कुलदेवताको वास्तविकता के हो? के सबैको कुलदेवता नै हुन्छन्? कसै कसैको कुलदेवी पनि हुनुपर्ने हो कि? आफ्नो गोत्रअनुसार सोही गोत्रका ऋषिलाई आफ्नो “कुलदेवता” मानेर सात्त्विक विधिले पूजा गर्दा ठिक कि बाउ-बाजेले गर्दै आइरहेको विधि अनुसार पाठोको बलि गरी पूजा गर्दा ठिक? यदि कसैले बलि प्रथालाई नमानी शुद्ध खीर पकवान सहित नरिवल, फल-फूल इत्यादिले पूजा गर्ने अठोट गरेमा के कुलदेवता रुष्ट हुन्छन् कि भनेर भयभीत हुनुपर्ला त? उपरोक्त शङ्कालाई लिएर म निकै संशय एवं धर्म सङ्कटमा परेको छु। कृपया यसबारे यथाशीघ्र मलाई मार्गदर्शन दिनुहोला। प्रश्नकर्ता– कृष्ण अधिकारी

उत्तर–

कुलदेवता र कुलदेवीको प्रयोजन

अहिलेको समाज भौतिक शक्ति र यन्त्रमा आधारित समाज हो। तर पहिलेको समाज आध्यात्मिक शक्ति र तन्त्रमन्त्रमा आधारित समाज थियो। त्यति बेला कूलको रक्षाको निम्ति कुलदेवताको उपासना गरिन्थ्यो। यसमा कुलदेवताको निम्ति विभिन्न भोग्य बस्तु चढाएर उहाँको सम्मान, पूजा गरिन्छ। यसमा मन्त्र एवं विधिको प्रमुख भूमिका हुन्छ। त्यसबापत कुलदेवताले त्यो कूलको रक्षा गर्नुहुन्छ। मन्त्रको अधीनमा ती देवता पनि रहनुहुन्छ। त्यसैले कूलको रक्षा गर्न उहाँ बाध्य हुनुहुन्छ।
यही परम्परा प्राचीन समयमा भारत भूमिबाट व्यापारको क्रममा बसाइसराइ गरेका व्यक्तिहरूको माध्यमबाट मिश्र, युनानी आदि विभिन्न प्राचीन सभ्यताहरूमा पनि विकृत हुँदै पुगेको देखिन्छ। कुलदेवताको अभिप्राय देवता या देवी दुवै हो। कुनै कूलमा देवता कुनैमा देवीको उपासना गरिन्छ। कुलदेवता र कुलदेवीले योग्य पात्रलाई अन्य विभिन्न शक्तिहरू पनि दिन सक्नुहुन्छ।
जस्तो उदाहरणको लागि विश्व प्रसिद्ध गणितज्ञ श्रीनिवास रामानुजनलाई गणित विषयको ज्ञान उहाँको कुलदेवी नामागिरीले दिनुभएको थियो। यो कुनै अन्य युगको घटना होइन। हाम्रै समयको कुरा हो।
अब शुद्ध सात्त्विक नैवेद्य अर्पण गर्ने कि पशु हत्या गरेर पशुको मासु अर्पण गर्ने त? यो सबैभन्दा जटिल प्रश्न हो। यो विषय लामो छ। धैर्य धारण गरेर पढ्नुहोला।
पहिले राजाहरूले वेदशास्त्रको नियममा रहेर त्यसअनुसार शासन गर्थे र गर्नुपर्थ्यो। अहिंसा वेदशास्त्रको अकाट्य नियम हो। कलियुग प्रारम्भ भएसँगै कलिको प्रभावले गर्दा अरू जस्तै राजाहरू पनि तमोगुणी हुँदै गए। उनीहरू मांसाहारप्रति आकर्षित भए। वेद-शास्त्रले त्यसको आज्ञा नदिएकाले राजाहरूले वेद-शास्त्रमा केही यस्ता श्लोक, मन्त्रहरू जोडिदिए, जसले गर्दा उनीहरूलाई मांसाहार गर्न छुट मिलोस्। त्यति बेला अहिलेको जस्तो शास्त्रहरूका लाखौँ प्रतिहरू हुँदैनथ्यो। केही स्थानहरूमा मूलप्रति हुन्थ्यो। कसैलाई कुनै ग्रन्थ चाहिएमा त्यहाँ गएर मूलप्रतिबाट सारेर ल्याउनुपर्थ्यो।
राजाहरूले आफ्नो शक्ति प्रयोग गरेर केही लोभी संस्कृत विद्वान्हरूलाई प्रलोभन दिएर, धम्काएर मूल ग्रन्थमा नै त्यस्ता श्लोकहरू थप्न लगाए। राज्य शक्ति नै उनीहरूको हातमा भएकाले उनीहरूको निम्ति यो कुनै गाह्रो काम थिएन। त्यस्ता श्लोक एवं मन्त्रहरू क्षेपक हुन्। प्रमाणको निम्ति यहाँ केही प्रस्तुत गरिएको छ।

