प्रश्न– भगवान्‌को भक्ति गर्न गुरुको मार्गदर्शन चाहिन्छ। तर सद्‍गुरु कसरी मिल्छ? प्रश्नकर्ता– गीता चौलागाईँ, ललितपुर।

उत्तर– हामी सबै यात्री हौँ। निरन्तर यात्रा गरिरहेका यात्री। हामी एउटा सागर पार गर्न प्रयत्न गरिरहेका छौँ र हाम्रो यात्राको गन्तव्य हो आनन्द नगर। हामी सबै अनन्त आनन्द चाहन्छौँ र त्यही आनन्दको निम्ति नै यात्रा गरिरहेका छौँ। हाम्रो यो यात्राको बारेमा शास्त्रमा पनि वर्णन गरिएको छ। शास्त्रमा एउटा अपार सागरको बारेमा बताइएको छ। अपार भन्नाले पार पाउन नसकिने। यो पृथ्वीमा भएका सात महासागर बरु पार पाउन सकिन्छ। ती सीमित हुन्। यहाँ यस्तो सागरको चर्चा हुँदै छ जुन असीमित छ। अपार छ। अनन्त छ। हामीलाई त्यो असीमित सागरको पार पाउनु छ। अनि मात्रै हामी, हाम्रो वास्तविक घर, आनन्द नगर पुग्न सक्छौँ। त्यसबाट कसरी पार पाउन सकिन्छ त? शास्त्र अनुसार, त्यसको निम्ति एउटा विशिष्ट नौका चाहिन्छ र एउटा बाटो देखेको, त्यो अपार सागरलाई पार पाएको नाविक चाहिन्छ। नाविक भन्नाले बोटे, मल्लाह, डुङ्गा चलाउने वाला। साथै अनुकूल वायु पनि चाहिन्छ। यी सबै कुरा पूरा भयो भने बल्ल त्यो अपार सागरलाई पार पाउन सकिन्छ। अब बुझौँ, त्यो अपार सागर के हो? नौका के हो? नाविक को हो? अनुकूल वायु के हो?

त्यो अपार सागर हो माया या संसाररूपी सागर। अनि नौका? नौका हो मानव शरीर। अनि नाविक को हुन् त? वास्तविक गुरु। अनि अनुकूल वायु? अनुकूल वायु हो भगवान्‌को कृपा। वेदव्यासजीले भागवतमा यही बताउनुभएको छ।

नृदेहमाद्यं सुलभं सुदुर्लभं प्लवं सुकल्पं गुरुकर्णधारम्। मयानुकूलेन नभस्वतेरितं पुमान् भवाब्धिं न तरेत् स आत्महा॥ भागवत ११–२०–१७

तुलसीदासजी महाराज पनि यही भन्नुहुन्छ–

नर तनु भव बारिधि कहूँ बेरो। सन्मुख मरुत अनुग्रह मेरो॥ करनधार सदगुर दृढ़ नावा। दुर्लभ साज सुलभ करि पावा॥ रामचरितमानस ७–४४–४

निष्कर्ष के हो भने मानव शरीररूपी नौका, वास्तविक गुरुरूपी नाविक अनि भगवान्‌को कृपारूपी अनुकूल वायुको संयोग भयो भने जीवले यो मायारूपी भवसागरबाट सदाको लागि पार पाउन सक्छ। अनि अनन्त सुख पाउन सक्छ। तीन वटा कुरा– मानव देह, भगवत् कृपा र वास्तविक गुरु या सद्‍गुरु। गुरु अनिवार्य हो। तुलसीदासजी महाराज भन्नुहुन्छ–

गुर बिनु भव निधि तरइ न कोई। जौं बिरंचि संकर सम होई॥ रामचरितमानस ७–९३–३

अर्थात्, गुरुबिना कसैले पनि यो भवसागर पार पाउन सक्दैन। यदि कोही भगवान् शङ्करजी समान वैरागी छ भने पनि, उसको निम्ति पनि गुरुको आवश्यकता पर्छ। बारम्बार तुलसीदासजी महाराज भन्नुहुन्छ कि गुरु अनिवार्य हो। यथा–

