स्वामी श्री रामदासजी, सनातन धर्मको भक्ति-मार्गका प्रचारक हुनुहुन्छ। उहाँले वि.सं. २०७४ सालको रामनवमीका दिनदेखि निरन्तर रूपमा सनातन धर्मको प्रचार-प्रसार सेवा गर्दै आउनुभएको छ।
बाल्यकालदेखि नै स्वामीजीलाई भगवान्को भजन र सङ्कीर्तनप्रति विशेष रुचि थियो। पढाइसँगै उहाँले भक्ति-साधनालाई पनि निरन्तरता दिनुभयो। एकातिर स्वामीजीले भौतिकशास्त्रमा स्नातक र व्यवस्थापनमा स्नातकोत्तर अध्ययन पूरा गर्नुभयो भने अर्कातिर गुरु तथा भगवान्को कृपाले शास्त्रज्ञान पनि प्राप्त गर्नुभयो।
नेपाल र भारतका विभिन्न स्थानहरूमा आयोजित सयौँ प्रवचन कार्यक्रमहरूद्वारा स्वामी श्री रामदासजीले वेद-शास्त्रको सार अत्यन्त सरल र व्यवहारिक ढङ्गले प्रस्तुत गर्नुभएको छ। साथै, सामाजिक सञ्जालमार्फत विविध आध्यात्मिक लेखहरू प्रकाशित गर्दै, पुस्तकहरू लेखी प्रकाशन गर्दै, र नियमित सत्सङ्ग कार्यक्रमहरूको आयोजना गर्दै उहाँले सनातन धर्मको सिद्धान्त जन-जनमा फैलाउने निरन्तर प्रयत्न गर्नुभएको छ।
स्वामीजीले आफ्ना प्रवचनहरूमा निम्न विषयमा निम्न शङ्काहरूको शास्त्रका प्रमाणहरूका साथ समाधान गर्नुहुन्छ–
१. जीवनको लक्ष्य के हो?
२. मानव देहको महत्त्व के हो? स्वर्गका देवताहरू समेत मानव देह किन चाहन्छन्?
३. ईश्वरको स्वरूप के हो? देवता र ईश्वरमा के भिन्नता छ?
४. के भगवान्लाई देख्न, जान्न एवम् प्राप्त गर्न सकिन्छ?
५. भगवान्को कृपा कसरी प्राप्त हुन्छ?
६. भगवान्को शरणमा किन जानुपर्छ र कसरी जानुपर्छ?
७. संसार सत्य हो कि भ्रम हो? संसारको स्वरूप के हो?
८. वैराग्य किन आवश्यक छ?
९. गुरुको योग्यता कस्तो हुनुपर्छ? वास्तविक गुरुलाई कसरी प्राप्त गर्न सकिन्छ?
१०. भगवान्लाई प्राप्त गर्ने मार्ग के-के हुन्?
११. कर्म-धर्मको पालना गर्न सम्भव छ कि छैन? यदि पालना गरेमा के प्राप्त हुन्छ?
१२. ज्ञान-साधना एवम् योग-साधना कलियुगमा किन असम्भव छन्?
१३. भगवान्को भक्ति कसरी गर्नुपर्छ?
१४. भगवान्को ध्यान गर्ने शास्त्रीय विधि के हो?
१५. गृहस्थमा रहेर सबै काम गर्दै भगवान्लाई कसरी प्राप्त गर्न सकिन्छ?
स्वामीजीको सान्निध्यमा आएका श्रद्धालु भक्तहरूले सनातन धर्मका सिद्धान्तहरू बुझी, तदनुसार साधना गरेर श्री गुरुदेवको अनुकम्पाद्वारा आध्यात्मिक सुख र शान्तिको अनुभव गरेका छन्।
आउनुहोस्, स्वामी श्री रामदासजीका प्रेरणादायी प्रवचन सुनी, उहाँको सान्निध्यमा सत्सङ्ग गरेर आध्यात्मिक लाभ प्राप्त गरौँ।