मनुस्मृतिका क्षेपक श्लोकहरू–

पाठीनरोहितावाद्यौ नियुक्तौ हव्यकव्ययोः।
राजीवान्सिंहतुण्डाश्च सशल्काश्चैव सर्वशः॥ मनुस्मृति ५–१६
न भक्षयेदेकचरानज्ञातांश्च मृगद्विजान्।
भक्ष्येष्वपि समुद्दिष्टान्सर्वान्पञ्चनखांस्तथा॥ मनुस्मृति ५–१७
श्वाविधं शल्यकं गोधां खड्गकूर्मशशांस्तथा।
भक्ष्यान्पञ्चनखेष्वाहुरनुष्ट्रांश्चैकतोदतह्॥ मनुस्मृति ५–१८
यी श्लोकहरू क्षेपक हुन्। मनुस्मृतिमा ५–१५ सम्म र ५–१९ देखि मांसाहार अभक्ष्य बताइएको छ। शुद्ध सात्त्विक भोजन गर्न निर्देशन दिइएको छ। तर, अचानक तीन वटा श्लोकमा केही दुर्लभ प्रजातिका माछाहरू, गैँडा, कछुवा, खरायो आदि खानु भनियो। सर्वसाधारण व्यक्तिले गैँडा, कछुवा, दुर्लभ प्रजातिका प्राणीहरू त खान सक्दैन। त्यस्ता जनावरहरू मार्नको निम्ति त त्यति बेलाका शासकहरूबाट नै सम्भव थियो। त्यसैले तिनीहरूले यस प्रकारका क्षेपक श्लोकहरू विभिन्न ग्रन्थमा राखे। त्यसै गरी अन्य क्षेपक श्लोकहरू यस प्रकार छन्–
यज्ञार्थं ब्राह्मणैर्वध्याः प्रशस्ता मृगपक्षिणः।
भृत्यानां चैव वृत्त्यर्थं अगस्त्यो ह्याचरत्पुरा॥ मनुस्मृति ५–२२
यहाँ फेरि मृग र पक्षीको मासु खानु भनियो।
प्रोक्षितं भक्षयेन्मांसं ब्राह्मणानां च काम्यया।
यथाविधि नियुक्तस्तु प्राणानां एव चात्यये॥ मनुस्मृति ५–२७
प्राणस्यान्नं इदं सर्वं प्रजापतिरकल्पयत्।
स्थावरं जङ्गमं चैव सर्वं प्राणस्य भोजनम्॥ मनुस्मृति ५–२८
चराणां अन्नं अचरा दंष्ट्रिणां अप्यदंष्ट्रिणः।
अहस्ताश्च सहस्तानां शूराणां चैव भीरवः॥ मनुस्मृति ५–२९
नात्ता दुष्यत्यदन्नाद्यान्प्राणिनोऽहन्यहन्यपि।
धात्रैव सृष्टा ह्याद्याश्च प्राणिनोऽत्तार एव च॥ मनुस्मृति ५–३०
यज्ञाय जग्धिर्मांसस्येत्येष दैवो विधिः स्मृतः।
अतोऽन्यथा प्रवृत्तिस्तु राक्षसो विधिरुच्यते॥ मनुस्मृति ५–.३१
क्रीत्वा स्वयं वाप्युत्पाद्य परोपकृतं एव वा।
देवान्पितॄंश्चार्चयित्वा खादन्मांसं न दुष्यति॥ मनुस्मृति ५–३२
नाद्यादविधिना मांसं विधिज्ञोऽनापदि द्विजः।
जग्ध्वा ह्यविधिना मांसं प्रेतस्तैरद्यतेऽवशः॥ मनुस्मृति ५–३३
न तादृशं भवत्येनो मृगहन्तुर्धनार्थिनः।
यादृशं भवति प्रेत्य वृथामांसानि खादतः॥ मनुस्मृति ५–.३४
नियुक्तस्तु यथान्यायं यो मांसं नात्ति मानवः।
स प्रेत्य पशुतां याति संभवानेकविंशतिम्॥ मनुस्मृति ५–३५
असंस्कृतान्पशून्मन्त्रैर्नाद्याद्विप्रः कदा चन।
मन्त्रैस्तु संस्कृतानद्याच्छाश्वतं विधिं आस्थितः॥ मनुस्मृति ५–३६
कुर्याद्घृतपशुं सङ्गे कुर्यात्पिष्टपशुं तथा।
न त्वेव तु वृथा हन्तुं पशुं इच्छेत्कदा चन॥ मनुस्मृति ५–३७
यहाँ फेरि मासु खानु भनियो। ब्रह्माजीले सबै प्राणी खानकै लागि बनाउनुभएको हो भनियो। प्रतिदिन मासु खानु भनियो। देवता र पितृलाई अर्पण गरेर मासु खानु भनियो। मासु अनिवार्य रूपमा अवश्य खानु भनियो। श्राद्धमा जसले मासु खाँदैन, ऊ मरेपछि एक्काइस पटक पशु योनीमा जन्म हुन्छ भनियो। यस प्रकार यी श्लोकहरूमा अज्ञानताको पराकाष्ठा पाइन्छ।
एष्वर्थेषु पशून्हिंसन्वेदतत्त्वार्थविद्द्विजः।
आत्मानं च पशुं चैव गमयत्युत्तमं गतिम्॥ मनुस्मृति ५–४२
गृहे गुरावरण्ये वा निवसन्नात्मवान्द्विजः।
नावेदविहितां हिंसां आपद्यपि समाचरेत्॥ मनुस्मृति ५–४३
या वेदविहिता हिंसा नियतास्मिंश्चराचरे।
अहिंसां एव तां विद्याद्वेदाद्धर्मो हि निर्बभौ॥ मनुस्मृति ५–४४
यी श्लोकहरूमा पशुको हत्या गर्नु भनियो। यी सबै श्लोकहरू क्षेपक हुन्। यो त भयो के खाने के नखाने भन्ने सन्दर्भमा मनुस्मृतिमा भएका केही क्षेपक श्लोक। अब श्राद्ध व्यवस्थामा भएका केही क्षेपक श्लोक हेर्नुहोस्–
पितॄणां मासिकं श्राद्धं अन्वाहार्यं विदुर्बुधाः।
तच्चामिषेणा कर्तव्यं प्रशस्तेन प्रयत्नतः॥ मनुस्मृति ३–१२३

यहाँ उत्तम मासुद्वारा श्राद्ध गर्ने भनियो। त्यसैगरी,

तिलैर्व्रीहियवैर्माषैरद्भिर्मूलफलेन वा।
दत्तेन मासं तृप्यन्ति विधिवत्पितरो नृनाम्॥ मनुस्मृति ३–२६७
द्वौ मासौ मत्स्यमांसेन त्रीन्मासान्हारिणेन तु।
औरभ्रेणाथ चतुरः शाकुनेनाथ पञ्च वै॥ मनुस्मृति ३–२६८
षण्मासांश्छागमांसेन पार्षतेन च सप्त वै।
अष्टावेनस्य मांसेन रौरवेण नवैव तु॥ मनुस्मृति ३–२६९
दशमासांस्तु तृप्यन्ति वराहमहिषामिषैः।
शशकूर्मयोस्तु मांसेन मासानेकादशैव तु॥ मनुस्मृति ३–२७०
संवत्सरं तु गव्येन पयसा पायसेन च।
वार्ध्रीणसस्य मांसेन तृप्तिर्द्वादशवार्षिकी॥ मनुस्मृति ३–२७१
कालशाकं महाशल्काः खङ्गलोहामिषं मधु।
आनन्त्यायैव कल्प्यन्ते मुन्यन्नानि च सर्वशः॥ मनुस्मृति ३–२७२
यी सबै क्षेपक श्लोकहरूद्वारा श्राद्धमा पनि मासुको प्रयोग गर्ने व्यवस्था गरियो।

पुराणमा क्षेपक श्लोकहरू–

पुराणमा पनि यस्ता क्षेपक श्लोकहरूको प्रयोग गरिएको छ। जस्तो मत्स्यपुराणको सत्रौं अध्यायका निम्न श्लोकहरू क्षेपक हुन्।