बिनु गुर होइ कि ग्यान ग्यान कि होइ बिराग बिनु। रामचरितमानस ७–८९

यस प्रकार गुरु अनिवार्य हो भन्ने हामीले बुझ्यौँ। अब वास्तविक गुरु या सद्‍गुरु कसरी मिल्छ त? यसको बारेमा चर्चा गरौँ। यसको उत्तर एउटा वाक्यमा पनि दिन सकिन्छ। तर त्यसबाट जे ग्रहण गर्नुपर्ने हो, त्यो ग्रहण हुन सक्दैन। वास्तविक गुरु भगवान्‌को कृपाद्वारा नै हामीलाई मिल्छ। यही उत्तर हो। तर यो बुझ्नको लागि धेरै कुरा बुझ्नुपर्छ। जस्तै–

वास्तविक गुरुको परिभाषा को हो? कस्तो हुनुपर्छ त? गुरु हुनको लागि योग्यता केके हुन् त? के हामी गुरुलाई चिन्न सक्छौँ त? आदि प्रश्नहरूको समाधान हुन जरुरी छ। यी प्रश्नहरूको समाधान गर्दै वास्तविक गुरु कसरी प्राप्त हुन सक्छ? यसको बारेमा विस्तृत चर्चा गरौँ।

संसारी चिकित्सक हुन पनि योग्यता चाहिन्छ। एउटा संसारी नाविक हुन पनि योग्यता चाहिन्छ। डुङ्गा खियाउने योग्यता नभएको व्यक्तिको भरोसामा नदी तर्न खोज्यौँ भने के हुन्छ? डुङ्गा डुब्छ। हामी मर्छौँ। त्यसै गरी यदि गलत गुरु बनायौँ र उसले बताए अनुसार गर्‍यौँ भने हाम्रो काम बन्न सक्दैन। नोक्सानी नै हुन्छ। हामीले अनन्त आनन्द प्राप्त गर्न सक्दैनौँ। संसाररूपी भव सागरबाट पार पाउन सक्दैनौँ। अब गुरु कस्तो हुनुपर्छ भन्ने प्रश्नको समाधान गरौँ।

तर्कद्वारा हामी यही अनुमान गर्न सक्छौँ कि पहिलो त गुरुलाई सैद्धान्तिक ज्ञान हुनुपर्छ। बाटोको बारेमा ज्ञान हुनुपर्छ। कहाँ–कहाँ कस्ता अवरोधहरू आउँछन्? कसरी ती अबोधहरूको सामना गर्ने? यस्ता असङ्ख्य प्रश्नहरूको समाधान ऊसँग होस्। यस्तो गुरु हुनुपर्‍यो। अर्थात्, शाब्दिक ज्ञान हुनुपर्‍यो। यो पहिलो योग्यता। दोस्रो योग्यता पनि हामी तर्कद्वारा अनुमान गर्न सक्छौँ कि गुरुले संसाररूपी भवसागर पनि पार गरेको होस्। भगवान्‌वाला अनन्त सुख प्राप्त गरेको होस्। यस्तो शाब्दिक ज्ञान र भगवान्‌वाला आनन्द भएको व्यक्ति नै गुरु हुन सक्छ। यो हामी अनुमानद्वारा सिद्ध गर्न सक्छौँ। अब गुरुको योग्यता सम्बन्धी वेद शास्त्र के भन्छन् त? यसको बारेमा पनि बुझिहालौँ। वेद भन्दछ–

तद्विज्ञानार्थं स गुरुमेवाभिगच्छेत् समित्पाणिः श्रोत्रियं ब्रह्मनिष्ठम्॥ मुण्डकोपनिषद् १–२–१२

अर्थात् वास्तविक गुरुमा दुई वटा योग्यता हुनुपर्छ। एउटा श्रोत्रिय अर्थात् वेद शास्त्रको ज्ञाता होस्। अर्को ब्रह्मनिष्ठ अर्थात् ब्रह्मको साक्षात्कार गरेको होस्। यस प्रकार वास्तविक गुरुमा श्रोत्रिय र ब्रह्मनिष्ठ गरेर दुई वटा योग्यता हुनुपर्छ। भागवतमा पनि यही बताइएको छ। यथा–

तस्माद् गुरुं प्रपद्येत जिज्ञासु: श्रेय उत्तमम् । शाब्दे परे च निष्णातं ब्रह्मण्युपशमाश्रयम्॥ भागवत ११–३–२१

अर्थात् शब्द ब्रह्ममा पनि निष्णात होस् र परब्रह्ममा पनि निष्णात होस्। मतलब श्रोत्रिय र ब्रह्मनिष्ठ होस्। यही कुरा गीतामा पनि बताइएको छ। यथा–

तद्विद्धि प्रणिपातेन परिप्रश्न‍ेन सेवया । उपदेक्ष्यन्ति ते ज्ञानं ज्ञानिनस्तत्त्वदर्शिनः॥ गीता ४–३४

