प्रश्न– म विगत केही वर्षदेखि घरमै बसेर जगद्‍गुरूत्तम श्री महाराजजीले बताएको साधना गर्ने प्रयास गर्दै आएको छु। म अफिसमा काम गर्ने भएकोले हरेक दिन घरबाहिर क्यान्टिनमा खाना खानुपर्छ। आफूले खाने खाना इष्टदेवलाई अर्पण गरेर खान मन लाग्छ। साधना सुरु गरेपछि म शाकाहारी भएको छु। शाकाहारी खाना भए पनि क्यान्टिन र घरमा बनाउने खानामा समेत लसुन प्याज राखिएको हुन्छ। एक मनले भन्छ लसुन प्याज भएको खाना कसरी अर्पण गर्नु? अर्को मनले भन्छ खाना इष्टदेवलाई अर्पण नगरी कसरी खानु? केही समय लसुन प्याज खान छाडेँ तर त्यसले मेरो दैनिक जीवन व्यवहारमा थप असहजता ल्यायो। मेरो यो समस्याको समाधान कसरी गर्न सकिएला? के लसुन प्याज राखेको खाना अर्पण गर्न मिल्छ? कृपा गरेर बताउनुभयो भने कृतज्ञ हुने थिएँ। राधे राधे। रविन्द्र, वुटवल।

उत्तर– दुई जना विद्यार्थीहरू विद्यालय जाँदा आइरन गरेको कपडा लगाउने नलगाउने विषयमा बहस गर्दै थिए। विद्यालयको जेजस्तो नियम भए पनि अनुभवी व्यक्तिले सहजै बताउन सक्नुहुन्छ कि विद्यालय जाँदा आइरन गरेको कपडा लगाउनु नलगाउनु गौण कुरा हो। कपाल कोर्नु नकोर्नु गौण कुरा हो। नुहाएर जाने कि ननुहाईकन जाने गौण कुरा हो। मुख्य कुरा पढाइ हो। ती विद्यार्थीहरूले गृहकार्यको बारेमा, विद्यालयमा पढ्ने पाठको बारेमा पो चर्चा गर्नुपर्ने हो।

भगवान्‌को भक्तिमा पनि मुख्य कुरा हो भगवान्‌को स्मरण, चिन्तन, ध्यान। अन्य सबै गौण हुन्, सहायक हुन्। तर प्रायः व्यक्तिहरू भक्तिको चर्चा सुन्न छाडेर, भगवान्‌को चिन्तन, ध्यान, साधना गर्न छोडेर, गौण विषयहरूमा बहस गरिरहेका हुन्छन्, लसुन प्याज खाने कि नखाने, एकादशी व्रत बस्ने कि नबस्ने इत्यादि। 

लसुन प्याजको बारेमा शास्त्र के भन्दछन्?

तपाईँको प्रश्नको उत्तर दिनुभन्दा पहिले शास्त्रका केही कुराहरू, सन्दर्भहरू उल्लेख गर्न उपयुक्त हुन्छ। साधकले लसुनको सेवन गर्नुहुँदैन भन्ने एक थरी मत छ भने लसुन खाएर फरक पर्दैन, खाँदा हुन्छ, शरीरलाई झन् फाइदा गर्छ भन्ने अर्को मत छ।

जसले लसुन खानुहुँदैन भन्ने मत राख्छन्, उनीहरूले प्रायः मनुस्मृतिबाट प्रमाण दिन्छन्। मनुस्मृतिमा द्विज ब्राह्मणले खान नहुने अपवित्र खाद्य पदार्थहरूको बारेमा बताउने क्रममा महात्मा भृगुजीले बताउनुभएको छ–

लशुनं गृञ्जनं चैव पलाण्डुं कवकानि च॥
अभक्ष्याणि द्विजातीनाममेध्यप्रभवानि च॥ मनुस्मृति ५–५