अन्नन्तु सदधिक्षीरं गोघृतं शर्करान्वितम्।
मासम्प्रीणाति वै सर्वान्‌ पितॄनित्याह केशवः॥ मत्स्यपुराण १७–३०
द्वौ मासौ मत्स्यमांसेन त्रीन्मासान्‌ हारिणेन तु।
औरभ्रमेणाथ चतुरः शाकुनेनाथ पञ्च वै॥ मत्स्यपुराण १७–३१
षण्मासंच्छागमांसेन तृप्यन्ति पितरस्तथा।
सप्त पार्षतमांसेन तथाष्टा वेणजेन तु॥ मत्स्यपुराण १७–३२
दश मासांस्तु तृप्यन्ति वराहमहिषामिषैः।
शशकूर्मज मांसेन मासानेकादशैव तु॥ मत्स्यपुराण १७–३३
संवत्सरन्तु गव्येन पयसा पायसेन च।
रौरवेण च तृप्यन्ति मासान् पञ्चदशैव तु॥ मत्स्यपुराण १७–३४
व्याघ्र्याः सिंहस्य मांसेन तृप्तिर्द्वादशवार्षिकी।
कालशाकेन चानन्ता खड्‌गमांसेन चैव हि॥ मत्स्यपुराण १७–३५
यत्किञ्चिन्मधु संमिश्रं गोक्षीरं घृतपायसम्।
दत्तमक्षयमित्याहुः पितरः पूर्वदेवताः॥ मत्स्यपुराण १७–३६
श्राद्धको बारेमा बताउने क्रममा ३०औँ श्लोकमा गाइको घ्यू, दूध, दही, सख्खर, आदि पितृहरूलाई मन पर्छ। ३६औँ श्लोकमा गाईको खीरले पितृ सधैँका लागि तृप्त रहन्छन् भनियो। अब बिचमा ३१ देखि ३५ श्लोकसम्ममा सबै प्रकारका मासु पकाएर पितृलाई अर्पण गर्ने जुन कुरा आयो, त्यो अप्रासङ्गिक छ। गैँडा, हरिण, विशेष चराहरूको समेत उल्लेख गरिएको छ। एउटा तार्किक व्यक्तिले सजिलै बुझ्न सक्छ, यी सबै श्लोक  क्षेपक हुन् भनेर। यहाँ गैँडा, कछुवाको मासु पनि बताइयो जुन शाही घरानाको भोजनमा पर्छ। त्यसको मासु सेवन गर्नाले कामसम्बन्धी उत्तेजना आउँछ। गैँडाको सिकार त राजाहरूले गर्ने गर्थे। साधारण खर्चमा घरको दूध, घ्यू, खीर आदिबाट काम बन्छ भने गैँडाको मासुको पछाडि कोही किन लाग्नु? त्यो आम व्यक्तिको लागि लगभग असम्भव कुरा हो। अतः यी सबै त्यति बेलाका मासु प्रेमी शासकहरूले गर्ने गरेको पाप कर्मलाई सर्वसाधारणको नजरमा वैधानिक बनाउने एउटा उपाय मात्रै हो।
यसबाहेक पनि मार्कण्डेय पुराण, गरुडपुराण, वायुपुराण, ब्रह्मपुराण, याज्ञवल्क्य स्मृति आदि ग्रन्थमा समेत जहाँ-जहाँ श्राद्ध सम्बन्धी निरूपण गरिएको छ, त्यहाँ त्यहाँ यस प्रकारका क्षेपक श्लोकहरू पाइन्छन्।

वेदमा क्षेपक मन्त्रहरू–

वेदमा समेत क्षेपकहरू छन्। जस्तै–
अथ य इच्छेत् पुत्रो मे पण्डितो विगीतः समितिंगमः शुश्रूषितां वाचं भाषिता जायेत सर्वान् वेदाननुब्रुवीत सर्वमायुरियादिति मांसौदनं पाचयित्वा सर्पिष्मन्तमश्नीयाताम्। ईश्वरौ जनयितवाइ। औक्षेण वार्षभेण वा॥ बृहदारण्यकोपनिषद ६–४–१८
यहाँ गोरुको मासु खानु भनियो।
वृषाकपायि रेवति सुपुत्र आदु सुस्नुषे। सत्त इन्द्र उक्षणः प्रियं काचित्करं हविर्विश्वस्मादिन्द्र उत्तरः॥ ऋग्वेद १०–८६–१३
उक्ष्णो हि मे पञ्चदश साकं पचन्ति विंशतिम्। उताहमद्मि पीव इदुभा कुक्षी पृणन्ति मे विश्वस्मादिन्द्र उत्तरः॥ ऋग्वेद १०–८६–१४
यहाँ इन्द्रले गोरुको मासु खान्छन् भनियो।
यदश्वस्य क्रविषो मक्षिकाश यद्वा स्वरौ स्वधितौ रिप्तमस्ति। यद्धस्तयोः शमितुर्यन्नखेषु सर्वा ता ते अपि देवेष्वस्तु॥ ऋग्वेद १–१६२–९
यदूवध्यमुदरस्यापवाति य आमस्य क्रविषो गन्धो अस्ति। सुकृता तच्छमितारः कृण्वन्तूत मेधं शृतपाकं पचन्तु॥ ऋग्वेद १–१६२–१०
यत्ते गात्रादग्निना पच्यमानादभि शूलं निहतस्यावधावति। मा तद्भूम्यामा श्रिषन्मा तृणेषु देवेभ्यस्तदुशद्भ्यो रातमस्तु॥ ऋग्वेद १–१६२–११
ये वाजिनं परिपश्यन्ति पक्वं य ईमाहुः सुरभिर्निर्हरेति। ये चार्वतो मांसभिक्षामुपासत उतो तेषामभिगूर्तिर्न इन्वतु॥ ऋग्वेद १–१६२–१२
यन्नीक्षणं माँस्पचन्या उखाया या पात्राणि यूष्ण आसेचनानि। ऊष्मण्यापिधाना चरूणामङ्काः सूनाः परि भूषन्त्यश्वम्॥ ऋग्वेद १–१६२–१३
निक्रमणं निषदनं विवर्तनं यच्च पड्बीशमर्वतः। यच्च पपौ यच्च घासिं जघास सर्वा ता ते अपि देवेष्वस्तु॥ ऋग्वेद १–१६२–१४
मा त्वाग्निर्ध्वनयीद्धूमगन्धिर्मोखा भ्राजन्त्यभि विक्त जघ्रिः। इष्टं वीतमभिगूर्तं वषट्कृतं तं देवासः प्रति गृभ्णन्त्यश्वम्॥ऋग्वेद १–१६२–१५
यदश्वाय वास उपस्तृणन्त्यधीवासं या हिरण्यान्यस्मै। संदानमर्वन्तं पड्बीशं प्रिया देवेष्वा यामयन्ति॥ ऋग्वेद १–१६२–१६
यत्ते सादे महसा शूकृतस्य पार्ष्ण्या वा कशया वा तुतोद। स्रुचेव ता हविषो अध्वरेषु सर्वा ता ते ब्रह्मणा सूदयामि॥ ऋग्वेद १–१६२–१७
चतुस्त्रिंशद्वाजिनो देवबन्धोर्वङ्क्रीरश्वस्य स्वधितिः समेति। अच्छिद्रा गात्रा वयुना कृणोत परुष्परुरनुघुष्या वि शस्त॥ ऋग्वेद १–१६२–१८
एकस्त्वष्टुरश्वस्या विशस्ता द्वा यन्तारा भवतस्तथ ऋतुः। या ते गात्राणामृतुथा कृणोमि ताता पिण्डानां प्र जुहोम्यग्नौ॥ ऋग्वेद १–१६२–१९
मा त्वा तपत्प्रिय आत्मापियन्तं मा स्वधितिस्तन्व आ तिष्ठिपत्ते। मा ते गृध्नुरविशस्तातिहाय छिद्रा गात्राण्यसिना मिथू कः॥ ऋग्वेद १–१६२–२०
न वा उ एतन्म्रियसे न रिष्यसि देवाँ इदेषि पथिभिः सुगेभिः। हरी ते युञ्जा पृषती अभूतामुपास्थाद्वाजी धुरि रासभस्य॥ ऋग्वेद १–१६२–२१
सुगव्यं नो वाजी स्वश्व्यं पुंसः पुत्राँ उत विश्वापुषं रयिम्। अनागास्त्वं नो अदितिः कृणोतु क्षत्रं नो अश्वो वनतां हविष्मान्॥ ऋग्वेद १–१६२–२२
यी मन्त्रहरूमा यज्ञमा घोडाको हत्याका कुराहरू छन्। यी पनि क्षेपक श्लोक हुन्। किनकि, वास्तवमा शास्त्रले यज्ञमा घोडाको हत्याको आज्ञा दिँदैन।