अर्थात्, ज्ञानी पनि होस् र तत्त्वदर्शी पनि होस्। निष्कर्ष के हो भने शब्दज्ञान पनि होस् र ब्रह्मज्ञान पनि होस्। उसले नै भगवान्‌लाई प्राप्त गरेको छैन, अनन्त आनन्द प्राप्त गरेको छैन भने हामीलाई कसरी दिन सक्छ? त्यसैले यी दुवै योग्यता अनिवार्य हो। यस्तो गुरुबाट नै हामी वेद-शास्त्रको ज्ञान प्राप्त गर्न सक्छौँ। आफैँले पढेर होइन। आफैँले पढेर त हामी रामायण पनि बुझ्न सक्दैनौँ। स्वयं पढेर गीता, पुराण, वेद कसैले पनि बुझ्न सक्दैन। चाहे ऊ जतिसुकै ठुलो विद्वान् किन नहोस्।

अस्तु अहिलेसम्म हामीले यही बुझ्यौँ कि गुरु अनिवार्य हो र गुरुमा दुई वटा योग्यता हुनुपर्छ।

अब के हामी यस्तो गुरुलाई चिन्न सक्छौँ? सक्दैनौँ। किन? किनकि पहिलो कुरा त हामी भर्खरै कखरा पनि नचिनेका विद्यार्थी पर्‍यौँ। अब बताउनुहोस् त। कखरा पनि नचिनेको बालकले उसलाई पढाउने शिक्षकको योग्यता जाँच्न सक्छ र? सक्दैन नि। उसलाई विद्यावारिधि गरेकोले पढाए पनि विद्वान् होलान् भन्ने लाग्छ। पाँच कक्षा मात्रै पढेकोले पढायो भने पनि विद्वान् नै होलान् भन्ने लाग्छ। ठिक त्यसै गरी हामी पनि गुरुको योग्यता जाँच्न सक्दैनौँ। हामी त बाहिरी कुरा नै हेर्छौँ। त्यो बाबाजी त फलाहारी रे, मुण्ड माला धारण गरेका रे, बाल ब्रह्मचारी रे, तपस्वी रे, जङ्गलमा बसेका रे, जीवनभरि दूध मात्र खाएका रे, जटाधारी रे, एक करोड शिष्य छन् रे, यस्तै यस्तै बाहिरी कुरा नै हेर्न सक्छौँ। यी बाहिरी लक्षणसँग गुरुको योग्यताको कुनै पनि सम्बन्ध छैन।

दोस्रो कुरा, इतिहासमा अधिकांश या भनौँ ९९ प्रतिशत महापुरुषहरू गृहस्थमा हुनुभएको छ। बाहिरबाट हेर्दा कसैले पनि उहाँहरूलाई महापुरुष हुनुहोला भनेर अनुमान गर्दा सक्दैन। यसको विपरीत बाहिरबाट महापुरुषको भेषमा हुने कैयौँ बाबाजीहरू ढोँगी छन्। उनीहरूमध्ये कैयौँ आजको दिनमा जेलमा छन्। आश्चर्यको कुरा तिनीहरूका कैयौँ अनुयायीहरूको अझै पनि आँखा खुलेका छैनन्।

तेस्रो कुरा, जो महापुरुष हुनुहुन्छ, उहाँहरू त आफूलाई अत्यन्त निम्न हुँ, पतित हुँ भन्नुहुन्छ। यथा–

बुरा जो देखन मैं चला, बुरा न मिलिया कोय। जो दिल खोजा आपना, मुझसे बुरा न कोय। कबीरदासजी

मो सम कौन कुटिल खल कामी। सुरदासजी

चौथो कुरा, उहाँहरूको स्वभाव नै हो आफूले आफूलाई लुकाउन खोज्ने। यी विभिन्न कारणले गर्दा हामी वास्तविक महापुरुषलाई चिन्न सक्दैनौँ। हाम्रो त के कुरा र? शास्त्र भन्दछ–

जार चित्ते कृष्णप्रेमा करये उदय। तार वाक्य–क्रियामुद्रा विज्ञे ना बुझय॥ चैतन्य चरितामृत २–२३–२१

अर्थात् वास्तविक महापुरुषको वाक्य, मुद्रा या हाउभाउ, कार्य सरस्वती, बृहस्पतिले पनि बुझ्न सक्दैनन्। हामी त बिचरा अबोध छौँ।

अब एउटा समस्या आयो। एकातिर शास्त्रमा बताइएको छ कि गुरु बिना त हाम्रो काम नै बन्दैन। अर्कोतिर वास्तविक महापुरुष अर्थात्, श्रोत्रिय, ब्रह्मनिष्ठ महापुरुषलाई हामी चिन्न नै सक्दैनौँ। चिन्नै नसकेपछि कसरी गुरु बनाउने? यसको समाधान के हो त?