यसमा लसुन, प्याज, च्याउ इत्यादि नखाने भनेर बताइएको छ। प्रायः यही प्रमाण दिएर लसुन प्याज खानुहुँदैन भनेर बताउँछन्। कुनै सम्प्रदायमा त लसुन प्याजलाई मासुभन्दा पनि अपवित्र मानिन्छ।

अब यदि मनुस्मृतिको यस अध्यायमा भनिएका कुराहरूलाई मान्ने हो भने, यही अध्यायमा नै केही विशेष प्रजातिका माछा, केही पाँच नङ्ग्रा भएका पशु, गैँडा, कछुवा, खरायो इत्यादिको मासु खान हुन्छ भनिएको छ। देवताहरूलाई अर्पण गरेर मासु खाँदा हुन्छ भनिएको छ। यसको बारेमा ती व्यक्तिहरूले केही पनि बताउँदैनन्। किनकि यदि गलत भनेर बताउने हो भने पहिलो त मनुस्मृतिमा छ, दोस्रो त्यसैबाट लसुन र प्याज खानु हुँदैन भनेर प्रमाण दिएका छन्। यदि सही हो भनूँ भने लसुन प्याज खानु हुँदैन तर मासु खाँदा हुन्छ भन्ने भयानक अर्थ लाग्छ।

त्यसै गरी लसुन नखानको निम्ति अर्को एउटा प्रमाण गरुडपुराणबाट दिने गरिन्छ। गरुडपुराणमा अर्को एउटा प्रसङ्ग छ जसमा याज्ञवल्क्यजी भन्नुहुन्छ–

पलाण्डुलशुनादीनि जग्द्ध्वा चान्द्रायणं चरेत्। गरुडपुराण आचारकाण्ड ९६–७२

अर्थात्, कसैले लसुन प्याज खान्छ भने उसलाई पाप लाग्छ, त्यसबाट प्रायश्चित गर्नको निम्ति उसले चान्द्रायण नामक प्रायश्चित कर्म गर्नुपर्छ। 

पद्मपुराणमा पनि विभिन्न पापहरूबाट कसरी उन्मुक्ति मिल्न सक्छ भन्ने कुरा बताउने क्रममा सूतजी महाराज भन्नुहुन्छ–

पलांडुं लशुनं शिग्रुमलाबुं गृंजनं पलम्।
भुंक्ते यो वै नरो ब्रह्मन्व्रतं चांद्रायणं चरेत्॥ पद्मपुराण ब्रह्मखण्ड(४) १९–१०

अर्थात्, यदि कुनै ब्राह्मणले लसुन, प्याजको सेवन गर्छ, भने उसले चान्द्रायण चान्द्रायण नामक प्रायश्चित कर्म गर्नुपर्छ।

सरसरती भन्नुपर्दा शास्त्रका यी भनाइ अनुसार लसुन प्याज खान भएन। तर गरुड पुराणको त्यही श्लोकमा नै बताइएको छ–

श्राद्धे देवान्पितॄन्प्रार्च्य खादन्मांसं न दोषभाक्॥ गरुडपुराण आचारकाण्ड ९६–७२

श्राद्ध कार्यमा देवता र पितृहरूको पूजा गरेर मासु खाँदा दोष लाग्दैन। यसको बारेमा पनि लसुन खान हुँदैन भन्नेहरू केही बोल्न सक्दैनन्। किनकि यहाँ पनि त्यही समस्या आउँछ। सही भनूँ भने श्राद्धमा मासु खाँदा हुन्छ भन्ने अर्थ लाग्ने भयो, गलत भनूँ भने गरुडपुराणको वाणी हो। गरुडपुराणको होस् या मनुस्मृतिको होस् एउटा कुरा मान्छु अर्को मान्दिनँ भन्न त पाइएन। 