रामायणमा क्षेपक श्लोकहरू–

वाल्मीकि रामायणमा भएका निम्न श्लोकहरू पनि क्षेपक श्लोक हुन्।
पतत्रिणः तस्य वपाम् उद्धृत्य नियतेइन्द्रियः। ऋत्विक् परम संपन्नः श्रपयामास शास्त्रतः॥ वाल्मीकि रामायण १–१४–३६
म गन्धम् वपायाः तु जिघ्रति स्म नराधिपः। यथा कालम् यथा न्यायम् निर्णुदन् पापम् आत्मनः॥ वाल्मीकि रामायण १–१४–३७
हयस्य यानि च अंगानि तानि सर्वाणि ब्राह्मणाः। अग्नौ प्रास्यन्ति विधिवत् समस्ताः षोडश ऋत्विजः॥ वाल्मीकि रामायण १–१४–३८
यहाँ घोडाको बोसो पकाएको प्रकरण छ।

अथर्ववेदमा क्षेपक श्लोकहरू–

अपूपवान् मांसवांश्चरुरेह सीदतु। लोककृतः पथिकृतो यजामहे ये देवानां हुतभागा इह स्थ॥ अथर्ववेद १८–४–२०
यहाँ मासुको प्रसङ्ग आयो। यो क्षेपक श्लोक हो। यसको वास्तविक स्वरूप पनि उपलब्ध छ। 
अपूपवान् अन्नवांश्चरुरेह सीदतु।
लोककृतः पथिकृतो यजामहे ये देवानां हुतभागा इह स्थ॥
यस प्रकार एउटा शब्द परिवर्तन गरेर– अन्नको ठाउँमा मांस अर्थको अनर्थ गरिएको छ। यस प्रकार कतै केबल एउटा शब्द हेरफेर गरिएको छ। कतै श्लोक थपिएको छ भने कतै एउटा छुट्टै अध्याय नै थपिएको छ।

महाभारतमा क्षेपक श्लोकहरू–

उद्धत्य तु वपां तस्य यथाशास्त्रं द्विजातयः। महाभारत अश्वमेधपर्व ८९–३
श्रपयामासुरव्यग्रा विधिवद् भरतर्षभ। तं वपाधूमगन्धं तु धर्मराजः सहानुजैः॥ महाभारत अश्वमेधपर्व ८९–४
उपाजिघ्रद यथाशास्त्रं सर्वपापापहं तदा। शिष्टान्यङ्गानि यान्यासं स्तस्याश्वस्य नराधिप॥ महाभारत अश्वमेधपर्व ८९–५
यहाँ यज्ञमा घोडाको मासुको प्रयोग भएको बताइएको छ। तर्कसङ्गत कुरा के हो भने शान्तिपर्वमा युधिष्ठिरजी महाराजलाई भीष्म पितामहले यज्ञादि कर्ममा पशु हत्या हुँदैन भनेर बताइसकेपछि युधिष्ठिरजी महाराजले यज्ञमा पशु हत्या गर्नुहुन्न। त्यसैले यी श्लोकहरू क्षेपक हुन् भनेर सहजै अनुमान गर्न सकिन्छ।
यस प्रकारले शास्त्रहरूमा, स्मृतिहरूमा केही तोडमोड गरिएको छ। व्यक्तिगत प्रलोभनमा आएर वा शासकको धम्कीले गर्दा त्यति बेलाका केही पण्डित वा संस्कृत भाषाको ज्ञान भएका व्यक्तिहरूले जुन तरिकाले जुन छन्दमा शास्त्र लेखिएको छ, त्यही तरिकाले श्लोक बनाएका छन्। त्यसैले साधारण विद्वान्ले मेसो पाउन सक्दैनन्। एउटा विचारणीय कुरा के छ भने जसले यी तोडमोडहरू गरे उनीहरूलाई दर्शनसम्बन्धी कुनै रुचि थिएन। त्यसैले शास्त्रमा दर्शन एवं सिद्धान्तहरू सबै सही छन्।

अब एउटा तर्क कसैले राख्न सक्छ कि यी श्लोकहरू, मन्त्रहरू क्षेपक हुन् भन्ने प्रमाण के छ त?