शास्त्रमा एउटा रहस्य बताइएको छ। त्यो के हो भने, वास्तविक महापुरुष भगवान्‌को कृपाद्वारा नै मिल्छ। जगद्‍गुरु श्री कृपालु जी महाराज भन्नुहुन्छ–

हरि की कृपा ते मिले गुरुवर प्यारे, गुरु की कृपा ते मिले गिरिधर प्यारे। ब्रज रस माधुरी– ३

त्यसै गरी आदि जगद्‍गुरु श्री शङ्कराचार्यजी पनि भन्नुहुन्छ–

दुर्लभं त्रयमेवैतद्देवानुग्रहहेतुकम्। मनुष्यत्वं मुमुक्षुत्वं महापुरुषसंश्रयः॥ विवेकचूडामणि ३

अर्थात्, जब भगवान्‌ले कृपा गर्नुहुन्छ, तब मात्रै वास्तविक गुरु प्राप्त हुन्छ। तुलसीदासजी महाराज पनि यही भन्नुहुन्छ–

सन्त बिसुद्ध मिलहिं परि तेही। चितवहिं राम कृपा करि जेही॥ रामचरितमानस ७–६९–४

अब मोहि भा भरोस हनुमंता। बिनु हरिकृपा मिलहिं नहिं संता॥ रामचरितमानस ५–७–२

अर्थात्, भगवान्‌को कृपाद्वारा नै वास्तविक सन्त मिल्नुहुन्छ। खोजेर भेटिँदैन। त्यसैले भगवान्‌सँग रोएर वास्तविक महापुरुषको दर्शन र सत्सङ्गको निम्ति प्रार्थना गर्नुपर्छ। जब हामी रोएर पुकार गर्छौँ, तब भगवान्‌ले कृपा गरेर यस्तो संयोग बनाइदिनुहुन्छ कि हामीलाई वास्तविक महापुरुषको दर्शन एवं सत्सङ्ग प्राप्त हुन्छ।

त्यस्तो गुरु प्राप्त भएपछि श्रद्धायुक्त उहाँको सत्सङ्ग गर्दै जानुपर्छ। यस्तो वास्तविक गुरुको सत्सङ्ग गर्दै जाँदा, उहाँको दिव्य वचन सुनेर बिस्तारै शङ्काहरूको समाधान हुँदै जान्छ। नक्कली बाबाजीको सङ्गत गरेर शङ्काहरूको समाधान हुँदैन। व्यक्ति झन्–झन् उल्झिँदै जान्छ।

त्यसै गरी वास्तविक महापुरुषको सत्सङ्ग गर्नाले संसारी बस्तुको कामना कम हुँदै जान्छ। संसार कम प्रिय लाग्न थाल्छ। संसारी आशक्ति कम हुँदै जान्छ। भगवान् झन्–झन् प्रिय लाग्दै जानुहुन्छ। यो अनुभव, हामी आफैँमा देख्न सक्छौँ। यस प्रकार श्रद्धायुक्त सत्सङ्ग गर्दै जाँदा हामीमा जुन परिवर्तन आउँछ, जुन लाभ मिल्छ, त्यसबाट नै उहाँ वास्तविक महापुरुष हुनुहुन्छ भनेर अनुमान गर्न सक्छौँ। जति जति साधना गर्दै जान्छौँ, त्यति त्यति ईश्वरीय अनुभव हुँदै जान्छ। त्यति नै मात्रामा हामी गुरुको दिव्य स्वरूप पनि चिन्दै जान्छौँ।

वास्तविक महापुरुषलाई गुरु रूपमा वरण गर्‍यौँ भने र उहाँको निरन्तर सत्सङ्ग प्राप्त गरिरह्यौँ भने हाम्रो कल्याण निश्चित छ। रत्नाकर समान डाँकुको पनि वास्तविक गुरु प्राप्त भएको हुनाले त्यही जन्ममा नै कल्याण भयो। गुरुको कृपाद्वारा रत्नाकरबाट वाल्मीकि बनेर उहाँले भगवान् रामको अवतार हुनु पूर्व नै रामायण लेख्नुभयो।

जय श्री राधे!