गरुडपुराणको यस अध्यायमा कस्ता व्यक्तिले दिएको अन्न या भोजन खान हुँदैन भनेर पनि बताइएको छ। यदि कसैले त्यसको पालना गर्न खोज्यो भने त उसले अरू कसैले पनि दिएको अन्न खान सक्दैन। 

पुराणहरूमा, स्मृतिहरूमा बताइएका कुराहरू कुन स्तरको श्रोताको निम्ति, कुन परिवेशमा, कुन युगको निम्ति बताइएका हुन् भन्ने कुरा अत्यन्त गूढ हुन्छन्। कुनै वास्तविक महापुरुषद्वारा नै त्यसको अर्थ बुझ्न सम्भव हुन्छ।

ब्रह्माण्डपुराणको मध्य भागको चौधौँ अध्यायमा श्राद्धसम्बन्धी धेरै कुरा बताइएको छ। त्यस क्रममा बृहस्पतिजीले श्राद्धमा के कुराको प्रयोग नगर्ने भन्दै भन्नुहुन्छ–

लशुनं गृञ्जनं चैव तथा वै पल्वलोदकम्। ब्रह्माण्डपुराण २–१४–२२

अर्थात् लसुन इत्यादिको प्रयोग नगर्नु। किन? पहिले देवता र असुरहरूको युद्धमा बाली पराजित भए। उनी घाइते थिए, उनको शरीरबाट जुन स्थानमा रगत खस्यो, त्यो स्थानबाट लसुन इत्यादि पैदा भएकाले लसुन इत्यादिको प्रयोग नगर्नु भनेर बताइयो। (ब्रह्माण्डपुराण २–१४–२३, २४) अब अर्को कुरा के हो भने त्यही अध्यायमा नै बताइएको छ कि गैँडाको मासु श्राद्धमा चल्छ। (ब्रह्माण्डपुराण २–१४–५)

वायुपुराणको उत्तरार्धको १६औँ अध्यायमा पनि श्राद्ध कर्ममा लसुन प्याज निषेध गरिएको छ। कारण पनि त्यही बताइएको छ। त्यहाँ पनि श्राद्धमा केही जन्तुहरूको मासुको प्रयोगको स्वीकृति दिइएको छ।

समाधान के हो त?

पहिलो कुरा त के हो भने तीन प्रकारका मार्ग हुन्छन्– १. कर्म (यसैलाई वर्णाश्रम धर्म पनि भनिन्छ।), २. ज्ञान (यसै अन्तर्गत योग पनि पर्छ।) र भक्ति।

१. पहिले कर्म अन्तर्गत चर्चा गरौँ। श्राद्ध इत्यादि कार्यहरू कर्म अन्तर्गत पर्दछन्। शास्त्रमा कर्म-धर्मको निम्ति कडा नियमहरू बताइएका छन् जसको पालना अनिवार्य हो। कर्मकाण्डका विविध कार्यमा लसुन, प्याजको प्रयोग निषेध गरिएको छ। लसुन प्याज मात्र होइन, धेरै कुराहरूको निषेध गरिएको छ। जहाँसम्म श्राद्धमा मासुको प्रसङ्ग छ, कलियुगमा श्राद्धमा मासुको प्रयोग वर्जित छ। प्रमाण–

अश्वमेधं गवालम्भं संन्यासं पलपैतृकम्। 
देवरेण सुतोत्पत्ति कलौ पंच विवर्जयेत्। ब्रह्मवैवर्त्तपुराण कृष्णजन्मखण्ड १८५–१८०

वेदमा पशुको हत्या बताइएको छ। तर त्यसको निम्ति पुनः जीवित बनाउने शक्ति हुन जरुरी छ। चैतन्य महाप्रभुजी भन्नुहुन्छ–

जीयाइते पारे यदि, तवे मारे प्राणी। 
वेद पुराणे एछे आछे आज्ञावाणी। चैतन्यचरितामृत आदिलीला १७–१५४