जतिसुकै चलाख हत्यारा भए पनि उसले हत्याको सबै निशान मेट्न सक्दैन भनेजस्तै यी क्षेपक श्लोक राख्नेहरूले पनि सबै निशान मेटाउन सकेनन्। अब हामी माथि उल्लिखित श्लोकहरू क्षेपक हुन् भन्ने प्रमाणको बारेमा चर्चा गर्नेछौँ।
कलियुगमा सत्य प्रेमी व्यक्ति पनि हुन्छन् साथै सत्ययुगमा असत्य प्रेमी पनि हुन्छन्, मात्राको अन्तर हुन्छ। महाभारतको शान्ति पर्वको ३३७ औँ अध्यायमा एउटा प्रकरण भीष्म पितामहजीले युधिष्ठिरजीलाई बताउनुभएको छ। त्यो सत्ययुगको प्रसङ्ग हो। सत्ययुगमा पनि यज्ञादि कर्ममा पशु हत्या गर्न हुने वा नहुने सम्बन्धी विवाद भएको थियो। तर सत्ययुगमा अहिलेको जस्तो क्षेपक श्लोकहरू कुनै पनि शास्त्रमा थिएनन्। अतः केवल शब्दार्थ यानि अर्थवादको सहारा लिइएको प्रसङ्ग छ। वेदमा अजद्वरा यज्ञ गर्नुपर्छ भन्ने विधान छ। यसमा अजको अर्थ बाख्रो हो भनेर देवताहरूले त्यहाँ उपस्थित ब्रह्मर्षिहरूलाई बताए। ऋषिहरूले देवताहरूलाई सम्झाउने क्रममा भने– ‘वैदिक श्रुति अनुसार यज्ञमा बीजद्वारा यजन गर्नुपर्छ। बीजकै नाम अज हो। त्यसैले बाख्रोको हत्या गर्नुहुँदैन। कहीँ पनि यदि यज्ञमा पशुको हत्या हुन्छ भने, त्यो सत्पुरुषको धर्म हुन सक्दैन।’ 
यस प्रकारले देवता र ऋषिहरूका बिचमा विवाद चलेकै बेलामा राजा वसु पनि त्यही बाटोबाट जाँदै थिए। ती बसुको नाम उपरिचर थियो। उनलाई देखेर ब्रह्मर्षिहरूले देवताहरूलाई भने– ‘यी राजाले हाम्रो शङ्काको समाधान गर्न सक्छन् किनकि यी यज्ञ गर्नेवाला, अत्यन्त दानी, श्रेष्ठ एवं सम्पूर्ण प्राणीहरूका हितैषी हुन्। त्यसैले यिनले शास्त्रको विपरीत कुरा बताउन सक्दैनन्।’ ऋषिहरूले यति भनेपछि देवताहरूले पनि समर्थन गरेर दुवै दल एकैसाथ राजा वसुसमक्ष पुगेर प्रश्न गरे– ‘हे राजन! केद्वारा यज्ञ गर्नुपर्छ? बाख्रोद्वारा कि अन्नद्वारा?’ यो सोध्नासाथ वसुले कसको मत के छ भनेर जान्नको लागि आग्रह गरे। ऋषिहरूले हाम्रो मत अनुसार अन्नद्वारा यज्ञ गर्नुपर्छ भने। देवताहरूले हाम्रो मत अनुसार पशुद्वारा यज्ञ गरिनुपर्छ भने। देवताहरूको मत जानेपछि वसुले देवताहरूको पक्षमा फैसला गर्दै भने कि अजको अर्थ बाख्रो हो, त्यसैले बाख्रोद्वारा यज्ञ गर्नुपर्छ। ऋषिहरूलाई थाहा थियो कि यी वसुले जानीजानी गलत कुरा बोले। त्यसैले ऋषिहरूले वसुलाई भने– ‘हे राजन्! तिमीले अजको अर्थ अन्न हो भन्ने जानीजानी देवताको पक्ष लियौ। त्यसैले यदि तिम्रो कुरा सत्य हो र हामीले शास्त्रविरुद्ध भनेका छौँ भने हाम्रो पतन होस्। तर यदि तिमिले वेद एवं वेदका सूत्रविरुद्ध भनेका छौ भने तिम्रो पतन होस्। तिम्रो आकाशमा उड्ने शक्ति नष्ट भएर, तिम्रो पतन भएर पाताल पुग्नेछौ।’ यति भन्नासाथ तत्काल ती राजा उपरिचरको पतन भयो।
अजको अर्थ पशु हत्या हो भनेर भनेकै कारणले, हत्या गरेको  कारणले होइन, केवल भनेको कारणले गर्दा राजा उपरिचरको पतन भयो। त्यसैले यसैको आधारमा पनि प्रस्ट हुन्छ कि पशु हत्याको पक्ष मात्रै लिनु पनि घोर पाप हो। अतः सत्ययुगदेखि नै पशु हत्या सन्दर्भमा भ्रम र विवाद रहिआएको छ। यो आजको मात्रै विवादको विषय होइन। सधैँ रहिरहन्छ। किनकि यसको मूल कारण नै अज्ञानता हो र अज्ञानी जीव सधैँ रहिरहन्छन्।
राजा उपरिचरको यो घटना सत्ययुगको प्रसङ्ग हो। त्यति बेला पनि वेद, पुराण, स्मृतिहरू थिए। तर ती शास्त्रहरूमा क्षेपक मन्त्र एवं श्लोक नभएका कारणले गर्दा, त्यहाँ कुनै पनि मन्त्रहरूको सहायता लिइएन। केवल अर्थवादको सहायता लिइयो। सत्ययुगको समय र अहिले यही अन्तर छ कि त्यति बेला पशु हत्या पक्षधरहरूसँग केवल अर्थवादको सहारा थियो भने अहिले त प्रायः सबै शास्त्रमा क्षेपक श्लोक एवं मन्त्रहरू उपलब्ध छन्। यस प्रकार यो प्रसङ्गबाट माथि जुन श्लोकहरू हामीले भनेका छौँ ती सबै क्षेपक हुन् भनेर प्रमाणित हुन्छ। वेदव्यासजीले स्पष्ट भन्नुभएको छ–
सुरा मत्स्याः पशोर्मांसं द्विजातीनां बलिस्तथा।
धूर्तैः प्रवर्तितं यज्ञे नैतद् वेदेषु कथ्यते॥ महाभारत शान्तिपर्व २६५–९
मदिरा, माछा अनि पशुको मासु तथा द्विजाति आदि मनुष्यको बलिदान ‘धूर्तैः प्रवर्तितं’ धूर्तहरूद्वारा प्रवर्तित भएको हो। अर्थात् दुष्ट व्यक्तिहरूले चलाएका हुन्। ‘नैतद् वेदेषु कथ्यते’ वेदमा मासुको, हत्याको विधान कहीँ पनि छैन।

क्षेपक होइनन् भन्ने लाग्छ भने पनि–

कसैले तीमध्ये क्षेपक होइनन्, वेद-शास्त्रमा पशुको हत्या बताइएको छ भन्छ भने पनि त्यसको निम्ति पुनः जीवित बनाउने शक्ति हुन जरुरी छ। चैतन्य महाप्रभुजी भन्नुहुन्छ–
जीयाइते पारे यदि, तवे मारे प्राणी। वेद पुराणे एछे आछे आज्ञावाणी। चैतन्यचरितामृत आदिलीला १७–१५४
यदि कसैसँग बचाउने शक्ति छ भने उसले यज्ञमा प्राणीको हत्या गर्न सक्छ। वेद-पुराणमा यस प्रकारको आज्ञा छ। प्राचीन समयमा गोमेध यज्ञमा बुढा गाइको वध गरेर वेद मन्त्रद्वारा पुनः जीवित गरिदिन्थे र बुढा गाइले युवावस्था प्राप्त गर्थे। यस प्रकार गाइको उपकार हुन्थ्यो। तर कलियुगका ब्राह्मणसँग यस प्रकारको शक्ति छैन। त्यसैले जुन यज्ञ इत्यादि कर्ममा पशुहरूको हत्या हुन्छ, ती कर्म कलियुगमा गर्नु हुँदैन। शास्त्रले आज्ञा दिएको छैन। यथा–
अश्वमेधं गवालम्भं संन्यासं पलपैतृकम्। देवरेण सुतोत्पत्ति कलौ पंच विवर्जयेत्। ब्रह्मवैवर्त्त पुराण कृष्णजन्मखण्ड १८५–१८०
यज्ञादि कर्ममा घोडा, गाई आदिको हत्या गर्नु, श्राद्ध इत्यादि कर्ममा मासुको प्रयोग गर्नु कलियुगमा वर्जित छ। वेदव्यासजीको यस वचन अनुसार त जे-जस्तो लेखिएको भए पनि कुलदेवता या कुलदेवीको पूजाको बहानामा, यज्ञ, श्राद्ध आदि कर्मको बहानामा या कुनै पनि बहानामा कलियुगमा पशुको हत्या गर्न निषेध छ।
सनातन धर्ममा कहीँ पनि कतै पनि कसैको पनि हत्या गर्नु, मार्नु, वध गर्नु वा पशुको मासु खानु यसको निर्देशन दिइएको छैन। यो सरासर पाप हो। सनातन धर्मको कुनै पनि शास्त्रले पशु हत्या वा मासु भक्षणको छुट दिएको छैन। आउनुहोस् हेरौँ वेदशास्त्र के भन्दछन्?

