन्छौं। तर भगवान्लाई नजान्नाले आनन्दबाट बञ्चित रहन्छौं। तुलसीदासजी महाराजको शब्दमा–
आँनन्द–सिन्धु–मध्य तव बासा। बिनु जाने कस मरसि पियासा॥ विनय पत्रिका १३६–२
आनन्दसिंधुमा रहेर पनि हामी दुःखी छौं। त्यसैगरी–
पानी महँ मीन प्यासी। सुनि सुनि मोहिं आवति हाँसी। कबीरदासजी
जीव की दशा ऐसी गोविंद राधे। सिन्धु बिच मीन जैसे प्यासी बता दे॥ राधा गोविंद गीत
अर्थात् हामी भगवान्मा नै स्थित छौं। त्यसैले तर्कसंग कुरा के हो भने यदि भगवान् कहिं वृन्दावनमा मात्रै रहने भएपनि यो कुरा आउनसक्थ्यो कि सबैभन्दा पहिले वृन्दावन जानुपर्छ अनि यो यो उपाय अपनाउनुपर्छ। तर भगवान् त सर्वत्र हुनुहुन्छ। हामीभित्र पनि हुनुहुन्छ। हाम्रो प्रत्येक अंगमा हुनुहुन्छ। त्यसैले केवल जाने पुग्छ।
दृष्टान्त–
एउटा व्यक्तिसँग पारसमणि छ, तर उसलाई थाहा छैन कि यो पारसमणि हो भनेर। अब यदि उसलाई पारस चाहियो भने के गर्नुपर्छ? अन्य केही पनि गर्नुपर्दैन केवल पारसको बारेमा जान्नासाथ उसले पारसलाई चिन्न सक्छ, प्राप्त गर्न सक्छ। ठीक त्यसैगरी भगवान् पनि हामीसँगै हुनुहुन्छ।
वेद भन्दछ –
द्वा सुपर्णा सयुजा सखाया समानं वृक्षं परिषस्वजाते। श्वेताश्वतरोपनिषद् ४–६
अर्थात् भगवान् नित्य हामीसँगै हुनुहुन्छ। हाम्रो हृदयरूपी वृक्षमा दुईवटा पंक्षी छन्। एउटा हामी अर्थात् आत्मा अनि अर्को परमात्मा। भगवान् हामीसँग नित्य रहनुहुन्छ। जुनजुन शरीरमा हामी जान्छौं भगवान् पनि साथसाथ जानुहुन्छ। कहिल्यै पनि साथ छोड्नुहुन्न। संसारमा यस्तो साथी कोही पनि हुन सक्दैन। जीवनभरि पनि कोही साथ रहन सक्दैन। तर भगवान् नित्य साथ रहनुहुन्छ। तैपनि लाभ मिल्दैन। किनकि जीवले पीठ गरेर बसेको छ। भगवान्बाट विमुख छ। किनकि भगवान्लाई जानेको छैन। त्यसैले कहिँ जानु पदैन, अन्य केही गर्नु पर्दैन। केवल जाने पुग्छ। जान्नासाथ प्राप्त हुनुहुन्छ। प्राप्त हुनासाथ अनन्त आनन्द प्राप्त हुन्छ।
अब एकपटक क्रम बुझ्नुहोस्। हाम्रो लक्ष्य हो आनन्द। भगवान् नै आनन्द हुनुहुन्छ। भगवान् नै आनन्द भएकाले, हाम्रो लक्ष्य आनन्द प्राप्त गर्न भगवान्लाई प्राप्त गर्न जरुरी छ। भगवान्लाई प्राप्त गर्न भगवान्लाई जान्न जरुरी छ। यो हो क्रम। त्यसैले अब भगवान्लाई कसरी जान्ने? यसको बारेमा चर्चा गरिनेछ।