यदि कसैसँग बचाउने शक्ति छ भने उसले यज्ञमा प्राणीको हत्या गर्न सक्छ। वेद-पुराणमा यस प्रकारको आज्ञा छ। प्राचीन समयमा गोमेध यज्ञमा बुढा गाइको वध गरेर वेद मन्त्रद्वारा पुनः जीवित गरिदिन्थे र बुढा गाइले युवावस्था प्राप्त गर्थे। यस प्रकार गाइको उपकार हुन्थ्यो। तर कलियुगका ब्राह्मणसँग यस प्रकारको शक्ति छैन। त्यसैले जुन यज्ञ इत्यादि कर्ममा पशुहरूको हत्या हुन्छ, ती कर्म कलियुगमा गर्नु हुँदैन। शास्त्रले आज्ञा दिएको छैन।

अस्तु। स्मृति एवम् पुराणहरूमा श्राद्धमा मासुको प्रयोगको विधान कलियुगको निम्ति होइन, अन्य युगको निम्ति हो। कर्मकाण्ड अन्तर्गतका कार्यमा लसुन प्याजको प्रयोग कलियुगको निम्ति पनि वर्जित हो। त्यसैले कर्मकाण्डमा लसुन प्याज चल्दैन।

कलियुगमा कर्मकाण्ड सही सही रूपले सम्पन्न गर्न सम्भव छैन। यदि कसैले गर्‍यो भने पनि मिल्ने स्वर्ग मात्र हो।

२. ज्ञान मार्ग कलियुगमा सम्भव नै छैन। ज्ञान मार्गमा त यस्ता कडा नियमहरू छन् कि यहाँ बताउनुको कुनै अर्थ नै छैन।

३. भक्ति मार्ग– भक्ति मार्गमा पनि महापुरुषहरूले अनेक प्रकारले साधकहरूलाई उपदेश दिनुभएको छ। अधिकांश महापुरुषहरूले कर्म मिश्रित वैधी-भक्तिको प्रचार गर्नुभएको छ। यस्ता महापुरुषहरूले साधकलाई विभिन्न वैदिक कर्महरूको पनि पालना गर्न लगाउनुहुन्छ। पूजा इत्यादि गर्न लगाउनुहुन्छ। विभिन्न व्रत इत्यादि बस्न लगाउनुहुन्छ। अधिकांश यस्ता महापुरुषहरूले लसुन प्याज नखाने आदेश दिनुभएको छ। अब गुरुको आदेश हो, त्यसैले पालन गर्नुपर्छ।

कैयौँ व्यक्तिहरू यहाँनेर गल्ती गर्छन्। उनीहरू आफ्नो सम्प्रदायको इष्टदेवलाई मात्र भगवान्‌ मान्दछन्, आफ्नो सम्प्रदायको मन्त्रलाई मात्र मन्त्र ठान्दछन्, आफ्नो सम्प्रदायको प्रचलनलाई सबैको निम्ति अनिवार्य ठान्दछन्। हाम्रो सम्प्रदायमा गुरुले श्रीकृष्णलाई मोक्षदायक बताउनुभएको छ, त्यसैले भगवान्‌ शङ्करले मोक्ष दिन सक्नुहुन्न भन्छन्। हाम्रो सम्प्रदायमा हरे राम महामन्त्र जप्ने गरिन्छ, त्यसैले ‘राधे राधे’ जपेर हुँदैन भन्छन्। हाम्रो सम्प्रदायमा गुरुजीले एकादशी व्रत बस्नु भन्नुभएको छ, त्यसैले सबैले बस्नुपर्छ भन्छन्। हाम्रो सम्प्रदायमा गुरुजीले लसुन प्याज नखाने भन्नुभएको छ, त्यसैले अन्य साधकले पनि खानुहुँदैन भन्छन्। यो गलत धारणा हो। भक्ति मार्गभित्र पनि सबै महापुरुषहरूको भिन्दाभिन्दै तरिका हुन्छ।