भागवतमा पशु हत्याको निषेध–

भागवतमा श्री नारदजी भन्नुहुन्छ –
भो भोः प्रजापते राजन् पशून् पश्य त्वयाध्वरे।
संज्ञापिताञ्जीवसङ्घान्निर्घृणेन सहस्त्रशः॥ भागवत ४–२५–७
एते त्वां सम्प्रतीक्षन्ते स्मरन्तो वैशसं तव।
सम्परेतमयः कूटैश्छिन्दन्त्युत्थितमन्यवः॥ भागवत ४–२५–८
यदि कसैले यज्ञमा पशुको हत्या गर्‍यो, बलि दियो भने ती पशुहरूले याद गर्नेछन् र जब त्यो बलि दिने व्यक्ति मरेर परलोक जान्छ, परलोकमा समेत तिनीहरूले फलामको समान सिङले खोपेर दुःख दिनेछन्। अर्थात् पशु हत्या गर्नाले घोर दुःख मिल्छ।
तं यज्ञपशवोऽनेन संज्ञप्ता येऽदयालुना।
कुठारैश्चिच्छिदु: क्रुद्धा: स्मरन्तोऽमीवमस्य तत्॥ भागवत ४–२८–२६
यज्ञमा पशु हत्या गर्ने व्यक्ति तीनै पशुद्वारा काटिन्छन्। अत्यन्त कष्ट भोग्छ।
यद् घ्राणभक्षो विहित: सुरायास्तथा पशोरालभनं न हिंसा। भागवत ११–५–१३
सौत्रामणि यज्ञमा सुरालाई सुँघ्ने मात्र आज्ञा छ, पिउने होइन। यज्ञमा पशुको आलाभन अर्थात् स्पर्श मात्र गर्ने विधान छ, हिंसा होइन।
लोके व्यवायामिषमद्यसेवा नित्या हि जन्तोर्न हि तत्र चोदना।
व्यवस्थितिस्तेषु विवाहयज्ञ सुराग्रहैरासु निवृत्तिरिष्टा॥ भागवत ११–५–११
अर्थात्, यो पनि उच्छृङ्खल मनलाई नियन्त्रण गर्नको लागि मात्र हो।
वदन्ति तेऽन्योन्यमुपासितस्त्रियो गृहेषु मैथुन्यपरेषु चाशिष:।
यजन्त्यसृष्टान्नविधानदक्षिणं वृत्त्यै परं घ्नन्ति पशूनतद्विद:॥ भागवत ११–५–८
अर्थात्, कर्मको रहस्य नजान्नाले मूर्ख व्यक्तिले आफ्नो जिब्रोको स्वादको लागि, पेट भर्नका लागि अबोध पशुको हत्या गर्दछ।

परिसङ्ख्या विधि–

भागवतमा स्वयं भगवान् श्रीकृष्ण बताउँदै हुनुहुन्छ –
ते मे मतमविज्ञाय परोक्षं विषयात्मका:।
हिंसायां यदि राग: स्याद् यज्ञ एव न चोदना॥ भागवत ११–२१–२९
हिंसाविहारा ह्यालब्धै: पशुभि: स्वसुखेच्छया।
यजन्ते देवता यज्ञै: पितृभूतपतीन् खला:॥ भागवत ११–२१–३०
अर्थात्, यदि हिंसा अनि मासुमा छोड्नै नसकिने आशक्ति छ, भने त्यो यज्ञमा गर। ध्यान दिनुहोस्। यो परिसङ्ख्या विधि हो। परिसङ्ख्या विधि केलाई भनिन्छ त? मीमांसा दर्शनमा चार प्रकारको विधिको निरूपण गरिएको छ– उत्पत्ति विधि, विनियोग विधि, प्रयोग विधि अनि अधिकार विधि। त्यसै गरी अपूर्व विधि, नियम विधि र परिसङ्ख्या विधि गरेर अन्य तीन प्रकारका विधि प्रसिद्ध छन्। यहाँ जे बताइयो, त्यो सन्ध्या वन्दन आदि जस्तै अपूर्व विधि होइनन्। यो परिसङ्ख्या विधि हो। निषेधात्मक हो। जस्तै, आमाले छोरालाई ‘अब तँ बदमास भइस्। अब चोरी पनि गर्नु। अरूलाई पिट्दै पनि हिँड्नु।’ भनिन् भने, यो परिसङ्ख्या विधि हो। यहाँ चोर्नु भनेता पनि नचोर्नु नै भन्ने अर्थ हो।
यस प्रकारले भगवान्को परोक्ष अभिप्रायलाई न जानेर विषयलोलुप पुरुष हिंसाको खेलबाड गर्दछन् र दुष्टतावश आफ्नो इन्द्रियहरूको तृप्तिका लागि वध गरिएको पशुको मासुले यज्ञ गरेर देवता, पितृ आदिको यजनको ढोङ गर्दछन्।
यस प्रकार भागवतबाट प्रस्ट हुन्छ पशु हत्या, प्राणी हत्या चाहे जुनसुकै कारणले जुनसुकै नाममा कसैले किन नगरोस्, त्यो क्षमायोग्य छैन। त्यसको भयानक दण्ड भोग्नुपर्छ।
पशु हिंसा एवं मासु भक्षणको निम्ति प्राय मनुस्मृतिको सहारा लिन्छन्। त्यसैले मनुस्मृतिबाट नै बुझौँ मनुस्मृतिमा के भनिएको छ यसबारे।