इतिहासलाई हेर्दा केही महापुरुषहरूले विशुद्ध भक्तिको प्रचार गर्नुभएको छ। उहाँहरूले जप, व्रत, लसुन, प्याजजस्ता बाहिरी कुराहरूलाई खासै जोड दिनुभएन। उहाँहरूले स्पष्टसँग बताउनुभएको छ–

एहिं कलिकाल न साधन दूजा। 
जोग जग्य जप तप ब्रत पूजा॥ रामचरितमानस ७–१३०–३

कलिजुग जोग न जग्य न ग्याना। रामचरितमानस ७–१०३–३

कलियुगमा योग, यज्ञ, जप, तप, व्रत, पूजा, ज्ञानबाट काम बन्दैन।

भागवत, गीता, रामचरितमानस इत्यादि ग्रन्थहरू वास्तवमा विशुद्ध भक्तिपरक हुन्। त्यसैले लसुन, प्याजको बारेमा यी ग्रन्थहरूमा कुनै पनि प्रमाण उपलब्ध छैनन्। यदि लसुन, प्याज नखानु त्यति महत्त्वपूर्ण कुरा भएको भए सबै शास्त्रमा बारम्बार त्यसको बारेमा बताइन्थ्यो। सबै शास्त्रमा बारम्बार बताइएको कुरा त भगवान्‌को स्मरण, भक्ति, चिन्तन, शरणागति नै हो। अतः भक्ति मूल हो। 

हामीले लसुन प्याज खाने कि नखाने?

स्वास्थ्यको दृष्टिले तपाईँको शरीरलाई आवश्यक छ कि छैन, त्यो त डाक्टरले बताउन सक्नुहुन्छ। साधनाको दृष्टिले खाने कि नखाने यसको समाधान तपाईँको गुरुले दिन सक्नुहुन्छ। किनकि अघि बताइसकियो, सबै महापुरुषहरूको आ-आफ्नो तरिका हुन्छ।

यो अवश्य हो कि भक्ति गर्दा कसैले सात्त्विक आहार विहार गर्छ भने त्यो भक्तिमा सहायक हुन्छ। संसारमा सुख छैन। संसारी विषयको भोग गर्नु हाम्रो लक्ष्य होइन। संसार त शरीर धान्नको निम्ति हो। त्यसैले शरीरको स्वास्थ्यको निम्ति जति मात्रामा जस्तो भोजन गर्नुपर्छ, त्यति नै भोजन गर्नु उचित हो। जिब्रोको स्वादको निम्ति, मरमसला हालेर, तारेर, स्वादिष्ट बनाएर भोजन गर्नु अनुचित हो। जिब्रोको स्वादको पछाडि नलागुन् भन्ने उद्देश्यले पनि महापुरुषहरूले लसुन, प्याज, मरमसला नहालेको सादा भोजनको उपदेश दिनुहुन्छ। 

कैयौँ व्यक्तिहरू माछा मासु खाँदैनन्, लसुन, प्याज खाँदैनन्, तै पनि पनिर चिल्ली खान्छन्। केको निम्ति? स्वादको निम्ति। यो गलत हो। त्यसमा पनि अझ केही त यस्ता परिकारहरू बनाएर खान्छन् जसको स्वाद मासुजस्तै हुन्छ। त्यसैबाट मासुको तलतल मेट्छन्। यो झन् गलत हो। कैयौँ माछा मासु नखाएको, लसुन प्याज नखाएको अहङ्कार गर्छन् र अरूलाई होच्याउँछन्। यो पनि गलत हो। अहङ्कार हुनासाथ साधना नष्ट हुन्छ। सन्तहरूले त बताउनुभएकै छ–

मीनाः स्नानपरा: फणी पवनभुङ्मेषश्च पर्णाशनो, 
नीराश: खलु चातको हि नितरां शेते बिले मूषकः।
भस्मोद्धूलन तत्परश्च हि खरो ध्यानानुरक्तो बकस् 
ते सर्वे न हि यान्ति मोक्षपदवीं भक्तिं बिना श्री हरेः॥ 