मनुस्मृतिमा मांसाहार र पशु हत्याको निषेध–

यसअघि मनुस्मृतिमा भएका क्षेपक श्लोकहरूको बारेमा चर्चा गर्‍यौँ। अब मांसाहार सम्बन्धी मनुस्मृतिमा के भनिएको छ त? यसको बारेमा चर्चा गरौँ। मनुस्मृतिको पाँचौँ अध्यायमा भक्ष्याभक्ष्य व्यवस्था छ। त्यसमा के खान हुने के खान नहुने यसको निरूपण गरिएको छ। यसमा भृगुजीले मासु नखाने आज्ञा दिनुभएको छ। यथा–
क्रव्यादाञ् शकुनान्सर्वांस्तथा ग्रामनिवासिनः।
अनिर्दिष्टांश्चैकशफांष्टिट्टिभं च विवर्जयेत्॥ मनुस्मृति ५–११
कलविङ्कं प्लवं हंसं चक्राह्वं ग्रामकुक्कुटम्।
सारसं रज्जुवालं च दात्यूहं शुकसारिके॥ मनुस्मृति ५–१२
प्रतुदाञ् जालपादांश्च कोयष्टिनखविष्किरान्।
निमज्जतश्च मत्स्यादान्सौनं वल्लूरं एव च॥ मनुस्मृति ५–१३
बकं चैव बलाकां च काकोलं खञ्जरीटकम्।
मत्स्यादान्विड्वराहांश्च मत्स्यानेव च सर्वशः॥ मनुस्मृति ५–१४
यो यस्य मांसं अश्नाति स तन्मांसाद उच्यते।
मत्स्यादः सर्वमांसादस्तस्मान्मत्स्यान्विवर्जयेत्॥ मनुस्मृति ५–१५
यी सबै श्लोकहरूमा मासु खान नहुने बताइयो। पशु हत्या यति ठुलो अपराध हो कि–
यावन्ति पशुरोमाणि तावत्कृत्वो ह मारणम्।
वृथापशुघ्नः प्राप्नोति प्रेत्य जन्मनि जन्मनि॥ मनुस्मृति ५–३८
अर्थात्, यदि कसैले पशुको हिंसा गर्‍यो भने त्यो पशुमा जति रौँ छन्, त्यति नै पटक त्यो व्यक्ति त्यो पशुबाट काटिन्छ। यसपछि हेर्नुहोस्। भृगुजी महाराज के भन्नुहुन्छ–
योऽहिंसकानि भूतानि हिनस्त्यात्मसुखेच्छया।
स जीवांश्च मृतश्चैव न क्व चित्सुखं एधते॥ मनुस्मृति ५–४५
अर्थात्, जुन व्यक्तिले आफ्नो सुखको लागि पशुको हत्या गर्छ, त्यो व्यक्तिले जीवनमा र मृत्युपश्चात् पनि कहीँ पनि सुखप्राप्त गर्दैन। सर्वदा दुःख नै प्राप्त गर्छ।
यो बन्धनवधक्लेशान्प्राणिनां न चिकीर्षति।
स सर्वस्य हितप्रेप्सुः सुखं अत्यन्तं अश्नुते॥ मनुस्मृति ५–४
अर्थात्, जसले प्राणीलाई बाँध्ने वा मार्ने कार्य गर्दैन, जसले सबैको हित चाहन्छ, त्यसले नै अनन्त सुख प्राप्त गर्छ। त्यसै गरी–
नाकृत्वा प्राणिनां हिंसां मांसं उत्पद्यते क्व चित्।
न च प्राणिवधः स्वर्ग्यस्तस्मान्मांसं विवर्जयेत्॥ मनुस्मृति ५–४८
अर्थात्, प्राणीको हत्या गरेर स्वर्ग लोकको प्राप्ति हुँदैन। अतः मासुको खान छोडिदेऊ।
समुत्पत्तिं च मांसस्य वधबन्धौ च देहिनाम्।
प्रसमीक्ष्य निवर्तेत सर्वमांसस्य भक्षणात्॥ मनुस्मृति ५–४९
अर्थात्, यहाँ सबै प्रकारका मासुको भक्षणबाट टाढा रहने निर्देशन दिइयो। कुनै पनि प्राणीको मासु नखानु। यसअघिका क्षेपक श्लोकहरू यसैबाट काटिन्छन्।
न भक्षयति यो मांसं विधिं हित्वा पिशाचवत्।
न लोके प्रियतां याति व्याधिभिश्च न पीड्यते॥ मनुस्मृति ५–५०
यहाँ बताइयो ‘व्याधिभिश्च न पीडयते’। अर्थात् मांसाहारी व्यक्ति शाकाहारीको तुलनामा व्याधिरहित, रोगरहित रहन्छ। अझै हेर्नुहोस्–
अनुमन्ता विशसिता निहन्ता क्रयविक्रयी।
संस्कर्ता चोपहर्ता च खादकश्चेति घातकाः॥ मनुस्मृति ५–५१
पशुलाई किन्ने, बेच्ने, मार्ने, जसको हतियार काटमारमा प्रयोग भएको हुन्छ, त्यो व्यक्ति, साथै पकाउने, पस्कने, खाने सबै जना त्यति नै मात्रामा पापका भागी हुन्छन्, जति त्यो मार्ने व्यक्ति हुन्छ। त्यसैले, मैले त मारेको होइन अथवा मैले त पकाएको मात्रै हो आफै चाहिँ खाँदिन भनेर हुँदैन। सबै बराबर पापको भागी हुन्छन्।
हेर्नुस् ५३ औँ श्लोकमा के भनिएको छ?
वर्षे वर्षेऽश्वमेधेन यो यजेत शतं समाः।
मांसानि च न खादेद्यस्तयोः पुण्यफलं समम्॥ मनुस्मृति ५–५३
जसले सय वर्षसम्म प्रतिवर्ष अश्वमेध यज्ञ गर्छ अनि जसले जीवन भरी मासु खाँदैन, ती दुवै बराबर पुण्यका भागीदार हुन्। यति ठुलो पुण्य हो मासु सेवन नगर्नु।
निष्कर्ष यही हो कि मनुस्मृतिमा सर्वत्र पशु हत्या, मासु सेवनको निषेध गरिएको छ।

ऋग्वेदमा पशु हत्याको निषेध–

यससम्बन्धी प्रस्ट हुन अब वेदमा जाऔँ किनकि वेद नै सबैभन्दा प्रामाणिक ग्रन्थ हो। कुनै पनि सिद्धान्त, कुनै पनि कुरा यदि वेद अनुसार मान्य हो भने मान्य हुन्छ। यदि वेदविरुद्ध भगवान्ले नै उपदेश दिनुभयो भने पनि हामी स्वीकार गर्दैनौँ। वेद अनादि, अपौरुषेय, अलौकिक, दिव्य, नित्य ज्ञान हो। हेर्नुहोस्। वेद भन्दछ –
मा नस्तोके तनये मा न आयौ मा नो गोषु मा नो अश्वेषु रीरिषः। वीरान्मा नो रुद्र भामितो वधीर्हविष्मन्तः सदमित्त्वा हवामहे॥ ऋग्वेद १–११४–८
अर्थात्, यज्ञादि कर्ममा हाम्रा गाई, घोडामा कुनै आँच नपरोस्। केही कम बुझेकाहरू यज्ञमा घोडा एवं गाइको हत्याको प्रावधान छ भन्छन्, जुन गलत कुरा हो। पुनः वेद घोषणा गर्दछ –
माता रुद्राणां दुहिता वसूनां स्वसादित्यानाममृतस्य नाभिः। प्र नु वोचं चिकितुषे जनाय मा गामनागामदितिं वधिष्ट॥ ऋग्वेद ८–१०१–१५
यहाँ कुनै पनि अवस्थामा गाईलाई अवध्य बताइएको छ। 

यजुर्वेदमा पशु हत्याको निषेध–

आदित्यं गर्भं पयसा सम् अङ्धि सहस्रस्य प्रतिमां विश्वरूपम्। परि वृङ्धि हरसा माभि मꣳस्थाः शतायुषं कृणुहि चीयमानः॥ शुक्लयजुर्वेद १३–४२
वातस्य जूतिं वरुणस्य नाभिम् अश्वं जज्ञानꣳ सरिरस्य मध्ये। शिशुं नदीनाꣳ हरिम् अद्रिबुध्नम् अग्ने मा हिꣳसीः परमे व्योमन्॥ शुक्लयजुर्वेद १३–४३
अजस्रम् इन्दुम् अरुषं भुरण्युम् अग्निम् ईडे पूर्वचित्तिं नमोभिः। स पर्वभिर् ऋतुशः कल्पमानो गां मा हिꣳसीर् अदितिं विराजम्॥ शुक्लयजुर्वेद १३–४४
यजुर्वेदका यी मन्त्रहरूमा यज्ञादि कर्ममा कुनै पनि पशु चराचुरुङ्गीहरूको हिंसा नगर्ने एवं हानि न पुर्‍याउने भनिएको छ।