कोही कैयौँ दिनसम्म अन्न ग्रहण नगरी बस्दैमा, कोही बहिरङ् वैरागी हुँदैमा, कोही गुफामा बस्दैमा, खरानी धस्दैमा, केही हुँदैन। अजिङ्गरले पनि उपवास गर्छ। चातक पक्षी समान वैरागी को छ र? मुसाको आफ्नो घर पनि हुँदैन, गुफामा बस्छ। गधाले पनि शरीरभरि धुलो लगाउँछ। तर ती सबैलाई मोक्ष मिल्दैन। एउटा बकुल्लाले पनि त ध्यान गरिरहेको देखिन्छ। तर उसको ध्यानको प्रयोजन त माछा मार्नको निम्ति हो। अतः बाहिरबाट ध्यान गरेको देखिएता पनि भित्री स्थिति के छ भन्ने कुरा महत्त्वपूर्ण हो। 

अस्तु माछा मासु नखाँदैमा, लसुन प्याज नखाँदैमा मोक्ष मिल्ने होइन। शाकाहारी हुनु, सादा मसालारहित भोजन गर्नु भक्तिमा सहायक हुन्, प्रमुख होइनन्।

जगद्‍गुरु श्री कृपालु जी महाराजले यी सबै बाहिरी कुराहरूमा कहिल्यै जोड दिनुभएन। हामी जुन अवस्थामा छौँ, त्यही अवस्थामा भक्ति गर्न सक्छौँ। भगवान्‌ले गीतामा पनि बताउनुभएको छ–

अपि चेत्सुदुराचारो भजते मामनन्यभाक्। 
साधुरेव स मन्तव्यः सम्यग्व्यवसितो हि सः॥ गीता ९–३०

अर्थात्, दुराचारीले पनि भक्ति गर्न सक्छ। भगवान्‌को भक्ति गर्दा गर्दा उहाँप्रति प्रेम उत्पन्न हुन्छ, उहाँप्रतिको प्रेम बढ्दै जान्छ। भगवान्‌ त भावको भोको हुनुहुन्छ। त्यसैले त वेदमा बताइएको छ–

भावग्राह्यमनीडाख्यं भावाभावकरं शिवम्। श्वेताश्वतरोपनिषद् ५–१४ 

इतिहास साक्षी छ, भगवान्‌ले विदुरकी श्रीमतीले प्रेमपूर्वक दिनुभएको केराको बोक्रा खानुभएको छ, व्याधाले श्रद्धापूर्वक अर्पण गरेको मासुलाई समेत स्वीकार गर्नुभएको छ।

तपाईँको निम्ति…।

तपाईँले बाहिर भोजन गर्नुपर्छ भनेर बताउनुभयो। तर लसुन प्याज मिसाइएको भोजन भगवान्‌लाई कसरी अर्पण गर्ने भनेर सङ्कोच मानिरहनुभएको छ। केही चिन्ता नलिनुहोस्। भगवान्‌लाई अर्पण गरेर प्रसाद लिनुभए हुन्छ। प्रेमपूर्वक मनले भगवान्‌लाई अर्पण गर्नुहोस्। बाहिर चमेनागृहमा भोजन गर्दा भगवान्‌लाई छुट्टै थालीमा भोग अर्पण गर्न सम्भव हुँदैन। त्यसैले सख्य भावमा अर्थात् भगवान्‌लाई साथी मानेर त्यही थालमा मनले भगवान्‌लाई अर्पण गरेर त्यही थालमा नै भगवान्‌ सँगसँगै आफूले पनि नास्ता या भोजन गर्नुभए पनि हुन्छ।

भक्तिमा मुख्य कुरा हो भगवान्‌को निरन्तर स्मरण र भगवान्‌प्रतिको प्रेम। 

जय श्री राधे!