महाभारतमा पशु हत्याको निषेध–

यज्ञादि कर्ममा पशु हत्या गर्न हुँदैन भन्ने बारेमा अझ स्पष्ट उपदेश महाभारतको शान्तिपर्वमा छ। भीष्म पितामहले युधिष्ठिरलाई उपदेश दिने क्रममा भन्नुहुन्छ–
अव्यवस्थितमर्यादैर्विमूढैर्नास्तिकैर्नरैः।
संशयात्मभिरव्यक्तैर्हिंसा समनुवर्णिता॥ महाभारत शान्तिपर्व २६५–४
अर्थात्, जो धर्मको मर्यादाबाट भ्रष्ट भइसक्यो, जो मूर्ख हो, जो नास्तिक हो एवं जसलाई आत्माको विषयमा सन्देह छ, यस्तो व्यक्तिले नै हिंसाको समर्थन गर्दछ। पुनः ५ औँ श्लोकमा अझ स्पष्टसँग भनिएको छ–
सर्वकर्मस्वहिंसा हि धर्मात्मा मनुरव्रवीत्।
कामकाराद् विहिंसन्ति बहिर्वेद्यां पशून् नराः॥ महाभारत शान्तिपर्व २६५–५
अर्थात्, धर्मात्मा मनुजी महाराजले सम्पूर्ण कर्ममा अहिंसाको नै नै प्रतिपादन गर्नुभएको छ। यहाँ ‘हि’ शब्द आएको छ। ‘हि’ को अर्थ हो– नै। मनुष्यले नै आफ्नो इच्छाद्वारा यज्ञमा पशुबलि दिएको हो। यसमा शास्त्रको समर्थन छैन।
सुरा मत्स्या मधु मांसमासवं कृसरौदनम्।
धूर्तैः प्रवर्तितं ह्येतन्नैतद् वेदेषु कल्पितम्॥ महाभारत शान्तिपर्व २६५–९
धूर्त व्यक्तिले नै यज्ञादि कर्ममा माछा, मासु, मदिरा आदि प्रचलनमा ल्याए। ‘ह्येतन्नैतद् वेदेषु कल्पितम्।’ वेदमा कहीँ पनि यसको उपयोगको विधान छैन। माछा, मासु, मदिरा आदि प्रचलनमा आउनुको कारण हो ती वस्तुप्रतिको मोह एवं लोभ। यथा–
मानान्मोहाच्च लोभाच्च लौल्यमेतत्प्रकल्पितम्। महाभारत शान्तिपर्व २६५–१०
महाभारत शान्तिपर्व अध्याय २६५ को सार नै यही हो यज्ञादि कर्ममा कहीँ पनि पशु हिंसा हुनै सक्दै। महाभारतमै अझै धेरै प्रमाणहरू छन्। महाभारत शान्तिपर्व अध्याय ३३७ मा पनि भनिएको छ–
बीजैर्यज्ञेषु यष्टव्यमिति वै वेदिकी श्रुतिः।
अजसंज्ञानि बीजानि च्छागं नो हन्तुमर्हथ॥ महाभारत शान्तिपर्व ३३७–४
यहाँ भनियो बीजैर्यत्रेषु अर्थात् यज्ञमा बीजहरूद्वारा, अन्नद्वारा यजन गर्नुपर्छ। यही वेदमा निरूपण गरिएको छ। जहाँकहीँ अजको प्रसङ्ग आएको छ, त्यहाँ अजको अर्थ हो– अजसंज्ञानि बीजानि। अर्थात्, अन्न यानि बीज, बाख्रो होइन। अतः पशुको वध गर्नुहुँदैन। अझै स्पष्ट पार्दै श्री वेदव्यासजी भन्नुहुन्छ –
नैष धर्मः सतां देवा यत्र वध्येत वै पशुः। महाभारत शान्तिपर्व ३३७–५
अर्थात् यदि कहीँ यज्ञादि कम, धर्म, पूजा आदिमा पशुको वध हुन्छ भने, त्यो धर्म हुनै सक्दैन। 
यदि हाम्रो शास्त्रमा भनिएका पशु हिंसा गर्नुहुँदैन, मासु भक्षण गर्नुहुँदैन भन्ने प्रमाणहरू सबै लेख्न थाल्ने हो भने एउटा विशाल सङ्ग्रह बन्न जान्छ। अतः निष्कर्ष के हो भने शास्त्रमा कहीँ पनि पशु हत्या गरेर कुनै पनि कर्म गर्नु भनिएको छैन।
अब बल्ल प्रश्नको समाधान गर्नु उपयुक्त हुन्छ। यदि तपाईँले गर्ने गरेको कुलदेवताको पूजामा पशुको हत्या हुन्छ भने या त त्यो पूजा आयोजना गर्ने पुजारी एवं अन्य आफन्तलाई सम्झाएर पूजालाई सात्त्विक बनाउनुहोस्। यदि यसो गर्न अरूले मानेनन् भने तुरुन्तै त्यो पूजालाई त्यागिदिनुहोस्। किनकि त्यो अधर्म हो। कुलदेवताले अनिष्ट गर्लान् भन्ने चिन्ता नलिनुहोस्। यदि वास्तवमा नै कुलदेवताले अनिष्ट गर्ने भए पहिले पशु हत्या गरेर पूजा गर्नेहरूको अनिष्ट गर्नेछन्।
अब अर्को कुरा के हो भने कलियुगमा कुलदेवताको पूजा गर्न नै अनिवार्य छैन। भगवान् श्रीकृष्णले नै नन्दबाबा एवं त्यस गाउँका बासिन्दाहरूलाई उहाँहरूको कुलदेवता इन्द्रको पूजा बन्द गर्न लगाएर भगवान् श्रीकृष्णकै अभिन्न स्वरूप गोवर्धन पर्वतको पूजा गराउनुभयो। यसबाट यही सन्देश दिनुभयो कि हामीले पनि कुलदेवताको पूजा गर्ने होइन, श्रीकृष्णकै भक्ति गर्ने हो।
यसलाई यसरी बुझ्नुहोस्। यदि तपाईँसँग भएको एक लाख रुपैयाँ बैङ्कमा राख्न चाहनुहुन्छ। तपाईँको बुबाको जुन बैङ्कमा खाता छ, त्यसले पाँच प्रतिशत व्याज दिन्छ, तर अर्को सरकारी बैङ्कले त्यही सर्तमा पन्ध्र प्रतिशत व्याज दिन्छ। अब तपाईँ मेरो बाबुबाजेले खाता खोल्ने गरेको बैङ्क भनेर पाँच प्रतिशत व्याज आउने गरी पहिलो बैङ्कमा पैसा राख्नुहुन्छ कि धेरै लाभ दिने सरकारी बैङ्कमा राख्नुहुन्छ? अवश्य नै धेरै लाभ दिने बैङ्कमा राख्नुहुन्छ। त्यसै गरी तपाईँको आध्यात्मिक श्रमको प्रतिफल पनि देवताको पूजा गर्नभन्दा श्रीकृष्णको भक्ति गर्दा बढी मिल्छ। अतः श्रीकृष्णभक्ति नै श्रेय हो। श्रीकृष्णभक्ति कसरी गर्ने यसको बारेमा फेरि कुनै बेला बताइनेछ।
जय श्री राधे!